२ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा वामदेव गौतमले पेश गरेको ‘फरक मत’लाई केन्द्रीय सचिवालयका चार नेताको साझा दस्तावेज बनाउने प्रयास असफल भएको छ ।
बरिष्ठ नेता माधवकुमार नेपालले गौतमको प्रस्ताव अस्वीकार गरेपछि सचिवालय बैठक बहिस्कार गरेका चार नेताको संयुक्त दस्तावेज स्थायी कमिटीमा नगएको हो । अन्य नेताले साझा दस्तावेज बनाउन नचाहेपछि गौतमले आफ्नो व्यक्तिगत विचारका रुपमा फरक मतलाई स्थायी कमिटीमा पेश गरेका छन् ।
गौतमनिकट स्रोतका अनुसार गत शनिवार स्थायी कमिटी बैठक बस्नुअघि माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँग गौतमले बैठक गरेका थिए । उनले आफ्नो ‘फरक मत’ को मस्यौदा त्यसअघि नै ती नेताहरुलाई अध्ययनका लागि दिइसकेका थिए । यी चारैजना नेताले सचिवालय बैठक बहिस्कार गरेपछि उनीहरुले स्थायी कमिटी बैठकमा अध्यक्षको प्रतिवेदनलाई चुनौति दिने अनुमान गरिएको थियो ।
स्रोतका अनुसार गौतमले आफ्नो मस्यौदालाई चारैजना नेताको साझा दस्तावेजका रुपमा स्थायी कमिटी बैठकमा लैजान प्रस्ताव गरेका थिए । तर, माधव नेपालले तत्काल यसलाई गौतमले व्यक्तिगत मतका रुपमा लैजानु उपयुक्त हुने भन्दै साझा दस्तावेज बनाउने प्रस्ताव अस्वीकार गरेका थिए । नेपालले अस्वीकार गरेजस्तै झलनाथ र नारायणकाजीले पनि त्यसलाई बोक्न चाहेनन् ।
गौतमले आफ्नो फरक मतमा अधिकांश शब्द ओलीलाई गाली गर्न खर्चिएको भन्दै नेपाल निकट नेताहरुले उनलाई अहिले नै ‘वार कि पार’को अवस्थामा जान नहुने सुझाव दिएका छन् । ‘दुईटा दस्तावेज पढ्दा एउटाले कालै कालो देखेको छ, अर्कोले सेतै सेतोमात्र देखेको छ’ अध्यक्ष र गौतमको प्रतिवेदनमाथि टिप्पणी गर्दै एक स्थायी कमिटी सदस्यले भने ‘आरोप र आत्मप्रशंसाको पुलिन्दामाथि के छलफल हुनसक्छ ?’ ।
अहिले नै चार नेताले संयुक्त दस्तावेज लैजादा पार्टीमा संस्थागत गुटबन्दीको शुरुवात गरेको आरोप लाग्ने भएकाले नेताहरु पछि हटेको स्रोत बताउँछ ।
गौतमले केन्द्रीय सचिवालयको अधिकार कटौति गर्नुपर्ने स्थायी कमिटी सदस्यहरुको मागको स्वामित्व लिन खोजेका छन् । उनले स्थायी कमिटीलाई कार्यकारी बनाउनुपर्ने र सचिवालयलाई अन्य कमिटीका निर्णय कार्यन्वयन गर्ने र सरकारका काम अनुमगन गर्ने उच्चस्तरीय संयन्त्रका रुपमा मात्र राख्नुपर्ने प्रस्ताव गरेका छन् । अहिले नेकपामा सबै निर्णय सचिवालयबाट हुँदै आएका छन् ।
गौतमको यो प्रस्तावमा माधव नेपालको आधारभूत रुपमै असहमति छ । नेपालले केन्द्रीय सचिवालयलाई हाइकमाण्डको रुपमा स्थापित गर्नुपर्ने मत राख्दै आएका छन् । उनले केन्द्रीय सचिवालयको ९ जनाको टिमलाई ‘कोर अफ लिडरशीप’ भनेका छन् । उनको यो मत ओली र प्रचण्डसँग मिल्छ । वामदेवले चाहिँ सचिवालय कमिटीको संख्या बढाएर १९ सदस्यीय पुर्याउन माग गरेका छन् ।
अध्यक्षको प्रतिवेदनमाथि नेकपा स्थायी कमिटीमा सोमवारदेखि छलफल शुरु भएको छ । नेपाल लगायतका बरिष्ठ नेताहरुले बैठकमै आफ्ना धारणा राख्ने तर लिखित रुपमा अध्यक्षसँग असहमति जनाएर पार्टीमा संस्थागत गुटबन्दी गर्ने पक्षमा अहिले नेताहरु नरहेको स्रोतले जनाएको छ । त्यसैले उनीहरुले वामदेवको फरक मतलाई केपी ओलीसँगको सम्बन्धविच्छेदको लिखत भनेका छन् ।
केपी ओली र प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमाथि आजदेखि स्थायी कमिटी सदस्यहरुले धारणा राख्ने कार्यक्रम छ । शनिबार सुरु भएको नेकपा स्थायी कमिटीको बैठक धुम्बाराहीमा सोमबार पुनः बस्दैछ ।
प्रतिक्रिया 4