Comments Add Comment

प्रादेशिक महोत्सव : खप्तड जाने पर्यटकलाई हेलिकप्टरको व्यवस्था

Photo Credit : फाइल फाेटाे

२० माघ, काठमाडौं । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकप्टरको व्यवस्था गरिएको छ ।  डोटी चेम्बर अफ कमर्शले दीपालयमा आयोजना गर्न लागेको प्रादेशिक महोत्सवमा खप्तड घुम्न जाने पर्यटकका लागि हेलिकप्टरको व्यवस्था गरेको कमर्शका अध्यक्ष खगेन्ऽबहादुर साउदले जानकारी दिए ।

उनले भने, ‘खप्तडसम्म हिँडेर जान नसक्ने र छोटो समयमा नै खप्तड घुम्न चाहने पर्यटकलाई ध्यानमा राखेर हामीले हेलिकप्टर सेवा दिने योजना बनाएका छौँ, त्यसका लागि हेलिकप्टर पनि बुक भइसकेको छ ।’

आगामी फागुन १७ देखि २७ गते सम्म सञ्चालन हुने उक्त महोत्सवमा यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड लगायतका क्षेत्र घुम्न जाने पर्यटकका लागि हेलिकप्टर बुकिङ गरिएको बताइएको छ ।

नेपाल भम्रण वर्ष २०२० लाई सफल पार्ने उद्देश्यका साथ चेम्बर अफ कमर्शले दीपायलदेखि खप्तडसम्मका लागि ११ दिनसम्म हेलिकप्टर सेवा सञ्चालन गर्ने जनाएको छ ।

त्यस्तै खप्तड पुग्ने पर्यटकको सुविधाका लागि प्राथमिक स्वास्थ्य सेवा पनि प्रदान गरिने भएको छ ।  त्यहाँ जाने पर्यटकलाई थप सुविधाका लागि खप्तडमा घोडचढीको व्यवस्थासमेत मिलाइने कमर्शका उपाध्यक्ष नवीन श्रेष्ठले जानकारी दिए ।

खप्तडका जंगलभरी हिउँ

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय स्थल खप्तड राष्ट्रिय निकुञ्जका पुरै जङ्गल हिउँले ढाकेपछि आहारा र न्यानोका लागि वन्यजन्तु गाउँ पस्न थालेका छन् ।

निकुञ्जसँगै जोडिएका डोटीका झिग्राना, गोलादेउ, भल्मा, बग्लेक, स्वाँणा, मछिन्तोला लगायतका गाउँका वस्तीमा वन्यजन्तु आउन थालेको स्थानियवासीले बताएका छन् ।

अहिले यहाँका गाउँमा बदेँल, रतुवा, जरायो, चितुवा, कालिज, डाँफेलगायतका वन्यजन्तु र पक्षी देखिन थालेका छन् । वन्यजन्तुले स्थानियले लगायका तरकारी लगायतका फलफुल समेत खान थालेको बग्लेगका स्थानियवासी रमेश विष्टले बताए ।

उनले भने, ‘निकुञ्जमा भएको घास पात सबै हिउँले ढाकेको छ, वन्यजन्तु आएर हामीले लगाएको बालीनाली खानथालेका छन्, धपाउँदा पनि जादैनन् ।’

हिंस्रक जनावर गाउँ पसे मानिस र घरपालुवा जनावरलाई जोखिम हुने तथा चोरी सिकारका कारण वन्यजन्तुलाई पनि खतरा हुनसक्ने स्थिती बढेको निकुञ्जको मध्यवर्ती व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद उपाध्यायले बताए ।

हिमपातले हाल खप्तडमा दिउँसोको तापक्रम २ देखी ३ डिग्री सेल्सियस मात्रै हुने र राती तापक्रम घटेर माइनस १५ डिग्री सेल्सियससम्म पुग्ने गरेको त्यहाँ तैनाथ नेपाली सेनाले जनाएको छ ।

नेपालको संरक्षित सूचीमा रहेका कस्तुरी, मृग, ध्वाँसे चितुवा, ब्वाँसो र हिमाली कालो भालु, चितुवा, बदेल, मृग, हरिणसहित ३० प्रजातिका अन्य स्तनधारी पनि निकुञ्जमा पाईने गरेका निकुञ्जले जनाएको छ । निकुञ्ज प्रदेशका पहाडी जिल्ला अछाम, बझाङ, बाजुरा र डोटी गरी ४ जिल्लामा फैलिएको छ ।

बन्यजन्तु संरक्षणको लागि खप्तडस्थित नेपाली सेना र निकुञ्ज कार्यालयले काम गरिरहेको भए पनि संरक्षणमा मध्यवर्ती क्षेत्रका जनता पनि जिम्मेवार भएर लाग्नु पर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रबहादुर चन्दले बताए ।

चोरी सिकार न्यून गर्न नेपाली सेनाले गस्ती गर्ने गरेको भए पनि वन्यजन्तुको सिकार र काठ चोरी नरोकिएको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिए ।

चोरी सिकारी तथा अन्य गतिविधि रोक्नका लागि निकुञ्जमा सीसी क्यामरासमेत जडान गरिए पनि पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको उनले बताए ।

निकुञ्जभित्र रहेका जनावरको अवस्था र उनीहरूको अध्ययन तथा अवलोकन गर्नका लागि सीसी क्यामरा निकै सहयोगी बनेका सहायक संरक्षण अधिकृत शाहले जानकारी दिए । निकुञ्जभित्र २४ वटा सीसी क्यामरा जडान गरिएका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment