Comments Add Comment

चेपाङ गाउँमा श्रृंखलाले यसरी बनाइन् हेल्थपोष्ट

२० मंसिर, काठमाडौं । चीनको सान्यामा जारी रहेको मिस वर्ल्ड प्रतियोगितामा नेपालकी सुन्दरी श्रृंखला खतिवडाले दुईवटा अवार्ड आफ्नो नाममा पारिसकेकी छन् । सबैभन्दा महत्वपूर्ण मानिने ‘ब्यूटी विथ प्रपोज’ को अवार्ड जितेसँगै अन्तर्राष्ट्रियस्तरमा उनको चर्चा चुलिएको छ ।

उनले जितेको मल्टिमिडिया अवार्डमा उनका समर्थकहरुको हात थियो किनकि यो अवार्ड पब्लिक भोटिङको आधारमा दिइन्छ । ब्यूटी विथ प्रपोजको अवार्ड भने उनले आफ्नै बलबुतामा हासिल गरेकी हुन् । श्रृंखलाले यो अवार्डका लागि आफूले प्रस्तुत गरेको भिडियो सार्वजनिक गरेकी छन् । यो आठ मिनेट २१ सेकेन्डको भिडियोमा छर्लंग देखिन्छ उनले गरेको दुख र मिहिनेत ।

मकवानपुरस्थित दुर्गम कैलाश गाउँपालिकामा रहेको चेपाङ गाउँ ताम्लाङ, जुन गरिबी र अशिक्षाले आक्रान्त छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चरमा स्नातक श्रृंखलाले आफैं विल्डिङ डिजाइन गरिन् । ६ महिनासम्म स्रोत जुटाउनेदेखि विभिन्न गृहकार्य गरेर हेल्थपोस्ट तयार पारेकी छन्

राजधानीबाट केही सय किलोमिटर मात्रै दुरीमा रहेता पनि यहाँ बिजुली, पानीलगायत कुनै पनि आधारभूत सुविधा छैनन् । यहाँका बस्ती र रहनसहन हेर्दा कुनै आदिम समयको झल्को आउँछ ।

‘तर, यहाँका मानिसहरुको अनुहारमा मुस्कानको भने कमि छैन,’ भिडियो निर्देशक सिसन बानिया भन्छन् ।

यहाँँ पुग्न नै कुनै एड्भेन्चरभन्दा कम थिएन । श्रृंखला भिडियो खिच्न त्यहाँ जाने क्रममा पनि बाटोमा एउटा जीप दुर्घटना भएको थियो । श्रृङ्खलाको निर्देशनमा उनको गाडीका चालकले दुर्घटनाका घाइतेलाई नजिकको हस्पिटल पुर्‍याउन सहयोग गरे ।

मनहरीको पुल हुँदै सडक छोडेर उनको टोली दक्षिणतिर लाग्यो । त्यहाँ खोला सुकेको बेला मात्रै गाडी चढ्थ्यो ।

तर, यतिबेला खोला बढेको थियो । अत्यन्त अप्ठेरो पहाडी बाटोमा गाडी पटकपटक रोकियो ।

काठमाडौंबाट हिँडेको दोस्रो दिनमा श्रृंखलाको टोली कैलाश गाउँपालिका पुगेको थियो ।

चार दिनसम्म श्रृंखला सो गाउँमा रहिन् । त्यहाँको निर्माणाधिन वडा कार्यालय भवनमा उनी बास बसेकी थिइन् ।

 

 

‘चेपाङ बालबालिकाहरु हाम्रो टोलीलाई देखेर अचम्म मानिरहेका थिए,’ बानियाँले यूट्यूवमा राखेको आफ्नो भ्लगमा भनेका छन् ।

यहाँका गाउँवासीहरुको अवस्था दर्दनाक छ । हरेक परिवारमा कम्तिमा पाँच–५ छोराछोरी जन्मिने । उनीहरुमध्ये अधिकांस कुपोषणले ग्रस्त । बालबालिका शिक्षादिक्षाबाट पनि टाढा छन् । सबैको हेरविचार गर्न बाबुआमाले नभ्याउने भएकाले बच्चाहरुले नै आफूभन्दा साना बच्चा हेर्नुपर्ने ।

श्रृंखलाले घर–घर डुल्दै गाउँवासीहरुको पिरमर्का बुझिन् । उनलाई सबैभन्दा बढी खड्कियो स्वास्थ्योपचारको समस्या । बिरामी हुँदा धामी झाँक्रीको भर पर्थे गाउँवासी । उनीहरुले कहिल्यै हस्पिटलको मुख देख्न पाएका थिएनन् र अनेक रोग पालेर बसेका थिए ।

उनीहरुको वार्षिक आम्दानी औसत बीस हजार । खेतबाट भएको सामग्रीले खान पुग्दैन । उत्पादन गरेको सामग्रीले बजार पाउँदैन । जति अभावग्रस्त भए पनि हाँसिखुशी नै बाँचिरहेका छन् उनीहरु ।

यो भिडियो बनाउन जानुभन्दा अगाडि नै श्रृंखला आफ्नी आमा मुनु सिग्देललाई लिएर सो गाउँमा पटक–पटक पुगेकी थिइन् । उनले हेल्थ पोष्ट भवन बनाउन स्थान छनोट गरिसकेकी थिइन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चरमा स्नातक गरेकी श्रृंखलाले आफैं विल्डिङ डिजाइन गरिन् । ६ महिनासम्म स्रोत जुटाउनेदेखि विभिन्न गृहकार्यहरुमा व्यस्त भइन् । ५० लाख रुपैयाँ नेपालीहरुबाटै जम्मा गरिन् ।

हेल्थ पोष्टको पहिलो दिन १० जना विभिन्न विधाका डाक्टरहरु लगेकी थिइन् । त्यहाँका धेरैको लागि यो पहिलो हस्पिटल अनुभव थियो ।

हेल्थ क्याम्पमा २ सय ७० जना बिरामी आए । ७० थरीका औषधि निशुल्क वितरण गरिए । कतिपय अशक्त बिरामीहरु डोकोमा बोकिएर आएका थिए ।

श्रृंखलाले दशैंको उपचारस्वरुप बच्चाहरुलाई जाडोमा लगाउने लुगा पनि प्रदान गरियो । यो गाउँमा बालबालिकालाई नयाँ लुगा लगाउन दशैं नै आउनुपथ्र्यो । त्यसैले नयाँ लुगा लगाउन पाउँदा उनीहरुलाई दशैं आए बराबर भयो ।

भिडियोको मेकिङ उत्कृष्ट छ । भिडियोको अन्त्यमा श्रृंखलाले भनेकी छन्, ‘यो गाउँमा अरु धेरै गर्न बाँकी छ, र कैलाश जस्ता गाउँहरु थुप्रै छन् । तर, साझा प्रयासले सबै सम्भव तुल्याउन सकिन्छ । एउटा भवनले समुदायलाई परिवर्तन गर्छ, एउटा व्यक्तिले देश परिवर्तन गर्न सक्छ र एउटा विचारले सिंगो संसारलाई परिवर्तन गर्न सक्छ ।’

श्रृंखलाको भिडियोमा अत्यधिक सकारात्मक प्रतिक्रियाहरु आएका छन् । भिडियोलाई नेपाली मात्रै होइन, विदेशी दर्शकले पनि उत्तिकै मन पराएको पाइन्छ । धेरैले यसपाली उनी मिस वल्र्डको हकदार भएको बताएका छन् । यस्तो कमेन्ट गर्नेमा भारतीय पनि छन् ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment