Comments Add Comment

किन खेल्यो रियल मड्रिडले खराब खेल ?

काठमाडौं । स्पेनिस ला लिगामा बलियो क्लब रियल मड्रिडको जारी सिजन राम्रो हुन सकेको छैन । तालिकामा दोस्रोमा रहने सम्भावना समेत आइतबार राति जिरोनाले डुबाएपछि लिग जित्ने सपना कमजोर बनेको छ ।

क्यासेमिरोको २५ औँ मिनेटको गोलमार्फत अग्रता लिएको मडि्रडले २-१ ले खेल गुमाउन पुग्यो । जुन जारी सिजनको सातौं हार थियो, जसले गएको हप्ता दोस्रो स्थानमा रहेको रियल मडि्रड तेस्रो स्थानमा झर्‍यो ।

पछिल्लो तीन खेलमा बार्सिलोना, एथ्लेटिको मड्रिड र एजाक्सविरुद्ध बलियो खेल देखाएको रियल मडि्रड कमजोर मानिएको जिरोनासँग नराम्ररी हारेको हो ।

२४ खेलमा ४५ अंकसहित तेस्रोमा रहेको रियल मड्रिडले अहिलेसम्म १४ खेल जितेको छ । सात खेल हारेको छ भने तीन खेल बराबरी खेलेको छ ।

एथ्लेटिको बिल्बाओसँग १-१, भिलारियलसँग २-२ र एथ्लेटिको मडि्रडसँग गोलरहित बराबरी खेलेको थियो । यस्तै सेभियासँग ३-०, अलाभेससँग १-०, लेभान्टेसँग २-१, बार्सिलोनासँग ५-१, इबरसँग ३-०, रियल सोसिडाडसँग २-०, जिरोनासँग २-१ ले रियल मडि्रडले हार व्यहोरेको हो ।

सेभियासँगको सुरुको हारपछि बार्सिलोनाबाहेक सबै कमजोर आँकलन गरिएका टिमसँग रियल मडि्रड हारेको छ । ला लिगाको जारी सिजन पहिलो भेटमा जिरोनालाई नै ४-१ ले हराएको रियल मडि्रड अहिले कसरी कमजोर बन्यो त ? जुलेन लोपेटेगी कमजोर सावित भएपछि ल्याइएका सान्टियागो सोलारीले पनि सन्तुलन बिगारेका हुन् ? या खेलाडी परिवर्तनको असर देखिएको हो ?

शारीरिक थकान

रियल मड्रिडका खेलाडीको लगातारका खेलले गर्दा जिरोनाविरुद्ध केही कमजोर बनेको आँकलन गरिएको छ । जिरोना लामो समयदेखि आराममा रहेको र आफ्ना केही खेलाडी बाहिर रहेकाले हार भोगेको हुन सक्ने मड्रिडको बुझाइ भए पनि त्यसमा पूर्ण सहमत हुन सकिँदैन ।

किनभने जारी सिजन मड्रिड खेलाडीमा कमजोर देखिएको शारीरिक अवस्था जिरोनाविरुद्ध मात्रै होइन । उनीहरुले पहिलो हाफमा खेलेको खेल धेरै हदसम्म स्वीकारयोग्य भए पनि विश्वकै सफल क्लबसँग त्योभन्दा बढी आश हुने गर्दछ । ‘गएको महिनादेखि नै हामी लगातार धेरै खेल खेलिरहेका छौँ, त्यसको असर टिममा देखिएको छ’ हारपछिको कारण बताउँदै लुकास भासकेजले भनेका छन् ।

मानसिक अवस्था

पहिलेदेखिका खेललाई हेर्ने हो भने रियल मड्रिड हरेक तीन चरणमा शीर्ष स्थानमा रहन संघर्ष गरिरहेको देखिन्छ । त्यसले गर्दा खेलाडीमा मानसिक थकान आएको देखिन्छ । जसले र्फममा रहन खेलाडीलाई मुस्किल छ ।

बार्सिलोना, एथ्लेटिको मडि्रड र एजाक्ससँग खेलेपछि बलियो बन्नुपर्ने रियल मडि्रड झनै कतै हराएको जस्तो देखिनु त्यही कारण हो । विपक्षीमाथिको प्रभाव जमाउन सक्ने कला फर्काएको भनिएको मडि्रड टिम जिरोनालाई बढी नै कमजोर सोच्नुले पनि फस्न पुगेको हो ।

खेलाडी परिवर्तनको असर

हरेक खेलमा सबै खेलाडी उही लाइनअपमा खेलाउन मुस्किल हुने भए पनि प्रशिक्षक सोलारीले जिरोनाविरुद्ध गरेका परिवर्तनको नतिजा राम्रो देखिएन । झण्डै आधा जस्तो टिम त फेरिएको थियो ।

अल्भारो ओड्रिओजोला, राफेल भाराने, ड्यानी सेबालोस, लुकास भासकेज, मार्को एसेनसियो, मार्सेलो सुरुवाती ११ मा मैदान उत्रिएको खेलमा ड्यानी कार्भाजल, नाचो फर्नान्डेज, सर्जियो रेगुलियन, लुका मोडरिक, ग्यारथ बेल र भिन्सियस जुनियर बाहिर थिए ।

खेलमा भएका परिवर्तन

खेल दौरान भासकेजको स्थानमा भिन्सियसलाई, एसेनसियोको स्थानमा ग्यारथ बेल र सेबालोसको स्थानमा मारियानोलाई मैदान छिराएका सोलारीले सन्तुलन मिलाउन भने सकेनन् ।

विशेष त भासकेजको स्थानमा भिन्सियस ल्याएपछि मिडफिल्डको सन्तुलन बिगि्रएको थियो । बेल मैदान आएपछि पनि टिमलाई फाइदा हुन भने सकेन । सेबालोसको स्थानमा मारियानोलाई मैदान ल्याउनु त सोलारीको सबैभन्दा ठूलो कमजोरी देखिएको थियो । मिडफिल्ड कमजोर हुँदा बलमा गुमिरहेको सन्तुलन सेबालोस निस्किएपछि झनै बिगि्रएको थियो ।

बेल, एसेनसियो मात्रै होइन लेफ्ट ब्याकमा रहेका मार्सलोको खेल पनि जिरोनाविरुद्ध बलियो हुन सकेन ।

जिरोना र साक्रिस्तानको प्रयोग

जिरोना प्रशिक्षक युसेबियो साक्रिस्तानले रियल मडि्रडविरुद्ध गरेका प्रयोग सफल हुनु नै प्रमुखतः मड्रिड हारको कारण हो । रियल मडि्रड नराम्रो हुनु मात्रै होइन, जिरोना बलियो हुनु पनि जितको आधार हो ।

प्रशिक्षक साक्रिस्तानले मध्यान्तरमा गरेका दुई परिवर्तनले जिरोना दोस्रो हाफमा झनै बलियो बनेको थियो । यसैले खेलपछि साक्रिस्तानले भनेका छन्, ‘मलाई लाग्छ रियल मडि्रड दोस्रो गोल गर्नेमा ढुक्क थियो । तर विस्तारै हामी खेलमा फर्कियौँ र अन्त्यमा स्वभाविक नतिजा निकाल्यौँ ।’

के भन्छन् प्रशिक्षक सोलारी ?

रियल मड्रिड प्रशिक्षक सोलारीले पहिलो हाफमा आफूहरुको खेल राम्रो भएको भए पनि दोस्रो हाफमा जिरोना बलियो देखिएको बताए ।

‘जिरोना दोस्रो हाफमा बलियो बन्यो र हाम्रा लागि धेरै समस्याहरु सिर्जना गरायो । हामी केही खेलदेखि राम्रोसँग बढीहरेका थियौँ तर जिरोनाविरुद्ध त्यसो हुन सकेन’ उनले भने, ‘हामीले हाम्रो इनर्जीको स्तर बढाउन खोजेका त थियौँ, हामीसँग धेरै राम्रा खेलाडीहरुको समूह छ तर त्यसमा पुग्न सकेनौँ ।’

ला लिगा जित्ने मौका अझै छ त भन्ने प्रश्नमा सोलारीले आफूहरु सधैँ लिग भित्रै रहेको र त्यो अवसर रहेको बताए । ‘जतिसक्दो छिटो राम्रा नतिजाहरुमा हामी बढ्नु पर्छ, प्रतिस्पर्धाबाट हामी अझै बाहिरिसकेका छैनौँ,’ उनले भने ।

– बीबीसी र मार्काको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment