Comments Add Comment

१७ वर्षपछि नेपालबाट अमेरिकामा औपचारिक भ्रमण

२८ मंसिर, काठमाडौं । नेपाल र संयुक्त राज्य अमेरिकाबीच करीव १७ वर्षपछि उच्चस्तरीय भ्रमण तय भएको छ ।

अमेरिकी विदेश मन्त्री माइक पम्पिआको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली औपचारिक भ्रमणका लागि आइतबार वासिङ्टन डिसी प्रस्थान गर्दैछन् ।

नेपाल र अमेरिकाबीच उच्चस्तरीय औपचारिक भ्रमण आदान प्रदान नभएको १७ वर्ष पुगेको छ । सन् २००२ मा तत्कालिन अमेरिकी विदेशमन्त्री कोलिन पावेल नेपाल भ्रमणमा आएका थिए । त्यसयता दुवै देशका अधिकारीहरुको औपचारिक भ्रमण भएको थिएन ।

यद्यपी केपी ओली प्रधानमन्त्री भएकै बेला परराष्ट्रमन्त्री कमल थापाले तत्कालिन अमेरिकी विदेशमन्त्री जोन केरीसँग भेटवार्ता गरेका थिए । यसपटकको परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण भने करीव दुई दशकको बीचमा सबैभन्दा उच्चस्तरको औपचारिक कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

दुवै देशका विदेशमन्त्रीहरुबीच डिसेम्बर १८ मा भेटवार्ता तय भएको स्रोतले जनाएको छ । मन्त्रीस्तरीय वार्तामा क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्बन्धका साथै नेपालको चासोमाथि पनि छलफल हुने बताइएको छ ।

भ्रमणका क्रममा नेपाल र अमेरिकाबीचको ब्यापार सम्बन्ध र पछिल्लो समय भोग्नुपरेका समस्याको समाधानबारे पनि छलफल हुने स्रोतले जनाएको छ । परराष्ट्रमन्त्री ज्ञवालीसँग,अर्थ,गृह लगायत सम्बन्धित मन्त्रालयका सहसचिवहरु पनि अमेरिका जाँदैछन् ।

स्रोतका अनुसार नेपाल र अमेरिकाबीच द्धिपक्षीय परामर्श संयन्त्र (बीसीएम) को पहिलो बैठक समेत आयोजना हुने भएको छ । बैठकको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागीले गर्नेछन् ।

परराष्ट्रमन्त्रीको औपचारिक भ्रमण तालिकाको जानकारी मन्त्रालयले गराइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment