Comments Add Comment

स्थानीयको सहयोग पाए पोखरा विमानस्थल छिट्टै : सीएमसी

२१ माघ, पोखरा । चिनियाँ कम्पनी सीएमसीले स्थानीयको सहयोग पाए पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तोकिएको समयभन्दा अगाडि नै सक्ने बताएको छ ।

‘तोकिएको मितिभन्दा चाँडै सक्ने घोषणा हामीले गरेका होइनौं तर, स्थानीयको सहयोग पाए सफल पक्का हुन्छौं’ कम्पनीका उपप्रमुख जिन जियाङ जुले भने, ‘हामीले यस परियोजनालाई आफ्नै मानेर काम गरिरहेका छौं ।’

सोमबार पोखरामा आयोजित कार्यक्रममा उनले परियोजनाले नेपाल र चीनको सम्बन्ध अझै प्रगाढ बनाउने दाबी गरे । ‘नेपालको तीव्र विकास भयो भने चीनलाई पनि फाइदा पुग्छ,’ उनले भने, ‘हामीले नेपाल सरकारलाई त्यस्तो नराम्रो आशा राखेर सहयोग गरेका होइनौं । दुवै देश समान भएको हेर्न चाहन्छौं ।’

उनले चीन पोखरामा अझै अन्य क्षेत्रमा पनि लगानी गर्न इच्छुक रहेको बताए ।

विमानस्थलको अहिलेसम्म २५ प्रतिशत काम सकिएको छ । अहिले पनि विमानस्थलमा धमाथम काम भइरहेको छ । सन् २०२१ को जुलाइभित्र सकिसक्ने लक्ष्यसहित काम भइरहेको जनसम्पर्क अधिकृत कृष्ण चापागाईंले जानकारी दिए । टयाक्सी वेको काम भइरहेको छ भने एप्रोन निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ ।

एक्जिम बैंकको ऋण रकममध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको निब्र्याजी ऋणमा विमानस्थल निर्माण हुन लागेको हो । इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्डअनुसार ‘४ डी’ विमानस्थल बन्ने छ ।

सीएएमसीले ०७१ वैशाख २९ मा ठेक्का पाएको र निर्धारित समयमा निर्माण पूरा नगरे नेपाल सरकारलाई क्षतिपूर्ति दिने सर्त छ ।

विमानस्थलका लागि सरकारले ०३२ मा ३ हजार १ सय ६ रोपनी जग्गा लिएको थियो । त्यतिले नपुगेपछि ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो । सरकारले ०३२ मा जग्गा अधिग्रहण गरे पनि सरकारसँग बजेट अभाव, दातृ निकाय फेला नपरेको र पछि नागरिक उड्डयन प्राधिकरणले ठेकेदार कम्पनी छनोटको निर्णयमा ढिलाइले विमानस्थल निर्माण अलपत्र थियो ।

विमानस्थलको ०७३ वैशाख १ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले विमानस्थलको शिलान्यषस गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई शैक्षिक तथा स्वास्थ्य हब बनाउने योजना सुनाए । उनले भने, ‘गण्डकी प्रदेशमा व्यावसायिक र प्राविधिक शिक्षा बनाउन हामी सोचिरहेका छौं ।’

पोखरा र त्रिभुवन विश्वविद्यालय भएपनि त्यहाँ नातावाद र कृपावादले शैक्षिक गतिविधि नै बिगारेको आरोप लगाए । ‘प्रदेशले आफ्नै विश्वविद्यालय खोल्नेबारे योजना तर्जुमा गर्दै छ,’ उनले भने, ‘गण्डकी विश्वविद्यालयमा अनुसन्धान र खोजमुलक पढाइमात्रै हुनेछ ।’ उनले नेपाललाई २५ वर्षमा मध्यमस्तरको बनाउन लागिपरेको बताए ।

झन्डै २२ अर्ब रुपैयाँमा निर्माण सम्झौता भएको विमानस्थल सन् २०२१ जुलाई १० भित्र काम सकेर हस्तान्तरण गर्ने सहमति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment