Comments Add Comment

बिग ब्यासमा सन्दीपको ‘बिग ब्याङ’

अब पीएसएल र आईपीएल

५ फागुन, काठमाडौं । अस्ट्रेलियन टी–२० क्रिकेट लिग बिग ब्यासमा पहिलो पटक खेलेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्रिकेट महाकुम्भमा आफ्नो प्रभाव देखाउन सके ।

सन्दीपको टिम मेलबर्न स्टार्स फाइनलमा मेलबर्न रेनिगेड्ससँग पराजित हुँदा पनि उनको प्रदर्शन सम्झनलायक रह्यो ।

बिग ब्यासमा सुरुका चार खेल खेलेर बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न बंगलादेश गएका सन्दीप त्यहाँबाट नेपालको युएई सिरिज खेलेर पुनः बिग ब्यासमा फर्किएका थिए । फर्किएपछिको पहिलो खेलमा उनी ब्रिसबेन हिटसँग महँगो सावित भएका थिए । जसमा दुई ओभर बलिङ गरेका उनले २८ रन खर्चिए ।

मेलबर्नलाई सेमिफाइनलमा पु¥याउने क्रममा भने सन्दीपको खेल राम्रो रह्यो । उनले महत्वपूर्ण तीन विकेट हात पारे । सिड्नी सिक्सर्सविरुद्ध ३.४ ओभर बलिङ गर्दा ११ रन मात्रै खर्चिएर तीन विकेट लिएका थिए ।

हुरिकेनलाई हराउँदै मेलबर्न फाइनलमा पुगेको खेलमा चार ओभर बलिङ गरेका उनले ३१ रन खर्चिएका थिए । आइतबार फाइनलमा मेलबर्न रेनेगेट्सविरुद्ध कसिलो बलिङ गर्दै ४ ओभरमा मात्र १६ रन मात्र दिए पनि सन्दीपले विकेट लिन सकेनन् । जसमा एउटा मात्रै बल चौकाका रुपमा बाउन्ड्री पार भएको थियो ।

बीपीएल र युएई सिरिजमा आउनुअघि बिग ब्यासको चार खेलमा सन्दीपले ६.८१ को इकोनोमीमा बलिङ गर्दै आठ विकेट लिएका थिए । समग्रमा उनले आठ खेलमा ११ विकेट लिए, जसमा उनको इकोनोमि रेट ६.५७ रह्यो ।

सन्दीपले सुरुमा खेलेका चार खेलमा मेलबर्नको दुई खेलमा हार र दुईमा जित भएको थियो । पहिलो खेलमा सन्दीपले दुई विकेट लिँदै सानदार डेब्यू गरेका थिए । दोस्रो खेलमा तीन विकेट लिएका बेला मेलबर्न पराजित भएको थियो । त्यसपछिका दुई खेलमा उनले तीन विकेटसहित टिमको जितमा सामेल हुन पाए ।

बिग ब्यासको डेब्यू सिजनमा सन्दीप मेलबर्नका लागि उपलब्ध भएको हरेक खेलमा मैदानमै रहन पाए । विकेटलाई हेर्दा पनि सन्दीपको खेल तारिफयोग्य रह्यो । आठ खेल मात्रै खेले पनि उनी सर्वाधिक विकेट लिनेको २३ औं नम्बरमा रहे । मेलबर्न स्टार्सकै बलिङ हेर्दा पनि उनी धेरै विकेट लिनेमा पाँचौ नम्बरमा रहे ।

नेपाली राष्ट्रिय क्रिकेट टिममा प्रशिक्षक जगत टमाटा पनि बिग ब्यासमा सन्दीपको खेल तारिफयोग्य नै रहेको बताउँछन् ।

‘उसले जति पनि लिगहरु खेलेको छ त्यसमा राम्रो नै गरेको छ । एक÷दुई वटा खेलमा बिग्रिनु भनेको नराम्रो भन्न मिल्दैन त्यो हरेक खेलाडीको हुन्छ नै । हामीले खेलाडीको स्तर र खेल हेर्दा समग्रमा हेर्नु पर्छ । समग्रमा उसको खेल राम्रो छ’ टमाटाले भने ।

सन्दीपको अन्तर्राष्ट्रिय क्रिकेटमा भइरहेको उपस्थितिले नेपाली क्रिकेटलाई नै फाइदा हुनेमा टमाटाको विश्वास छ । यु १९ देखि राष्ट्रिय टिमसम्म आएका सन्दीप जस्ता अरु खेलाडी पनि नेपालका लागि आवश्यक रहेको उनले बताए ।

‘राष्ट्रिय टिमलाई अगाडि लैजान पनि अरु यस्ता खेलाडीको आवश्यकता छ । उसको अहिलेको खेलहरु हेर्दा टी–२० र एकदिवसीय दुवैमा उपयोगी छ । अझ टी–२० मा ब्याट्सम्यानले हरेक बलमा रन बनाउनै पर्ने अवस्थामा उसको बलिङ बलियो बन्छ’ उनले भने ।

अब युएई, त्यसपछि भारत

गतवर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्समा आबद्ध भएपछि सन्दीपले अन्तर्राष्ट्रिय फ्रेन्चाइज टी–२० लिगमा आफ्नो उपस्थिति फैलाउँदै गए ।

आईपीएल खेलेपछि उनले क्यानडामा भएको ग्लोबल टी–२०, क्यारेबियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, युएई टी–१० क्रिकेट लिग, बिस ब्यास लिग र बंगलादेश प्रिमियर लिग खेले । बिग ब्यास सकाएका उनी अब पाकिस्तान सुपर लिगका लागि युएई जाने छन् । सोमबार उनी त्यसतर्फ उड्ने छन् ।

लामिछानेलाई पाकिस्तान सुपर लिगमा खेलेको हेर्ने प्रतीक्षामा रहेका पाकिस्तानका पूर्वक्रिकेटर रमिज राजाले भनेका छन्, ‘यदि अहिलेसम्म पनि तपाईँले लामिछानेको नाम सुन्नुभएको छैन भने अब सुन्ने मात्र होइन आफ्नै आँखाले देख्नुहुनेछ ।’

रमिज राजाले आफ्नो युट्युब च्यानल रमिज स्पिक्समा भनेका छन्, ‘पाकिस्तानकै लेग बे्रक बलर यासिर शाहसँगै नेपालका सन्दीप लामिछानेले लाहोर कलन्दर्सबाट शानदार संयोजन गर्ने छन् ।’

फ्रेबुअरी १५ देखि सुरु भएको पाकिस्तान सुपर लिगमा उनी लाहोर कलन्दर्सबाट खेल्ने छन्, जसमा एबीडी भिलियर्स, मोहम्मद हफिज, ब्रेन्डन टेलर जस्ता खेलाडी छन् । लाहोर कलन्दर्सले अहिलेसम्म खेलेका दुई खेल मध्ये एकमा जित र एकमा हार भएको छ ।

नेपाली टिमका प्रशिक्षक टमाटा पनि पाकिस्तन सुपर लिगमा पनि सन्दीपले आफूलाई प्रमाणित गर्ने र राम्रो खेल देखाउने विश्वासमा छन् । ‘गएको वर्ष आईपीएल खेलेदेखि अहिलेसम्म उसले आफू कस्तो अवस्थामा पुगेको छु भन्ने बुझेको छ । क्रिकेटका स्तरीय प्रतियोगितामा उसले आफूलाई राम्ररी बढाइरहेको छ । पाकिस्तान सुपर लिगमा पनि राम्रो गर्ने छ’ उनले भने ।

पाकिस्तान प्रिमियर लिगपछि सन्दीप पुनः इन्डियन प्रिमियर लिगका लागि भारत जाने छन् । जहाँ उनको क्लब दिल्ली क्यापिटल (गएको सिजनको दिल्ली डेयरडेभिल्स) उनको प्रतीक्षामा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment