Comments Add Comment

सुगतमाथि खनिए सांसद : ‘भ्रष्टाचारका महानायक, पूर्वराजाभन्दा तगडा’

२० पुस, काठमाडौं । नेपाल वायुसेवा निगमले भित्र्याएका २ वटा वाइडबडी विमान खरिद प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समितिले शुक्रबार बैठक डाकेको थियो ।

सो बैठकमा अधिकांश सांसदहरु निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारविरुद्ध केन्द्रित भए । केही सांसदले उनलाई ‘भ्रष्टाचारका महानायक’ बताए भने केहीले चाहिँ ‘पूर्वराजा ज्ञानेन्द्र शाहभन्दा तगडा’ भने ।

संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र गृहसचिव प्रेमकुमार राईलाई घुमाउरो भाषामा बचाउ गरेका सत्तापक्षका सांसदहरुले सुगतरत्न नै विमान खरिदको मुख्य दोषी रहेको दाबी गरे ।

अब बैठकमा कुन सांसदले के के भने भन्नेबारे चर्चा गरौं ।

‘भ्रष्टाचारका महानायक, ज्ञानेन्द्रभन्दा तगडा’

वाइडबडी प्रकरणमा भएको अनियमितताबारे छानविन गर्न गठित सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिका सदस्यसमेत रहेका संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले निगमका महाप्रवन्धक भ्रष्टाचारका महानायक भएको बताए ।

यादवले वाइडवडी प्रकरणमा भ्रष्टाचार गर्ने सबैभन्दा ठूला व्यक्ति कंसाकार नै भएको दाबीसमेत गरे । उनले भने, ‘सुगतरत्न कंसाकार भ्रष्टाचारको महानायक हो, भ्रष्टाचारीलाई जसरी पनि कारबाही हुनुपर्छ ।’

शुक्रबार बसेको सार्वजनिक लेखा समिति बैठकमा सांसद यादवले कंसाकार पूर्वराजा ज्ञानेन्द्र भन्दा पनि तगडा रहेको प्रतिक्रिया दिए । पूर्वराजाभन्दा तगडा सुगरत्न भएको र उनको विरुद्धमा कर्मचारीहरु पनि बोल्न डराउने यादवले बताए । आफूले केही कर्मचारीहरुसँगको कुराकानीमा यस्तो पत्ता लगाएको उनले बताए ।

सांसद यादवले भने, ‘मन्त्रीले कंसाकारसमेतलाई राखी कर्मचारीहरुलाई उनीविरुद्धमा नबोल्नु बरु सहयोग गर्नु भनेको कुरा मलाई मलाई एकजना कर्मचारीले नभन्नु भन्ने शर्तमा भनेका छन् ।’ उनले वाइडबडी प्रकरणमा प्रमुख भूमिका सुगतरत्नसँगै अन्यकोसमेत भूमिका रहेको बताए । विमान खरिद गरेको कागज भए पनि त्यो सबै सुगतरत्नले लुकाएको समेत यादवले दाबी गरे । विमानका सबै कागजहरु जे–जसरी भए पनि माग गर्नुपर्ने उनले बैठकमा बताए ।

सांसद यादवले संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई समेत कारबाही हुनैपर्ने बताए । मन्त्री रविन्द्र अधिकारी भए पनि देश घुमाउने सुगतरत्न भएको भन्दै उनले दुबैलाई कारबाही हुनुपर्ने बताए । मन्त्री अधिकारीले नैतिकता चुकाएको भन्दै त्यसको भागेदार उनी बन्नुपर्ने यादवले बताए ।

उपसमितिको प्रतिवेदन पूर्वाग्राही भएको हो कि भन्ने प्रश्नमा यादवले भने, ‘सरकारका मुखिया प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न भन्नुभएको छ, हामीले वहाँकै चाहानाअनुसार काम गरेका छौं । यहाँ कसैलाई काखा, पाखा गरिएको छैन ।’

‘भ्रष्टाचारका डिजाइनर’

सत्तारुढ दल नेकपाका सांसद प्रेम आलेले भ्रष्टाचारको ठूलो डिजाइनर सुगतरत्न भएको भन्दै उनलाई चाँडो कारबाही हुनुपर्ने बताए । उपसमितिको प्रतिवेदनमा कुनै पनि राजनीतिक वा व्यक्तिगत विषय नजोडिएको भन्दै सांसद आलेले यस विषयमा गलत नसोच्न आग्रह गरे ।

आफूलाई कतिपय दबावसमेत आएको भन्दै उनले काम गर्दा धन्यवाद आउनुपर्नेमा गाली आएको भन्दै गुनासो गरे ।

प्रतिवेदनमा गलत कुरा केही नभएको दाबी गर्दै आलेले पूर्वपर्यटन सचिवद्वय प्रेम राई (हाल गृहसचिव) र शंकर अधिकारी (हाल अवकास) लाई नबोलाउनु भने गल्ती भएको स्वीकार गरे । सांसदहरुले सम्बन्धित व्यक्तिसँग नबुझी दोषी ठहर गरिएको भन्दै बैठकमा आपत्ति जनाएका थिए ।

सांसद आलेले आफूलाई निकै दबाव आए पनि प्रतिवेदनमा झूठ कुरा नलेखेको बताए । ‘मलाई ३३ हजार जनताले घण्टौं लाइन लागेर जिताएका छन्’ उनले भने, ‘म कसरी झूठ बोल्न सक्छु ?’

वाइडबडी प्रकरणमा मिडियाले सहयोग गरेको भन्दै आलेले धन्यवाद समेत दिन भ्याए । यद्यपि, एउटा मिडियाले आफ्नो बारेमा गलत लेखेको भन्दै गुनासोसमेत सुनाए ।

‘सुगतरत्नको नियुक्तिमाथि नै प्रश्न’

निगमका महाप्रवन्धक कंसाकारको नियुक्तिमाथि नै सांसद हृदयेश त्रिपाठीले प्रश्न उठाएका छन् । कंसाकार बिवादित रहेको थाहा पाउँदापाउँदै नियुक्त गरिएको भन्दै उनले सुगतरत्नलाई नियुक्त गर्ने मान्छेको नियत खराब भएको हुनसक्ने बताए ।

सुगतरत्नलाई नै नियुक्त गर्नु नै गलत निर्णय भएको त्रिपाठीले बताए । ‘म लेखा समितिको संयोजक भएका बेला सुगतरत्न जी दुरसञ्चारमा हुनुहुन्थ्यो’ उनले भने, ‘त्यहाँ पनि उहाँको एउटा केश थियो, फेरि नियुक्तिचाहिँ कसले ग¥यो ?’

निगममै आइसकेपछि पनि सुगतरन्त विवादिन भएको भन्दै उनको नियुक्तिप्रति नै त्रिपाठीले असन्तुष्टि व्यक्त गरे । वाइडबडी भ्रष्टाचार काण्डमा सबै भन्दा मूल व्यक्ति सुगरत्न नै भएको उनले बैठकमा बताए ।

त्रिपाठीले मन्त्री अधिकारीको भने बचाउ गरे । नेकपाको समर्थनमा सांसद बनेका त्रिपाठीले मन्त्री रविन्द्र अधिकारीको बचाउ गर्दै पहिलो किस्ता गइसकेको अवस्थामा अन्तिम किस्ता पठाउनु बाध्यता हुन सक्ने तर्क गरे ।

सांसद भट्टराईको प्रश्न–किन बर्खास्त गरिएन ?

नेकपाकै सांसद विशाल भट्टराईले सुगतरन्तलाई बर्खास्ती नगरिएकोमा आपत्ति जनाए । भ्रष्टाचार भएको र त्यसमा सुगतरत्नको भूमिका ठूलो देखिइसकिएपछि पनि बर्खास्त नगरिएको भन्दै उनले आपत्ति जनाए ।

भ्रष्टाचार भएको विषय सबैलाई थाहा भएको र नैतिकताका आधारमा पनि सुगतरत्नले पदमा बस्न नमिल्ने भन्दै भट्टराईले यथाशीघ्र बर्खास्तीको माग गरे । ‘मैले सुगतरन्त जीलाई यहीँ बैठकमा पहिले नै भनिसकेको छु कि नैतिकताका आधारमा तपाईलाई पदमा बस्ने कुनै आधार छैन’ सांसद भट्टराईले भने, ‘त्यतिभन्दाभन्दै पनि वहाँले राजीनामा दिनुभएन ।’

राजीनामा नदिएपछि बर्खास्ती गर्न मन्त्री अधिकारीलाई समेत आग्रह गरेको भन्दै त्यो पनि नहुँदा दुःख लागेको उनले बताए । उनले भने, ‘मैले मन्त्रीज्यूलाई चोरऔंला ठड्याएर राजीनामा नदिए सुगतरत्नजीलाई बर्खास्त गर्नु भनेको थिएँ, तर भएन ।’

भट्टराईले पनि मन्त्री अधिकारीको भने बचाउ गरे । ‘अन्तिम किस्ता नपठाएको भए मन्त्री अधिकारीले विमान ल्याउन दिएन, कमिसन नपाएर रकम पठाएन’ भनेर भन्न सक्थे भन्दै सांसद भट्टराईले मन्त्री अधिकारीको बचाऊ गरे ।

अर्का सांसद सूर्य पाठकले पनि सुगतरत्न नै मेन डिजाइनर भएको बताए । सुगतरत्न वाइडबडी खरिद प्रकरणका मुख्य मान्छे भएको थाहा हुँदाहुँदै उनीसँगै अरुलाई दाँज्नु गलत भएको सांसद पाठकले बताए । तर, उपसमितिले तयार पारेको प्रतिवेदन अपूर्ण र प्राकृतिक न्यायको सिद्धान्त विपरीत भएको पाठकले बताए । प्रमुख दोषी भनिएका व्यक्तिहरुलाई उपसमितिले एकपटक पनि नसोधेको भन्दै पाठकले आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment