Comments Add Comment

इच्छुक सांस्कृतिक प्रतिष्ठानले अहिलेसम्म केके गर्‍यो ?

कृष्ण सेन ईच्छुकका नाममा स्थापित ‘इच्छुक सांस्कृतिक प्रतिष्ठान’बाट केही कृतिहरु प्रकाशित भएका छन् । इच्छुकका विभिन्न गद्य पद्य सिर्जना समेटेर इच्छुक रचनावली भाग १, २ र ३ प्रकाशमा आएका छन् ।

प्रतिष्ठानले एक लाख राशीको ‘इच्छुक स्मृति पुरस्कार’ र २५ हजार राशिको ‘इच्छुक प्रतिभा पुरस्कार’ वितरण गर्छ । यी पुरस्कार जनवादी साहित्य र कलाका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रदान गरिन्छ । प्रारम्भमा यो ‘इच्छुक स्रष्टा पुरस्कार’, ‘इच्छुक कला पुरस्कार’ र ‘इच्छुक प्रतिभा पुरस्कार’का नाममा स्थापना गरिएको थियो ।

हालसम्म ‘इच्छुक स्रष्टा पुरस्कार’बाट कवि पूर्ण विराम, पत्रकार तथा साहित्यकार शक्ति लम्साल, कवि तथा निबन्धकार अनिल शर्मा विरही, कवि तथा संस्कृतिकर्मी डी कौडिण्य, कवि, निबन्धकार तथा आख्यानकार दिल साहनी र मार्क्सवादी सौन्दर्य चिन्तक, आख्यानकार तथा निबन्धकार डा. ऋषिराज बराललाई सम्मान गरिएको छ ।

त्यसैगरी ‘इच्छुक प्रतिभा पुरस्कार’बाट कवि निभा शाह, गायकद्वय विद्रोही र झङ्कार बुढा मगर, शान्ति कठायत तथा ‘इच्छुक कला पुरस्कार’बाट सहिदत्रय चुनु गुरुङ, शारदा श्रेष्ठ र च्याङ्बा लामा अनि वीणा शर्मा, किशोर विक र सुशीला थापालाई सम्मान गरिएको छ ।

यस वर्ष ‘इच्छुक स्मृति पुरस्कार’ कविद्वय मोदनाथ मरहट्ठा र विनोदविक्रम केसीलाई संयुक्त रूपमा प्रदान गरिएको छ । अघिल्ला वर्षहरूमा यो पुरस्कार कवि अनिल श्रेष्ठ र आख्यानकार नवीन विभास (संयुक्त रूपमा) तथा कविद्वय राजबहादुर कुँवर र चन्द्रा थानी (संयुक्त रूपमा) लाई प्रदान गरिएको थियो ।
यो पनि पढ्नुहोस कालो बेलुन फुटाएको त्यो दिन….

यस वर्ष साहित्य तर्फको ‘इच्छुक प्रतिभा पुरस्कार’ कवि शोभा दुलाललाई र कला तर्फको गायक फुलमाया दर्जी (प्रगति हिङमाङ) लाई दिइयो । अघिल्ला वर्षहरूमा साहित्यतर्फ कवि पञ्चकुमारी परियार र दार्जीलिङकी कवि भीमा राईलाई तथा कलातर्फ संगीत र नृत्य क्षेत्रका कलाकारद्वय अक्कलबहादुर पाख्रिन (असल) र अनिश योञ्जनलाई प्रदान गरियो ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानले समसामयिक विषयमा राष्ट्रिय–अन्तरराष्ट्रिय स्तरका गोष्ठीहरू पनि आयोजना गर्दै आएको छ । काठमाडौँमा आयोजित ‘समकालीन कला चिन्तनका सन्दर्भमा मार्क्सवाद, उत्तर मार्क्सवाद र उत्तर आधुनिकतावाद’ विषयक अन्तरराष्ट्रिय गोष्ठीमा भारतीय विद्वान प्रा.डा. म्यानेजर पाण्डेय, तेलगु भाषी भारतीय कवि तथा समालोचक एन वेणु गोपाल राव र नेपालका प्रा.डा. ताराकान्त पाण्डेयलाई कार्यपत्र प्रस्तोताका रूपमा आमन्त्रण गरिएको थियो । प्रस्तुत कार्यपत्रमाथि डा.अमर गिरी, मार्क्सवादी सौन्दर्य चिन्तक निनु चापागाइँ, प्रा.डा.अभि सुवेदी र समालोचक दिल साहनीको टिप्पणी थियो ।

‘राष्ट्रिय संस्कृति र सांस्कृतिक साम्राज्यवाद’ विषयक गोष्ठीमा कोलकाता विश्वविद्यालयका हिन्दी विषयका प्राध्यापक शम्भुनाथ र इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीका कार्यपत्र प्रस्तुत भए । ती कार्यपत्रमाथि प्रा.डा.गोविन्द भट्टराई र ‘शीतविन्दु’ का नामले परिचित साहित्यकार प्रदीप ज्ञवाली (हालका परराष्ट्र मन्त्री) बाट टिप्पणीे भयो । त्यस्तै, मकवानपुरको दामनमा आयोजित ‘मार्क्र्सवादी समालोचना चिन्तन तथा समालोचना कार्यशाला गोष्ठी’ मा चारवटा कार्यपत्र प्रस्तुत । तिनमा साहित्यमा ‘चैतन्य’ नामले परिचित मार्क्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य किरणको ‘विचारधारात्मक अन्तर्वस्तु र मार्क्सवादी समालोचना’, ताराकान्त पाण्डेयको ‘मार्क्सवादी समालोचनाको वर्तमान अवस्था र प्रवृत्ति तथा त्यसको शक्ति र सीमा’, प्रा.डा. जगदीशचन्द्र भण्डारीको ‘इतिहास चेत र मार्क्सवादी समालोचना’ र समालोचक रमेश भट्टराईको ‘साहित्यको रूप पक्ष र मार्क्सवादी समीक्षा’ थिए ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानकै सभा कक्षम भएको ‘वर्तमान समयमा साहित्य सिर्जना र अक्टोबर क्रान्तिको सान्दर्भिकता’ विषयक अन्तरक्रियामा चैतन्य, निनु चापागाईँ, अमर गिरी, कवि तथा समालोचक रोशन जनकपुरी र कवि सीता शर्माले गहन बिचारहरु प्रस्तुत गर्नुभयो । यी सम्पूर्ण सामग्रीहरू ‘प्रवर्तक’मा प्रकाशित छन् ।

त्यस्तै, काठमाडौमा आयोजित ‘नेपाली समाजको वर्तमान वर्गचरित्र’ विषयक बहसमा मोहन वैद्य किरण, तत्कालीन एमालेका उपमहासचिव घनश्याम भुसाल, रोशन जनकपुरी र साहित्यकार आहुति वक्ता हुनुहुन्थ्यो । बहसमा डुअर्स (भारत) निवासी प्रगतिशील नेपाली भाषा साहित्यका समालोचक रुपेश शर्माको कृति ‘सृजना र दृष्टि’ को पनि परिचर्चा गरियो । चितवनमा ‘समकालीन नेपाली प्रगतिवादी लेखनको अवस्था र प्रवृत्ति’ विषयक गोष्ठी भयो भने ‘विचार र कला’ मा आधारित सिर्जना र बहसको श्रृङ्खला जारी छ ।

इच्छुक स्मृति दिवसका अवसरमा राष्ट्रिय कविता महोत्सव गरिँदै आएको छ । प्रतिष्ठानले इच्छुककी जीवन सँगिनी तक्मा केसी र उहाँकी माताको समेत सहयोगमा काठमाडौँ दहचोकका भूकम्पपीडित दलित वस्तीका १९ घर परिवारको घरटहरा निर्माणमा आर्थिक सहयोग पुर्‍याइयो । चितवन, पोखरा र ललितपुरको लेलेमा ‘प्रतिरोध कविता अभियान’ सञ्चालन गरियो ।

काठमाडौँ, घट्टेकुलोको धोबीखोला किनारमा इच्छुक सांस्कृतिक प्रतिष्ठानको आफ्नै कार्यालय भवन छ । ०६९ असार १५ गते शिल्यान्यास गरिएको योे भवन लगभग बनिसकेको छ । दुईवटा सभाकक्ष निर्माण कार्य सम्पन्न भइसकेको छ भने पुस्तकालय र वाचनालय बन्न लागेका छन् ।

भवन परिसरमा उद्यान बनाएर बीचमा इच्छुकको सालिक राख्ने काम सुरु हुन बाँकी छ । यहाँसम्म आइपुग्दा यसमा धेरैको मिहेनत परेको छ । ती सबै नाम ससम्मान प्रतिष्ठानको आन्तरिक रेकर्डमा सुरक्षित छन् । भवन निर्माणमा नेपाल सरकारकोे पनि सहयोग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment