Comments Add Comment

जवानीमै कपाल फुल्यो ? यसरी गर्नुस समाधान

कपाल फुल्नु एउटा प्राकृतिक प्रक्रिया हो । सामान्यतया यसले उम्मेर छिप्पिन थालेको संकेत गर्छ । तर, आजकाल कम उमेरमै धेरै मानिसहरुका कपाल सेताम्य हुन थालेका छन् ।

खासगरी गुणस्तरहीन स्याम्पु र सौन्दर्यका साधनको प्रयोगले समयभन्दा अगाडि नै धेरैको कपाल फुल्ने गरेको हो । केहीमा भने वंशाणुगत कारणले पनि कपाल चाँडै फुल्छ । यस्तै, थाइराइडले पनि यो समस्या निम्त्याउन सक्छ ।

कपालको जरामा मेलेनिन नामक कपाल रङ्गाउने कोषिकाले पिगमेन्ट बनाउन छोडेमा कपाल फुल्ने वा सेतो हुने हो । कपाल फुल्यो भन्दैमा आत्तिइहाल्नु पर्दैन । बजारमा उपलब्ध विभिन्न साधनहरुको प्रयोगद्वारा पनि कपाल फुल्ने समस्यालाई कम गर्न सकिन्छ । साथै, सेतो कपाललाई हटाउन वा लुकाउन पनि सकिन्छ ।

कपाल फुल्नबाट कसरी रोक्ने ?

कपाललाई विभिन्न तरीकाले सेतो हुनबाट रोक्न सकिन्छ । विशेषगरी, सन्तुलित र पोषणयुक्त खानेकुराको सेवनद्वारा कपाल सेतो हुनबाट रोक्नुका साथै कपाललाई स्वस्थ राख्न सकिन्छ ।

त्यसको लागि प्रोटिन, भिटामिन तथा फलफुल, सागसब्जी, अन्न लगायतका पोषक खानेकुरा खान जरुरी छ । पर्याप्त मात्रामा पानीको सेवन गर्नुपर्छ । भिटामिन ए, सी, ई, बी १२, कपर, आइरन, फोलिक एसिड लगायतका मिनरल्स तथा जिङ्कको उचित मात्रामा सेवन गर्नुपर्छ । त्यस्तै, बोयोटिन (भिटामिन एच) को सेवन गर्नुपर्छ । यसले कपाललाई स्वस्थ राख्नुका साथै कपालको प्राकृतिक रङ्ग कायम राख्न मद्दत गर्छ ।

कपाललाई फुल्नबाट रोक्नका लागि गुणस्तरहीन स्याम्पू प्रयोगबाट बच्नुपर्छ । किनकी खराब स्याम्पूमा सल्फेट, फस्फेट, क्लोरिन, तथा अमोनियमको मात्रा धेरै हुन्छ, जसले कपाल रुखो तथा कमजोर बनाउने गर्छ । र, कपाल फुल्ने सम्भावना निम्त्याउँछ ।

बरु कपाललाई स्वस्थ राख्न कपालको नियमित मालिस गर्नु पर्छ । यसबाट कपालको जरामा रक्तप्रवाह हुने गर्छ । जसले कपाललाई स्वस्थ राख्छ । विशेषगरी बदाम, नरिवल वा तोरीको तेलले कपालको जरामा मालिश गर्नुपर्छ ।

एक अध्ययनका अनुसार धुमपान नगर्ने व्यक्तिको तुलनामा धुमपान गर्ने व्यक्तिको कपाल चाँडै सेतो हुने गर्छ । साथै, उनीहरुको कपाल रुखो तथा सुख्खा हुनुका साथै कमजोर हुने गर्छ ।

कपालमा कलर

कपाल कलर गरेर, हाइलाइट गरेर, मेहेन्दी लगाएर तथा प्राकृतिक वस्तुले धोएर पनि कपाल सेतो हुनबाट बच्न सकिन्छ । ४० प्रतिशतभन्दा बढी फुलेमा कपालमा चारैतिरबाट कलर गर्नुपर्छ । कलर सेमी-पर्मानेन्ट वा पर्मानेन्ट दुवै गर्न सकिन्छ  ।

सेमी-पर्मानेन्ट कलर केही हप्ता टिक्छ भने पर्मानेन्ट कलर लामो समय टिक्छ । पर्मानेन्ट कलर कपाल नकाटेसम्म रहिरहन्छ ।

यसबाहेक, कपाललाई ड्राई गरेर वा हाईलाइट गरेर पनि सेतो लुकाउन सकिन्छ । मेहेन्दीको प्रयोग गर्ने त छँदैछ । मेहेन्दीमा कुनै प्रकारको केमिकल्सको प्रयोग नहुने भएकाले कपाललाई कुनै क्षति गर्दैन । मेहेन्दीले कपाललाई चम्किलो बनाउनुका साथै नरम बनाउन मद्दत गर्छ । त्यसबाहेक, हेयर मस्काराको प्रयोग तथा जरामा लगाउने कन्सिलरको प्रयोगद्वारा पनि सेतो कपालबाट छुट्कारा पाउन सकिन्छ ।

त्यति मात्र हैन, घरमै उपलब्ध सामग्रीको प्रयोगबाट पनि चाहेजस्तो कपाल पाउन सकिन्छ । केही विधीहरु यसप्रकार छन् ः

१. आधा कप रोजमेरी वा कपुरको पत्ता पानीको भाँडोमा करिब तीस मिनेटसम्म उमाल्नुस । उक्त जडिबुटीलाई छानेर पानीलाई चिसो हुन दिनुस । पानी चिसो भएपछि प्राकृतिक स्याम्पुको प्रयोगले कपाल धुनुस । यो विधि हप्तामा कम्तिमा एकपटक अपनाउनाले कपाललाई प्राकृतिक रङ्ग प्रदान गर्छ ।

२. थोरै अमलालाई नरिवल तेलमा तबसम्म उमाल्नुस, जबसम्म तेल कालो हुँदैन । अब यो मिश्रणलाई चिसो भएपछि कपालको जरामा लगाउनुस । र, औलाको सहायताले मालिस गरेपछि कपाल धुनुस ।

३. ओख्खर पनि कपालको लागि राम्रो मानिन्छ । केही कालो ओखरलाई एक भाँडो पानीमा भिजाएर त्यसलाई करिब १५ मिनेट उमाल्नुस । उक्त पानी चिसो भएपछि ओख्खरलाई निकालेर कपाल धुनुपर्छ । यो प्रक्रियालाई सातामा करिब दुईपटक दोहोर्‍याउनुपर्छ ।

४. प्रत्येक साता कम्तिमा एक घण्टा प्राकृतिक तेलले कपालको मालिस गर्नु पर्दछ । त्यस्तै, कपालमा कलर गर्न तथा डाई गर्न हेयर स्पेसलिस्टको सहायता लिनुपर्छ । त्यस्तै, नुहाउँदा स्याम्पूको प्रयोग गरेपछि कन्डिसनरको प्रयोग गर्नुपर्छ, जसले कपाल चम्किलो हुनुका साथै स्वस्थ रहने गर्छ । साथै, कपाल क्षति हुनबाट समेत जोगाउँछ ।

सेतो कपाललाई कहिल्यै पनि काट्नु तथा चुँड्नु हुँदैन । अन्यथा, कपाल फुल्ने समस्या तीव्र हुने गर्छ । र, कपाल फुल्दैमा आत्तिइहाल्नु पर्दैन । विभिन्न उपाय प्रयोग गरेर पनि यो समस्यालाई क्षणभरमै कम गर्न सकिन्छ ।

कपाल फुल्नुको सही कारण पत्ता लगाउनु आवश्यक छ । कपाल आणुवंशिक कारणले पनि फुल्न सक्छ । त्यस्तै, थाइराइडसम्बन्धी समस्या, तनाव, रक्तअल्पता, पिट्युटरी ग्रन्थिको समस्याका कारण पनि कपाल फुल्ने वा सेतो हुन सक्छ ।

गोराहरुको ३५ वर्षको उमेरमा नै कपाल फुल्ने गर्छ भने एसियाली र अफ्रिकनहरुमा ४० वर्षको उमेरदेखि नै कपाल फुल्ने गर्छ । त्यसैले, यदि कुनै कारणवस मानिसको उमेर अगावै कपाल फुल्न थालेमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment