२० पुस, विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका दुईजना आरोपीलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने आदेश दिएको छ ।
जिल्ला अदालत मोरङको आदेशपछि थुनामा रहेका व्यवसायी राजकुमार दारुका र माधव भन्ने मदनप्रसाद घिमिरेलाई १०–१० लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।
जिल्लाको आदेश विरुद्ध उच्चमा पुनरावेदन गरेका दारुका र घिमिरेलाई उच्च अदालत विराटनगरका न्यायाधीश उमेशराज पौडेल र उमेशकुमार सिंहको इजलासबाट धरौटीमा छाड्ने आदेश भएको रजिष्टार नारायण रेग्मीले जानकारी दिए ।
गत फागुन १८ गते सुन तस्करी समुहका नाइके चुणामणी उप्रेती गोरे सहितको समुहको यातनाका कारण मोरङ उर्लाबारीका सनम शाक्यको हत्या भएको थियो ।
हत्या अनुसन्धानका क्रममा गृह मन्त्रालयले गठन गरेको छानविन समितिले दुई वटा पुरक अभियोग सहित ७५ जना विरुद्ध ‘अपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दायर गरेको थियो ।
जिल्ला अदालतको आदेश पछि थुनामा रहेका नेपाल प्रहरीका पूर्व डिआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकाशराज खनाल, डिएपी प्रजित केसी, सइ बालकृष्ण सञ्जेल सहित व्यवसायी विमल पौद्दार उच्च अदालतको आदेश पछि छुटिसकेका छन् ।
प्रतिक्रिया 4