Comments Add Comment

अपहरण र फिरौती : १० वर्षे द्वन्द्वले फैलाएको अपराध

'सिरियल किडन्यापर' अमर टण्डनदेखि मेघा देवकोटा अपहरण काण्डसम्मको नालीबेली

८ फागुन, काठमाडौं । पाँच महिनाअघि काँडाघारीमा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या भयो ।

घटनामा संलग्न अजय तामाङ र गोपाल तामाङ प्रहरी ‘इन्काउन्टर’ मा मारिए । शव भेटिएको स्थल नजिकै रहेको डेराबाट तामाङद्वयलाई प्रहरीले नियन्त्रणमा लिएर लगेको देख्ने व्यक्ति भेटिए, जसले प्रहरी कारवाहीलाई विवादित बनायो ।

अनौपचारिक कुराकानीका क्रममा प्रहरी अधिकारीहरु यो घटना अपहरणकारीमाथिको ‘सबक’ भएको बताउँथे ।

तर, प्रहरी उच्च तहकै संकेतपछि भएको ‘इन्काउन्टर’ को विवाद सेलाउन नपाउँदै १३ मंसिरमा गोंगबुमा अर्का बालक पुनः अपहरित भए

गोंगबुस्थित स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रवीणका छोरा ८ वर्षीय प्रयास कुँवरको आफ्नै सवारी चालक स्याङ्जाका महेन्द्र एसकेले अपहरणपछि हत्या गरेको अनुसन्धानले देखायो ।

काठमाडौंमै अघिल्लो महिना थापाथलीस्थित प्रसुति गृहकी चिकित्सक डा. बबिता शाहकी दुई वर्षीया छोरी संदिज्ञा घरबाटै अपहरित भइन् ।

माल्दिभ्स जान एजेन्टलाई बुझाएको पैसा नपाएपछि बालिकाका बुबा बब्लुबाट रकम उठाउन पीडित जनकपुरका मनिषकुमार गुप्ताले संदिज्ञालाई निशाना बनाएको रहस्य खुल्यो ।

प्रहरी प्रधान कार्यालयले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७४/०७५ को छ महिने अवधिमा मात्रै १ सय ११ वटा अपहरणसम्बन्धी मुद्दा मुलुकभर दर्ता भएका छन्

जब मनिष पत्नी अर्चनाले जनकपुरस्थित आईएमईबाट फिरौती वापतको रकम पाइन्, तब बालिकालाई गौशालामा छाडेर अपहरणकारी फरार भए ।

यो अवधिमा उपत्यकाबाहिर झापा, दाङ लगायतका जिल्लामा अपहरणका घटनाहरु सार्वजनिक भएका छन् ।

प्रहरी प्रधान कार्यालयले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७४/०७५ को छ महिने अवधिमा मात्रै १ सय ११ वटा अपहरणसम्बन्धी मुद्दा मुलुकभर दर्ता भएका छन् । तीमध्ये व्यक्ति अपहरणका ७७, अपहरण तथा जबरजस्तीकरणीका २३ र अपहरण तथा शरीर बन्धक उद्योगका ११ वटा छन् ।

यी घटनामा १ सय ५४ जना पक्राउ परेका छन् भने उत्तिकै संख्यामा फरार पनि छन् ।

प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको रिपोर्ट भन्छ, ‘अपहरणसम्बन्धी मुलुकभर दर्ता भएका मुद्दाहरुमा १ सय ६३ पुरुष र १० जना महिला फरार छन् । एकजना विदेशी पुरुषसमेत फरार रहेको देखिएको छ ।’

अपहरणमा प्रहरीको ‘पोस्ट इन्भेस्टिगेसन’ नीति

अपहरणको घटनामा प्रहरीले ‘पोस्ट इन्भेस्टिगेसन’ को नीति अपनाउँछ । हत्या, बलात्कार लगायतको अनुसन्धानमा घटना भइसकेको हुन्छ भने अपहरणमा प्रहरीको सानो गल्तीले अर्को अप्रिय घटना हुनसक्छ । त्यसैले पहिले अपहरितको सकुशल रिहाइ प्रहरीको प्राथमिकतामा पर्ने गर्छ ।

अनुसन्धान अधिकारीहरुका अनुसार अपरित व्यक्ति रिहा नहुञ्जेलसम्म प्रहरीले क्षतिलाई कम गराउने अभिप्रायले काम गर्ने हो ।

अपहरणकारीसँग ‘नेगोसिएसन’को माध्यमबाट पीडितलाई जोगाउने प्रयासमा प्रहरी हुन्छ । त्यसक्रममा अपहरणकारीको माग अनुसार फिरौती दिने पनि गर्छ ।

तर, उनीहरुको मागलाई सकेसम्म कम गराउने प्रयास प्रहरीको हुन्छ ।

जब सकुशल रिहा हुन्छ, त्यसपछि मात्र प्रहरी अनुसन्धान सुरु हुन्छ । प्रहरी अधिकारीका अनुसार कतिपय घटनामा परिवारले तत्काल प्रहरीलाई खबर गर्दा फिरौती रकम बुझाउनुपरेको छैन ।

त्यसो त उद्धारअघि प्रहरीले अनुसन्धान नै नगर्ने भन्ने पनि होइन । परिवारसँग कुनै न कुनै रुपले सम्पर्क स्थापित गरेर सूचना लिने प्रयासमा अनुसन्धान अधिकारीहरु लागेकै हुन्छन् । त्यसबीचमा उद्धार गर्ने अवस्था आयो भने प्रहरीले अपरेशन चलाउँछ ।

अपहरणको घटनामा ‘प्रि–इन्भेस्टिगेसन’का मुख्य बाधा भनेको प्रविधिको अभाव नै हो । नत्र, कतिपय घटनामा अपहरकारीसमक्ष फिरौती नै नपुगी पीडितको सकुशल उद्धार पनि भएका छन् ।

जस्तै– ०७१ सालमा बैंककमा अपहरणमा परेका ३ नेपाली विद्यार्थीलाई थाई प्रहरीको सहयोगमा प्रहरीको कन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उद्दार गर्‍यो । त्रिभुवन विश्व विद्यालयका प्रोफेसर कृष्ण हाछेथुका छोरा कर्ण, व्यापारी रमेश श्रेष्ठका छोरा रोनेश र विभुष रिजाल ४ पुसमा अपहरित भएका थिए ।

बैंकक अपहरणमा संलग्न माओवादी नेता र पीडितहरु । अनलाइनखबर अर्काइभ

पीडित परिवारले एक करोड रुपैयाँ फिरौती पनि बुझाए ।

तर, प्रहरीले हुन्डीको बाटो ‘ब्लक’ गरिसकेको थियो, जुन कारण सम्बन्धित ठाउँमा नपुगी पैसा फिर्ता भयो । त्यहीवेला प्रहरीले एक अपहरणकारीको सम्पर्क सूत्र हात पार्छ, जसलाई ट्रेस गर्दै ब्यूरोका तत्कालीन एसपी पिताम्बर अधिकारी (हाल डीआईजी) को टोली ३ जनालाई बन्धक बनाइएको ठाउँसम्म पुगेको थियो ।

ब्यूरोमा प्रहरी निरीक्षक दीपेन्द्र अधिकारी (स्वच्छिक अवकाश प्राप्त) लगायतका टोलीले प्राविधिक पक्षको विश्लेषण गरेर बैंकक पुगेको टोलीलाई सहयोग गरिरहेको थियो । त्यसरी प्रहरी त्यहाँ केही ढिला मात्रै पुगेको भए, अपहरित व्यक्तिको ज्यानै पनि जान सक्थ्यो ।

उद्धारपछि थाई प्रहरीकै विमान प्रयोग गरेर उनीहरुलाई फिर्ता पठाएको थियो । प्रहरी अनुसन्धानले घटनामा बंगलादेश, पाकिस्तान, इरान लगायत ७ देशका व्यक्तिको संलग्नता रहेको देखिएको थियो ।

यस्तै, २६ वैशाख ०६७ मा प्रहरी निरीक्षक सोमेन्द्रसिंह राठौर (हाल एसपी) नेतृत्वको टोलीले सुकेधाराका ६५ वर्षीय शिवबहादुर खड्कालाई सकुशल रिहा गराउन सफल भएको थियो ।

अपहरणकारीसँग बार्गेनिङपछि रकम लिन आउँदा पक्राउ गरेर बन्धक बनाइएको ठाउँसम्म प्रहरी पुगेको थियो । त्यसक्रममा १५ लाख फिरौती माग्ने अभियुक्त भरत राज भनिने माइला लामासहित ५ जना पक्राउ परेका थिए ।

असुलीका रकम फिर्ता आउँदैनन्

अपहरण र फिरौती असुलीका अधिकांश घटनामा अपहरणकारीले असुलेको रकम फिर्ता भएको छैन । अनुसन्धान अधिकारीहरुका अनुसार अपहरणका घटनामा बरामद हुने सम्भावना पनि न्यून हुन्छ ।

कतिपय हुन्डीमार्फत विदेशमा रकम पठाउने गरेको देखिन्छ, जुन रकम फर्काउन असम्भव प्रायः छ । कतिपय समूहले कति रकम असुली गरेका थिए भन्ने पनि यकिन तथ्याङ्क प्रहरीसँग छैन ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदी भन्छन्, ‘कतिपय केशमा फिरौतीका रकम फिर्ता भएका पनि उदाहरण नभएका होइनन् । विदेशमा रहेकाको हकमा भने अहिले पनि केही अपराधीलाई ल्याउने क्रम जारी छ ।’

डा. भक्तमानको घटनामा जस्तो सुन वा नगद बराबरको जिन्सी बुझाइएको घटनामा पनि फिर्ता ल्याउन गाह्रो छ ।

व्यापारी सञ्जय सुरेखाको अपहरण प्रकरणमा राजवीर सिंह नाम गरेका भारतीय नागरिककको समूहले यूएईमा २ लाख अमेरिकी डलर फिरौती लियो । जुन फिर्ता हुन सकेन ।

‘कतिपयमा घटनामा प्रहरीलाई समेत फिरौती कति बुझाइएको हो भन्ने जानकारी हुँदैन’, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत् एक अधिकारी भन्छन्, ‘प्रविधिको प्रयोगबाट परिवारको सदस्यलाई समेत छल्दै अनुसन्धान गर्नु पर्ने हुन्छ । त्यसमाथि पनि अभियुक्त नै समातिइसकेपछि पनि ती व्यक्तिले सही कुरा बताउँदैनन् ।’

जस्तै, खुंखार अपहरणकारी अमर टण्डनले करिब १० करोड रुपैयाँ बढी असुली गरिसकेको प्रहरीको आशंका थियो तर, दुई करोड ६९ लाखको रकर्ड मात्रै प्रहरीसँग छ । उनले पक्राउ परेपछि अपराध महाशाखाका अधिकारीसमक्ष बयान दिने क्रममा फिरौतीको रकम लाओस्, बैंकक हुँदै बेल्जियम पुर्‍याएको खुलासा गरेका थिए । तर, प्रहरीले ती रकम फिर्ता ल्याउने कुरा त परै छाडौं, उनको बयानलाई पुष्टि गर्न पनि सकेन ।

त्यसतो प्रहरीले रकम फिर्ता ल्याउन कुनै प्रयास नगरेको भने होइन । अन्तरराष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) मार्फत प्रहरीले प्रक्रिया अघि बढाएको थियो तर, पर्याप्त कूटनीतिक पहल नहुँदा प्रहरी असफल भएको हो ।

अपहरणमा संगठित समूह

अपहरण र संगठितरुपमा फिरौती असुलीको धन्दालाई नेपालमा उद्योगको रुपमा स्थापित गराउनेमा अग्रपङ्तिमा पर्छन्, अमर टण्डन । जसको समूह अन्तरसीमाको प्रयोग गरेर ‘सिरियल’ अपहरण र फिरौती असुलीमा संलग्न थियो ।

२ पुस ०६४ मा पशुपति पेन्ट्सका सञ्चालक महेश मुरारकालाई बत्तिसपुतलीबाट टन्डन समूहले अपहरण गरेपछि प्रहरी उनको समूहलाई ध्वस्त बनाउन लागि परेको थियो ।

टन्डनको समूहमाथि अनुसन्धान गरेका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदी सम्झन्छन्, ‘टण्डन समूहले मात्रै करिब २५ जनालाई अपहरण गरेको थियो । तीमध्ये कतिपय घटना रिपोर्टमै आएनन् । पछि उनी पक्राउ परेपछि मात्रै संख्या खुलेको थियो ।’

अपराध महाशाखामा कार्यरत् एक कनिष्ठ अधिकारीका अनुसार हाल प्रहरीसँग भएको रेकर्डमा टन्डन समूह १९ वटा अपहरणको घटनामा मात्र संलग्न देखिन्छन् ।

०६४ साल भदौदेखि क्रमशः शिव सरावगी, सुमित सेरचन, डा. आसुतोश, पवन अग्रवाल, अनित्य गुरुङ, उमेश गर्ग, दिलिप अग्रवाल, ईश्वरदत्त पाण्डे, टीकाराम अर्याल, महेश मुरारका लगायतका व्यक्तिलाई टन्डन समूहले निशाना बनाएको देखिन्छ ।

काठमाडौंमा अपहरित व्यक्तिलाई राख्नका लागि टन्डन समूहले बौद्ध मैजुबहाल, मण्डिखाटार र रुपन्देहीको छपियामा घरहरु भाडामा लिएको देखिएको थियो भने उनीहरुले कटुवा र ‘मेड इन चाइना’ लेखेको पेस्तोल लगायतका हतियार प्रयोग गर्ने गरेको अनुसन्धानले देखाएको थियो ।

उनीहरुले फिरौती रकम प्राप्त गर्नका लागि हुन्डीको प्रयोग गर्ने गरेका थिए । नेपालबाट हङकङ, सिंगापुर, दुबई, बैंकक हँंदै भारत फर्काएर उनीहरुले रकम असुल्ने गरेका थिए ।

अमर टण्डन

उनको समूहले २ करोड ३९ लाख रुपैयाँ फिरौती असुली गरिसकेको प्रहरी रेकर्डले देखाउँछ । क्यासिनोका सौखिन उनले भारतमा बसेर योजना बनाउने र काठमाडौं लगायत विभिन्न ठाउँका व्यापारी र व्यक्तिलाई अपहरण गरेर फिरौती असुली गर्थें ।

उद्योगपति मुरारलाई अपहरण गरेपछि प्रहरीले टण्डनलाई ‘मोस्ट वान्टेड’को सूचीमा राखेर खोजिरहेको थियो । रुपन्देहीको तत्कालिन अमुवा गाविस–३ घर भइ भारतको मुम्बईस्थित गोरे गाउँमा बस्दै आएका टण्डन अन्ततः ०६४ साल फागुन पहिलो साता प्रहरीको फन्दामा परे ।

त्यसअघि उनीविरुद्ध अन्तरराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा पनि नोटिस जारी भइसकेको थियो । यद्यपि, अपराध महाशाखामा कार्यरत् प्रहरी टोलीले भारतीय प्रहरी अधिकारीहरुको समन्वयमा मुम्बईबाटै उनलाई पक्राउ गरेर ल्याउन सफल भए ।

टण्डनलाई काठमाडौंमा ल्याएपछि उनले दिएको बयानबाट सुरक्षा निकाय झन् झस्कियो । उनले चौधरी ग्रुपका उद्योगपति विनोद चौधरीलाई पछिल्लो टार्गेट बनाएको खुलाएको थिए । चौधरीबाट एकैपटक २० देखि २५ करोड रुपैयाँ असुलेर अमेरिकातिर छिर्ने योजना रहेको उनले अनुसन्धान अधिकारीहरुलाई सुनाएका थिए ।

गिरोहका मुख्य नाइके अमरलाई पक्राउ गरेसँगै अपहरणका घटना कम हुने प्रहरीले आँकलन गरेको थियो । तर, टन्डनपछि पनि उनका अन्य सहयात्रीले अपराध धन्दालाई निरन्तरता दिए ।

एक पूर्वप्रहरी निरीक्षकका अनुसार टण्डन समातिएपछि उनका मुख्य सहयोगी उदय सेट्ठी र प्रह्लाद महतले अपहरणको धन्दालाई जारी राखे । उदय तिनै व्यक्ति हुन्, जसको अन्डरवर्ल्ड डन छोटे राजन समूहसँग पनि सम्बन्ध भएको प्रहरीले पत्ता लगाएको थियो ।

छोटा राजन समूहका सदस्य सन्तोष सेट्टीसँग उनी निकट थिए । मुम्बईमा रहेर त्यहाँका कारागारहरुमा खाना पुर्‍याउने काम गर्ने सेठ्ठी त्यतिबेलै अन्डरवर्ल्डका सदस्यहरुसँग सम्बन्ध विस्तार गर्न सफल भएका थिए ।

त्यति नै बेला उनले मुम्बईको चर्चित फजल अल रहमान समूहसँग पनि काम गरेका थिए । तर, भारतीय प्रहरीबाट बच्दै ०५९ सालतिर नेपाल प्रवेश गरेपछि उनी टन्डनसँग नजिकिए ।

टन्डन समातिएपछि उनीहरुले सामाखुशीका व्यवसायी केदार कक्षपतीका छोरा निरजलाई अपहरण गरेर एक करोड ५० लाख रुपैयाँ उठाएका थिए । उनीहरुले बालाजुका व्यापारी बाबुराजा रावललाई पनि अपहरण गरेर फिरौती असुले ।

तर, ०६६ को पुस अन्तिमसम्ममा प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले अर्जुन भन्ने उदय सेट्टी, प्रह्लाद महत, बिष्णु जिसी, टासी गुरुङ र विकास कार्की गरी ५ जनालाई पक्राउ गर्‍यो । त्यसपछि टण्डनको समूह तहसनहस भएको प्रहरी अधिकारीहरु बताउँछन् ।

उनको समूह त सकियो तर, फेरि नयाँ अपहरणकारीको समूह जन्मिने र फिरौतीको आतंक मच्चाउने क्रम भने रोकिएन । टण्डनपछि चर्चामा आएको समूहका नेतृत्वकर्ता थिए, रोहित पालिवाल अग्रवाल र भीमसेन पण्डित ।

रोहित र भीमसेनको समूहले चितवन मेडिकल कलेजका निर्देशक भक्तमान श्रेष्ठको अपहरण गरेको थियो भने उनीहरुले फिरौतीवापत ३ किलो ६ सय ग्राम सुन असुलेका थिए ।

४ जेठ ०६७ मा अस्पतालबाट राति फर्कंदै गर्दा अपहरणकारीको कब्जामा पुगेका श्रेष्ठको परिवारले भारतको नखनऊ नजिकै १ करोड १० लाख रुपैयाँ बराबरको सुन बुझाएको उनीलाई छाडिएको थियो । पछि अनुसन्धानका क्रममा सुन लिन आउने मान्छे रोहित नै भएको खुलेको थियो ।

‘सुन लिन आउने व्यक्ति र रोहितको हुलिया मिलेपछि उनै सुन लिन आएको निष्कर्षमा पुगेका थियौं, जुन पछि प्रमाणित पनि भयो’, एक अनुसन्धान अधिकारी भन्छन् । रोहित र भीमसेन समूहले त्यसवेला भीओआईपी कलबाइपास प्रयोग गरेर परिवारसँग सम्पर्क गरेका थिए, जसका कारण प्रहरीले फोन कहाँबाट आयो भन्ने अत्तोपत्तो पाउन सकेको थिएन ।

कुनै पनि व्यक्ति मुलुकको जहाँसुकै ठाउँबाट बन्धक बनाइनु भनेको राज्य असफल हुनु पनि हो । त्यसैले यसमा सुरक्षा निकायले पनि विशेष सतर्कता कायम गर्नुपर्छ

उनीहरुकै समूहले त्यसअघि १५ भदौ ०६४ मा व्यवसायी सचिन गुप्तामाथि गोली प्रहार गरी अपहरण प्रयास गरेको थियो भने २ पुस ०६४ मा विनोद शर्माको अपहरण गरी फिरौती असुली गरेको थियो । २२ पुस ०६४ मा ओमकार भट्टचनलाई पनि यही समूहको निशानामा परेका थिए ।

पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पालिवाललाई भारतको उत्तर प्रदेशस्थित कानपुरमा रहेको उनको घरबाटै पक्राउ गरेर नेपाल ल्यायो । त्यसक्रममा भारत गएको टोलीका एक सदस्य भन्छन्, ‘उनले फिरौती वापतको रकम अधिकांश विलासिताको काममा खर्च गरेको देखिएको थियो । फर्निचर, कार, ल्यापटप लगायतका सामग्री उनले खरिद गरेको खुलेको थियो ।’

उनीसँगै समूहका भद्री ढुंगाना, सुनिल श्रेष्ठ लगायत पनि पक्राउ परे तर, नुवाकोट घर भएका भिमसेन पण्डित भने अहिलेसम्म पनि पक्राउ परेका छैनन् । रोहितको हजुरबुबा भारतीय नागरिक थिए, त्यसैले उनलाई त्यहाँ बस्न सहज थियो ।

पण्डित भने रोहित समातिएका बेला भारतमै थिए । तर, मोबाइल र सञ्चारका अन्य साधानबाट टाढै रहने गरेका कारण उनलाई प्रहरीले फुत्कायो । उनको खोजीमा पछिल्लो समय पनि महानगरीय अपराध अनुसन्धान महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली सक्रिय थियो । तर, प्राविधिक पक्षबाट जोडिने कुनै पनि कडीसम्म पुग्न नसक्दा उनी कानुनी दायरामा आउन सकेका छैनन् ।

भिमसेन पण्डित

स्रोतका अनुसार उनी परिवारबाट पनि टाढा छन् । उनको श्रीमतीसँग डिभोर्स भएको थियो । पछिल्लो समयमा कतिपय अनुसन्धान अधिकारी उनी भारतबाट अन्य देशतर्फ सिफ्ट भइसकेको हुनसक्ने आशंका गर्छन् । यद्यपि, उनी अन्तिमपटक भारतमै देखिएका थिए ।

अपहरण र फिरौती असुलीको दुनियाँमा सिद्धार्थ लामा समूह पनि चर्चित छ । जुन समूहले १९ साउन ०६५ मा वरिष्ठ न्यूरोसर्जन उपेन्द्र देवकोटाकी छोरी मेघाको फिल्मी शैलीमा अपहरण गरेको थियो । हेपाली हाइटस्थित देवकोटा निवासमा छिरेको मास्कधारी समूहले त्यसवेला रोतो बंगला स्कुलको कक्षा १० मा अध्ययनरत् मेघालाई नियन्त्रणमा लिएर उनीहरुकै गाडीमा लगेका थिए ।

कम्पाउण्ड नागेर छिरेका अपहरणकारीले सबै परिवारका सदस्यलाई नियन्त्रणामा लिएर टेलिफोन लाइन काटेका थिए भने मोबाइल पनि पानीमा डुबाइदिएका थिए ।

राजधानीमै हाइप्रोफाइल व्यक्तिको छोरीको अपहरण भएपछि प्रहरी प्रधान कार्र्यालयले एआईजीको नेतृत्वमा अनुसन्धान समिति पनि बनायो । त्यसवेला अपहरणकारीले ९ करोड फिरौती माग गरेको भए पनि पछि १ करोड ३० लाख लिएर सिद्धार्थ समूहले मेघालाई छाडेको थियो । प्रहरीले घटनामा संलग्न सिद्धार्थसहित राजु थापा, राजेश क्षेत्री भनिने गोकुल गिरी लगायतलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याइसकेको छ ।

मेघाको अपहरण अघि सिद्धार्थ समूहले चिकित्सक जगदीशलाल वैद्य र कांग्रेस नेता सांसद रविन्द्रलाल श्रेष्ठका छोरा र युनाइटेड एकेडेमीका संस्थापक नृप चाम्लिङ राईकी छोरीको पनि अपहरण गरेर फिरौती असुली गरेको थियो । त्यसपछि पनि केही नयाँ समूहले अपहरण र फिरौती असुली धन्दालाई निरन्तरता दिन खाजे । तर, प्रहरी ती समूहलाई ध्वस्त बनाउन सफल भयो ।

७ पुस ०६८ मा कमलादीस्थित गणेशस्थानमा दर्शन गर्न आएका आर्या फर्मास्युटिकल्सका मालिक पवनकुमार संघाई अपहरणमा गरे । अपहरणपछि छोरा प्रशान्त कुमारलाई फोन गरेर ५ करोड फिरौती माग गरेका थिए । पछि ८५ लाख रुपैयाँ फिरौती बुझाएर २० दिनपछि संघाई अपहरणमुक्त भए । प्रहरीको अपराध अनुसन्धान महाशाखाले गरेको अनुसन्धानका क्रममा घटनामा पूर्वमन्त्री तथा तत्कालिन सभासद् श्यामसुन्दर गुप्ता नै मुख्य नाइके भएको खुल्यो ।

एकातिर राज्यको बेवास्ता र अर्कातिर कानुनले पनि अपहरणलाई नसमेट्दा अपराधीहरूको मनोबल यति माथि पुगेको थियो कि अपहरण अन्तरदेशीय अपराधकै रुपमा विकास हुँदै गयो

घटनाको दुई महिनापछि महाशाखाबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगरका सभासद् गुप्तासहित काभ्रेका आकाश लामा, मकवानपुरका विकाश भनिने जितबहादुर गोले, अमिर आचार्य, काभ्रेका किशोर पाण्डे लगायतलाई पक्राउ गर्‍यो । गुप्ता पक्राउ परेपछि छोराको विवाह खर्च उठाउन उनले संघाईको अपहरण गरेको खुलेको थियो ।

पाँचथरका आरजु सुब्बा फेउदी, जो फिरौतीमध्ये ३१ लाख रुपैयाँ लिएर बसेकी थिइन्, उनी पनि ८ माघमा पक्राउ परिन् ।

त्यसयता अपरहण र फिरौती असुलीका घटनामा एउटै गिरोह सक्रिय त देखिँदैन । यद्यपि, वेलावेला व्यक्तिगत रिसिइबी, गुमेको रकम असुली र चाँडै पैसा कमाउने लोभका कारण अपहरणका घटना भने भइरहेकै छन् ।

१० वर्षे द्वन्द्वले रोपेको बिउ

तराईका जिल्लाहरुमा धेरै पहिलेदेखि फाट्फुट्ट रुपमा अपहरणका घटना सार्वजनिक हुने गरेका थिए । यद्यपि, ०५२ सालपछिको सशस्त्र द्वन्द्वपछि भने देशमा अपहरण र फिरौती असुलीले उद्योगकै रुपमा फस्टाउने मौका पाएको देखिन्छ ।

दैनिक दर्जनका संख्यामा अपहरणका घटना सार्वजनिक भइरहेका बेला महानगरीय अपराध अनुसन्धान महाशाखाको कमाण्ड गरेका पूर्वएआईजी देवेन्द्र सुवेदी सम्झन्छन्, ‘द्वन्द्वअघि पनि अपहरण र फिरौती असुलीका केही घटना सार्वजनिक नभएका होइनन् । तर, द्वन्द्वपछि नै अपहरणले उद्योगकै रुपमा फस्टाउने मौका पाएको हो ।’

सशस्त्र द्वन्द्वका बेला जति पनि अपहरण र हत्याका घटना भए, ती अधिकांशको उद्देश्य आन्दोलनका लागि पैसा असुली थियो । प्रहरी पनि माओवादी द्वन्द्वमा लामो समय रुमल्लिएको थियो, जसले गर्दा उनीहरुको अनुसन्धानात्मक क्षमतामा ह्रास आएको थियो । पूर्वएआईजी सुवेदीकै शब्दमा भन्दा उनीहरु ‘सैन्य अधिकारी’ जस्ता भएका थिए ।

जब राज्य कमजोर हुन्छ, तब अपराधीले पनि चलखेल गर्ने मौका पाउँछन् । जसको परिणाम त्यसवेला दैनिक १० भन्दा बढी अपहरणका घटना हुन्थे । कतिपय घटनाको जानकारी प्रहरीसम्म पनि पुग्दैनथे, जसले गर्दा अपहरण र फिरौती असुलीको उद्योगले फस्टाउने मौका पायो ।

एकातिर राज्यको बेवास्ता र अर्कातिर कानुनले पनि अपहरणलाई नसमेट्दा अपराधीहरूको मनोबल यति माथि पुगेको थियो कि अपहरण अन्तरदेशीय अपराधकै रुपमा विकास हुँदै गयो । अन्तर सीमाको प्रयोग गरेर अपहरण र फिरौती असुलीमा संलग्नको संख्या बढ्दो थियो ।

कतिपय अपहरणकारीले प्रहरीलाई समेत चक्मा दिँदै राजधानीका विभिन्न ठाउँमा सेफ हाउस समेत खडा गरेका थिए । सुवेदी भन्छन्, ‘त्यसवेला बुढानीलकण्ठ, बौद्ध, मण्डिखाटार लगायतका क्षेत्रमा अपहरित व्यक्तिलाई राख्ने सेफ हाउस राखिएको थियो ।’ उनका अनुसार त्यसबेला एउटै गिरोहले ४/५ वटासम्म सेफ हाउस राखेका थिए ।

माओवादी द्वन्द्वका कारण हतियार पाउन पनि सहज थियो । अधिकांश घटनामा कुनै न कुनै रुपमा तत्कालीन माओवादी कार्यकर्ताको संलग्नता देखिनुले द्वन्द्वले अपहरण र फिरौती असुलीलाई उद्योगको रुपमा स्थापित गराउन कति भूमिका खेलेको थियो भन्ने प्रस्ट्याउने प्रहरी अधिकारीहरुको विश्लेषण छ ।

कतिपय घटनामा वैदेशिक रोजगारीमा लाने भनेर लिएको पैसा फिर्ता नगरिदिएपछि अपहरण भएका छन् । कतिपय भने ‘सेल्फ किडन्यापिङ’का घटना पनि थिए । तर, अपहरणको उद्देश्यचाहिँ अधिकांशमा आर्थिक लाभ लिनु नै देखिन्थ्यो ।

यसरी ध्वस्त भए संगठित समूह

पछिल्लो समय अपहरण र फिरौती असुलीका घटनामा समूह नै लागेको देखिँदैन । आखिर त्यसबेला अपहरणको र्‍याकेट चलाइरहेका ती समूह कसरी ध्वस्त भए त ?

पूर्वएआईजी सुवेदी भन्छन्, ‘मुख्य कुरा त त्यतिवेला अपहरण र फिरौती असुलीलाई कानूनमा पनि समेट्न सकिएको थिएन । त्यसवेला कतिपय गम्भीर प्रकृतिका घटनामा पनि सार्वजनिक अपराध ऐन कसुर अन्तरगत कारवाही गर्नुपथ्र्यों ।’

तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले बढ्दो अपहरण र फिरौती असुलीका घटनालाई लक्षित गरेर मुलुकी ऐनमा भएको प्रावधानलाई संशोधन गर्न पहल गरे । जब मुलुकी ऐनको १२ औं संशोधनले शरीर बन्धक सम्बन्धी कसुरमा सजायको व्यवस्था गर्‍यो, त्यसयता प्रहरीसँग अभियुक्तलाई कारबाहीको दायरामा ल्याउने बलियो मार्ग मिल्यो । त्यसपछि आएको संगठित अपराध सम्बन्धी ऐनले झन् अभियुक्तमाथि कारबाहीको दायरालाई फराकिलो बनायो ।

अनुसन्धान र अभियक्त पक्राउको क्षेत्रमा पनि प्रहरीले आफ्नो क्षमतालाई अभिवृद्धि गर्दै लग्यो । अपहरणका घटनाको अनुसन्धानका लागि राजधानीका विभिन्न ठाउँमा प्रहरीका ‘सेफ हाउस’हरु स्थापना गरिए । भारतीय प्रहरीसँगको समन्वयमा मुम्बई, गोवा लगायतका क्षेत्रबाट नेपालमा अपराधमा संलग्न व्यक्तिहरु धमाधम पक्राउ पर्न थाले ।

अपहरणमा संलग्न भएको आरोपमा बहालवाला सभासद् श्यामसुन्दर गुप्ता नै समातिएपछि अपराधिक समूका व्यक्तिहरु झन् तर्सिए ।

‘सभासद् नै समातिएपछि सर्वसाधारणको पनि प्रहरीप्रतिको विश्वास बढेको थियो । हामीलाई सूचना आउन थालेको थियो’, अपराध महाशाखाका एक अधिकारी भन्छन्, ‘पूर्वमन्त्री समेत रहेका गुप्तालाई भित्र हालेपछि अब कसैलाई छोड्दैनन् भन्ने पनि भयो होला । त्यसपछि विस्तारै अपहरणमा संलग्न गिरोहको मनोबल गिरेको हो ।’

पूर्वमन्त्री श्यामसुन्दर गुप्ता

यहीबीचमा प्रहरीले ‘इन्काउन्टर’ का नाममा अपराधिक पृष्ठभूमिका व्यक्तिलाई गोली हान्न थालेपछि पनि उनीहरुले टाउको उठाउन सकेनन् । विस्तारै हतियारमा पहुँच पनि गाह्रो हुँदै गयो । किनकि, द्वन्द्व आसपासका घटनामा पूर्वमाओवादी लडाकुलाई प्रयोग गरेर सहजै हतियार हात पार्ने गरिएको अनुसन्धानले देखाएको थियो ।

अहिले त्यस्ता समूह अस्तित्वमा नरहे पनि अपहरण तथा फिरौती असुलीको डरलाग्दो विगतलाई नदरअन्दाज गर्न मिल्दैन । कुनै पनि व्यक्ति मुलुकको जहाँसुकै ठाउँबाट बन्धक बनाइनु भनेको राज्य असफल हुनु पनि हो । त्यसैले यसमा सुरक्षा निकायले पनि विशेष सतर्कता कायम गर्नुपर्छ ।

पुराना घटनामा फरार रहेकाहरुको खोजीलाई निरन्तरता दिँदै कारागारबाट निस्किएका त्यस्ता समूहका व्यक्तिहरुको पनि निरन्तर निगरानी आवश्यक छ ।

‘हामीकहाँ सार्वजनिक, बहुविवाह, कर्तव्य ज्यान, संगठित अपराध लगायत सबै मुद्दाका कैदीबन्दीलाई एकैठाउँमा राख्ने गरिन्छ । जुन घातक बनिरहेको छ’, अपराध अनुसन्धानमा पोख्त पूर्वप्रहरी निरीक्षक दिपेन्द्र अधिकारी भन्छन्, ‘६ महिनामा छुट्ने सामान्य कसुरका व्यक्ति जो गरिब हुन्छन्, जसले धरौटी समेत तिर्न सकिरहेका हुँदैनन् । उनीहरुलाई सहयोग गरे जस्तो गरेर अपराधमा प्रयोग गर्ने गरेको देखिन्छ ।’

अधिकारीले भनेझैँ कारागारभित्रको प्रणालीमा पनि सुधार नगरे पुनः अपराधिक दुनियाँमा अपहरण र फिरौती असुलीको उद्योग नफस्टाउला भन्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

ट्रेन्डिङ

Advertisment