+
+
Shares

छाउगोठ भत्किए, कुरीति भत्किएन

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २७ गते ७:५५

२७ पुस, बाजुरा । बुढीनन्दा नगरपालिका वडा नं ९ को अगाउँपानीस्थित छाउगोठमा निस्सासिएर मंगलबार राति तीनजनाको मृत्यु भयो । काशी बोहोराकी ३५ बर्षीया श्रीमती अम्बा बोहोरासहित उनका दुई छोराले एकसाथ ज्यान गुमाएका हुन् ।

अम्बा बोहोरा महिनाबारी भएको चार दिन पुगिसकेको थियो । चार दिनको राति उनी ज्यान गुमाउन बाध्य भइन् । उनका ९ बर्षे छोरा सुरेश बोहोरा र ७ बर्षका छोरा रमितको समेत छाउगोठमै मृत्यु भयो । आमाले चिसोमा छोरासँगै सुत्दा तातो होला भनेर दुबै छोरालाई गोठमा लगेकी थिइन् ।

घरसँगै जोडिएको छाउपडी गोठ थियो । स्थानीयका अनुसार राति आगो बालेर सुतेका बेला कम्बलमा आगो सल्किएपछि उनीहरुको मृत्यु भएको हो ।

यो त पछिल्लो उदाहरण मात्रै हो । प्रदेश नम्बर ६ र ७ का धेरै महिलाले यसैगरी छाउगोठमै मृत्युवरण गरिरहेका छन् । अछाममा मात्रै एक दशकमा १२ जना महिलाले छाउगोठमै मृत्युवरण गरिसकेका छन् ।

बाजुरा, अछाम, डोटी, बझाङ्ग, मुगु कालिकोट, बैतडी, दैलेख लगायतका जिल्लामा छाउपडी प्रथाले प्रश्रय पाउँदै आएको छ ।

महिनावारी भएको समयमा अविवाहित महिलाले ७ दिनसम्म र बिवाहित महिलाले ५ दिनसम्म घरबाहिर निस्केर छाउपडी गोठमा बस्नुपर्ने बाध्यता छ । महिनावारीको समयमा उनीहरुले निकै नै सास्ती व्यहोर्नुपर्छ ।

महिनावारी भएको ५ देखि ७ दिनसम्म घर बाहिर अलग्गै बस्नुपर्ने, सार्वजनिक पँधेरा प्रयोग गर्न नपाउने र दूधजन्य पदार्थ नपाउने नियम छ । उनीहरुले फलफूलजन्य वनस्पति छोएमा कडा हप्की सहनुपर्ने हुन्छ । संयोगले कसैको शरीरमा छोइए दुर्वाच्य सुन्नुपर्ने हुन्छ । महिनावारी हुँदाको समयमा देवी देवता रिसाउँछन् भन्ने कुप्रथाले गर्दा महिलालाई घरमा बस्न दिइँदैन ।

चिसो महिना सुरु भएपछि छाउपडी गोठमा बिरामी पर्ने र ज्यान जानेको संख्या बढ्छ । घरबाट टाढा गोठ हुन्छ, नुहाउन र लुगा धुनलाई पानी हुँदैन, धोएका लुगा सुक्दैनन्, बाक्लो लुगा सुक्न ३ दिनसम्म लाग्छ, घरबाट पातलो लुगा दिइन्छ । सिधा उभिन नमिल्ने गोठमा आगो बाल्दा धुवाँ बाहिर जान पाउँदैन र गोठभित्रै निसास्सिएर बस्नुपर्छ ।

चिसो महिनामा छाउपडी गोठमा बसेकी आमासँग रहने स–साना बालबच्चाले झनै सास्ती पाउँछन् । उनीहरु कठांग्रिएर, निसास्सिएर वा निमोनिया भएर ज्यान गुमाउन बाध्य हुन्छन् ।

छाउगोठमा बसेकी आमा र बच्चाले दूध, दही खान नपाउनेलगायतका अन्धविश्वासका कारण महिलाको स्वास्थ्य त खराब हुन्छ नै, धेरै बालबालिकाले कुपोषणको शिकार बन्नुपरेको छ । टाढाको गोठमा जाँदा कतिपय महिलाहरुले बलात्कृतसमेत हुनुपरेको छ ।

गोठ भत्किए, कुरीति भत्किएन

छाउपडी कुप्रथाहटाउने प्रयासहरु नभएका होइनन् । तर, जेजति लगानी गरियो, त्यसअनुसारको प्रतिफल आएन । कुप्रथा हटाउन सरकारी निकायका साथै गैरसरकारी संस्थाले धेरै कार्यक्रमहरु सञ्चालन गरे पनि प्रथा कायमै छ ।

बुढीनन्दा ३ बस्ने अमला बिक छाउपडी गोठमा बस्न थालेको १४ बर्ष भयो । प्रथमपटक महिनावारी भएदेखि नै उनी गोठमा बस्दै आएकी थिइन् । दुई वर्षअघि गाउँका अगुवा महिलाले छाउपडी गोठ भत्काएपछि अहिले महिनावारी भएका बेला उनी ओढारमा बस्न थालेकी छिन् ।

अमलाजस्तै गाउँका अन्य महिला पनि छाउपडी गोठ भत्काएपछि कोही प्लाष्टिकको पालमा बस्दै आएका छन् त कोही ओढारमा बस्न थालेका छन् । गोठामा बस्दा यति ग्राहो हुँदैनथ्यो, तर पालमा र ओडारमा बस्दा झनै समस्या झेल्नु परेको अर्की महिला जौमा बिक बताउँछिन् ।

बुढीगंगा, जयबागेश्वरी, बाह्रबिसे, कुल्देबमाण्डौ, कैलाशमाण्डौ, आटिचौर, बह्रमतोला गाबिस र अन्य गाबिसका केही वडाहरु छाउपडी गोठमुक्त भइसकेका छन् । तर, गोठ भत्काउने अभियानपछि महिलाहरु झन समस्यामा परेको बताउँछन् ।

अछाम जिल्लामा साबिकका ३१ वटा गाविस छाउपडी गोठमुक्त भइसकेका भए पनि गोठमा बस्ने प्रचलन भने हटन सकेको छैन । अछाम जिल्लालाई ०७६ सम्म छाउगोठ मुक्त घोषणा गरिसक्ने लक्ष्य लिइएको थियो । एकातिर कागजमा घोषणा अभियान चल्ने र अर्कोतिर छाउपडी गोठमा महिलाहरु मर्ने क्रम रोकिएको छैन । बाजुरा जिल्लामा साबिकका ७ वटा गाविस छाउपडी गोठ मुक्त भएका छन् । तर, प्रथा यथावतै छ ।

कानूनी सुधारका प्रयासहरु


सर्वोच्च अदालतले ०६२ सालमा बैशाख १९ गते छाउपडी प्रथालाई कुरीति घोषणा गरेको थियो । सो निर्देशनपछि ०६४ सालमा सरकारले कुरीति घोषणा गरेर छाउपडी प्रथा उन्मूलनसम्बन्धी निर्देशिका गर्‍यो ।

फौजदारी अपराध संहिताले छाउपडी प्रथालाई औपचारिकरुपमा अपराध करार गरेको छ । महिनावारी भएका बेला महिलाले घरभित्र बस्न नपाउने र गाईभैँसीको गोठ वा छाउगोठमा अलग्गै बस्नुपर्ने कुसंस्कारलाई कानूनले दण्डनीय मानेको छ ।

छाउगोठमा बस्न बाध्य गराउनेलाई तीन महिनाको कैद र जरिवानाको व्यवस्था गरिएको छ । तर, अहिलेसम्म कसैलाई पनि छाउगोठमा राखेको भन्दै कारवाही गरिएको छैन ।

आखिर किन यतिधेरै अन्याय गरिरहेको छ, हाम्रो समाजले महिलामाथि ? किन प्रथा हटाउन मान्दैन समाज ? यो प्रश्न निकै गम्भीर छ ।

कागजमा छाउपडी हटेको रिपोर्ट भेटाइन्छ । पत्रकारले कुरीतिको विरोधमा लेखेका लेख्यै छन् । सरकारी/गैरसरकारी संस्थाले वृत्तचित्रसमेत निर्माण गरेका छन् । यही नाममा करोडांै बजेट सिद्धिएको छ । तैपनि महिलाहरु छाउगोठमा मरिरहेकै छन् ।

जब–जब छाउगोठमा महिलाको ज्यान जान्छ, तबमात्रै सरोकारवालाहरुले जिल्लाका होटेलहरुमा बहस चलाउन थाल्छन् । अभियान सञ्चालन गर्ने बहानामा तालिम, गोष्ठी सदरमुकाममा चलाएर अभियान पूरा भएको प्रतिवेदन पेश गर्छन् भन्ने स्थानीयको गुनासो छ ।

त्यसैले अब सरकारले जागरण अभियान मात्रै हैन, ठाउँको ठाउँ कानुनी कारवाही पनि थाल्ने पो हो कि अन्धविश्वासी समाजमाथि ?

प्रकाश सिंहबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?