+
+
Shares

मेलम्चीमा फर्कन इटालियन कम्पनी तयार, दूतावासले जिम्मा लियो सीएमसीका कामदार

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ९ गते १४:३०

९ पुस, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम छाडेको इटालियन ठेकदार कम्पनी सीएमसी काममा फर्किन तयार भएको छ । सीएमसीले यसअघि १७ डिसेम्बरमा एकतर्फी ठेक्का तोडेको जानकारीसहितको पत्र (लेटर अफ टर्मिनेसन) सरकारलाई बुझाएको थियो ।

मेलम्ची खानेपानी बोर्डमा शुक्रबार अर्को पत्र पठाउँदै सीएमसीले आफ्ना कामदारहरु नयाँ वर्ष मनाउन बाहिर जान लागेको दाबी गर्दै अंग्रेजी नयाँ वर्षपछि पुनः काममा फर्किने बताएको छ ।

‘उसले काममा फर्किन्छु भनेर पत्र दिएको छ, अब यसैका अधारमा अघि बढ्ने कि नबढ्ने भन्ने निर्णय खानेपानी मन्त्रालयले नै गर्छ,’ आयोजना स्रोतले भन्यो, ‘उसको पत्र मन्त्रालयस्तरमा भएको सहमतिका आधारमा आएको हुन सक्छ ।’

सीएमसीले काम छाडेपछि सरकारले उसको २ अर्ब धरौटी रकम रोक्का गरेको थियो । तर, उच्च अदालत पाटनले सरकारको त्यो निर्णय खारेज गर्दै दुवै पक्षलाई आइतबार छलफलका लागि बोलाएको थियो ।

तर, यो मुद्दामाथिको बहस फेरि आगामी शुक्रबारलाई सारिएको छ । अब यहीबीचमा सीएमसीले पनि ‘लेटर अफ टर्मिनेसन’ फिर्ता लिँदै काममा फर्किने जानकारी दिएको हो ।

इटालियन कम्पनी सीएमसीको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापालगायतको टोली र नेपाल सरकारको तर्फबाट पूर्वन्यायाधीवक्ता रमण श्रेष्ठलगायतको टोलीले बहस गर्दै आएका छन् ।

दूतावासको रोहबरमा सीएमसीका कामदार छुटे

मेलम्ची आयोजनाको सुरुङमार्ग र हेडवर्क्सको जिम्मा पाएको सीएमसीले सुरुङमार्ग खनेर फिनिसिङको काम पनि अन्तिम चरणमा पुर्‍याएको अवस्थामा ठेक्का छाडेको जानकारीसहितको पत्र आयोजनालाई दिएको थियो ।

पत्र बुझाउनुभन्दा अघिल्लो दिनमा नै विदेश उड्न लागेका ठेकेदार कम्पनीका प्रतिनिधिलाई दरबारमार्ग प्रहरीले ठमेलबाट नियन्त्रणमा लिएर सरकारलाई बुझाएको थियो ।

उनीहरुको पासपोर्टसमेत जफत गरेर खानेपानी मन्त्रालयका अधिकारीहरुलाई प्रहरीले जिम्मा लगाएको थियो । तर, दूतावासको एउटा पत्रपछि सीएमसीका प्रतिनिधिहरु छुटेका छन् ।

मन्त्रालय स्रोतका अनुसार, दूतावासले खानेपानी मन्त्रालयलाई पत्र लेखेर सीएमसीका कामदारहरुलाई अंग्रेजी नयाँ वर्षपछि फर्काउने बताएको छ । सोही लिखित वचनको आधारमा मन्त्रालयले कामदारहरुको राहदानीसमेत फिर्ता दिएको छ ।

‘दूतावासका मान्छेले जनवरीमा सीएमसीका कामदारलाई फर्काउँछौं, उनीहरु काम गर्न आउँछन्, त्यसको जिम्मा हामी लिन्छौं भनेर पत्र नै पठाएपछि छाडियो,’ मन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो ।

तर, ढुक्क छैनन् मन्त्रालयका अधिकारी

दूतावासले सीएमसीका कामदारलाई नयाँ वर्षपछि नेपाल फर्काउने पत्र र सीएमसी स्वयंले पनि काम सुरु गर्ने बाचा गरे पनि खानेपानी मन्त्रालय भने पूर्णविश्वस्त हुन सकेको छैन ।

सीएमसीको पछिल्लोपटक थपिएको म्याद यही डिसेम्बर महिनामा सकिँदैछ । अब ठेक्काको म्याद सकिन ८ दिनमात्र बाँकी छ । यो ८ दिनभित्र नवीकरण नभए धरौटी रकम जफत गर्न कानुनी अड्चन पर्छ ।

यसबारे अदालतमा पनि कानुनी लडाइँ जारी छ । पाटन उच्च अदालतले मेलम्ची मुद्दाको अर्को सुनुवाई आगामी शुक्रबारलाई तोकेको अवस्था छ ।

‘यता अदालतको फैसला ढिला आउने र उता ठेक्काको म्याद पनि सकिने भएमा धरौटीवापतको दुई करोड रकम स्वतः उनीहरुको खातामा जान्छ,’ मेलम्ची खानेपानी आयोजनाका एक अधिकारीले भने, ‘क्रिसमस मनाएर फर्किने भन्ने बाहानामात्रै हो कि साँच्चै हो, अझै विश्वस्त हुन सकिरहेका छैनौं ।’

यसअघि मन्त्रालयका अधिकारीहरुसँगको छलफलमा मेलम्चीको ठेकेदारका प्रतिनिधिहरुले आफूहरुको कम्पनी सीएमसी टाट पल्टिएको भन्दै कम्पनीबाट थप रकम अब नआउने, तर नेपाल सरकारले दिनुपर्ने रकम दिएमा काम सम्पन्न गर्ने बताएका थिए । यो विवादपछि आगामी वैशाखभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने योजनासहित काम गरिरहेको सरकारलाई सीएमसीमा उत्पन्न समस्याले चुनौती थपिएको छ ।

खानेपानी मन्त्रालयमाथि अर्को आशंका

यसैवीच ठेकदार कम्पनीका मानिसहरुलाई गिरफ्तार गरिएकोमा सरकारले कच्चा खेल खेलेको बताउनेहरु पनि छन् । खानेपानी मन्त्रालयका सचिवले म्याद थपका लागि कमिसन मागेको र काम सक्ने बेलामा कम्पनीलाई दुःख दिएको चर्चा पनि यसवीचमा चलेको छ ।

खानेपानी सचिव र कार्यकारी निर्देशकले मेलम्ची आयोजनालाई अल्मल्याउन खोजेको आरोप लागेको छ । साथै खानेपानी मन्त्री वीना मगर पनि सचिवको योजनामा चलेकाले मेलम्ची आयोजना संंकटमा परेको कतिपय विज्ञहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?