0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares
विचार :

बालविवाह रोक्न कानुनसँगै संवाद जरुरी

जब परिवार, शिक्षक र समाजले संवादको ठाउँ दिन सक्दैनन्, तब किशोरकिशोरीले भागेर विवाहलाई नै सुरक्षित विकल्प ठान्न बाध्य हुन्छन् ।

वसन्ती बास्तोला वसन्ती बास्तोला
२०८३ जेठ २५ गते ८:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • किशोरकिशोरीको स्वाभाविक आकर्षण र मित्रतालाई समाजले अपराध मान्दा उनीहरू भागेर बालविवाह गर्न बाध्य भइरहेका छन् ।
  • बालविवाह सम्बन्धी कानून उल्लंघनको आरोपमा मुलुकका विभिन्न कारागारमा ४ सयभन्दा बढी किशोरहरू बन्दी जीवन बिताइरहेका छन् ।
  • बाजुराकी उपप्रमुख नन्दा थापाले बालविवाह कम गर्न छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

एक हप्ता अगाडि म जुम्लामा थिएँ । नन्दकुमारी बुढासँग खोलामा भेट भयो । कपडा धुन आएकी उनले आफू १३ वर्ष हुँदा बाआमाको सहमतिमा उनलाई तानेर विवाह गरी लगिएको बताइन् । ४१ वर्षकी उनका अहिले ७ जना नातिनातिना छन् । मैले सोधें अहिले पनि बालविवाह हुन्छ ? उनले भनिन्, ‘अहिले त आफैं भाग्छन् ।’

बालविवाहको कुरा आउँदा यस्तो उत्तर दिनेमा उनी मात्र हैन जनप्रतिनिधि, शिक्षक र अभिभावक पनि छन् । तर आफैं किन भागेर जान्छन् ? भन्ने खोजी न त परिवारबाट भएको छ नत सरकारी स्तरबाट । उनीहरू झन् के कुरामा खुशी छन् भने बालविवाह हाम्रो कारण नभएर जोगियो ।

एक दशक यता सुदूरपश्चिम, कर्णाली र मधेशप्रदेशमा धेरै किशोरकिशोरीलाई सोध्दा उनीहरू रहरले भागेको भन्दा बढी बाध्यताले भागेको बताए ।

बाध्यता के आइपर्‍यो त यस्तो ? मुगुकी कमला शाहीले भनिन्, ‘स्कुल र गाउँमा कसैसँग बोल्नै नहुने खाली कराइ मात्र रहने अनि कसरी बस्नु ?’

उनलाई लाग्यो घरमा यस्तो कुरा सुनेर बस्न भन्दा बरु विवाह गरे कोही केटाले त माया गर्ला भन्ने लाग्यो । २२/२५ वर्ष अगाडि जब म विद्यालयमा थिएँ । त्यतिबेला प्रेम गर्नु अपराध जसरी लिइन्थ्यो ।

बालविवाहलाई केवल कानुनी उमेरको प्रश्नका रूपमा मात्र हेरेर समाधान खोज्न सकिँदैन । यसको जरा किशोरकिशोरीको भावना, आकर्षण र यौनिकताको अभिव्यक्तिलाई अपराध, लाज र इज्जतसँग जोडेर हेर्ने सामाजिक सोचमा गाडिएको छ ।

कोही केटाले मन परायो या कोही केटासँग बोलचाल भएको या विद्यालयमा हल्ला चलेको कुरा घरसम्म आइपुग्थ्यो । कसैलाई दुश्मनी साध्नु छ भने कोहि केटाकेटीको नाम जोडेर घरसम्म पुर्‍याउँथे र ती केटीको कि विवाह गरिदिन्थे कि स्कुल पठाउँदैनथे ।

यस्तो चलन अहिले पनि विकट स्थानमा बाँकी रहेछ । ६ कक्षामा पढ्दै गरेकी बाजुराकी उमा थापाको सोही कक्षामा पढ्ने केटासँग कुराकानी भइरहन्थ्यो ।

तर स्कुल र छिमेकीले कुरा काट्न थाले । त्यो कुरा उनीहरू दुवैलाई पचाउन गार्‍हो भयो अनि उनीहरू भागेर विवाह गरे । त्यसपछि उनीहरूको पढाइ छुट्यो । १७ वर्ष पुग्दा उनले श्रीमान् गुमाइन् र काखमा बच्चा छ । न कुनै सिप छ न त कुनै जागिर आजभोलि उनी तनावमै जीवन कटाइरहेकी छिन् । उनका आमाबुबा भन्छन्, ‘आफैं गएकी हो हामीले दिएका होइनौं क्यारे ।’

कर्णालीमा बालविवाह अझै उच्च रहेको भन्दै छलफलहरू भइरहेका छन् । तर ती छलफलको निष्कर्ष आजभोलि बालविवाह आफैं भागेर बढी हुन्छ भन्नेमा गएर सकिन्छ ।

यो विषय यति सहजरूपमा लिइएको छ कि, यो कुरा छोराछोरीले नै गरेका हुन् भनेर आमाबाबु पन्छिन् पाएका छन् । तर अझ पनि बालविवाह किन भएको छ त भन्ने विषयमा कुनै अनुसन्धान र चेतना फैलाउने काम भएको छैन ।

हामीले किशोरावस्थामा हुने शारिरिक परिवर्तनका कुरा त उठायौं । तर विद्यालय र घरसम्म राम्रोसँग पुर्‍याउन सकेनौं । हामीले किशोरावस्थामा हाम्रा छोराछोरी र विद्यार्थी एकअर्कामा आकर्षित भएको र कुरा मात्र गरेको सम्मलाई पनि अपराध मान्न थाल्यौं । उनीहरूको एकअर्काप्रतिको आकर्षण र गफगाफलाई समेत प्रेममा परेको र प्रेम गर्नु अपराध हो । चरित्र खराब हो भन्ने भाष्य स्थापित गरेको कारण धेरै किशोरकिशोरी भागेर विवाह गर्न बाध्य भएका रहेछन् । मानवीय संवेदना र उमेर परिवर्तनका बारेमा बच्चासँग कुरा नगरेको कारण उनीहरू आफ्ना कुरा साट्न बाहिरको व्यक्तिको खोजी गर्दा कहिलेकाहीँ दुर्घटनामा समेत पर्ने गरेका छन् ।

केटा र केटीको मञ्जुरीमा भएका सम्बन्धमा समेत उमेर नपुगेको र केटाकेटी सहमत नभएको भनेर उनीहरूलाई अलग्याउने काम भएका छन् । अझ बढी अन्तरजातीय र अन्तरवर्गीय भयो भने यो सम्बन्धलाई अपराधीकरण गरेर किशोरकिशोरीलाई छुटाउने काम गरिन्छ । यसैकारण उनीहरूको मानसिक अवस्था र करियरमा असर गरिरहेको छ ।

जुम्लाकी मनमाया रोकायाको एक जना साथीसँग कुराकानी भइरहन्थ्यो । घरदेखि आफ्नो कुरा भन्दा उसले बुझेजस्तो लाग्थ्यो यसै कुरालाई बहाना बनाएर लभ पर्‍यो भन्ने हल्ला गाउँमा चलाइयो । यसै कुरा परिवारले अपराध जस्तो ठानेकोले केटाकेटी मिलेर भारत भागे । यसरी भाग्नेको संख्या बढेको छ । यो भाग्नुको कारण समाज र घरपरिवारले केटाकेटी मिल्नुलाई पनि लभ परेको ठानेर नराम्रो काम हो भनिदिन्छन् ।

किशोरावस्थामा हुने स्वाभाविक आकर्षण, मित्रता र भावनात्मक सम्बन्धलाई नै गलत ठान्ने वातावरणले धेरै किशोरकिशोरीलाई घर, विद्यालय र समुदायबाट टाढा धकेलिरहेको छ ।

यसरी विवाह हुनेको संख्या बढेर बालविवाह भइराखेको छ तर घरका मानिस आफैं भागेर गएका त हुन् भनिराख्ने चलन बढेको बाजुराको मडिमालिका नगरपालिकाकी उपमेयर नन्दा थापाको अनुभव छ ।

उनले भनिन्, ‘अझै पनि बालविवाह र बहुविवाह रोकिएको छैन, यसमा केटा र केटी मिल्नु र अलि अलि कुरा हुनुलाई पनि अपराध मान्नु हो ।’ मनोपरामर्शको त कुरै छैन, गाउँमा इज्जत फालेको भनेर केटाकेटीले गाली त कति खानु पर्छ पर्छ । किशोरअवस्थामा केटाकेटीले भावना व्यक्त गर्ने उपयुक्त ठाउँ र हौसला नपाउँदा पनि आपराधिक बाटोतर्फ मोडिन सक्ने डाक्टर शर्मिला विश्वकर्मा बताउँछिन् । ‘उनीहरूको संगत, कुराकानी र व्यवहारमा निगरानी राखी कुरा बुझेर व्यवहार गर्न पर्ने अभिभावक नै आफनै समस्यामा हुन्छन् अनि झन् दुरी बढ्छ ।

किशोरकिशोरीको भावना अभिभावक र शिक्षकले बुझिदिनु पर्नेमा अभिभावक र शिक्षक किशोरकिशोरीसँग कुरा गर्ने वातावरण नै नभएको नन्दा थापाको अनुभव छ । ‘यता यस्ता कुरा गर्दा झन् छोराछोरी बिग्रेलान् भन्ने सोच छ । कति अभिभावक त गरिबीको कारण छोरीहरूलाई उमेर नपुग्दै आफैं विवाह गरेर जाउँ भन्ने गरेको थापाले बताइन् । भनिन् ‘यसलाई कम गर्न हामीले उपमेयरसँग छात्रवृत्ति कार्यक्रम पनि ल्याएका छौं ।

यसले अलिकति कम त भएको छ तर एउटा नगरपालिकाको कुरा गरेर भएन । अभाव, सचेतनाको कमी जस्ता कुराले पनि गलत कुराको अभ्यास भइरहेको छ ।

कम उमेरमा विवाह गरेको कारण विवाह गर्ने गराउनेलाई जरिबाना लाग्ने कारण ४ सयभन्दा बढी किशोर कारागारमा रहेको भन्दै अघिल्लो सरकारले विवाहको उमेर कम गर्ने प्रस्ताव लगेको थियो । विवाहको उमेर कम गर्नु मात्र समस्याको समाधान नभएको भन्दै धेरैले यसको विरोध समेत गरे ।

त्यसैले बालविवाहलाई केवल कानुनी उमेरको प्रश्नका रूपमा मात्र हेरेर समाधान खोज्न सकिँदैन । यसको जरा किशोरकिशोरीको भावना, आकर्षण र यौनिकताको अभिव्यक्तिलाई अपराध, लाज र इज्जतसँग जोडेर हेर्ने सामाजिक सोचमा गाडिएको छ । किशोरावस्थामा हुने स्वाभाविक आकर्षण, मित्रता र भावनात्मक सम्बन्धलाई नै गलत ठान्ने वातावरणले धेरै किशोरकिशोरीलाई घर, विद्यालय र समुदायबाट टाढा धकेलिरहेको छ । जब परिवार, शिक्षक र समाजले संवादको ठाउँ दिन सक्दैनन्, तब किशोरकिशोरीले भागेर विवाहलाई नै सुरक्षित विकल्प ठान्न बाध्य हुन्छन् । त्यसैले बालविवाह रोक्ने कानुन कडा बनाउँदा मात्र पर्याप्त हुँदैन । किशोरकिशोरीको यौनिकता, भावना र सम्बन्धबारे खुला, सम्मानजनक र वैज्ञानिक संवाद आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?