Comments Add Comment

कहाँ पुग्यो धुर्मुस सुन्तलीको ‘नमूना नेपाल’ ?

सुन्तली भन्छिन्- ४० लाख उठेको छ, काम रोकिँदैन

१७ माघ, काठमाडौं । चर्चित हास्य कलाकार धुर्मुस र सुन्तलीका नाममा खोलिएको ‘धुर्मुस सुन्तली फाउण्डेसन’ ले भरतपुर महानगरपालिकाले दिएको जग्गामा ३ अर्बको लागतमा अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेको छ । तर, के फाउन्डेसनले यो परियोजना सम्पन्न गर्न सक्ला ? सरकारले नसक्ने, कलाकारले सक्ने, के यो सम्भव छ ? यस्ता प्रश्नहरु सामाजिक सञ्जालमा बहसका रुपमा आउन थालेका छन् ।

भरतपुर महानगरपालिकाले कुनै ठूलो निर्माण कम्पनीलाई जस्तै महत्व दिएर धुर्मुस सुन्तली फाउन्डेसनसँग बुधबार रंगशाला निर्माणको औपचारिक सम्झौता नै गरिसकेको छ । सो कार्यक्रममा प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री प्रचण्डसमेतको सहभागिताले धुर्मुस सुन्तली फाउन्डेसनको उचाइ अब सामाजिक संस्थाका रुपमा मात्र नभएर प्रतिष्ठित निर्माण कम्पनीजस्तो बनाइदिएको छ ।

करिब ३ अर्बको लागतमा अढाइ वर्षमा क्रिकेट रंगशाला बनाएर सरकारलाई हस्तान्तरण गर्ने गरी धुर्मुस सुन्तली फाउन्डेसनले  महानगरसँग सम्झौता गरेको छ ।

विगतमा भूकम्पपीडित, बाढी पीडित र विपन्न समुदायका मानिसहरुका लागि एकीकृत नमूना वस्ती बनाएको विश्वासका आधारमा हेर्ने हो भने धुर्मुस सुन्तली फाउन्डेसनले ३ अर्बको रंगशाला बनाउनेमा आशा र विश्वास गर्न सकिन्छ ।

तर, यसको अर्को पाटो पनि छ ।

धुर्मुस सुन्तलीले ०७४ साल जेठमा ५ अर्ब बजेटमा ‘नमूना नेपाल’ बनाउने घोषणा गरेका थिए । त्यो परियोजना अहिले अलपत्र परिरहेको छ ।

सामाजिक सञ्जालमा जारी सूचनाहरु हेर्दा धुर्मुस सुन्तलीले ‘नमूना नेपाल वस्ती विकास आयोजना’ का लागि भन्दै आर्थिक सहयोग समेत संकलन गरेको देखिन्छ ।

यो महत्वाकांक्षी परियोजनाका लागि उनीहरुले सार्वजनिक कार्यक्रम नै आयोजना गरेर सहयोगका लागि दाताहरुसँग अनुरोधसमेत गरेका थिए ।

नमूना नेपाल कस्तो बन्ने छ भनेर सार्वजनिक गरिएको भिडियोमा मोनोरेलसम्मको महत्वाकांक्षी सपना देखाइएको थियो ।

हेर्नुहोस् भिडियो

भूकम्पपीडित र बाढी पीडितहरुका लागि नमुनायोग्य काम गरिसकेपछि धुर्मुस र सुन्तली कलाकारितामै फर्केलान् कि भन्ने धेरै मानिसहरुको अनुमान थियो ।

तर, उनीहरुमा समाजसेवाको भावना विस्तारित भएर यही मोडेलबाट चन्दा मागेर देशै बनाउन सकिन्छ भन्ने महात्वाकांक्षा बढ्न थाल्यो । र, त्यसैको प्रतिफलस्वरुप ‘नमूना नेपाल वस्ती विकास आयोजना’को घोषणा भयो ।

तर, यसवीचमा धुर्मुस र सुन्तलीले नमूना नेपाल वस्ती आयोजनामा खासै जाँगर देखाएनन् । यसको प्रचार प्रचार पनि त्यति हुन सकेन । यसवीचमा उनीहरुले सिस्नोपानी नेपालसँग मिलेर कमेडी चलचित्र निर्माणको समेत तयारी गरे ।

तर, यहीवीचमा एकैचोटि धुर्मुस र सुन्तली ३ अर्ब लागतको अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माता बनेर निस्किएका छन् । सरकारले रंगशाला बनाउने जिम्मा धुर्मस सुन्तलीलाई दिएकोमा समाजिक सञ्जाल र पत्रपत्रिकामा सरकारमाथि समेत केही व्यंग्यहरु सुरु भएको छ । ‘सरकारले नसक्ने काम कलाकारले सक्ने’ भन्ने खालका प्रतिक्रियाहरु आएका छन् । तथापि रंगशाला बन्न लागेकोमा खेलका पारखीहरु खुशी देखिएका छन् ।

धुर्मुस सुन्तलीले गरेका नमूनायोग्य काम

मेसी बास्सै मार्फत हास्य कलाकारिता क्षेत्रमा लागेर नाम कमाएका सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले ०७२ सालको भूकम्पपछि नमूनायोग्य एवं प्रशंसनीय कामहरु गरेका छन् ।

०७२ साल बैशाख १२ को भूकम्पपछि पीडितलाई राहत र पुनर्निमाण एवं आवास पुनर्निर्माणको उद्देश्य राखेर उनीहरुले धुर्मुस सुन्तली फाउन्डेसन नामक संस्था खोले ।

सुरुमा यो फाउन्डेसनले विभिन्न प्रकारका सूचना र शिक्षामूलक वृत्तचित्रहरु बनाउने काम गर्‍यो ।

सरकारले धुर्मुस सुन्तलीलाई ‘सफाइ दूत’ घोषणा गरेकाले उनीहरुले काभ्रेलगायतका जिल्लामा सरसफाइ सम्बन्धी जनचेतनामूलक कामसमेत गरे ।

अन्ततः पुनर्निर्माण प्राधिकरण, सेभ द चिल्ड्रेन, खानेपानी सररफाइ मन्त्रालय आदिको सहयोगमा काम गर्दै आएका उनीहरुले । एकीकृत वस्ती निर्माण अभियान सुरु गरे । र, त्यसमा सफलता प्राप्त गरेर आम मानिसको विश्वास जित्न सफल भए ।

धुर्मुस सुन्तलीले ०७२ साल जेठ १७ गतेदेखि काभ्रेको पाँचखालस्थित पहरी वस्तीमा भूमम्प पीडितका लागि घर बनाउने काम सुरु गरे । वर्षायामको कठिनाइबीच उनीहरुले ०७२ साल साउन २७ मा एकीकृत नमूना पहरी वस्ती  बनाएर पीडितलाई हस्तान्तरण गरे ।

 

यो पहरी बस्ती बनाउँदा कुल ६७ लाख २० हजारको लागतमा २० वटा घर बनेका थिए । सहयोग संकलन ६७ लाख २० हजार उठेकोमा सम्पूर्ण रकम खर्च भएको फाउन्डेसनले जनाएको छ ।

पहरी वस्ती बनाइसकेपछि भूकम्प पीडितको सेवामा थप दत्तचित्त बनेका धुर्मुस र सुन्तलीले सिन्धुपाल्चोकको गिरानचौरमा अर्को महत्वाकांक्षी परियोजना सुरु गरे र छोटो समयमा पूरा गरेर देखाए ।

सिन्धुपाल्चोकको एकीकृत नमूना गिरानचौर वस्ती निर्माण ०७३ वैशाख १२ मा सुरु गरेर कात्तिक १२ मा हस्तान्तरण भयो । त्यहाँ भूकम्पपीडितका लागि ६६ वटा घर बनाइएको छ । घर हस्तान्तरण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत पुगिन् र धुर्मुस सुन्तलीको सामाज सेवाप्रति हौसला प्रदान गरिन् ।

गिरानचौर वस्ती निर्माणको कुल लागत ५ करोड १३ लाख ५८ हजार १८७ रुपैयाँ रहेको फाउन्डेसनले जनाएको छ ।

सो वस्ती निर्माणका लागि ६ करोड १८ लाख १२ हजार २ सय ५९ रुपैयाँ ८६ पैसा सहयोग जुटेको थियो । त्यसमध्ये १ करोड ४ लाख ५४ हजार ७४ रुपैयाँ ८६ पैसा बचत भएको थियो ।

गिरानचौर वस्ती निर्माणमा नेपाली सेना, नेपाल प्रहरी र अन्य स्वयंसेवी संस्थाहरुको समेत श्रम सहयोग रहेको थियो ।

गिरानचौरपछि धुर्मुस सन्तलीले रौतहट जिल्लामा माझी, दुसाद, हजाम आदि समुदायका बाढीपीडितहरुका लागि एकीकृत नमूना सन्तपुर बस्ती निर्माण गरे ।

सन्तपुर बस्तीमा १२ कठठा क्षेत्रफलभित्र ४७ वटा आवासीय घर बनेका छन् । यो वस्ती निर्माणमा ५ करोड ९४ लाख खर्च भएको धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ । ०७४ माघ २३ मा सम्पन्न गरिएको सो वस्ती निर्माणमा जुटेको सहयोग रकम बचत नरहेको फाउन्डेसनको भनाइ छ ।

धुर्मुस सुन्तलीले गरेको चौथो वस्ती निर्माण हो- बर्दिबासको एकीकृत मुसहर वस्ती । यस वस्तीमा ५४ वटा घरहरुको निर्माण ०७४ पुसमा सुरु गरेर ०७५ बैसाखमा सम्पन्न गरिएको थियो ।

एकीकृत मुसहर वस्ती निर्माणका लागि कुल ७ करोड ६३ लाख ३९ हजार १ सय २७ रुपैयाँ ५३ पैसा जुटेको थियो । गिरानचौरमा बचेको पैसासमेत यसैमा लगानी गरिएको फाउन्डेसनको भनाइ छ ।

मुसहर वस्ती निर्माणको कुल लागत ५ करोड ४ लाख ३६ हजार ८ सय ६० रुपैयाँ रहेको फाउन्डेसनले जनाएको छ । यसमा व्यक्ति, संघ संस्थाहरुका साथै विभिन्न सरकारी कार्यालयले समेत सहयोग गरेका थिए भने सुरक्षाकर्मीहरुले श्रम सहयोगसमेत गरेका थिए ।

यो वस्ती निर्माणमा खर्च भएर बाँकी रकम २ करोड ५९ लाख २ हजार २६७ रुपैयाँ ५३ पैसा बचत रहेको फाउन्डेसनको वेबसाइटमा उल्लेख छ । र, यो रकम आगामी परियोजनामा खर्च गरिने धुर्मुस सुन्तली फाउन्डेसनले बताएको छ ।

तर, यो रकम ‘आगामी परियोजना’ भन्नाले ‘नमूना नेपाल वस्ती विकास आयोजना’मा खर्च गरिन्छ या क्रिकेट रंगशालामा लगाइन्छ भन्नेबारेमा धुर्मुस सुन्तली फाउन्डेसनले औपचारिक घोषणा गरिसकेको छैन ।

सुन्तली भन्छिन्- ४० लाख उठेको छ, नमूना नेपालको काम रोकिँदैन

नमूना नेपाल विकास परियोजनालाई वीचैमा छाडेर क्रिकेट मैदानतिर लागेपछि अब पूर्वघोषित परियोजनाको अवस्था के हुन्छ भनेर हामीले कुञ्जना घिमिरे सुन्तलीलाई सोध्यौं ।

उनले नमुना नेपालको परियोजना नरोकिने र अढाइ वर्षपछि त्यसमा केन्दि्रत हुने अनलाइनखबरलाई बताइन् ।

नमूना नेपाल परियोजना र त्यवापत उठेको रकमबारे कुञ्जना घिमिरेको भनाइ यस्तो छ-

नमूना नेपालको काम फिल्डमा गएर अड्किएको छ । अहिलेसम्म त्यसको डीपीआरसम्मको काम पूरा भइसकेको छ । यसका लागि करिब ३० लाख रुपैयाँ खर्च भइसकेको छ ।

नमूना नेपालको उद्घोष गरेपछि हामीलाई सहयोगी मनहरुले त्यै ४० लाख बराबरको रकम दिनुभएको थियो । हाम्रो एकाउन्टमा त्यसको प्रष्ट हिसाब छँदैछ । ३० लाख डीपीआर र बाँकी १० लाख राहत वितरणमा खर्च भयो ।

नमूना नेपालकै लागि भनेर कतिले आर्थिक सहयोग दिने वचन दिनुभएको थियो, त्यो सहयोग अहिले उहाँहरुले पनि क्रिकेट मैदानका लागि दिन लाग्नुभएको छ ।

नमूना नेपालको काम रोकिँदैन । तर, अहिले स्थगित भएको हो । यसबीचमा हामी क्रिकेट मैदान बनाउने काममा लाग्यौं । यो अहिलेको आवश्यकता र दर्शकको चाहना थियो । क्रिकेट मैदान राष्ट्रिय आवश्यकता, राष्ट्रिय गौरव र राष्ट्रिय उत्साहको विषय हो ।

हामीले आवश्यकताको प्राथमिकतालाई हेरेर क्रिकेट मैदान बनाउने निर्णय गरेको हो । यो काम अढाई बर्षमा सम्पन्न हुनेछ । यसले एक किसिमको माहौल तयार गर्नेछ । सबैमा खुसी र उमंग छाउनेछ । हामीप्रतिको विश्वास थप बढ्नेछ ।

त्यसपछि हामी नमूना नेपालको बाँकी काम जारी राख्नेछौं ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment