४ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लब र विभागीय टिम आर्मीले बराबरी खेल्दै अंक बाँडेका छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा थ्रीस्टारले अन्तिम समयमा आर्मीलाई रोक्न नसक्दा १–१ गोलको बराबरी खेलेको हो ।
खेलको निर्धारित ९० मिनेटको समय सकियो । यो बेलासम्म थ्रीस्टार १–० गोलले अघि रहेको थियो । थ्रीस्टारका सबै खेलाडी ढुक्क नै थिए । खेलको अवस्थाले पनि त्यही भनिरहेको थियो । चार मिनेटको अफिसियल अतिरिक्त समय थप गरियो । तर यो अवधिमा भने आर्मीको भाग्य चम्कियो । अतिरिक्त समयको तेस्रो मिनेटसम्म आर्मी एक गोलले पछि नै थियो ।
तर अतिरिक्त समयको पनि अन्तिम मिनेटमा आर्मीले फ्रिकिक पायो । फ्रिकिक प्रहार गर्न आए, आर्मीका जर्जप्रिन्स कार्की । रोनाल्डोको शैली अपनाउने उनले करिब ३० सेकेन्ड समय बाँकी छदा बललाई थ्रीस्टारको पोष्टमा जाली चुमाए ।
उनले उत्कृष्ट फ्रिकिक प्रहार गर्दै गोल गरेपछि आर्मीले १–१ गोलको बराबरी बनायो । त्यसलगतै थ्रीस्टारले बल रिलिज गरेसँगै खेल सकियो ।
यसअघि पहिलो हाफसम्म भने दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । तर खेलको दोस्रो हाफमा थ्रीस्टारले गोल गर्दै आर्मीविरुद्ध अग्रता बनाएको थियो । निराजन खड्काले खेलको ७० औं मिनेटमा गोल गर्दै थ्रीस्टारलाई १–० गोलको अग्रता दिलाए । तर अन्तिम समयमा आर्मीले उत्कृष्ट पुनरागमन गर्न सक्यो ।
दुबै टिमले बराबरी खेल्दै अंक बाँडेसँगै यसको प्रत्यक्ष फाइदा भने मनाङ मर्स्याङ्दी क्लबलाई पुगेको छ । उपाधि होडमा रहेका आर्मी र थ्रीस्टारको उपाधि होड भने केही कठिन भएको छ ।
लिगको दोस्रो स्थानमा उक्लिने अवसर पनि थ्रीस्टारले बराबरी खेलेसँगै गुमाएको छ । थ्रीस्टारको ९ खेलबाट २२ अंक भएको छ । यता, समान खेल खेलेको आर्मीको १८ अंक भएको छ । लिगको शीर्ष स्थानमा रहेको मनाङको ९ खेलबाट २७ अंक रहेको छ भने लिगको दोस्रो स्थानमा रहेको संकटाको २४ अंक रहेको छ ।
प्रतिक्रिया 4