Comments Add Comment

काठमाडाैं महानगरकाे हटलाइनमा अाएन गुनासाे

१० मंसिर, काठमाडाैं ।  काठमाडौँ महानगरपालिकाले जनगुनासो सुन्नका लागि हटलाइन नम्बर तय गरेको तीन महीना बितिसक्दा पनि गुनासो अत्यन्तै थोरै संख्यामा आएको छ ।

नेपालकै जेठो महानगरमा जनताको उजुरी सिधै सुन्नका लागि महानगरले ‘हेल्लो महानगर’ भनेर ‘हटलाइन नं. ११८०’ को व्यवस्था गरेको तीन महीना बितिसकेको छ ।

तर, तीन महीना भइसक्दासमेत कामपामा गुनासो गर्ने कोही नभएजस्तो देखिएको छ । यसको अर्थ कामपामा गुनासो नभएर भने होइन ।

गत भदौ १ गतेदेखि कामपाले जनताको चाहनाअनुरूप काम गर्नकै लागि हटलाइन नम्बर प्रयोगमा ल्याएको थियो ।

महानगरवासीलाई समस्या हटलाइनमार्फत राख्ने र समस्याको उचित समाधान खोज्नकै लागि उक्त व्यवस्था गरिएको हो । तर, गुनासो अत्यन्तै कम आएको कामपाका जनसम्पर्क एकाइका प्रमुख कृष्णप्रसाद चापागाईंले बताए ।

उनी  भन्छन्, ‘आएका गुनासामा फोहर नउठेको, फुटपाथमा जहाँतहीँ पसल राखिएका कारण पैदल यात्रुलाई आवतजावत गर्न समस्या भएको, छाडा छोडिएका जनावर नियन्त्रण नगरिएको, सार्वजनिक शौचालय निर्माण र सरसफाइ गर्नुपर्नेजस्ता गुनासो रहेको छ । त्यस्तै मदिरा र चुरोट बेच्ने स्थान निश्चतरूपमा तोकिनुपर्ने, सार्वजनिक स्थानको संरक्षण गरिनुपर्नेजस्ता जनगुनासो रहेको छ ।’

किन गुनासा कमी 

कामपामा रहेको समस्यालाई हेर्ने हो भने एकै दिनमा दश बढी जनगुनासा आउनुपर्ने हो । यहाँको धुवाँ, धूलो, अव्यवस्थित सडक, खानेपानीको समस्या र फोहरको दुर्गन्ध, भूकम्पपछिको पुनःनिर्माण जस्ता समस्या धेरै नै रहे पनि गुनासोकै रूपमा भने आएका छैनन् ।

महानगर आफैँ गुनासो सुन्ने भनेर अघि सरेको अवस्थामा पनि गुनासो नआएको सम्बन्धमा चापागाईं महानगरले सञ्चालनमा ल्याएको हटलाइनबारे कसैलाई जानकारी नभएर र यसको प्रचारप्रसार नहुँदा गुनासो अत्यन्तै कम आएको बताउँछन् ।

थप प्रचारप्रसारकै लागि अबको केही दिनमा कामपाले फेसबुक र इमेलमार्फत पनि जनगुनासो सङ्कलन गर्ने तयारी गरेको छ ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यले जनताको समस्या सिधै सुन्ने भनेर नै हटलाइन राखिए पनि महानगरको हटलाइन प्रमुख सचिवालयसँगै छैन । हटलाइनलाई कामपाको वातावरण विभाग टेकुमा राखिएको छ ।

कामपाको सार्वजनिक निजी साझेदारी एकाइ प्रमुख धु्रव काफ्लेका अनुसार महानगरभित्र निर्माण गर्ने भनिएको ४० शौचालय निर्माणका लागि अन्तिम छलफल भइरहेको छ ।

एक हप्ताअघि नै निर्माणका लागि प्रमुखको कार्यकक्षमा छलफल जारी रहेको छ । यही मङ्सिरको अन्तिम सातासम्ममा थप काम अघि बढ्ने काफ्लेले बताए ।

त्यसैगरी दीर्घकालीनरुपमा फोहर व्यवस्थापन गर्ने स्थान निर्माणको काम पनि अघि बढेको कामपाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment