Comments Add Comment

नेपालकी बलवान महिलाः १७ वर्षसम्म दोस्रो मेडल लगाउनु परेन

सधैँ आफैसँग प्रतिस्पर्धा

यसो सम्झेर बस्दा मेरो जीवनको कथा, खेलका यात्रामा पनि सयौँ चन्द्र सूर्य आएर गइसकेछन् । शरीरले उमेरलाई ३७ वर्षमा पुर्‍याइदिएछ, मनले भने अझै २७ वर्षतिरै राखिरहेको छ ।

खेलाडी बन्छु भन्ने सोचेकी थिइनँ, बनेँ । भलिबलबाट सुरु गरेको यात्रा भारत्तोलनमा पुग्ला जस्तो पनि लागेको थिएन, पुग्यो । सटपुट, ज्याभ्लिन थ्रो, डिसकस थ्रो, बक्सिङसम्म पनि छाडिनँ । यो सबै खेलकुदको रहर नै हो ।

‘स्ट्रङगेस्ट वुमन’ को उपाधि जितेको पनि लगातार १७ वर्ष पो भइसकेछ । यसैले अहिले त मेरो प्रतिस्पर्धी भनेकै मेरो कीर्तिमान जस्तो भएको छ । हरेक पटक नयाँ कीर्तिमान बनाउन मेहनत गरिरहेकी हुन्छु । आफैसँग प्रतिस्पर्धा गरिरहेकी छु ।

गुरुहरुले पनि ताराले एउटा ‘रेकर्ड ब्रेक’ गरेन भने त के खेल्यो त भन्नुहुन्छ । सधैँ गरिराखेकी छे, गर्छे भन्नुहुन्छ । किनभने यो १७ वर्ष खेल्दा मैले अहिलेसम्म दोस्रो मेडल लगाउनुपरेको छैन ।

तपाइँहरुलाई म आज भलिबल खेलाडीबाट कसरी भारत्तोलनमा लागेँ, मेरो आमाले किन मलाई नखेल, खेल छाड भन्नुहुन्छ, १७ वर्ष लगातार शीर्षमा रहँदा कस्तो लाग्ने रहेछ भन्ने बताउँछु ।

****

मैले सुरुमा नै भारत्तोलन खेल्न थालेकी होइन । पहिले भलिबलबाट राष्ट्रिय स्तरका प्रतियोगिता पनि खेलिसकेकी छु । अभावकै बीच पनि खेलकुद भने सानोदेखि नै सुरु भएको हो ।

दाइ दिदीहरुसँग मिलेर भलिबल खेल्थ्यौं । भलिबल पनि अहिलेको जस्तो कहाँ पाउनु ! कपडा पोको पारेर डल्लो बनाएर खेलिन्थ्यो । डोरीको नेट टाँगिने भएर त्यसैलाई हामीले भलिबल नाम दियौं ।

मलाई अहिले आफूले पाएको उपलब्धीले धेरै खुशी दिनुमा मेरो गाउँ पनि जोडिएको छ ।  मेरो घर म्याग्दीको हिस्तान । अहिले अन्नपूर्ण गाउँपालिकामा पर्छ । सदरमुकाम बेनीबाट दिनभर उकालो हिँडेपछि पुगिन्छ । झण्डै-झण्डै जंगलको बीचमा पर्छ हाम्रो घर । वरपर एक-दुई घर छन् ।

भलिबल खेल्ने बेला घरबाट समर्थन थियो । गाउँतिर पनि सबैले राम्रो मान्थे । गाविसस्तरीय प्रतियोगिता हुँदा पनि ‘बेस्ट प्लेयर’को अवार्ड पाइरहेकी हुन्थेँ । त्यही भएर पनि घरबाट सहयोग पाएँ । त्यतिबेलाको फोटोहरु अहिले पनि मलाई फेसबुकमा गाउँका सर, साथीहरुले पठाइरहेका हुन्छन् । त्यति पहिलाको फोटोहरु हेर्दा कस्तो रमाइलो लाग्छ ।

म पढ्ने विद्यालय पुग्न घरबाट दुई घण्टा लाग्थ्यो । बिहान ८ बजे घरबाट निस्किन्थ्यौं । दिउँसो पनि विद्यालय छुट्टी हुनेवित्तिकै हिँड्दा पनि साँझमा मात्रै घर पुगिन्थ्यो । विद्यालयमा हुने प्रतियोगितामा पनि राम्रो गर्थें ।

०५४ सालमा बेनी आएर दुई महिना भलिबल क्लोज क्याम्पमा बस्दा बल्ल पहिलोपटक गाडी देखेकी थिएँ । बेनीमा त्यतिबेला बसपार्क थिएन । सानासाना जिपहरु भने कहिलेकाहीँ देखिन्थे । त्यहाँबाट दमौली जाने बेला ठूलो बस देख्दा म छक्कै परेकी थिएँ । अहिले भन्यो भने विश्वास हुँदैन, तर पहिलो पटक बस देख्दा मलाई कस्तो घर पल्टिएछ जस्तो लागेको थियो ।

म त्यही ठाउँबाट आएकी हुँ ।

भलिबल खेल्दै तारादेवी । साथमा पुरस्कारका रुपमा पाएको कराई

२०५५ सालमा चौथो राष्ट्रिय खेलकुद हुनुअघि गाउँदेखि नै छनोट भइरहेको थियो । म गाविसस्तरीय खेल हुँदै जिल्ला छनोटमा पुगेकी थिएँ । बेनीमा हिस्तानको हाम्रै टिम पहिलो भएको थियो । खेलाडी छनोट गर्न काठमाडौंबाट भरत शाह, जितेन्द्र चन्द, हंशराज वाग्ले गुरुहरु जानुभएको रहेछ । उहाँहरुले हिस्तान गाविसबाट तारादेवी पुनलाई झिकाउनुपर्छ भनेपछि मेरो नाम आएको थियो ।

त्यहाँबाट म पश्चिमाञ्चल टिममा छानिएर चौथो राष्ट्रिय खेलकुद खेलेँ । पश्चिमाञ्चलबाट पनि हामी पहिलो भयौं ।

त्यतिबेला म ‘लिफ्टर’ थिएँ ।

****

पहिलो प्रतियोगितामै ‘स्ट्रङगेस्ट वुमन’ को ताज लगाउन पाएँ । प्रथम भएको ट्रफी पाएँ । र सबैभन्दा ठूलो कुरा पहिलो पटक रकममा नै पुरस्कार पाएँ

चौथो राष्ट्रिय खेलकुदबाटै ०५६ सालमा हुने आठौं साग गेमको लागि खेलाडी छनोट गर्ने तय भयो । राष्ट्रिय खेलकुदमा बेस्ट प्लेयर भएकाले राष्ट्रिय टिममा छनोट हुन्छु जस्तो लागेको थियो ।

तर, टिममा परेको खबर नआएसम्म यत्तिकै आउन पनि भएन । दुःखलाग्दो कुरा के भयो भने, केन्द्रबाट म छानिएको चिठी गएको रहेछ, तर मेरो घरमा चिठी पुग्दा साग गेम नै सकिसकेको थियो ।

क्लोज क्याम्पमा अभ्यास गर्ने मितिसहित चिठी आएको रहेछ । त्यो पढेर एकदमै दुःख लाग्यो । राष्ट्रिय टिमबाट खेल्न असाध्यै मन थियो । सबै कुरा मिलेर पनि खेल्न पाइनँ भनेर दुःख लाग्यो ।

०५८ सालमा पाँचौ राष्ट्रिय खेलकुद हुन लागेको थियो । त्यो बेला पनि छनोट पार गरेर पश्चिमाञ्चल टिममा परेँ । तयारीका लागि काठमाडौं पनि आएका थियौं, तर दरबार हत्याकाण्ड भएर प्रतियोगिता हुन सकेन । हामी निराश भयौं । एकजना दिदीले गाउँ फर्किनुभन्दा यतै बसेर भलिबल अभ्यास गर्दा हुन्छ भनेर सल्लाह दिनुभयो । मैले यतै बसेर अभ्यास गर्न थालेँ ।

भलिबल खेलाडी म भारत्तोलनमा कसरी पुगेँ भन्ने कुरा आठौँ दक्षिण एसियाली खेलकुद (साग) र पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितासँग जोडिन आउँछ । भलिबलको अभ्यास गरिरहँदा मेरो रहरले पाइला मोडियो ।

****

म सानैदेखि हट्टाकट्टा थिएँ । परिआए ड्याङडुङ गर्न सक्ने । त्यसैले तेक्वान्दो ओलम्पियन प्रमिला थापा दिदीले मलाई भन्नुभयो, ‘तिम्रो ज्यान राम्रो छ । बलियो छौ । भारत्तोलन प्रयास गर्दा हुन्छ नि !’

प्रमिला दिदीले त्यसो भन्दासम्म पनि मलाई भारत्तोलनबारे थाहै थिएन । त्यतिबेला घरमा टेलिफोन त थिएन, टेलिभिजन हेर्न पाउनु त टाढाको कुरा थियो । इन्टरनेटहरुको त कल्पनै नगरौं । तर भारत्तोलनबारे नबुझे पनि नयाँ खेल कस्तो हुन्छ खेलौं न त भनेर म तयार भएँ ।

प्रमिला दिदीले ‘सुनिल लाल गुरुलाई भेटेर खेल्न आएको’ भन भनेर पठाउनुभयो । उहाँलाई भेट्ने प्रयासमा लगातार ५ दिनसम्म त्रिपुरेश्वर आएँ, तर व्यस्त भएर हो कि किन हो भेट हुन सकेन । सुनिल गुरुसँग भेट नभएपछि एकजनाले सल्लाह दिए, ‘मिठु गुरुलाई भेट, उहाँले जे भन्नुहुन्छ त्यही गर ।’

मिठु गुप्ता गुरु त्यो बेला मुख्य प्रशिक्षक हुनुहुँदोरहेछ । उहाँलाई भेट्नेवित्तिकै ‘गुरु म पनि भारत्तोलन खेल्न आएको’ भनेँ । त्यो बेला केटाहरुले मात्र खेल्दारहेछन् । मिठु गुरुले अचम्म मानेर मलाई तलदेखि माथिसम्म हेर्नुभयो अनि सोध्नुभयो, ‘तिमी भारत्तोलन खेल्छौ त ?’

‘म खेल्छु गुरु’ भनेर मैले जोशिलो पारामा भनेँ ।

के खेल्ने हो, कसरी खेल्ने हो भन्ने केही थाहा नहुँदा पनि भारत्तोलन नाम सुनेको भरमा ममा त्यत्रो आत्मविश्वास आएको थियो । त्यसपछि मिठु गुरुले राजेन्द्र प्रधान गुरुलाई भेट्न जानू भन्नुभयो ।

उहाँ त्यहीँ मैदानमा हुनुहुँदोरहेछ । त्यहाँ गएँ र भनेँ, ‘गुरु नमस्कार, म भारत्तोलन खेल्न आएको मलाई पनि अभ्यास गराउनु है ।’

तर गुरुले केही प्रतिक्रिया दिनु भएन । । पछि नजिकै रहेका अर्काले भने, ‘बिमारले गर्दा उहाँ कान कम सुनुहुन्छ, इशारामा भन ।’

मैले इशाराले भन्ने प्रयास गरेँ । भोलिपल्ट बिहान मेरो परीक्षा हुने भयो ।

****

‘स्ट्रङगेस्ट वुमन’ को उपाधिको साथमा तारादेवी

२६ पुस २०५८ । बिहान ९ बजे मैले पहिलोपटक भारत्तोलनको रड समाएँ । मलाई पुरुष खेलाडीले प्रयोग गर्ने २० किलोको रड थमाइएको थियो । अहिले पनि महिलाको लागि १५ किलोको रड र पुरुषका लागि २० किलोको रड छ, तर मैले सुरुका कति प्रतियोगिता त त्यही २० किलोको रडमै खेलेँ ।

भारत्तोलन सुरु गरेको झण्डै दुई महिनापछि वीरगञ्जमा राष्ट्रिय स्तरको  प्रतियोगिता भएको थियो, जसमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई पुरस्कारसँगै सबैभन्दा राम्रो गर्नेलाई पहिलोपटक ‘स्ट्रङगेस्ट वुमन’ को उपाधि थियो । पहिलो प्रतियोगितामै ‘स्ट्रङगेस्ट वुमन’ को ताज लगाउन पाएँ । प्रथम भएको ट्रफी पाएँ । र सबैभन्दा ठूलो कुरा पहिलो पटक रकममा नै पुरस्कार पाएँ ।

त्यो बेला पाँच हजार रुपैयाँ पुरस्कार पाउनु ठूलो कुरा थियो । त्यसैले लाग्यो, सामूहिक जित र व्यक्तिगत जितमा धेरै फरक हुने रहेछ ।

भलिबलमा बेस्ट प्लेयरको उपाधि जित्दा कचौरा, थाल, बाटा, करुवा जस्ता सामान पुरस्कार पाइन्थ्यो । भारत्तोलन खेलेको पहिलो पटक नै पाँच हजार रुपैयाँ पाएँ । स्वाद नै फरक हुने रहेछ ! ममा व्यक्तिगत जितको स्वाद बस्यो । खेल भनेको त यो पो हो भने जस्तो लागेको थियो ।

आमाले प्रत्येक पटक फोनमा सोध्ने प्रश्न एउटै हुन्छ, ‘खेल छाडिस् ?’ माले नखेल भन्दाभन्दै खेल्नुपर्दा मलाई त्यति खुशी लाग्दैन । तर, अब पेन्सन हुन धेरै समय छैन । त्यसैले केही समय खेल्ने योजना छ ।यो सबै आमालाई नभनेको पनि होइन तर, आमाको मन न हो, कहाँ मान्दोरहेछ र !

त्यो पाँच हजार रुपैयाँ कति समयसम्म त बचाएर राखेँ । तर, खर्च टार्न प्रयोग भयो । एक जोर ट्रयाकसुट किनेकी थिएँ । पहिलोपटक आफ्नै पैसाले आफ्नो लागि आफैँले रोजेर केही किनेकी थिएँ ।

तर, मैले उपाधि जितेको घरमा भने पछि मात्र थाहा पाउनुभएछ । त्यतिबेला गाउँघरमा टेलिफोन थिएन । बेनीबाट गएका कसैले आमालाई सुनाइदिएपछि आमा असाध्यै खुशी हुनुभएको थियो रे ! के जित्यो कसरी जित्यो भन्ने थाहा नभए पनि सबैलाई जित्यो रे भन्ने सुनेर आमा खुशी हुनुभएको थियो ।

त्यसबेलासम्म पनि म भलिबल खेलिरहेकी थिएँ । भारत्तोलनमा अब एउटा प्रतियोगिता खेल्छु र छाड्छु भन्ने सोच्थेँ । एउटा, एउटा हुँदाहुँदै यहाँसम्म आइपुगेँ । भारत्तोलन खेलेको एकवर्षपछि नै नेपाल पुलिस क्लबको जागिरे बनेँ । त्यसैले प्रहरीबाट नै राष्ट्रिय स्तरको प्रतियोगितामा सटपुटमा प्रथम, ज्याभलिन थ्रोमा दोस्रो र डिसकस थ्रोमा पनि खेलेर तेस्रो भएकी छु ।

अझ म बक्सिङ पनि राम्रै खेल्थेँ । गुरुहरु त्यस्तै त्यस्तै भेट्थेँ । बक्सिङ खेल्छस् ? आइज न त, भनेर बोलाउनुभएपछि हुन्छ भनेर गएँ । ६४ किलो तौल समूहमा खेल्दा बक्सिङ पनि मेरो राम्रो भएको थियो । प्रतियोगितामा खेल्ने बेला  विपक्षी खेलाडी नै पाइनँ । ६४ किलो समूहमा खेल्ने बहिनीहरु अरु तौल समूहमा गएर खेलेछन् । म एक्लो भएँ र मेरो बक्सिङ टुङ्गियो ।

****

खेलकुदबाट म सन्तुष्ट छु । यहि फलाम उचालेर नेपाल पुलिस क्लबमा जागिर खान पाएँ । तारादेवी पुन भनेर चिनिएँ । त्यसैले सबै पाएँ जस्तो लाग्छ, गुमाएको केही छु जस्तो लाग्दैन ।

एउटै चिन्ता लाग्ने कुरा भनेको आमाको प्रश्न हो । उहाँले प्रत्येक पटक फोनमा सोध्ने प्रश्न एउटै हुन्छ, ‘खेल छाडिस् ?’

हुन त मैले चाहेर आमासँग कुराकानी हुनै सक्दैन । आमाले चाहनुभयो भने मात्रै हाम्रो कुरा हुन्छ । घरमा फोन टिप्दैन । १५ मिनेटजस्तो वर डाँडामा आएपछि बल्ल कुराकानी सम्भव हुन्छ । तर, फोनमा कुराकानी हुँदा जब आमाले मेरो खेलबारे सोध्न थाल्नुहुन्छ, कुरा अन्तै लगेर फोन राख्दिहाल्छु ।

हिजोआज त ‘खेल छाड’ भनेर बढी नै कराउनुहुन्छ । किनभने राष्ट्रिय टिममा अभ्यास गरिरहँदा मेरो घुँडामा चोट लागेको थियो । २५ दिन पूरा आराम गरेँ । चोट लागेको आमालाई भन्दिनँ भन्ने सोचेकी थिएँ, तर कताकताबाट दाइहरुले थाहा पाउनुभएछ । आमाले असाध्यै चिन्ता लिनुहुन्छ । अझै खेल्न छाडेको छैन ? भन्नुहुन्छ ।

अहिले बल्लबल्ल अलिअलि अभ्यास गर्न थालेकी छु । पूरा ठीक भएकै छैन । आमाले नखेल भन्दाभन्दै खेल्नुपर्दा मलाई त्यति खुशी लाग्दैन । तर, पुलिसमा मेरो १५ वर्ष पुग्यो । अब पेन्सन हुन धेरै समय छैन । त्यसैले केही समय खेल्ने योजना छ । यो सबै आमालाई नभनेको पनि होइन । तर, आमाको मन न हो, कहाँ मान्दोरहेछ र !

कहिलेकाहीँ त मैले आमालाई मेरो खेल हेर्न ल्याएर गल्ती गरेँ कि जस्तो लाग्छ । त्यसबेला बुबा र आमालाई खेल हेराएको थिएँ ।

बुबा बित्नुभयो । आमा ७३ वर्षको हुनुभयो । ‘कुन बेला ढाड खुस्साउँछ’, ‘नसक्ने भयो भने कसले स्याहार्ला’ भनिरहनु हुन्छ ।  दिदीसँग पनि ‘म मरेँ भने यसलाई कसले स्याहार्ला’ भनेर भनिरहनु हुन्छ रे ।

बाबासँग लामो समय बस्न पाइनँ । साउदी अरबतिर नै धेरै वर्ष बस्नुभयो । उहाँ घर आउँदा म काठमाडौं आइसकेकी थिएँ । बाबाले चाहिँ उसलाई मन लागेको काम गर्न देऊ भन्नुहुन्थ्यो । खेलकुद राम्रो हो भनेर समर्थन पनि गर्नुहुन्थ्यो । उसको चाहना नमार्दिनू भनेर आमालाई पनि भन्नुहुन्थ्यो ।  तर, मैले चाहे जति नै अन्तर्राष्ट्रिय मेडल ल्याउँ, जति नै चर्चा कमाउँ, जेसुकै जितौँ आमाको मन बदलिएको छैन । मैले खेल छाडेर स्वस्थ भएर बसोस् मात्र भन्नुहुन्छ ।

आमाले सधैँ सोधिरहने, तर मसँग जवाफ नहुने अर्को प्रश्न हो, बिहे । हुने भए आमाले भोलि नै बिहे गराइदिनु हुन्थ्यो होला । तर सबै कुराको समय आउनुपर्नेरहेछ जस्तो लाग्छ । ‘छिटै बिहे गर्छु’ भनेको पनि १० वर्ष भइसकेछ । बिहेको महिनाहरु आउनेवित्तिकै आमाले कुरा झिक्नुहुनछ ।

सोच्छु, एउटा प्रतियोगिता आउँदैछ खेलौँ अनि बिहे गरौँला नि । त्यो प्रतियोगिता खेलिसक्दा फेरि दुई महिना जतिमा अर्को प्रतियोगिता आउन लागेको हुन्छ, यो खेलौँ अनि गरौँला जस्तो लाग्छ । अहिले आमालाई नयाँ भाका राखेको छु, १३ औं साग सकिएपछि बिहे गरौंला ।

****

मेरो खेल जीवनको एकदमै उत्तरार्धमा छु । ३७ वर्षसम्म यस्तो फलाम उचाल्नु पक्कै पनि सजिलो छैन । एकदिन न एकदिन खेल्न छाड्नुपर्छ नै । यो सम्झँदा नरमाइलो लाग्छ । मैले छाड्नु पर्छ र ? जस्तो लाग्छ ।

मैले सुरुमा वीरगञ्जमा प्रतियोगिता जित्दा ९५ केजी भार उठाएकी थिएँ । अहिले पछिल्लो समय इन्डोनेसियामा भएको एसियाली खेलकुदमा १ सय ७५ केजी उठाएर नयाँ कीर्तिमान बनाएँ ।

हेर्नुहोस् भिडियो

९५ केजीदेखि १७५ केजीसम्म पुग्दा कतिपटक आफ्नै कीर्तिमान तोडेँ भन्ने पनि मलाई थाहा छैन । सायदै त्यस्तो कुनै प्रतियोगिता छैन होला, जहाँ मैले कीर्तिमान नतोडेको होस् ।

०५४ सालमा भलिबलबाट चौथो राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेको मैले पाँचौ (०६५), छैठौँ (०६८) र सातौँ (०७३) मा भारत्तोलनबाट खेलेँ । सबैमा पहिलो नै भएँ । एसियन भारत्तोलन च्याम्पियनसिप दुईपटक खेलेँ । एसियाली खेलकुदमा कोरियामा भएको १७ औँ एसियाली र इन्डोनेसियामा भएको १८ औँ एसियाली खेलकुदमा पनि खेलेँ । कोरियामा क्लिन एण्ड जर्कमा कीर्तिमान बन्यो । इन्डोनेसियामा स्न्याच, क्लिन एण्ड जर्क र टोटल तीनवटैमा राष्ट्रिय कीर्तिमान बनाएँ ।

देशबाहिर खेल्दा हामीभन्दा अरु खेलाडी निकै अगाडि छन् । हामी जाने बेलामै व्यक्तिगत सुधार गर्नुपर्छ भन्ने सोचेर जानुपर्छ । व्यक्तिगत रुपमा हरेक प्रतियोगितामा राम्रो गरिरहेको पनि छु ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खुशी लाग्ने पदक भनेको १२ औं सागका बेला जितेको कांस्य पदक नै हो । १२ औं सागमा नै महिला भारत्तोलन खेल पहिलोपटक समावेश गरिएको थियो । विदेशी भूमिमा गएर देशका लागि जित्न पाउँदा असाध्यै खुशी लाग्ने रहेछ । हुन त २०६८ सालमा साउथ एसियन भारत्तोलन च्याम्पियनसिपमा स्वर्ण जितेकी थिएँ । तर त्यो नेपालमा नै भएको थियो ।

मैले खेल्ने ७५ केजी तौल समूहमा अलि कठिन पनि हुन्छ । त्यसले कांस्य जित्दा पनि अन्तिमसम्म असाध्यै प्रतिस्पर्धा भएको थियो । अब नेपालमै हुने भनिएको १३ औँ सागमा त्यसलाई परिवर्तन गर्ने चाहना छ ।

****

आठौं राष्ट्रिय खेलकुदमा राम्रो गरौं र नेपालमै हुने भनिएको १३ औं साग खेलकुदमा पहिलोपटक स्वर्ण जितौं भन्ने सपना छ । स्वास्थ्यले साथ दियो भने त्यसका लागि मेहनत गरिरहेको छु ।

तयारीका क्रममा चोट लाग्दा भने असाध्यै दुःख लागेको छ । अन्तिम अन्तिम हुँदै आएको छ, राम्ररी खेल्छु भन्ने सोचिरहँदा घाइते हुनु पर्दाको पीडा खेलाडीलाई मात्रै थाहा हुन्छ । भन्दै हिँड्नु पनि भएन, तर असाध्यै पीडामा छु । हुन त म अलि मुर्ख नै छु, सानोतिनो दुखाइमा ऐया आत्था भन्दिनँ ।

देशभित्र सधैँ जितिरहँदा पनि उति नै मेहनत गरिरहेको हुन्छु । प्रतिस्पर्धी होस् या नहोस् मेरो मेहनत कम हुँदैन । मेरो प्रतिस्पर्धी भनेकै मेरो कीर्तिमान जस्तो लाग्छ । हरेक पटक नयाँ कीर्तिमान बनाउन मेहनत गरिरहेकी हुन्छु ।

गुरुहरुले पनि ताराले एउटा ‘रेकर्ड ब्रेक’ गरेन भने त के … भन्नुहुन्छ । सधैँ गरिराखेकी छे, गर्छे भन्नुहुन्छ । नभनुन् पनि किन, १७ वर्षसम्म खेल्दा मैले अहिलेसम्म दोस्रो मेडल लगाउनुपरेको छैन ।

रड उचाल्न थालेको १७ वर्ष भयो जस्तो त लाग्दै लाग्दैन । भारत्तोलन सुरु गर्दा म २० वर्षकी थिएँ । अहिले ३७ वर्ष पुगेँ ।

उमेर नै सम्झँदा पनि ३७ पुगेँ र ! जस्तो लाग्छ । मनले त ३७ वर्ष भइस भनेर मान्दै मान्दैन तर, शरीरले लक्षण देखाइरहेको छ । अहिले पनि घुँडाको चोट ठीक हुन समय लागिरहेको छ । मनले त अझै पनि १० वर्ष खेलौं भनिरहेको छ तर, शरीरले साथ देला जस्तो छैन ।

अहिले प्रहरीमा हवल्दार छु । संगठनको सहयोगले गर्दा नै निरन्तर खेल्न सकिरहेकी हुँ । तैँले पुलिसको नाममा खेल, खा भनेर छोडिदिनुभएको छ । त्यही साथ र सहयोगले यहाँसम्म आइपुगेकी छु । तारादेवी पुन हुन १८ वर्ष बगाएको पसिनामा पुलिस क्लबको साथ ठूलो छ ।

प्रस्तुति : ऋग्वेद शर्मा
तस्वीर : चन्द्र आले

(अनलाइनखबरले सुरु गरेको खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने ‘मेरो कथा’ को २२ औं श्रृङ्खलामा यो हप्ता भारत्तोलनकी तारादेवी पुनको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment