Comments Add Comment

नेकपामा प्रतिपक्षको खोजी : वामदेवले मार्लान् बाजी ?

१ पुस, काठमाडौं । संसारभरिका कम्युनिस्टको एउटा सार्वभौम ‘थ्यौरी’ नै छ– ‘पार्टीभित्र अन्तरसंघर्ष भएन भने त्यो कम्युनिस्ट पार्टी मृतप्रायः हुन्छ ।’

यही सिद्धान्तका आधारमा कम्युनिस्ट पार्टीभित्र अन्तरसंघर्षलाई अनिवार्य तत्व मानिँदै आएको छ । कम्युनिस्ट पार्टीमा ‘विचार समूह’ हरु हुन्छन् र ती विचार समूहले आफ्नो नेतासमेत जन्माउँछन् ।

द्वन्द्ववादलाई प्राण ठान्दै आएका कम्युनिस्ट पार्टीहरुमा संस्थापन पक्ष (बहुमत) को नेता हुने र अल्पमतको पनि नेता हुने कुरा द्वन्द्ववादको सामान्य नियम नै हो । किनभने, द्वन्द्ववादले भन्छ– हरेक चिजमा दुई विपरीत पक्ष अनिवार्यरुपमा रहन्छन् र तिनले आपसमा संघर्ष गर्छन् ।

माओवादी र एमाले मिलेर बनेको नेकपाले पनि आफूलाई द्वन्द्ववादमा विश्वास गर्ने कम्युनिष्ट पार्टी भएको दाबी गर्छ । उसको यो दाबीलाई मान्ने हो भने नेकपाभित्र संस्थापन पक्षको नेतामात्र खोजेर पुग्दैन, अल्पमत पक्षको नेता पनि खोज्नुपर्ने हुन्छ । किनकि, कम्युनिस्ट पार्टीभित्र ‘एकमना विचार’ को परिकल्पना लेनिनवाद हैन, ‘स्टालिनवाद’ हो ।

उसोभए प्रश्न उठ्छः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा अब फरक धारको नेता वामदेव गौतम नै बन्न लागेका हुन् त ? पूर्वएमालेदेखि नै फरक विचार समूहको नेता मानिँदै आएका माधव नेपाललाई अब वामदेवले ‘रिप्लेस’ गर्न लागेका हुन् ? अनि, पार्टी एकता हुँदैगर्दा केपी ओलीको समानान्तर नेताका रुपमा प्रचण्डलाई हेर्ने गरिएकोमा अब प्रचण्ड र ओली एकापसमा विलय नै भएका हुन् ? वा प्रचण्डको सत्व जिवितै छ ?

शनिबारदेखि राजधानीमा सुरु भएको नेकपा स्थायी कमिटीको बैठकमा नेता वामदेव गौतमले लिखितरुपमै फरक मत राखेसँगै नेकपाभित्र यस्ता यक्ष प्रश्नहरु जन्मिएका छन् ।

हुन त वामदेव गौतमले ‘पार्टी र सरकारलाई व्यवस्थित बनाउने सन्दर्भमा आफ्नो बिचार’ भन्दै यसलाई फरक मत नभएर पूरक मत भन्न खोजेका छन् । तर, अध्यक्षको राजनीतिक प्रतिवेदनै प्रस्तुत नभई गौतमले आफ्नो फरक मत तयार पारेकाले कम्युनिस्ट पार्टीमा यसलाई ‘पूरक दस्तावेज’ मात्रै मानिँदैन ।

पूरक दस्तावेज भनेको त बैठकमा पार्टी प्रमुखले पेश गरेको राजनीतिक प्रतिवेदन पढिसकेपछि त्यसमा चित्त नबुझेका विषयमा कुनै नेताले लिखितरुपमा समीक्षा पेश गर्छ भने त्यो पूरक प्रस्ताव हुन सक्छ । तर, गौतमले पार्टी र सरकार सञ्चालनको आधारभूत कार्यशैली र अहिलेको अवस्थाबारे बैठकको शुरुमै आफ्नो लिखित विचार राखेकाले यसलाई फरक प्रतिवेदन नै मान्नुपर्ने वाम नेताहरु बताउँछन् ।

वामदेव गौतमको प्रशंगमा चर्चा गर्नुपूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको ‘लाइन’ बारे चर्चा गरौं ।

भारतको भुत !

प्रधानमन्त्री केपीशर्मा ओलीले अचेल वामदेव गौतमका गतिविधिलाई विदेशी चलखेलका रुपमा व्याख्या गर्न थालेका छन् । गौतमलाई विशेष गरी भारतले उचालेको ओलीको बुझाइ छ ।

यसअघि काठमाडौं ७ मा चुनाव लड्ने उद्देश्यले त्यहाँका सांसद रामवीर मानन्धरलाई वामदेव गौतमले प्रचण्ड निवासमा बोलाएर हठात् राजीनामा गराएपछि उनीसँग ओली झस्किएका थिए । त्यसबेला ओलीले बालुवाटारमा आफू निकट नेताहरुसँग कुरा गर्दै रामवीर प्रकरणमा भारतीय उक्साहट रहेको दाबीसमेत गरेको सूत्रहरु बताउँछन् ।

शनिबारको स्थायी कमिटी बैठकमा नेता गौतमले ‘एक व्यक्ति एक पद’ हुनुपर्ने भन्दै केपी ओलीको शक्ति घटाउने प्रस्ताव ल्याएपछि प्रधानमन्त्री ओली फेरि यो मामिलामा विदेशी चलखेल बढेको निश्कर्षमा पुगेका छन् ।

पार्टी मुख्यालय धुम्बाराहीमा आइतबार आयोजित कानुन व्यवसायीहरुको कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्ड र आफूवीच विदेशीले फाटो ल्याउन खोजिरहेको दाबी गरेर फेरि एकपटक वामदेवमाथि उही ‘भारतीय भुत’ को संकेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले कार्यक्रममा बाहिरिया चलखेलतर्फ संकेत गर्दै भने– ‘दुनियाँभरिका बुर्जुवाहरुलाई भन्न चाहन्छु– मिलेर अध्यक्षता चलाउन सक्छौ कसैले, दुईटाले ?’

प्रचण्ड र आफ्नो एकतालाई देखेर बाहिरियाहरु चकित भएकोतर्फ इंगित गर्दै प्रधानमन्त्री ओलीले भने– ‘यो देखेर आश्चार्यचकित भएका छन् । यहाँ लडाइँ, झगडा केही लाउन सकिन्छ कि ? यहाँ (कुर्सीतिर देखाउँदै) फेसो ठोक्न सकिन्छ कि ? यी कुर्सीहरु पर सार्न सकिन्छ कि ? प्रयास त्यो हो ।’

पार्टी अध्यक्ष र प्रधानमन्त्री फरक–फरक व्यक्तिले हाँक्नुपर्ने आशयसहितको प्रस्ताव स्थायी कमिटीको बैठकमा वामदेव गौतमले शनिबार पेश गरेका थिए । तर, त्यसलाई प्रधानमन्त्री ओलीले पार्टीभित्रको आन्तरिक बहसका रुपमा नभएर बाहिरी चलखेलको रुपमा व्याख्या गर्न खोजेको स्पष्ट देखिन्छ आइतबारको उनको अभिव्यक्तिमा । यसको एउटै कारण हो– प्रधानमन्त्री ओली वामदेवको गतिविधिमा भारतीय चलखेल देख्छन् । या जानीबुझी उनी वामदेवले उठाएका मुद्दालाई विषयान्तर गर्न चाहन्छन् ।

नेकपामा वामदेवले उठाएको विषय कसैको उक्साहटमा आएको हो वा पार्टीभित्रकै अन्तरसंघर्षको रुप मात्रै हो ? यसबारे नेकपाभित्र पक्कै बहस हुँदै जाला, तर पार्टीको आन्तरिक जीवनको कुरा गर्दा भारतपरस्त, दरबारपरस्त इत्यादि आरोप–प्रत्यारोप लगाउने कम्युनिष्टहरुको पुरानै प्रचलन हो । विगतमा माओवादीले ओलीसँगको सहकार्य छाडेर कांग्रेससँग गठबन्धन गर्दा स्वयं प्रचण्डलाई पनि ‘लम्पसारवादी’ को आरोप लागेकै हो । माले–एमाले फुटेका बेला वामदेवलाई राजावादी र ओलीलाई महाकाली बेचुवा भारतपरस्त भनिएकै हो ।

अहिले फेरि वामदेव गौतममा ‘भारतीय भुत’ चढेको र नेकपालाई फुटाउन विदेशीले चलखेल गरेको ओली पक्षले आशंका गरिरहँदा यहाँ अर्को पनि प्रश्न उठ्छः

ओली सरकारले ९ महिनाको अवधिमा भारत, चीनलगायत विश्व समुदायसँग सम्बन्ध राम्रो बनाएको दाबी गर्दै आएको छ । छिमेकीसँग सम्बन्ध सुधारेको उसले दाबी गरिरहेको छ । यसरी ओली सरकार आफैंले भारतसँग राम्रो सम्बन्ध बनाएको हो भने वामदेवमा ‘भारतीय भुत’ र विदेशी षड्यन्त्र देख्नु र तर्सनु पर्ने किन ? के ओली सरकारको सम्बन्ध दक्षिणको छिमेकीसँग राम्रो छैन र ?

आखिर, जे होस् । वामदेव गौतमले स्थायी कमिटी बैठकमा पेश गरेको एजेण्डालाई प्रधानमन्त्री ओलीले सिधै बाहिरिया चलखेल करार गरेर खारेजै गरिदिने संकेत गरेका छन् । आइतबारको उनको रौद्र रुपले यही संकेत गर्छ । देश र पार्टीभित्र आन्तरिक समस्यालाई विदेशी चलखेलसँग जोडेर हेर्ने कम्युनिस्टहरुको पुरानै बानी हो, जुन बानीले नेकपामा फेरि प्रवेश पाएको स्पष्ट छ । अहिलेसम्म पनि मधेसी जनताले गरेको आन्दोलनलाई ‘भारतीय चलखेल’ ठान्ने रोग नेकपाका धेरै नेताहरुमा यथावतै छ । र, यो ‘भारतीय भुत’ ले अब नेकपाको अन्तरसंघर्षमै प्रवेश पाएको छ ।

ओली–वामदेव सहकार्यको समाप्ति

वामदेव गौतम पछिल्लो समय ओलीसँग असन्तुष्ट मात्र थिएनन्, आक्रोशित पनि बनिरहेका थिए । विशेषतः उपचुनाव लड्न नदिने र आफूलाई बदनाम गराउने कार्य ओलीकै अगुवाइमा ईश्वर पोखरेललगायतले गरेको उनको बुझाइ छ ।

त्यस्तै अधिकारसम्पन्न राष्ट्रिय विकास प्राधिकरण बनाएर त्यसको नेतृत्व गर्ने उनको चाहना पनि ओलीकै कारण पूरा नहुने गौतले निष्कर्ष निकाले । पछिल्लो सचिवालय बैठक बहिस्कार चार नेताले गरे पनि यसको माहौल बामदेवले नै बनाएको बुझाइ नेकपा नेताहरुको छ ।

०७० सालको दोस्रो संविधानसभा निर्वाचनपछि नेपाली राजनीति र तत्कालीन नेकपा एमालेको राजनीति दुबैको केन्द्र भागमा ओलीको उदय भएको थियो । ओलीको यो उदयमा वामदेवको निर्णायक साथ थियो भन्दा अतिशय हुँदैन ।

तत्कालीन एमालेका अध्यक्ष झलनाथ खनाललाई संसदीय दलको नेतामा पराजित गरेर ओलीलाई जिताउन वामदेव निर्णायक बनेका थिए । त्यही दिनबाट ओली र बामदेव एकातिर भए भने झलनाथ र माधव नेपाल अर्कातिर ।

०६५ सालको आठौं महाधिवेशनमा झलनाथ खनाललाई अध्यक्ष बनाएका वामदेव ०७० मा ओलीतिर लाग्दा झलनाथ र माधव नेपाल दुबै पराजित भए । खनाललाई संसदीय दलको नेता बन्नबाट रोकेका बामदेवले नेपाललाई अध्यक्ष बन्नबाट रोके । दुबै मोर्चामा ओलीलाई जिताउन वामदेवको निर्णायक मत थियो ।

नवौं महाधिवेशनमा वामदेवसँग दुई सयभन्दा बढी मत थियो । वामदेवनिकट महाधिवेशन प्रतिनिधि जता लाग्यो, उसैले जित्ने अवस्था किन पनि भयो भने महाधिवेशनमा केपी ओलीले माधव नेपाललाई करीव ५० मतले मात्रै जितेका हुन् ।

आफूलाई ०५२ देखि साथ दिएका घनश्याम भुसाल, योगेश भट्टराईलगायत युवा नेताहरुको साथ त्यागेर वामदेवले ओलीलाई साथ दिएका थिए । तर, ओलीले अध्यक्ष र संसदीय दलको दुबै पदमा जितेसँगै वचनमा इमान्दार नदेखिएपछि वामदेव विरक्तिएका हुन् । ओली पार्टी अध्यक्ष भएपछि वामदेवलाई संसदीय दलको नेता बनाउने भद्र सहमति ओलीबाट पालना नभएको कुरा उतिबेलै उठेको थियो ।

अहिले वामदेव गौतमले आफ्नो फरक मतमा ‘एक व्यक्ति एक पद’ को कुरा उठाउनुको चुरो केपी ओलीको त्यो ‘धोखाधडी’ पनि मुख्य कारण हुन सक्छ । अहिले गौतम दुई अध्यक्षहरुमध्ये एकजना प्रधानमन्त्री र अर्कोले पार्टी कमाण्ड गर्नुपर्ने मत लिएर लिखितरुपमै स्थायी कमिटी बैठकमा प्रस्तुत भएका छन् ।

हिजो ‘एक व्यक्ति एक पद हुनुपर्छ’ भनेर नेतृत्वमा आएका ओलीबाटै सो मान्यता उल्लंघन भएकोमा गौतम सबैभन्दा रुष्ट छन् । गौतमले केपी ओली पहिलोपटक प्रधानमन्त्री भएकै बेला तत्कालीन एमालेको कार्यवाहक अध्यक्षको मागसमेत गरेका थिए । संसदीय दलको नेता र कार्यवाहक अध्यक्ष दुवै पद नपाएपछि बामदेवले ओलीबाट ‘भयंकर धोखा’को महशुस गरेका थिए । आफूलाई विगतदेखि साथ दिएका धेरै नेता माधव नेपालसँग थिए । तर पनि वामदेवले ओलीको साथ छाडेका थिएनन् ।

यसबीचमा पार्टी एकीकरण प्रक्रियामा उनको महत्वपूर्ण भूमिका रह्यो । पार्टी एकीकरणपछि वामदेव प्रचण्डतिर जाने धेरैको अनुमान थियो । उनले प्रचण्डलाई कतिपय सन्दर्भमा साथ दिएका पनि हुन् । तर, ओलीविरुद्ध अर्को गुट बनाएर चुनौति दिने सन्दर्भमा प्रचण्डले मोर्चा नखोल्ने उनको बाध्यता बुझेपछि वामदेवले ओलीविरुद्ध मोर्चा खोलेको बुझ्नुपर्ने कतिपय नेताहरुको तर्क छ ।

वामदेवसँग जोडिएका धेरै नेताहरु अहिले पनि नेकपाको केन्द्रीय कमिटीमा छन् । किरण गुरुङ, रविन्द्र अधिकारीहरुले के गर्छन् भन्ने प्रष्ट नभए पनि बलराम बास्कोटा लगायतको टिम वामदेव जता गयो, त्यतै जान्छ । वामदेवको फरक मत तत्काल दुबै अध्यक्षविरुद्ध आएको देखिए पनि त्यो मूलतः ओलीसँगको सम्वन्ध विच्छेदको लिखतमात्र हो भन्ने धेरैको निष्कर्ष छ ।

वामदेवको फरक मत र त्यसमा लिपिबद्ध भएका कुराहरु अधिकांश ओलीप्रति आलोचना गरिएका छन् । त्यसैले पनि यो फरक मतलाई ओलीविरुद्ध वामदेवको बगावतका रुपमा मात्रै लिन पनि सकिएला । तर, वामदेवले उठाएको ‘एक व्यक्ति एक पद’ को कुराले पार्टीमा बहस खुला गरेको छ । सोमवारदेखि निरन्तर हुने स्थायी कमिटी बैठक वामदेवका एजेण्डामाथि केन्द्रित हुने देखिन्छ ।

नेकपाको भोलिको समीकरण के हुन्छ भनेर विश्लेषण आजै गर्नु हतार हुन सक्छ । तर, तत्कालीन एमाले र माओवादीलाई बुझेकाहरुले यतिचाहिँ भन्न सक्छन् कि ओलीसँग वामदेवको औपचारिक बगावतसँगै नेकपामा गुटहरु नयाँ ढंगले बन्ने क्रम शुरुवात भएको छ ।

प्रचण्डचाहिँ ओलीमै विलय भएका हुन् त ?

जतिबेला एमाले र माओवादीवीच एकीकरण भइरहेको थियो, त्यसबेलासम्म कतिपय नेताहरुलाई के लागेको थियो भने प्रचण्डले केपी ओलीलाई चुनौती दिनेछन् र फरक विचार समूहको नेता प्रचण्ड नै हुनेछन् । मधेसी, जनजाति लगायतका मुद्दामा ओली र प्रचण्डको फरक बुझाइ थियो । साथै तत्कालीन एमालेभित्र झलनाथ, माधव, वामदेव लगायतलाई साथ दिँदै प्रचण्डले ओलीलाई काउन्टर गर्नेछन् भन्ने ओली इत्तरका नेताहरुको आशा थियो ।

तर, प्रचण्डले ओलीइत्तर पक्षलाई अहिलेसम्म निराश बनाइदिएका छन् । र, यही कारण पूर्वएमालिेभित्र रहेको केपी ओलीविरोधी अभिमतले प्रचण्ड बाहेक अर्कै व्यक्तिमा फरक धारको नेता खोज्न थालेको देखिन्छ । बालुवाटारको सचिवालय बैठक बहिस्कारदेखि वामदेवको फरक मतको प्रस्ताव यसैको सिलसिला हुन सक्छ ।

नेकपाका एक स्थायी कमिटी सदस्य भन्छन्– ओलीको कार्यशैलीसँग प्रचण्ड लगायत अधिकांश नेताहरु सहमत छैनन् । तर, पनि पार्टी एकीकरणको प्रक्रियानै नटुंगिसकेको र महाधिवेशन पनि नआइसकेको अवस्थामा प्रचण्ड र ओलीवीच वैचारिकरुपमा दुई वटाधार बन्ने सम्भावना खासै देखिन्न ।

यो निश्चित छ कि वामदेवको फरक मत ओलीसँग उनको सहकार्यको युग समाप्त भएको सन्देश हो । तर, वामदेवको यो फरक दस्तावेजले ओलीलाई नेकपामा थप कमजोर बनाउने र उनको कदमले बलियो चाहिँ प्रचण्डलाई नै बनाउने विश्लेषण पनि कतिपयले गरिरहेका छन् । कतै यसमा पनि रामवीर प्रकरणमा जस्तै प्रचण्ड र वामदेववीच साँठगाँठ ने छ छैन ? यस्तो आशंका गर्नेहरु पनि नेकपाभित्र भेटिन्छन् ।

नेकपा नेताहरुको मूल असन्तुष्टि र असहमति प्रधानमन्त्रीसमेत रहेका पहिलो वरियताका अध्यक्ष केपी ओलीसँगै रहे पनि अर्का अध्यक्ष प्रचण्डले तत्काल ओलीसँग फरक मत राखेर नजाने प्रष्ट पारिरहेका छन् । प्रचण्डले ओलीका कार्यशैलीप्रति अनेक असहमति हुँदाहुँदै पनि अहिले आफू फरकमत राखेर जाँदा एकता प्रक्रिया नै खतरामा पर्ने बताइरहेका छन् ।

असन्तुष्ट नेताहरुले ‘एक व्यक्ति एक पद’ को कुरा उठाएर प्रचण्डलाई आफ्नो नेता बनाउन खोजे पनि प्रचण्डले कम्तिमा आगामी महाधिवेशनसम्म ओलीविरुद्ध उभिन चाहेको देखिँदैन । व्यवहारगत असहमति र कार्यशैलीमा फरक हुँदाहुँदै पनि ओली र प्रचण्ड कम्तिमा आगामी महाधिवेशनसम्म एकै ठाउँमा रहने अवस्था देखिएपछि नेकपाको हाइकमाण्डमा फरक धारको नेताको खोजी हुन थालेको हो ।

माधव नेपाल फ्याक्टर

पूर्वएमालेदेखि नेकपा एकीकरण हुँदासम्म पार्टी सञ्चालनका कतिपय सन्दर्भ र निर्णयहरुमा माधव नेपालले असहमति राखेर फरक धारको नेता उनै देखिएका थिए । पछिल्लो समय प्रदेश कमिटीमा पदाधिकारी चयनपछि नेपालले स्थायी कमिटी सदस्यहरुको भेलासमेत गरेर आफूलाई फरक धारको नेताका रुपमा उभ्याएका पनि हुन् । संसदमा उनले देश डुब्नै लाग्यो भनेर प्रतिपक्षी स्वरमा भाषण पनि गरेकै हुन् ।

ओली र प्रचण्डपछिको तेस्रो बरियतामा रहेका कारण पनि माधव नेपाल स्वाभाविकरुपमा फरक धारको नेतामा स्वीकार्य हुन सक्ने सम्भावना पनि नभएको होइन । तर, शनिबारको स्थायी कमिटी बैठकमा वामदेवले लिखितरुपमै फरक दस्तावेज राखेपछि माधव नेपालले बाजी हारेको चर्चा नेकपाभित्र सुरु भएको छ । यद्यपि दुबै अध्यक्षको प्रतिवेदन अध्ययन गरेपछि माधव नेपाल र झलनाथ खनालहरुको धारणा आउने भएकाले अहिले नै हतार नगर्न नेपाल निकट एक स्थायी कमिटी सदस्यले आग्रह गरे ।

ती नेताका अनुसार वामदेवको दस्तावेजले उनी फरक धारको नेता बनेको भन्दा पनि ओलीसँगको ५ वर्षयताको निरन्तर सहकार्य समाप्त भएको अर्थमा बुझ्नुपर्छ ।

तर, वामदेव गौतमले दस्तावेज ल्याइसकेपछि अर्को दस्तावेज ल्याउने कि गौतमकै दस्तावेजमा टेकेर संस्थापन पक्षसँग वैचारिक संघर्ष गर्ने भन्ने सुविधामा परेको छ माधव नेपाल समूह । ओलीसँग असन्तुष्ट रहँदै आएको झलनाथ खनाल समूहको भवितव्य पनि माधव नेपाल पक्षको जस्तै छ ।

माधव नेपालले पनि पार्टीमा ‘एक व्यक्ति एक पद’ को कुरा उठाउँदै आएका हुन् । जुन कुरालाई वामदेवले लिखितरुपमै पार्टी बैठकमा छलफलका लागि ल्याएका छन् । उनको फरक मतलाई छलफलमा लैजान ओली र प्रचण्ड बाध्य छन् । त्यसैले यही बैठकबाट नेकपामा राजनीतिक–वैचारिकमात्रै नभएर नयाँ गुट निर्माणको बहस पनि शुरु भएको छ ।

त्यसो त यो घटनाक्रमसँगै ओली र माधव नेपाललाई मिलाउने धार पनि नेकपामा सक्रिय छ । किनकि पूर्वएमालेभित्र एउटा बलियो पंक्ति छ, जो ओली र माधव नेपाललाई मिलाउन चाहन्छ । दोस्रोपटक केपी ओली प्रधानमन्त्री बनेका बेलामा माधव नेपालले आफ्नो गुटका नेतालाई समेत चक्मा दिँदै केपी ओलीलाई साथ दिएका थिए । पछिल्लो समयमा एसिया प्यासिफिक सम्मेलनमा ओलीले माधव नेपाललाई आर्थिक भौतिक साथ दिएकै हुन् ।

यो अवस्थामा माधवकुमार नेपाल प्रचण्डले जस्तै केपी ओलीसँग रहने वा वैचारिक संघर्षको मैदान वामदेवका हातमा जान नदिने आफूले कमाण्ड सम्हाल्ने भन्ने दोधारमा देखिन्छन् ।

नेकपाका अर्का बरिष्ठ नेता झलनाथ खनाल पनि केपी ओलीविरुद्ध उभिन थालेका छन् । तर, उनले पनि फरक धारको नेता बनिहाल्ने वामदेव जसरी आँट र हतारो गरेको देखिँदैन ।

प्रतिपक्षी नेता बन्ने वामदेवको प्रयास

कम्युनिस्ट पार्टीमा जसले फरक दस्तावेज बैठकमा छलफलका लागि लैजान्छ, ऊ नै फरक मतको नेता हुने प्रचलन अन्तर्राष्ट्रियरुपमै चलेको हो । विगतमा तत्कालीन एमालेभित्र मदन भण्डारीविरुद्ध सीपी मैनाली र माधव नेपालविरुद्ध बामदेव–झलनाथले फरक मत पेश गरेका थिए ।

त्यसैगरी झलनाथविरुद्ध केपी ओलीले फरक मतको नेतृत्व गरेका थिए । केपी ओली पार्टी अध्यक्ष भएपछि माधव नेपाल फरक धारको नेता बने । पूर्वएमालेको महाधिवेशनमा ओलीसँग चुनाव लडेका नेपालले बैठकहरुमा लिखित र मौखिक असहमति तथा फरक मतहरु दर्ज गर्दै आएका थिए ।

त्यसैगरी तत्कालीन माओवादीमा प्रचण्डविरुद्ध कहिले बाबुराम त कहिले मोहन वैद्यले फरक मत पेश गर्ने गरेका थिए । यसक्रममा माओवादीमा पनि भारतपरस्त र दरबारपरस्तको आरोप प्रत्यारोप चल्ने गरेको थियो ।

यही सिलसिलामा एमाले र माओवादी एकीकरणका क्रममा बनेको राजनीतिक प्रतिवेदन सर्वसम्मत नै थियो । त्यसमा कसैको फरक मत थिएन । तर, त्यसयता राजनीतिक प्रतिवेदन पेश भएको पहिलो बैठकमै फरक दस्तावेज आएपछि अब नेकपामा फरक मतको नेता वामदेव बन्न खोजेको देखिन्छ ।

नेकपामा पछिल्लो समय माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई फरक मतका नेता मानिएको थियो । किनकि उनीहरु पार्टी र सरकार सञ्चालनका सन्दर्भमा दुवै अध्यक्षका कार्यशैलीप्रति असन्तुष्ट नै छन् ।

तर, आँटै गरेर नेकपामा फरक धारको नेतृत्व सम्हाल्ने र संस्थापन पक्षसँग ‘टेक’ गर्ने आँट गर्ने चाहिँ वामदेव गौतम ठहरिएका छन् ।

तर, के वामदेवले अब नेकपामा फरक धारको नेता बन्ने बाजी मार्लान् त ? यसका भने गौतमका अगाडि निकै ठूलो चुनौतीहरु छन् । एक त उनी रामवीर प्रकरणपछि निकै नै बदनाम भएका छन् । दोस्रो– उनी आर्थिक अनुशासनको मामिलामा स्वच्छ छवि भएका नेता मानिँदैनन्, जसका कारण उनीप्रति आम मानिसले चाँडै विश्वास र समर्थन दिने स्थिति देखिँदैन । उनी विगतमा बारम्बार विवाद र ‘स्क्याण्डल’ मा पर्दै आएका नेता हुन् ।

नेकपा वा सरकारको कमाण्ड ओलीको हातबाट वामदेवको कमाण्डमा जाँदैमा कुनै सकारात्मक परिवर्तन आउने देखिँदैन । यस सन्दर्भमा पूर्वएमालेमा मदन भण्डारीलाई उधृत गर्दै एउटा चर्चा चल्ने गरेको थियो– ‘वामदेव नभएसम्म पार्टी चल्दैन, तर वामदेवलाई जिम्मा लगायो भने पनि पार्टी चल्दैन ।’

नेकपाको भवितव्यः प्रतिपक्षी नेताको खोजी

सरकार र देशको वस्तुगत स्थिति अनि नेकपाभित्रको आत्मगत स्थितिलाई हेर्दा अब नेकपाभित्र संस्थापन पक्षसँग वैचारिक मोर्चा खुलेको कुरालाई कसैले अस्वीकार गर्न सक्दैन । सरकारको मूल्यांकनमा होस् वा पार्टी सञ्चालनको विधि र प्रक्रियामा किन नहोस् नेकपाभित्र दुईधार स्पष्ट देखिएको छ । धार दुईवटा भएपछि नेता पनि दुईपक्षमै हुने नेकपाको शास्त्रीय सिद्धान्त नै हो ।

यो स्थितिमा अब केपी ओलीले आफ्ना नेताविरुद्ध जति नै छुचो भाषण गरे पनि नेकपामा दुईवटा ठुल्ठुला गुटहरुको अभ्युदयलाई कसैले रोक्न सक्ने अवस्था देखिँदैन । गुट नहोस् भनेर चाहना गर्नु एउटा कुरा हो, तर वस्तुगत विज्ञान अर्को कुरा हो ।

नेकपामा आएको यो भवितव्यले एउटा न एउटा फरक धारको नेता खोज्छ नै । खाली त्यो स्थानलाई कसले आफ्नो पोल्टामा पार्छ भन्ने मात्रै हो । झलनाथ खनाल, माधव नेपाल, वामदेव वा प्रचण्ड, जसले संस्थापन पक्षसँग वैचारिक राजनीतिक अन्तरसंघर्षको नेतृत्व लिन्छ, उही भोलि वैकल्पिक नेता बन्ने देखिन्छ ।

नेकपामा अहिले प्रचण्डलाई पनि सजिलो छैन । केपी ओली अलोकप्रिय हुँदै जाँदा उनलाई कहिलेसम्म बोकिरहने ? यो प्रश्न प्रचण्डमाथि कुनै दिन उब्जन सक्छ । अहिले वामदेव, माधव र झलनाथले अन्तरसंघर्ष गरेर बनाइदिएको मैदानमा भोलि प्रचण्ड थपक्कै आएर नेता बन्ने सम्भावना रहला वा नरहला ? यो पनि प्रचण्डका लागि अर्को चुनौती हो ।

ओलीसँग अन्तरसंघर्ष गर्दा पार्टी एकताको कोर्ष नै बिग्रन्छ र लोकतन्त्र नै समाप्त हुन्छ भन्ने प्रचण्डले जुन जोखिमको चर्चा गरिरहेका छन्, ओली सरकारले गरेका एकपछि अर्को गल्तीप्रति उदारवादी बनिरहँदा त्यस्ले पार्ने जोखिमबारे प्रचण्डले आँखा चिम्लिरहेका त छैनन् ? यो मूर्धन्य प्रश्न पनि तेर्सिएको छ प्रचण्डमाथि ।

प्रधानमन्त्री ओलीले जति नै तर्क–वितर्क गरे पनि सरकारप्रतिको अलोकप्रियता बढेकै छ । प्रधानमन्त्रीले पार्टी र सरकार दुबैको जिम्मेवारी आफैंले लिँदा काममा ढिलासुस्ती र गोलमाल भएकै छ । यो अवस्थामा प्रधानमन्त्रीले नम्र भएर सामुहिक नेतृत्वका लागि सहज हुनुपर्नेमा असन्तुष्ट पक्षसँग जुन प्रकारले शत्रुलाई जस्तै व्यवहार गर्दैछन्, यसले नेकपालाई झनै अन्तरविरोधतिर धकेल्ने देखिन्छ । प्रधानमन्त्री ओलीको वैयक्तिक स्वाभाव र कार्यशैलीले पनि नेकपाभित्र फरक धारको जन्म र विकास गराइरहेको छ । यसतर्फ ओलीका सल्लाहकारहरुले पटक्कै सोचेको देखिँदैन ।

अन्त्यमा,

अहिले सत्तापक्षले तर्क गरेजसरी नै प्रधानमन्त्री केपी ओली असफल हुनु भनेको देशै असफल हुनु कदापि होइन । केपी ओली भगवान होइनन्, जसले एउटै गल्ती नगरुन् ।

ओली सरकार असफल हुनु भनेको नेकपा नै असफल हुनु पनि होइन । तर, नेकपामा दुःख चाहिँ यही छ कि सरकार सञ्चालनमा प्रधानमन्त्री केपी ओलीको विकल्प केपी ओली मात्रै पो हुन् कि जस्तो छ ।

यदि केपी ओलीलाई नेकपाले प्रधानमन्त्री बनाएको मान्ने हो भने ओलीले काम गर्न नसकेको स्थितिमा सत्तारुढ पार्टीले उनको विकल्प खोज्नु कुनै उल्कापात होइन, हुँदैन । यसो गर्नु कुनै पहाड खस्ने वा विदेशी हस्तक्षेप हुने कुरा पनि होइन । ओलीको विकल्प खोज्ने हो भने उनीभन्दा राम्रो व्यक्तिलाई सरकारको नेतृत्वमा ल्याउनुपर्ने हुन्छ नेकपाले ।

तर, अहिले नै केपी ओलीको विकल्प खोज्नुभन्दा पनि मुख्य कुरोचाहिँ के हो भने जनताले बहुमत दिएको पार्टीको सरकारले जनताको पक्षमा काम गर्नुपर्‍यो । जनताको चाहना अनुसार चल्नुपर्‍यो । पार्टीका नेताहरुको विश्वास लिएर घमण्ड नगरिकन सरकार सञ्चालन गर्नुपर्‍यो ।

के नेकपाका नेताहरुले पाएको अभूतपूर्व जनादेशलाई सही ढंगले सदुपयोग गर्लान् ? वा बहुमतका नाममा मनोगत डम्फू बजाएर जग हँसाउँदै आफ्नो कार्यकाल बिताउलान् ? यसबारे जारी स्थायी कमिटी बैठकले गम्भीरतापूर्वक समीक्षा गर्ला कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment