Comments Add Comment

बन्धन फुकेसँगै बैंकहरु ब्याजदर बढाउन तल्लिन

२४ मंसिर, काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको मंगलबार बसेको बैठकले व्याजदर निर्धारणमा बैंकहरुलाई खुल्ला छोड्ने निर्णय लियो । यससँगै बैंकहरुमा व्याजदर बढाउने होड शुरु भएको छ ।

यसअघि व्याजदर निर्धारणमा सीमा तोकेर सिण्डिकेट लादेको भन्दै आलोचना भएको थियो । संघले बैंकहरुलाई प्रदान गरेको स्वतन्त्रताले ‘सिण्डिकेट’ त तोडियो, तर यससँगै व्याजदर आतंक सिर्जना भएको व्यवसायीहरु बताउँछन् ।

बैंकहरुमा तरलता अभाव सिर्जना भए पनि अस्वस्थ प्रतिस्पर्धा भने देखिएको थिएन । यसको प्रमुख कारण थियो संघले बैंकहरुलाई भद्र सहमतिको घेरामा राख्नू । एक व्यवसयीले भने, ‘निश्चित व्याजदर भन्दा बढी लिन नपाउने सहमति खारेज गरेर बैंकहरुलाई स्वतन्त्र छोडिँदा वित्त बजारमा अराजकता उत्पन्न हुने देखिएको छ ।’

संघको निर्णयसँगै बैंकहरुले निक्षेप र कर्जाको व्याजदर बढाउन थालेका छन् । एक साता बित्न नपाउँदै निक्षेपको व्याजदर १३ प्रतिशत पुगिसकेको छ । केही बैंकहरु १३ प्रतिशतभन्दा माथि व्याजदर घोषणा गर्न तम्तयार छन् ।

सबैभन्दा पहिले जनता बैंकले निक्षेपको व्याज बढाएको थियो । जनताले १२ प्रतिशत व्याज दिने घोषणा गरेपश्चात माछापुच्छ्रे बैंक र कुमारी बैंकले उसलाई उछिन्यो । जनता बैंकलाई उछिनेर १२ दशमलव ५ प्रतिशत व्याज दिने घोषणा माछापुच्छ्रे बैंकले गर्‍यो । यसलाई पनि उछिनेर कुमारी बैंकले १३ प्रतिशत व्याजदर दिने घोषणा गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंकले पनि १३ प्रतिशत व्याज अफर गरेको छ । १३ प्रतिशत व्याज अफर गरेको जानकारी दिँदै सेञ्चुरी बैंकका एक उच्च अधिकारीले भने, ‘सबैले बढाउन शुरु गरे पछि हामीले पनि बढाएका हौं ।’

२० लाखभन्दा ठूलो निक्षेप आएमा १३ प्रतिशतभन्दा बढी समेत दिन सकिने बैंकका अधिकारीले बताएका छन् ।

निक्षेपको व्याजदर भनेको सर्वसाधारणलाई बैंकले प्रदान गर्ने व्याज हो । सिधा हिसाबले हेर्दा यसबाट बैंकहरुलाई घाटा र निक्षेपकर्तालाई फाइदा देखिन्छ ।

तर, अन्तत्वगत्वा यसले कर्जामा दबाव पर्छ र कर्जाको ब्याजदर पनि बढाइन्छ । यसबाट सर्वसाधारण र उद्योगी दुबैलाई समस्या पर्ने देखिएको छ । बैंकहरुले कर्जाको ब्याजदर बढेको चाहीँ सार्वजनिक गर्न चाहँदैनन् ।

यसरी व्याजदर बढ्ने हो भने व्यवसायमा ठूलो असर पर्ने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ बताउछन् । उनी भन्छन्, ‘२/४ अर्ब पनि निकाल्न नसक्ने बैंक छन्, अनि कसरी हुन्छ ?’

अस्वस्थ प्रतिस्पर्धा

गत वर्ष बैंकहरुबीच व्याजदर बढाउने होड नै चल्यो । सबै बैंकहरुले निक्षेप तान्न होडबाजी गरे । निक्षेप आफूतिर आकषिर्त गर्न बैंकहरुले व्याजदरका विभिन्न स्किमहरु सार्वजनिक गरे ।

त्यसबेला सबैभन्दा धेरै व्याजदर दिने घोषणा एनआईसी एशिया बैंकले गरेको थियो । बैंकहरुले आफूखुसी व्याजदर बढाउदा वित्त बजारमा नकारात्मक असर पर्ने बैंकर्स संघले ठहर गर्दै वाणिज्य बैंकहरु बीच एउटा सहमति भयो ।

बैंकर्स संघ बैठकमा मुद्धति निक्षेपमा ११ प्रतिशतभन्दा बढी दिन नपाउने गरी बाणिज्य बैंकहरुबीच भएको सहमतिलाई नै भद्र सहमतिको नाम दिइएको हो । बैंकर्स संघले उक्त निर्णय गर्दा सबै बैंकका सीईओहरु उपस्थित थिए । तर त्यसको भोलिपल्ट नै एनआइसी एशिया बैंकले थप आकर्षक व्याजदर सहितको योजना ल्यायो ।

भद्र सहमति तोडेको भन्दै बैंकर्स संघले त्यसबेला एनआइसी एशियाविरुद्ध निर्णय लियो । एनआइसी एशिया बैंकले भद्र सहमति तोडेको भन्दै अन्य बैंकहरु एक ठाउँमा उभिए र अन्तरबैंक कारोबार नै नगर्ने बताए ।

यसलाई धेरैले बैंकर्स संघको सिण्डिकेटको रुपमा समेत चित्रण गरे । अन्ततः एनआइसी एशियासँग पुनः छलफल भयो र व्याजदर घटाउने सहमतिमा कुरा मिल्यो । तर, त्यसपछि पनि बैंकहरुले ब्याजदर बढाउन चोरबाटो अपनाए ।

११ प्रतिशत मुद्धति निक्षेप ब्याज भने पनि अगि्रम व्याज भुक्तानी दिने अफर गरे । यद्यपि, बैंकर्स संघको कडाईका कारण व्याजदर ह्वात्तै बढ्न भने सकेको थिएन ।
व्याजदर आकाशिदै जानुको एक मात्रै कारण भनेको लगानीयोग्य पुँजीको अभाव अर्थात तरलता समस्या हो । बैंकहरुमा तरलता अभाव भएपछि निक्षेप तान्नकै लागि संघले व्याजदर बढाउन खुला गर्‍यो र अस्वस्थ प्रतिष्पर्धा मौलायो ।

उपभोगीय वस्तुदेखि सेयर बजारसम्म असर

बैंकहरुले व्याजदर अस्वभाविक रुपमा बढाउँदा यसको घुमाउरो असर दैनिक उपभोग्य सामानदेखि लिएर सेयर बजारसम्म पुग्छ । पैसा हुनेलाई निक्षेप बढेको ठीकै भए पनि समग्रमा यसले अर्थतन्त्रमा असर गर्ने पूर्व बैंकर अनलराज भट्टराई बताउँछन् । उनी भन्छन्, ‘पैसा भएकालाई त निक्षेप राख्यो, व्याज खायो ठीकै हुन्छ तर यसले उद्योगी तथा व्यवसायीका साथै समग्र अर्थतन्त्रलाई नै नकारात्मक असर पर्नेछ ।’

ब्याजदर वृद्धिका कारण महंगी बढ्ने पनि उनी बताउँछन् । निक्षेपको ब्याजदर धेरै हुँदा कर्जाको पनि ब्याजदर धेरै हुने र महंगो ब्याज लिएर उत्पादन गर्दा महंगी बढ्ने उनको तर्क छ ।

अर्कोतर्फ सेयर बजारमा समेत नकारात्मक असर गर्ने पूर्व बैंकर भट्टराई बताउँछन् । उनले भने, ‘कुनै बैंकको सेयर किन्दा त्यसले १२ प्रतिशत पनि लाभांश नदिन नसक्ला तर, त्यही बैंकमा निक्षेप राख्न जाँदा १३/१४ प्रतिशत प्राप्त हुन्छ । त्यसपछि उसले सेयर बेचेर पनि निक्षेप राख्न सक्छ, जसको प्रभाव सेयर बजारमा नकरात्मक पर्न जान्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment