Comments Add Comment

मनाङेलाई सरकारको बधाई, प्रतिपक्षीले भने– दुःख लाग्यो

१४ महिनापछि यसरी लिए मनाङेले सपथ

१५ माघ, पोखरा । अन्ततः राजीव गुरुङ (दीपक मनाङे) माननीय बनेका छन् । सोमबार साझँ ५ बजेर ५५ मिनेट राजीवका लागि ऐतिहासिक बन्यो । मनाङ प्रदेश ‘ख’ बाट निर्वाचित राजीवले १४ महिनापछि माननीयको सपथ लिन पाए ।

गण्डकी प्रदेशका सभामुख नेत्र अधिकारीले राजीवलाई सपथ गराए हुन् । सभामुख अधिकारीले केही दिनयता राजीवलाई सपथ खुवाउन विभिन्न व्यक्तिसँग राय र मौका हेरिरहेका थिए ।

सपथ लिन माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएको ३२ दिनपछि सभामुख अधिकारीले सपथ खुवाए । सभामुख अधिकारीसँगै उपसभामुख सर्जना शर्मा, सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले अबिर र खादा लगाइदिए, हात मिलाए र भने, ‘माननीयज्यू ल बधाई छ ।’ सपथ खुवाउने कार्यक्रमा नेकपा गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी पनि उपस्थित भएर ‘नयाँ माननीय’लाई बधाई दिए ।

मनाङबाट वाम गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जितेका राजीव दौरा सुरुवालमाथि खरानी रङको कोटमा ठाँटिएर सपथ लिन पुगेका थिए । सपथ लिन मनाङे सोमबार बिहानमात्रै काठमाडौंबाट पोखरा आइपुगेका थिए ।

सत्ता पक्षका सांसद् बाहिर खुलेर समर्थन नगरे पनि भित्रभित्रै राजीवलाई सपथ खुवाउने पक्षमै थिए । राजीवले सपथ खानेबारे सोमबारको संसद् बैठक सुरु हुनुभन्दा अगाडि नै चर्चा थियो । सत्ता पक्षमात्रै होइन, सरकारका मुख्यमन्त्री र मन्त्रीहरु राजीवलाई सपथ खुवाउने पक्षमै रहेको अनौपचारिक भेटमा आशय व्यक्त गर्थे । सपथ ग्रहणमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित ४ मन्त्री भने सहभागी थिएनन् । राजीवले तत्कालीन एमालेको समर्थनमै स्वतन्त्र उम्मेदवारको रुपमा जित दर्ता गराएका थिए ।

प्रतिपक्षी दलका नेताहरुले राजीवलाई सपथ गराउनु गैरकानुनी भएको जिकिर गर्दै आएका थिए । प्रदेशसभा नियमावलीले यस्तो अवस्थामा सभामुखले स्वविवेकले निर्णय गर्न सक्ने अधिकार दिएको छ । तर, पनि सभामुखले सबैसँग राय र छलफल भने गरेका थिए । पुस २२ गते बिहान बसेको प्रदेशको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट तत्काल सपथ नखुवाउने सभामुखले निर्णय गरेको सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका थिए ।

त्यसको भोलिपल्टै राजीव प्रदेशसभा पुगेर सभामुखलाई भेटे । सभामुखसँग भेट गरेर निस्केलगत्तै राजीवले भनेका थिए, ‘सभामुखले सपथ नगराउनेबारे कुनै निर्णय नगरेको बताउनुभयो ।’ त्यसयता पनि सभामुखले निरन्तर राय सुझाव लिने काम गरिरहेका थिए ।

तर, प्रतिपक्षी दलका नेता र सांसद् भने खुसी छैनन् । सभामुख अधिकारीले दलका नेताहरुलाई फोनमार्फत राजीवलाई सपथ खुवाउन सक्नेबारे बताएका थिए । तर, उनले कुन बेला सपथ खुवाउने भन्ने बारे भने जानकारी दिएका थिएनन् ।

प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सपथले गलत नजीर बसालेको प्रतिक्रिया दिए । कार्यव्यवस्था परामर्श समितिमा सपथ खुवाउन हुन्न भन्ने एकमत गरेर पछि सपथ खुवाइएको उनले बताए ।

राष्ट्रिय जनमोर्चाका सांसद् कृष्ण थापाले इतिहासमा कलंकको रुपमा आफूले लिएको प्रतिक्रिया दिए । सोमबार बिहान सपथ खुवाउनु पर्लाजस्तो छ भने पनि आजै खुवाउनेबारे भने यकिन नभनेको थापाले बताए ।

‘यो त इतिहासको कलंकित काम हो । यसले नेपाली जनतालाई राम्रो सन्देश दिँदैन,’ थापाले भने, ‘पहिले न्यायाधिवक्तासँगै भएको छलफलमा सभामुख र सबै जना सपथ नखुवाउने कुरामा सहमत थियौं । तर, रातारात किन सपथ खुवाइयो ? बुझ्न सकेका छैनौं ।’

नयाँ शक्तिका सांसद् हरिशरण आचार्य पनि सपथको विपक्षमा छन् । ‘सभामुखज्यूले दवाव खेप्न नसक्ने भएँ । सपथ खुवाउनु पर्ने भो भन्नुभएको थियो,’ नयाँ शक्तिका सांसद हरिशरण आचार्यले भने, ‘हामीले विवेक प्रयोग गर्नुहोस् भन्यौं । बसैको दबाबमा नपर्नुस् भनेका थियौं ।’

सपथ लिएलगत्तै राजीवले भने, ‘९ महिना जेल त बसेँ भने एक महिना कुर्न के हुन्छ र भनेर कुरेको थिएँ ।’ सपथ माग गर्दै निवेदन दिएपछि राजीवले सपथका लागि ‘सेटिङ’ मिलाउने प्रयास गरिरहेका थिए ।

मेरा लागि जेल पनि घरजस्तै थियोः मनाङे

राजीवले मंगलबारदेखि नै प्रदेश सभाको बैठकमा उपस्थित हुने र सरकारलाई आफ्नो समर्थन रहने बताए । ‘गभर्मेन्टलाई नै सपोर्ट गर्छु, जुन दिन सरकारले राम्रो गर्दैन् त्यो दिन सोचौंला,’ उनले भने, ‘पार्टीमा प्रवेश गर्नेबारे मानसिकता बनाएको छैन ।’

सांसद राजीवले सपथ खानुअघि र सपथ लिए पछिको क्षणलाई खासै ठूलो रुपमा नलिएको बताए । ‘मेरा लागि जेल पनि घरजस्तै थियो । अहिले सपथ लिँदै गर्दा पनि त्यस्तो केही महसुस गरेको छैन,’ सपथपछि मनाङेले भने ।

सभामुख अधिकारीले सपथबारे धेरै प्रतिक्रिया दिएनन् । उनले भने, ‘उहाँ निर्वाचित भएर आउनुभयो । हामीले सपथ गरायौं ।’

के थियो दीपकलाई मुद्दा ?

२०६१ सालमा मिलन चक्रे भनिने मिलन गुरुङलाई दीपक मनाङे समूहले हतियार प्रहार गरेको थियो । प्रहरीले राजीव समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्‍यो । तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्‍यो । जिल्ला अदालतले मनाङेलाई २ वर्षको जेल सजाय सुनायो तर गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई भने सफाइ दियो ।

फैसलाविरुद्ध पुनरावेदन अदालत पाटनमा सरकारी वकिलको कार्यालय पुग्यो । पुनरावेदन अदालतले ०६९ मा ज्यान मुद्दा ठहर गर्दै राजीवलाई ५ वर्ष जेल सजाय सुनायो । तर, अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई नै सदर गर्‍यो ।

यो मुद्दा फेरि सर्वोच्च पुग्यो । सर्वोच्चले पुनरावेदनकै फैसला सदर गर्‍यो । जिल्ला अदालतले सुनाएको २ वर्ष सजाय राजीवले भुक्तान गरिसकेको थिए । तर, बाँकी समय कैद भुक्तान भएको थिएन ।

२०७३ पुस २८ गते राप्रपा प्रवेश गरेका राजीव ०७४ असोजमा एमालेमा पुगे । प्रदेशसभा निर्वाचनमा उनले एमालेबाट टिकटको दाबी गरेका थिए । तर पाएनन् । त्यसपछि उनी स्वतन्त्र रुपमा चुनाव लडे, जिते । मनाङे निर्वाचत त भए तर पुरानो जेल भुक्तान नगरेको मुद्दा बल्झियो । प्रहरीले पक्राउ गर्ने बताएपछि उनी फरार भए ।

गएको चैतमा चैत ४ गते महानगरीय अपराध अनुसन्धान महाशाखाको पहलमा रेड कर्नर नोटिङ नै जारी भयो । फरार रहेका राजीव वैशाख ७ गते पक्राउ परेका थिए ।
भदौ १ गतेबाट फौजदारी संहिता ऐन लागू भएपछि दफा १९४ मा १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले जमानत बुझाएर थुना बाहिरबाटै मुद्दा लड्न पाउने सुविधा प्रयोग गर्दै राजीव सर्वोच्चबाट थुनामुक्त हुने आदेश पाएका थिए । सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेर धरौटी बुझाएकापछि पुस ६ गते उनी थुनामुक्त भए र सोमबार माननीयको सपथ लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment