Comments Add Comment

नारायणगढ मुग्लिन सडकको जोखिमपूर्ण ठाउँमा भौगर्भिक अध्ययन

३, फागुन, चितवन । नारायणगढ मुग्लिन सडकखण्डको विभिन्न स्थानमा भासिएको सडकको भौर्गभिक अध्ययन सुरु भएको छ । भासिएको र जोखिमपूर्ण गरी ७/८ ठाउँमा स्वीस कम्पनी इटेकोले प्राविधिक तथा भौगर्भिक अध्ययन गरिरहेको नारायणगढ मुग्लिन सडक आयोजना कार्यालयका सूचना अधिकारी शिव अधिकारीले जानकारी दिए ।

अध्ययनका क्रममा सत्रकिलो र पच्चीस किलो भन्ने ठाउँमा बढी जोखिम देखिएको उनको भनाइ छ । यी दुई ठाउँमा सडक निर्माणका लागि नयाँ डिजाइन नै बनाउनुपर्ने देखिएको छ । सत्रकिलोमा सात सय मिटर सडक क्षेत्र नै त्रिशुली नदीतर्फ सरेको अध्ययनको क्रममा देखिएको छ । यसलाई ‘मास मुभमेन्ट’ भनिन्छ ।

२०६० सालमा रक एङ्करिङ गरेर फराकिलो बनाएको यस ठाउँमा सडक निर्माण सकिएलगत्तैं भासिएको हो । ‘तल त्रिशुली नदीको वहावले खोलेर रक एङ्करिङ गरिएको ठाउँ कमजोर बनेको देखियो’ खनालले भने ‘पानीले कति भित्रसम्म खोलेको छ भनेर थाहा हुँदैन, स्लाइडिङ कति छ भनेर मात्रै हेर्ने हो ।’

यहाँ नौ मिटर फराकिलो सडक भासिएर साढे २ किलोमिटरमात्र बाँकी रहेको छ, सडक पनि एकतर्फी भएको छ । अध्ययनमा आएका प्राविधिकले सत्र किलोको समस्या सबैभन्दा जटिल भन्दै नयाँ डिजाइन नै बनाउनुपर्ने बताएका छन् ।

पच्चीस किलोमा भने सत्रकिलोमा जस्तो धेरै सडक भासिएको छैन । करिब एक सय मिटर लम्बाइको सडक भासिएको यहाँ निर्माणको जिम्मा लिएको श्रेष्ठ कन्स्ट्रक्सन प्रालिले नै भासिएको स्थानमा पर्खाल बनाइरहेको छ । पर्खाल बनाएपछि सडक कालोपत्रे गर्ने तयारी छ । निर्माण कार्य नसकिँदै भाँसिएको भतेरी जंगलमा भने निर्माणको काम सकिन लागेको छ ।

अध्ययन टोलीले एक महिनाभित्र अध्ययनसहित डिजाइनको प्रतिवेदन दिनेछ । आयोजनाका प्रमुख रोहितकुमार विसुरालले प्राविधिक टोलीले अध्ययन गरेर प्रतिवेदन बुझाएपछि मात्रै निर्माणको काम अघि बढ्ने बताए । बर्खा अघि नै काम सक्ने गरी तयारी गरिएको सूचना आयोजना कार्यालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment