देशभरका १३ हलमा चलचित्र ‘छक्का पन्जा ३’ले ५१ दिन मनाएको अवसरमा मंगलबार बेलुकी काठमाण्डौको एक पार्टी प्यालेसमा भव्य कार्यक्रमको आयोजना गरिएको छ । रेड कार्पेटसहित आयोजित चलचित्रको सक्सेस पार्टीमा चलचित्र क्षेत्रमा निर्माता–निर्देशकको उपस्थिती बाक्लो थियो ।
चलचित्रका मुख्य कलाकार दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, निर शाह, संजोग कोइरालाको साथमा नायिका बर्षा राउत कार्यक्रममा उपस्थित थिए । यस्तै, निर्देशक दीपाश्री निरौला साडीमा सजिएर पुगेकी थिइन् ।
कार्यक्रममा हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, नायक भूवन केसी, हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरे, नायिका करिश्मा मानन्धर, नव–कलाकार कविता मानन्धर लगायत पनि पुगेका थिए ।
कार्यक्रममा चलचित्रसँग आवद्ध प्राविधिकहरुलाई बोनस वितरण गरिएको थियो । यो टिमले यसअगाडि पनि प्राविधिकहरुलाई बोनस दिदै आएको छ । कार्यक्रममा नायिका करिश्मा मानन्धर र कलाकार मदनकृष्ण श्रेष्ठको नृत्य विशेष आकर्षणमा रह्यो । चलचित्रमा समावेश ‘पहिलो नम्बरमा’ बोलको गीतमा चलचित्रका कलाकारसँगै मदनकृष्ण र करिश्माले नृत्य गरेका थिए ।
नेपाली चलचित्रले ५१ दिन मनाएको दृश्य दुर्लभ मात्र देखिन्छ । ‘छक्का पन्जा ३’ले १७ करोड हारहारीको ग्रस कलेक्शन गरेको यसको निर्माणपक्षले बताएको छ ।
दीपाश्रीलाई प्रश्न–‘छक्का पन्जा’ टिम विना हिट फिल्म दिन सक्नुहुन्छ ?’
प्रतिक्रिया 4