
८ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिपक्षलाई पेलेर भएपनि विधेयक पारित गर्ने सरकारको प्रपञ्चमा सभामुख सहभागी भएको गम्भीर आरोप लगाएको छ । यो डरलाग्दो परिदृश्य भएको भन्दै उसले सदनभित्र र बाहिर प्रतिरोध गर्ने बताएको छ ।
पूर्वप्रधानमन्त्रीद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल खारेज गर्न खोजेको भन्दै कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ ।
मंगलबार पनि दुई पटक बैठक बस्यो तर, कांग्रेसको अवरोधका कारण कार्यसूचीमा प्रवेश गर्न सकेन ।
दोस्रो बैठकमा कांग्रेसको अवरोधका बीच सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा शिक्षा विधेयक पेश गर्न समय दिएपछि केहीबेर तनावपूर्ण भयो । सत्तारुढ सांसदहरुले मन्त्रीलाई रोष्टममा पुर्याउन खोजे भने कांग्रेस सांसदहरुले रोकेका थिए ।
(चिकित्सा शिक्षा) विधेयक जबरजस्ती पारित गराउँछु भन्ने सरकारको प्रपञ्चमा सभामुख ‘पार्टीको कार्यकर्ता जस्तो भएर सहभागी भएको कांग्रेसको आरोप छ । ‘यो भन्दा पहिला पनि पटकपटक यस्ता घटना भएका छन् । तर, कहिल्यै पनि यति धेरै एउटा दलप्रतिको रुझान राखेर सभामुखले व्यवहार गरेको हामीलाई थाहा छैन’ बैठकपछि कांग्रेस सांसद गगन थापाले भने ।
सरकार शक्ति पृथकीकरणको सम्पूर्ण सिद्धान्तहरु कुल्चिएर अगाडि बढ्न चाहेको र सभामुख पनि त्यसमा समभागी भएको भन्दै उनले भने, आज सदनमा प्रतिपक्षसँग जुन व्यवहार भएको छ, यो एउटा डरलाग्दो परिदृश्यको संकेत हो । यसलाई हामीले सामान्य घटनाका रुपमा लिएको छैन । कांग्रेसले यसको प्रतिरोध सदनबाट पनि गर्छ, ससद बाहिरबाट पनि गर्छ ।’
‘सदनको नियत जसरी हुन्छ आज सदनमा एउटा विधेयक टेबल गर्ने । मैले सरकारको नियत मानेँ । अनि सदनको नियत पनि एउटै हुन्छ ? सदन र सरकार एक भएर आज देखाइदिने भनेर आउने ? देखाइदिने कुराको प्रतिरोध हुन्छ । आज पनि भयो, फेरि पनि हुन्छ ।’
कांग्रेसले यो घटनालाई लिएर सभामुखले माफी माग्नुपर्ने माग समेत गरेका छन् । ‘११ गतेको बैठक बस्नु अगाडि आज भएको घटनाबारे कांग्रेससँग बसेर बुझ्ने गरी आजको घटना क्षमायाचना र आइन्दा यस्तो घटना नहुने सुनिश्चितता नगर्दासम्म सदनको कारबाही अगाडि बढ्न सक्दैन’ उनले भनेका छन् ।
कांग्रेस सांसद थापाले दुई अस्पतालबारे सरकारले लिएको निर्णय कांग्रेसको अस्तित्व अस्वीकारको प्रारम्भ मात्र भएको बताए ।
‘यो निषेधको सुरुआत मात्र भएको भन्दै उनले भने, ‘प्रमुख प्रतिपक्षलाई त उभिने ठाउँ दिँदैन भने बाँकी कसैले यो देशमा उभिन पाउँछु भन्ने भ्रम नपाले हुन्छ ।’
प्रतिक्रिया 4