Comments Add Comment

प्रदेश १ मा कृषिः ताजा टमाटर बेच्यो, सस किनेर खायो

८ पुस, विराटनगर । चालु आर्थिक वर्षको अघिल्लो पाँच महिनामा प्रदेश १ बाट ५० लाख रुपैयाँको गोलभेंडा भारत निर्यात भएको छ । भारतबाट भने नेपालमा वार्षिक ३४ करोड ४७ लाख मूल्य बराबरको ३० लाख किलो ‘टोम्याटो पाउडर’ अयात भइरहेको छ । भारत बाहेकका मुलुकबाट पनि ठूलो परिमाणमा ‘टोम्याटो पेष्ट’ र ‘टोम्याटो सस’ आयात भइरहेको छ ।

नेपालबाट ताजा गोलभेडा जान थालेपछि निर्यातजन्य सूचिमा सूचिकृत नभएको भन्दै भारतले गत भदौ अन्तिमतिर रोक लगाएको थियो । प्रदेश सरकारको प्रयासबाट तत्कालका लागि गोलभेडा पैठारी खुलेपनि दीर्घकालीनरुपमा समस्या समाधान भएको छैन । नेपाली गोलभेडा मेची भन्सार भएर भारत निर्यात हुन्छ ।

प्रदेश १ मा खुलेका सस उद्योगहरुले स्थानीय उत्पादन खरिद नगरी भारत, भुटान र अन्य मुलुकबाट गोलभेडाको पाउडर र तयारी सस आयात गर्ने गरेका छन । अचार र सस उत्पादनमा नामी रिजाल टाशी इन्डस्ट्रिजका व्यवस्थापक खेलनारायण पराजुली मूल्य अन्तरका गोलभेडाको पाउडर र अर्ध प्रशोधित सस् आयात गर्नुपरेको बताउँछन् ।

पहिले नेपाली किसानलाई प्रोत्साहन स्वरुप प्रतिकिलो ५० पैसादेखि ७५ पैसा महंगोमा गोलभेडा किनेको बताउँदै उनले भने, ‘तर, गोलभेडाको पाउडर र अर्ध प्रशोधित सस् आयात गर्दा धेरै सस्तो पर्ने भयो ।’

ताजा गोलभेडामा आत्मानिर्भर

गोलभेडा उत्पादन र उपभोगमा प्रदेश १ आत्मनिर्भर भएको छ । कुल उत्पादनको ८९ प्रतिशत ताजा टमटर यो प्रदेशमा उत्पादन हुने देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ अनुसार नेपालको कुल १० हजार ७७५ हेक्टर जमीनमा गोलभेडा खेती र वार्षिक १ लाख ५५ हजार ८८ मेट्रिकटन उत्पादन हुने गरेको छ ।

प्रदेश १ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत बद्री दाहाल गोलभेडा उत्पादनमा अन्य प्रदेश भन्दा प्रदेश १ अगाडि रहेको बताउँछन् । उनका अनुसार, यो प्रदेशमा ४ हजार ५५९ हेक्टर जमिनमा गोलभेडा खेती र वार्षिक ९४ हजार ४६६ मेट उत्पादन हुने गरेको छ ।

सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत बद्री दाहाल ।

प्रदेश १ को धनकुटा जिल्लामा सबभन्दा बढी १३ सय ७५ हेक्टरमा गोलभेडा खेती र वार्षिक ४७ हजार ७५० मेट उत्पादन हुन गरेको छ । यो प्रदेशको तराई, भित्री मधेस र पहाडमा व्यसायिक गोलभेडा खेती बढेको छ ।

तर, सस् र अचार उद्योगहरुले टोम्याटो डष्ट, पेष्ट र अर्धप्रशोधित सस् आयात गर्दा टमाटर किसानहरुले पाउनपर्ने जति लाभ पाइरहेका छैनन् । किसानका लागि विकल्प भारतीय बजार हो, तर नेपालमा गोलभेडा उत्पादन भएपछि भारतले बिभिन्न बहनामा निकासी रोक्ने गरेको छ । यो समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने कृषि विज्ञहरुको भनाइ छ ।

निर्यात भन्दा आयात बढी

मेची भन्सारबाट अघिल्लो आर्थिक वर्षमा १ हजार ४ सय किलो गोलभेडा भारत निर्यात भएकोमा चालु आवको पाँच महिनामा ५ लाख ४ हजार किलो निर्यात भएको छ ।

अघिल्लो आवमा ६ करोड ४५ लाख रुपैयाँ बराबरको १० लाख ३२ हजार किलो टोम्याटो पाउडर आयात भएको मेची भन्सार कार्यालयको तथ्यांकले देखाउँछ । त्यसअवधिमा ४ हजार ५ सय किलो तयारी सस आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी किरण अर्यालले जानकारी दिए ।

त्यस्तै, विराटनगर भन्सारबाट अघिल्लो आवमा ४ करोड ७२ लाख रुपियाँ बराबरको ४ लाख ९८ हजार ३२७ किलो टोम्याटो पाउडर आयात भएको थियो भने वीरगंज भन्सारबाट २३ करोड रुपैयाँ बराबरको ।

पछिल्लो पाँच महिनामा मेची भन्सारबाट ५ करोड ९३ लाख रुपियाँ बराबरको २१ लाख ५४ हजार किलो टोम्याटो पाउडर आयात भएको छ भने विराटनगर भन्सार भएर ८२ लाख ३४ हजार रुपैयाँ बराबरको ७१ हजार २ सय ९७ किलो टोम्याटो पाउडर आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment