२० मंसिर, काठमाडौं । सर्वोच्च अदालत अगाडि र चावहिलमा आकाशे पुल (फ्लाई ओभर ब्रिज) बन्ने भएको छ । काठमाडौं महानगरपालिकाले बढी चाप हुने क्षेत्र पहिचान गरी हाललाई यी दुई ठाउँमा खोलेर सार्न मिल्ने खालको आकाशे पुल निर्माणको प्रक्रिया अघि बढाएको हो ।
रामसाह पथमा अड्डा अदालत, स्वास्थ्य मन्त्रालय लगायत भिडभाड हुने कार्यालय भएकाले त्यहाँ आकाशे पुल अत्यावश्यक देखिएको महानगरपालिकाको शहरी पूर्वाधार विकास विभागका प्रमुख नारायणबाबु भट्टराईले जानकारी दिए ।
चावहिल चोकमा पनि सडक यात्रुको चाप अत्याधिक रहेकाले तत्काल आकाशे पुल बनाउनुपर्ने अवस्था छ । ट्राफिक व्यवस्थापन, दुर्घटना न्युनिकरणका साथै पैदलयात्रुको सहजताका लागि यस्ता पुल उपयोगी हुने महानगरको विश्वास छ ।
चावहिलचोकबाट ५० मिटर पर चुच्चेपाटीतर्फ जाने बाटोमा आकाशे पुल बन्ने विभागका प्रमुख इञ्जीनियर प्रेमबहादुर श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।
उनका अनुसार दुवै पुलको डिजाइन समेत फाइनल भइसकेको छ । तर, रामसाह पथमा सडक विभागको पनि आकाशे पुल बनाउने योजना रहेकाले समन्वय गरेर काम नबाझिने गरी छलफल गर्ने तयारी रहेको प्रमुख भट्टराई बताउँछन् ।
‘सडक विभागले पनि वर्षेनी यस्ता पुलहरुको योजना बनाउने गर्छ, त्यसैले समन्वय गरेर जाने विषयमा केही दिनभित्रै हामी छलफलमा बस्छौं’, उनले भने । सडक विभागका अधिकारीसँग छलफल सकिएलगत्तै दुवै पुलको निर्माण कार्य अघि बढाउने महानगरपालिकाको योजना छ ।
बन्न लागेका यी दुवै पुल आवश्यकता परेको अवस्थामा खोलेर अन्यत्र सार्न मिल्ने हुन्छ ।
‘नट बोल्ट खोलेर सार्न मिल्ने खालको मेटल स्ट्रक्चरको पुल बन्न लागेको हो, आवश्यकता अनुसार यसलाई स्थानान्तरण गर्न मिल्छ’, इञ्जीनियर श्रेष्ठले भने । यसअघि यस्तो आकाशे पुल पुरानो बसपार्क अगाडि परीक्षणका रुपमा निर्माण गरिएको थियो ।
सर्वोच्च अदालत अगाडि २२ मिटर लम्बाईको आकाशे पुल बन्नेछ भने चावहिलमा बन्ने आकाशे पुल १८ मिटर लम्बाईको हुनेछ भने दुवै पुलको उचाई ६ मिटर हुनेछ । दुवै पुलका लागि एक करोड ८० लाख बजेट छुट्टाइएको पूर्वाधार विभागका प्रमुख भट्टराईले बताए ।
‘चावहिलको भन्दा सर्वोच्च अदालत अगाडिको पुलको लागत बढी पर्न जान्छ’, उनले भने ।
कम्तीमा थप १० वटा आकाशे पुल
काठमाडौं महानगरपालिका कम्तिमा १० वटा यस्ता सार्न मिल्ने आकाशे पुल बनाउने योजना बनाएको छ । जसका लागि महानगरपालिका गत आर्थिक वर्षमै पुल बनाउने ठाउँ पहिचान गरेको थियो ।
सर्वोच्च अदालत, चावहिल बाहेक टेकु भन्सार अगाडि, त्रिपुरेश्वर, काठमाडौं जिल्ला अदालत अगाडि, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोकमा यस्ता पुल बनाउने महानगरपालिकाको योजना छ । बानेश्वरको संसद भवन अगाडि पनि आकाशे पुल बनाउने योजना थियो ।
तर, संसद भवन अगाडि आकाशे पुल बनाउँदा सुरक्षा थ्रेट हुने भन्दै रोकिएको महानगरपालिका स्रोत बताउँछ ।
चालु आर्थिक वर्षभित्र कम्तीमा तीन वटा पुल बनाइसक्ने महानगरपालिकाको लक्ष्य छ । जसका लागि महानगरपालिकाले १२ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
महानगरपालिका यसअघि निर्माण गरेका आकाशे पुलमा निजी क्षेत्रलाई विज्ञापन राख्न दिएर आम्दानी गर्दै आएको थियो ।
गत आव ०७४/७५ मा महानगरपालिकाले विज्ञापनबाट १० करोड ९४ लाख ८६ हजार ७९ रुपैयाँ राजस्व असुली गरेको थियो । तर, अब बन्न लागेको आकाशे पुलमा विज्ञापन राख्न पाइने छैन ।
बनेका पुल मर्मत संभारको आवश्यक
हाल काठमाडौं महानगरपालिका भित्र सुन्धारा, न्युरोड, वीर अस्पताल, रत्नपार्क-भोटाहिटी, जमल, रत्नपार्क-बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल सञ्चालनमा छन् ।
भऽकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने अवस्थामा छ ।
अन्य स्थानका पुल भने तत्काल मर्मत गर्नुपर्ने अवस्था छ । वीर अस्पताल अगाडि रहेको आकाशे पुल अत्यन्त जीर्ण हुँदै गएको छ ।
प्रतिक्रिया 4