Comments Add Comment

मसानघाट जोगाउने कि झगडा गर्ने ?

२ पुस, काठमाडौं । कसैको मृत्यु हुनु भावनात्मक हिसाबले निकै पीडादायक क्षण हो । यो क्षण मृतकका आफन्त र नजिक रहेकाहरुलाई त झन् मन थाम्न गाह्रो हुन्छ । मृत्युपछि अचेत तर, साझा गन्तव्य हो मसानघाट ।

काठमाडौंका मसानघाटहरुमा अहिले झगडा पर्ने स्थिति छ । घनाबस्ती र बसोबासको सहर हो काठमाडौं । घना हुनुका पछाडि पनि आफ्नै आरोह–अवरोह छन् । काठमाडौं आउँदा जता हेर्यो उतै घर देखेपछि धेरैले भन्ने गरेका छन्– मरेपछि गाड्ने ठाउँ पनि छैन यहाँ त !

अव्यवस्थित बसोबासले चिहानसमेत चपेटामा पर्न थालेका छन् । भूमाफियाले चिहानसमेत बाँकी नराखेपछि पछिल्लो केही वर्षयता काठमाडौंसँगै मुलुकभर यो समस्या विकराल बन्दै गइरहेको छ । यो समस्या काठमाडौंमा मात्रै होइन, बाहिरी जिल्लामा पनि देखिएको छ ।

अनलाइनखबरमा यसअघि प्रकाशित समाचारमा धेरैको प्रश्न थियो– बस्ती छेउमा घाट बनाइएको हो कि घाट छेउमा बस्ती ? घाटमाथि अतिक्रमण र घाट नजिक बस्ती बसाउँदा यो विषय बहसको वर्तमान आवश्यकता बनेको छ । घाट वरपर बस्ती बसेपछि दाहसंस्कार स्थलमा झगडा भएका केही दृष्टान्त केलाउँ ।

घटना नम्बर १

गत ११ साउनमा रौतहटको गरुडा नगरपालिका–९ रघुनाथपुरका स्थानीय ६० वर्षीय रामपृत सहनीको मृत्यु भयो । मृत्युपछि दाहसंस्कार गर्नका लागि वर्षौैंदेखि प्रयोग गर्दै आएको घाटमा लगे उनका परिवारले । तर, त्यसदिन असामान्य स्थिति सृजना भयो र झगडा नियन्त्रणका लागि प्रहरीले २५ राउण्ड हवाइ फायर गर्नुपर्‍यो । २३ राउण्ड अश्रु ग्यास पनि छाड्यो प्रहरीले । पाँच स्थानीय घाइते भए ।
यो पनि पढ्नुहोस बस्ती छेउको घाटः शव जलाउने ठाउँमा झगडा !

विवाद हुनुको कारण काठमाडौंको चावहिल पिंगको जस्तै हो । रघुनाथपुरका स्थानीयले जुन घाट प्रयोग गर्दै आएका थिए त्यहाँ पनि पातलो बस्ती थियो । तर, अहिले त्यहाँ मुस्लिमहरुको बाक्लो बसोबास छ । बस्तीको छेउमा शव जलाएको भन्दै स्थानीय मुस्लिमहरु विरोधमा उत्रिएपछि मुडभेड भएको थियो ।

स्थानीयहरुको तर्क थियो– यो घाट वर्षौं पुरानो हो ।

घटना नम्बर २

३ असोजमा सोही वडाको श्रीपुर नजिक रहेको गम्हरिया टोलमा पनि स्थानीय ३५ वर्षीय भंगियादेवीको दाहसंस्कारका क्रममा झडप भयो । कारण थियो– बस्ती छेउको घाटमा ल्याएर दाहसंस्कार गर्नु । यो घटना नियन्त्रणमा लिन पनि प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास छाडेको थियो ।

घटना नम्बर ३

२९ फागुन २०७३ मा सुनसरीको नर्सिङ– ४ खोलामा पनि हिन्दु समुदायले आफ्नो समुदायको बस्ती नजिकै शव जलाएको भन्दै मुस्लिमहरु विरोधमा उत्रिए । मस्जिद नजिकै शव जलाउँदा दुर्गन्धले मुस्लिम देवता रिसाएर अनिष्ट हुने भन्दै मुस्लिमले हिन्दुको दाहसंस्कार स्थलमै तारबार गरेर अवरोध गरे । विवाद चर्किएर झडप हुँदा ३० जना घाइते भए ।

चावहिलको पिंगमा देखिएको विवाद पनि यस्तै हो । त्यहाँ त्यस्तो अप्रिय घटना नभए पनि विवाद मुडभेड उन्मुख भने छ ।

छैन दीर्घकालीन योजना


घाट नजिक घर बनाएर बसेकालाई सहन गर्न गाह्रो, परापूर्वकालदेखि त्यहीँ अन्तिम संस्कार गर्दै रैथानेहरुलाई स्थल बदल्न गाह्रो छ । यही कारणले रैथाने र आगन्तुक बासिन्दाबीच घाट छेउका बस्तीमा मुडभेड नै हुने स्थिति बनेको छ । यसको निराकरणका लागि राज्य पक्षले ठोस योजना त बनाएको छैन नै, चिहान, नदी किनार र सार्वजनिक जग्गामाथिको अतिक्रमणसमेत रोक्न सकेको छैन ।

आखिर नदी किनारको सार्वजनिक जग्गामा अन्तिम संस्कारका लागि बनाइएका घाट वरपर कसरी बस्तीहरु बसे ? ऐतिहासिक संरचना र सार्वजनिक जग्गाको संरक्षणको जिम्मा पाएका राज्यका निकाय कुम्भकर्ण भए वा किर्ते गरी अतिक्रमण गर्न सघाए भूमाफियालाई ? यसको खोजी र अनुसन्धान जरुरी छ ।

काठमाडौंको पशुपतिमा ०७२ माघदेखि विद्युतीय शवदाह सञ्चालनमा ल्याइयो । शुरुवाती चरणमा मानिसमा यसप्रति खासै चासो थिएन । तर, पछिल्लो समय यसको प्रयोग बढेको छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार अहिले त्यहाँ १० देखि १५ वटासम्म शवको दाहसंस्कार हुन्छ । कोषले दैनिक २२ वटासम्म दाहसंस्कार गर्न सक्ने दुईवटा विद्युतीय शवदाह मेसिन सञ्चालनमा ल्याएको छ । विद्युतीय शवदाहबाट दाहसंस्कार गर्दा परम्परागत शैली भन्दा कम समय र खर्चसमेत कम लाग्छ ।

विद्युतीय शवदाह मेसिनमा पनि परम्परागत तौरतरिका पुर्‍याएर अन्तिम संस्कार गर्ने व्यवस्था मिलाइएको छ । तर, अझै पनि सबै समुदायका मानिसले यसलाई रुचाएको पाईंदैन । त्यहाँ नेवार, लामा र राई समुदायका मृतकको दाहसंस्कार बढी हुने गरेको कोषको तथ्याकंले देखाउँछ ।

पशुपतिमा जस्तै विद्युतीय शवदाह अन्यत्र छैन । बढी झडप हुने गरेको रौतहटकै चन्द्रपुर १ मा भने व्यवस्थित दाहसंस्कार स्थल बनाउन पहल थालिएको छ । त्यहाँको बाग्मती नदीमा दाहसंस्कार स्थल व्यवस्थित छैन । बस्ती नजिक दाहसंस्कार हुँदा वातावरणसमेत दुर्गन्धित हुन्छ ।

सय वर्षभन्दाअघिदेखि दाहसंस्कार गर्दै आएको भन्दै त्यो ठाउँ त्याग्न स्थानीय मान्दैनन् । विकल्पका रुपमा वडा कार्यालयले पशुपतिमा जस्तै व्यवस्थित शवदाहस्थल बनाउने योजना अघि सारेको छ ।

श्रीपुरका वडाअध्यक्ष बीरबहादुर रखालका अनुसार बाग्मती बजार छेउको नदीमा शव जलाउँदा नदीको पानी दुर्गन्धित त भएको छ नै नजिकको बस्तीमासमेत बस्न सक्ने स्थिति छैन ।

काठमाडौंका हकमा राज्य पक्षले पशुपति बाहेक अन्त कतै व्यवस्थित शवदाह स्थल बनाउने योजना देखिँदैन । पशुपतिकै विद्युतीय शवदाह मेसिनसमेत ठूलो क्षमताको छैन । उक्त मेसिनबाट एउटा शव जलाउन ४५ मिनेट लाग्छ ।

सबैतिरबाट सबै ओइरियो भने त्यसले पनि धान्न सक्दैन र शव लिएर घण्टौं पालो कुर्नुपर्ने बाध्यता आइलाग्छ । विकल्पका रुपमा शव आर्यघाटतर्फ लग्नुपर्छ ।

अब बस्ती नजिककै पुरानोघाट छोडेर सबैले पशुपतिमै दाहसंस्कार गर्न थालियो भने अवस्था के होला ? वा परापूर्वकालदेखिकै घाट प्रयोग भइरह्यो भने नजिकको बस्तीमा कस्तो असर पर्ला ? यसमा सार्थक बहसको खाँचो देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment