+
+
Shares

चक्रपथको पहिलो खण्डमा भएको त्रुटि अर्कोमा नदोहोर्‍याउन पहल

रविन्द्र घिमिरे रविन्द्र घिमिरे
२०७५ माघ १६ गते १७:५७

१६ माघ, काठमाडौं । सरकारले चक्रपथको पहिलो खण्डमा भएको त्रुटि दोस्रो खण्डमा सच्याउन पहल गरेको छ । सडक विभागले अब विस्तारको काम हुने कलंकी-बालाजु-महाराजगञ्ज सडक खण्डमा पहिलो खण्डको जस्तो प्राविधिक त्रुटि नहोस् भनेर डिजाइ नै वैज्ञानिक बनाइदिन आग्रह गरेको छ ।

चक्रपथको डिजाइन चीन सरकारले नै गर्छ, पहिलो खण्डमा चीनले गरेको डिजाइन जस्ताको तस्तै स्वीकार्दा विभिन्न त्रुटिहरु भएका छन्, जसले सडक त्रुटिपूर्ण र जोखिमयुक्त बनेको छ ।

कलंकी-बालाजु-महाराजगञ्ज खण्ड विस्तारको लागि सडक विभाग अहिले चीन सरकारले बनाउने डिजाइन कुरिरहेको छ । सडक विभागले सडकसीमा क्षेत्रभित्रका संरचनाहरु हटाउन यसअघि नै सूचना निकाले पनि अझै निर्माण सुरु गर्न चीनले डिजाइन दिएको छैन ।

सडक विभागमा महानिर्देशक रवीन्द्र श्रेष्ठले चीन सरकारबाट डिजाइन प्राप्त भएपछि त्यसलाई चक्रपथ सुहाउँदो मोडलमा हेरफेरको प्रयास गरिने बताए । उनले डिजाइन फाइनल भएपछि चीन सरकारले जिम्मा दिने कम्पनीले विस्तारको काम सुरु गर्ने बताए ।

‘कलंकी-सातदोबाटोमा केही त्रुटि भए, अब कलंकी-बालाजु-महाराजगञ्ज खण्डमा भने बीचमा ग्रीनरीसहितको मेडियन राखेर डिजाइन गर्न आग्रह गरेका छौं,’ उनले भने,’सकेसम्म वैज्ञानिक र व्यवहारिक बनाएर बाँकी सडक निर्माण गर्छौं ।’

डिजाइन आएपछि त्यसलाई रिभ्यु गर्ने र सकेसम्म वैज्ञानिक तवरले परिमार्जन भएपछि आयोजना अघि बढाउने योजनामा विभाग छ ।

हालै विस्तार सकिएको कलकी-सातदोबाटो कोटेश्वर खण्डमा चीन सरकारले दिएको डिजाइन नै स्वीकृत गर्दा भर्खरे बनेको सडक सुधारका लागि तत्कालै भत्काउनुपर्ने अवस्था आएको छ ।

अब चक्रपथको बाँकी खण्डको डिजाइन भने यो खण्डभन्दा वैज्ञानिक हुने विभागको भनाइ छ । बाँकी १७ किमि सडकमा मेडियन अर्थात् दुई सडकको बीचमा लेन छुट्याउने भाग राखिनेछ ।

कोटेश्वर-कलंकी खण्डको बीचमा मेडियन राखिएको छैन । मेडियन नराखिएका सडकमा राति गुड्ने सवारी साधन चालकको आँखामा विपरित दिशाबाट आइरहेका सवारीको बत्ती पर्छ । र, निर्वाध अगाडि बढ्न असहज स्थिति बेहोर्नुपर्छ । यो अवैज्ञानिक ठहर भइसकेको छ । त्यसैले अबको खण्डलाई वैज्ञानिक तवरले बनाउने योजना विभागको छ ।

चक्रपथ सडक विस्तार आयोजनाले केही महिनाअघि नै कलंकी-बालाजु-महाराजगञ्ज सडक सीमामा पर्ने सबै संरचना हटाउन भन्दै सूचना जारी गरेको छ । सूचनामा सडक क्षेत्र मिचेर बनाइएका संरचना भत्काउन अटेर गरे सार्वजनिक सडक ऐनअनसार आफैंले हटाउने र त्यसबापत लागेको खर्च असुल्ने चेतावनी दिइसकेको छ ।

कुल २७ दशमलव दुई किलोमिटरमध्ये कलंकी-महाराजगञ्ज खण्ड ८.२ किमि लम्बाइको छ । चीनले केही वर्षअघि नै रिंगरोडलाई तीन चरणमा विस्तार गर्ने प्रतिवद्धता जनाइसकेको थियो ।

केही महिनाअघि नै चीनको वाणिज्य मन्त्रालयले जुन २०१८ सम्ममा उक्त खण्डमा पर्ने ढल, विद्युत् र टेलिफोनका पोलहरु हटाउन सडक विभागसँग लिखित आग्रह गरेको थियो । चक्रपथको कोटेश्वर-कलंकी खण्ड चीनले नै विस्तार गरिरहेको छ, जुन साढे नौ किमी लामो छ ।

कलंकी-महाराजगञ्ज खण्ड विस्तारको लागत पनि निक्र्योल भइसकेको छैन । अब केही समयभित्रै विद्युत् र टेलिफोनका पोलहरु हटाउन शुरु गरिने भएको छ ।

चक्रपथकै बाँकी महाराजगञ्ज-कोटेश्वर सडक विस्तारमा पनि चीनको चासो छ, जुन करिब नौ किमि लम्बाइको छ । पूरै चक्रपथ विस्तारमा सहयोग गर्न चीन यसअघि नै सहमत भइसकेको छ ।


तत्कालीन प्रधानमन्त्री केपी ओलीको चैत ०७२मा भएको चीन भ्रमणका बेला चक्रपथका सबै खण्ड विस्तार सम्बन्धी सहमति भएको थियो ।

चार लेनको चक्रपथ चीनकै अनुदानमा ०२७ सालमा निर्माण भएको थियो, जसलाई आठ लेनमा स्तरोन्नती गर्न पनि उत्तरी छिमेकीले चासो लिँदै आएको छ ।

कलंकीबाट महाराजगञ्ज हुँदै कोटेश्वरसम्मको १७ किमि सडक विस्तारको सम्भाव्यता अध्ययन पनि चिनियाँ प्राविधिकले नै गरिसकेका छन् । पूरै चक्रपथलाई आठ लेनको बनाउन १३ अर्ब रुपैयाँ लाग्ने विभागको प्रारम्भिक अनुमान छ ।

‘यो खण्डको डिजाइन र टेन्डरको सबै काम चिनियाँले नै गर्छन्, उनीहरुलाई डिजाइनमा परिवर्तन गरिदेऊ भन्दा निकै अप्ठेरो मान्छन्,’ सडक विभागका एक अधिकारीले भने,’कलंकी-सातदोबाटो-महाराजगञ्ज खण्डमा पनि हामीले डिजाइन परिवर्तन गराउन आग्रह गर्दा मानेनन् । अब अर्को खण्डमा त्यस्तो हुन दिने छैनौं ।’

ती अधिकारीका अनुसार चिनियाँ अधिकारीहरु आफ्नो डिजाइन र समयसीमामा अडिग रहने गर्दा समस्या पर्ने गरेको छ । स्याफ्रुबेसी-रसुवागढी १६ किलोमिटरको सडक खण्ड निर्माण्को अवधि ३ वर्ष बढी राखेपछि विभागले त्यसलाई छोट्याउन पहल गरेको थियो ।

तर, चिनियाँ अधिकारीले सडक विभागका अधिकारीको कुरै नसुनेको ताजा अनुभव विभागसँग छ ।

‘चिनियाँहरु आफ्नो कुरामा एकदमै अडिग हुन्छन्, जति गर्दा पनि सकिन्न’ ती अधिकारीले भने,’चक्रपथमा हामीले त्यसै कारण आलोचना खेप्नुपर्‍यो । अब सकेसम्म गल्ती नदोहोर्‍याउन पहल गर्दैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?