Comments Add Comment

धनुष बाँणले देखाएको जीवन

रहरको खेलमा भविष्यको योजना

सानो बेलामा धनुष बाँण देख्दा हानौं-हानौं लाग्ने सबैलाई हुन्छ कि मलाई मात्रै हुन्थ्यो खै थाहा छैन । तर मेरो मनभित्र भने त्यसको रहर बसिरहेको रहेछ । त्यसैले त अहिले हुर्किसकेपछि आर्चरी खेलाडी बनाएको छ ।

खेलाडी नै बन्छु भन्ने त लागेकै थिएन । सानोमा जिल्लास्तरीय बास्केटबल प्रतियोगिता खेलिरहँदा पनि रहर मात्रै थियो । त्यस्तोमा आर्चरीमा खेलाडी बन्छु भन्ने सोच त कसरी आओस् ! अझ शीर्ष स्थानमा पुग्छु, पदकहरु जित्छु भन्ने सोच्नु त टाढाको कुरा थियो ।

जीवनमा साच्चै संयोगहरुको देन हुने रहेछ । त्यस्तै संयोगहरुले नै मलाई कहाँ-कहाँ पुर्‍यायो, अनि खेलाडी बनायो । त्यसमा आफ्नो मेहनत, लगनशीलता र रहर जोडिँदै गयो ।

****

आर्चरी नेपालमा पुरानो खेल भएपनि जति चर्चामा रहनुपर्ने हो त्यति भएको छैन । एक त खेल सामग्री महँगो, अर्को खेल्ने ठाउँको अभाव भएकाले सबैको पहुँचमा छैन ।

हाम्रा पितापुर्खाले मेलापर्वमा धनुष बाँण हान्दै आएकै हुन् । अझ फर्केर हेर्ने हो भने यसको इतिहास पौराणिक कालसम्म पुग्छ । गाउँघरमा देखेकै धनुष बाँणले गर्दा होला ममा आर्चरीको रहर बसिरहेको रहेछ । खेल्ने अवसर भने थिएन ।

सानो बेलामा बास्केटबल खेल्थेँ । कास्कीको माच्छापुच्छ्रे गाउँपालिकाको रुम्जामा जन्म भए पनि मेरो बाल्यकाल पोखरामै बित्यो । बाल्यकालका धेरै कुरा मलाई सम्झना छैन । किनभने यादगार हुनेजस्तो त्यस्तो केही हुँदै भएन । मनकामना बोर्डिङ स्कूलमा पढ्दा बास्केटबल खेलेको भने याद छ । किनभने विद्यालयबाट नै बास्केटबलमा जिल्लास्तरीय टिमसम्म पनि पुगेको थिएँ । भारतमा मामा-माइजूसँग बसेर प्लस टु पढ्न थालेपछि भने बास्केटबल छुट्यो ।

आर्थिक हिसाबले पनि हाम्रो परिवार सामान्य नै हो । बुबा-आमा घरायसी कामकाजमै व्यस्त हुनुहुन्छ । त्यसैले परिवारको अवस्थाले गर्दा नै २०६९ सालमा प्लस टु सकाएपछि म भारतबाट फर्किएँ । त्यो नै मेरो जीवनको नयाँ बाटो बन्यो ।

****

भारतबाट केही गर्नुपर्ला भनेर आए पनि यहाँ आएपछि के गर्ने भन्ने कुनै योजना थिएन । स्नातक पढिहाल्ने अवस्था पनि नभएकाले केही सोचिहाल्न सकेको थिइनँ ।

आर्चरी खेलेर नै व्यवसायिक खेलाडी हुन्छु भनेर विश्वस्त हुनसक्ने अवस्था थिएन । त्यसैले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) मा भिडेँ । असईमा नाम निकालेँ ।

एक दिन देव पुन दाइले आर्चरीको सामान बोकेर आएको देखेँ । आफूलाई रुचि भएको कुरा देखेपछि बुझ्ने रहर लाग्यो । आर्चरी खेल्न मन लागेको देव दाइलाई सुनाएँ । उहाँले पोखरामा आर्चरी सिकाइरहनु भएका किशोर गुरुङ गुरुलाई भेटाइदिनु भयो ।

किशोर गुरुलाई भेटेपछि मेरो आर्चरी सुरु भयो । आर्चरी खेल्छु भनेर सुरु गरे पनि सबै कुरा जुटाउन सजिलो थिएन । खेल्ने सामानहरु निकै महँगो पर्ने रहेछ । त्यसको बाबजुद मलाई आर्चरी खेल्ने रहर बढिरहृयो । त्यो देखेरै होला, किशोर गुरुले आफ्नै सामानहरु किनिदिएर भएपनि मलाई सिकाउनु भएको हो । त्यसैले मैले आर्चरीमा पाएका सफलतामा उहाँको देन ठूलो छ ।

२०७० सालमा राष्ट्रिय स्तरको प्रतियोगितामा जुनियर लेभलबाट पहिलोपटक सहभागी भएँ । स्वर्णपदक समेत जितेँ । एक वर्ष जुनियरमा जितेपछि अर्को वर्ष जुनियरमै खेल्न नपाइने भएकाले ‘ओपन क्याटगोरी’मा प्रतिस्पर्धा गर्न थालेँ ।

****

पहिलोपटक सिनियर खेलाडीहरुसँग प्रतिस्पर्धा गर्दा पनि मैले सिनियर खेलाडीलाई एक सेट हराएको थिएँ । त्यतिखेर मैले प्रयोग गरेका सामानहरु खासै राम्रा थिएनन् । अलि राम्रो खेल सामग्री पाएँ भने अझै राम्रो गर्न सक्ने रहेछु जस्तो लाग्यो । किनभने आर्चरीमा हामीले प्रयोग गर्ने खेल सामग्रीले खेलमा ठूलो प्रभाव पार्छ ।

त्यसपछि राम्रो सामानहरु किनेर अभ्यास गर्न थालेँ । तर, २०७२ सालमा नै मेरो आर्चरी रोकियो ।

त्यो बेला आर्चरी खेलेर नै व्यवसायिक खेलाडी हुन्छु भनेर विश्वस्त हुनसक्ने अवस्था थिएन । त्यसैले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) मा भिडेँ । असईमा नाम निकालेँ । प्रहरी तालिममा व्यस्त हुनुपर्ने भएपछि आर्चरी खेलिरहन सकिनँ ।

असई तालिम सकेपछि ०७३ सालमा नेपाल प्रहरीमा ‘म आर्चरी खेलाडी हुँ, राष्ट्रिय स्तरका प्रतियोगिताहरु पनि खेलेको छु, प्रहरीमा रहेर पनि खेल्न चाहन्छु’ भनेर आग्रह गरेँ । प्रहरीमा नभएको भए त मैले खेलिरहन सक्थेँ जस्तो पनि लाग्दैन । हुन त प्रहरीमा जागिर खान जाँदा खेल्न पाउँछु भनेर गएको पनि होइन तर, आफ्नो इच्छा देखाएपछि संगठनबाट पनि सहयोग पाइरहेको छु ।

विभागमा सुरुमा कुरा राख्दा सामानहरु महँगो भएकाले अलि अप्ठ्यारो हुन्छ कि भन्ने कुरा भएको थियो । तर सामानहरु सबै मैले जुटाएको छु भनेपछि अप्ठ्यारो परेन ।

अर्को समस्या कहाँ खेल्ने भन्ने थियो । राष्ट्रिय टिममा रहेकाले राष्ट्रिय टिमसँगै जहाँ अभ्यास हुन्छ त्यहीँ अभ्यास गर्ने भएपछि विभागकै खेलाडीको रुपमा अगाडि बढ्न पाएँ । आर्चरी संघमार्फत पनि कुरा भएकाले थप सजिलो भएको थियो ।

****

प्रहरीको जागिरे भएर पनि आफ्नै रहरको खेल आर्चरीमा बढ्न पाइरहेको थिएँ । २०७३ सालको पुस महिनामा गाईघाटमा भएको राष्ट्रिय आर्चरी प्रतियोगितामा सहभागी भएँ । जुन मेरो सिनियर लेभलमा दोस्रो राष्ट्रिय प्रतियोगिता थियो । त्यो प्रतियोगितापछि नेपालको वरियतामा चौथो नम्बरमा परेको थिएँ ।

चार जना खेलाडी राष्ट्रिय टिममा रहन पाउने हुँदा गाईघाटमा भएको प्रतियोगितापछि मैले राष्ट्रिय टिममा रहेर अभ्यास गर्न थालेँ । राष्ट्रिय टिममा छनोट भएपछि अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पनि सहभागिता बढ्न थालेको थियो ।

सन् २०१८ मा थाइल्याण्डको बैंककमा प्रतियोगिता खेल्न गएँ । त्यहाँ मेरो खेल ठीकै मात्र भयो । ज्यादा सन्तुष्ट हुन सकिनँ । त्यसले अझै मेहनत गर्नु पर्ने रहेछ जस्तो लाग्यो । त्यहाँबाट आएर थप मेहनतका लागि अभ्यासमा ध्यान दिन थालेँ ।

२०१८ कै मार्च महिनामा बंगलादेशको ढाकामा भएको तेस्रो दक्षिण एसियाली आर्चरी च्याम्पियनसिपमा पनि सहभागी हुन पाएँ । त्यसमा व्यक्तिगत विधामा राम्रो गर्न नसके पनि ‘मिक्स टिम’ विधामा हामीले कांस्य पदक जित्न सक्यौं । त्यही नै अन्तर्राष्ट्रिय प्रतियोगितामा मेरो लागि ठूलो पदक बन्यो ।

बंगलादेशमा कांस्य पदक जित्दा श्रीलंकासँग खेलिरहेका थियौं । मसँगै महिला खेलाडी ज्ञानु अवाले हुनुहुन्थ्यो । अन्तिमसम्म बराबरी भएपछि वान-वान एरो सुटमा परेका थियौं । त्यसपछि एक अंकले श्रीलंकालाई हराउन सकेका थियौं ।

केही महिनापछि दोस्रो आईएसएसएफ सोलिडारिटी आर्चरी च्याम्पियनसिप बंगलादेशकै ढाकामा भएको थियो । त्यसमा पनि हामीले टिम इभेन्टमा रजत पदक जितेका थियौं ।

नेपाली आर्चरीले बाहिर गएर पदक जितेको भनेर नेपाली सञ्चार माध्यममा राम्रो तारिफ भएको थियो । त्यसले गर्दा नै घरमा पनि बुबा-आमा खुशी हुनुभएको थियो । छोराले रहरले खेलेको खेलबाट नाम कमाइरहेको छ भन्ने उहाँहरुलाई लागेको थियो ।

खेल आउँदा मात्रै अभ्यास गर्ने, अरु बेला यत्तिकै बस्ने भइरहेको छ । नियमित अभ्यासविना त अगाडि बढ्नै सकिँदैन । अर्को कुरा सधैं अभ्यास गर्न मिल्ने ठाउँ छैन

****

घरबाट सुरुमा सहयोग थिएन । खेल सामग्री यति महँगो हुने भएकाले घरबाट सहयोग मिल्न त गाह्रो हुने भयो । प्रोफेसनल सामानहरु किन्दा त चार लाख रुपैयाँ जति लाग्छ ।

पछि म प्रहरीको जागिरे भएपछि त आफैँले पैसा जुटाएर किन्न सकेँ । त्यसले गर्दा समस्या भएन ।आर्थिक अवस्था राम्रो नभएको घरबाट त्यतिका पैसा जुटाउनु चानचुने कुरा पनि भएन । सुरुमा खेल्ने बेला यति लाग्छ, यस्तो खेल हो भनेर मैले घरमा भनेको त थिएँ तर त्यत्रो महँगो कुरा किन खेल्न पर्‍यो ? खेलेर पनि के हुन्छ र नेपालमा ? भनेर घरबाट नखेलिदियोस् भन्ने नै सोच्नुभयो ।

सुरुमा सामान्य अभ्यास गर्दा नै एक लाख रुपैयाँ जति त लाग्छ नै । सुरुमा २०७१ सालमा मैले आर्चरीको सामान किन्ने बेला एकजना अवकाशप्राप्त एआईजी सा’पसँग कुराकानी गरेर उहाँकै सेकेण्ड हृयाण्ड सामान किनेको थिएँ ।

म देब्रे हातले खेल्ने भएकाले सामान पाउन पनि नेपालमा त मुस्किल नै थियो । उहाँ एआईजी सा’प पनि देब्रे हातले खेल्ने भएकाले उहाँसँगै कुराकानी गरेर किनेको थिएँ । मेरो खेलप्रतिको इच्छा देखेर उहाँ राजी भइहाल्नु भयो । त्यतिबेला पनि पूरा सामान किन्न त कहाँ सक्नु र ? हृयाण्डिल समात्ने ‘राइजर’ मात्रै किनेको थिएँ । अरु सामान त किशोर गुरुले नै दिनुभएको थियो । पछि लक्ष्मण पुन दाइले पनि धेरै नै सहयोग गर्नुभयो ।

मलाई मात्रै होइन, अरुलाई पनि सबै खेल सामाग्री जुटाउन सजिलो छैन । सामान जुटायो भने पनि नियमित अभ्यास गर्न समस्या छ । जतिसक्दो राम्ररी सिकाउँदै अगाडि बढाउन अहिले दीपक गुरुङ गुरुले विचार त गरिरहनु भएको छ ।

तर विभिन्न कारणले खेल आउँदा मात्रै अभ्यास गर्ने, अरु बेला यत्तिकै बस्ने भइरहेको छ । नियमित अभ्यासविना त अगाडि बढ्नै सकिँदैन । अर्को कुरा सधैं अभ्यास गर्न मिल्ने ठाउँ छैन । यसको लागि हामीले निरन्तरता दिन एउटा निश्चित आर्चरी फिल्ड बनाउनैपर्छ भनिरहेका छौं । त्यसो भएमा प्रशिक्षण नियमित गर्न सकिन्छ ।

****

बंगलादेशको ढाकामा भएको आईएसएसएफ सोलिडारिटी आर्चरी च्याम्पियनसिपमा रजत जितेर आएपछि हामी एसियाली खेलकुदको तयारीमा थियौं ।

छनोट भएर म इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा सहभागी हुन पाएको थिएँ । त्यसमा पनि नेपालको तर्फबाट राम्रो नै गरें । त्यहाँको प्रदर्शनबाट कुनै पदक नआए पनि समग्रमा त्यो स्तरमा देखाएको खेलबाट म खुशी थिएँ । ७२० मा ६४१ अंक बनाएर मैले इन्डोनेसियामा व्यक्तिगत सुधार गरेको थिएँ ।

राष्ट्रिय खेलाडी भएर देशको प्रतिनिधित्व गरेर बाहिर जाँदा खेल बिग्रियो भने देशको नाम पनि बिग्रिन्छ भन्ने डर मनमा रहन्छ । सकेसम्म राम्रो गर्छु, मसँग मेरो देशको नाम जोडिएको छ भन्ने लागिरहन्छ

एसियाली खेलकुदमा आर्चरीको रिकर्भ व्यक्तिगत विधामा एक खेल जिते पनि अन्तिम १६ मा पराजित भएको थिएँ । पहिलो खेलमा भुटानका खेलाडीलाई ६-० ले हराएँ । अन्तिम १६ को खेलमा भने चिनियाँ खेलाडीसँग ६-४ ले हारेको थिएँ । त्यसैले मैले मेहनत अझै गर्नुपर्छ भन्ने बुझें ।

धेरै कुरामा भिन्नता नभए पनि हामी बाहिरका खेलाडीको स्तरमा पुग्न सकेका छैनौं । एक त नियमित अभ्यासमा ध्यान नहुनु, अर्को खेल्ने ठाउँ नै नहुनु मुख्य समस्या हो जस्तो लाग्छ । किनभने बाहिर देशसँग हुने भिन्नता भनेको हाम्रो फिल्ड र अभ्यास नै हो ।

नेपालमा सिनियर खेलाडीहरुसँगै प्रतिस्पर्धा गर्दै अगाडि बढेर यहाँसम्म आइपुग्न सकेकोमा खुशी लाग्छ । इन्डोनेसियामै देखाएको खेलपछि अहिले नेपालको शीर्ष स्थानमा पनि छु ।

तर अरु यसमा शीर्षमा रहृयो भने त्यसमै रहिरन सहज भने हुँदैन । छिटो-छिटो तलमाथि भइरहेको हुन्छ ।

इन्डोनेसियामा हुने एसियाली खेलकुदको छनोटकै बेला र एसियाली खेलकुदमा गरेको प्रदर्शनका आधारमा म शीर्षमा आइपुगेको थिएँ । अब हुने अर्को प्रतिस्पर्धामा त्यसमा फेरि तलमाथि भइहाल्न सक्छ । त्यसका लागि मेहनत भने बढाउँदै जानुपर्छ ।

सामान्य रुपमा हेर्दा धनुष (बो) सीधा बनाएर डोरी तानेर ताकेर छाडेको मात्र देखिन्छ । तर त्यसमा महत्वपूर्ण पक्ष देखिएको हुँदैन । महत्वपूर्ण भनेको एकाग्रता हो । त्यसमा ताक्ने बेलामा टार्गेटमा ताक्ने भन्दा पनि त्यसको प्रक्रियामा ध्यान हुन्छ । बाँण (एरो) लाई मिलाउने, समात्ने हरेक प्रक्रियामा विशेष ध्यान लगाइन्छ र छाडिन्छ । हामीले एरो ठिक्क छाड्दा अब कहाँ लाग्छ भन्ने पनि थाहा भइसक्छ ।

****

मेहनत र तयारी जति नै होस्, राष्ट्रिय खेलाडी भएर देशको प्रतिनिधित्व गरेर बाहिर जाँदा खेल बिग्रियो भने देशको नाम पनि बिग्रिन्छ भन्ने डर मनमा रहन्छ । सकेसम्म राम्रो गर्छु, मसँग मेरो देशको नाम जोडिएको छ भन्ने लागिरहन्छ ।

अब राष्ट्रिय खेलकुद, दक्षिण एसियाली खेलकुद र २०२० को ओलम्पिकलाई हेरेर तयारी गरिरहेको छु । ओलम्पिकका लागि बाहिर गएर छनोट प्रतियोगिता लड्नुपर्ने हुन्छ । हामी सधैं वाइल्ड कार्डमा मात्रै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जाने आश राखेर पनि हुँदैन । मेहनत गरेर छनोट भएर नै जाँदा छुट्टै आनन्द मिल्छ ।

नेपालमै हुने १३ औं साग गेममा पनि आर्चरीबाट मेडल जित्न सक्छौं जस्तो लागेको छ । दक्षिण एसियालाई हेर्दा भारत हामीभन्दा अलि राम्रो नै छ । बंगलादेश पनि राम्रो छ । त्यसैले सहज त हुँदैन । शीर्षमा आउनका लागि हामीले थप मेहनत त गर्नै पर्छ ।

अब फेब्रुअरी २४ तारिखदेखि बंगलादेशको ढाकामा तेस्रो आईएसएसएफ सोलाडारिटी आर्चरी च्याम्पियनसिप हुँदै छ । त्यसको लागि हामी शुक्रबार ढाका जाँदै छौं । त्यसपछि बैंककमा एसिया कप आर्चरी हुँदै छ । त्यसको लागि पनि तयार रहनुपर्छ ।

दुवै प्रतियोगिता विश्व वरियताका लागि मान्यता प्राप्त खेलहरु नै हुन् । त्यहाँ ल्याएको अंकले वरियतामा पनि असर पर्छ । अहिले विश्व वरियतामा म २ सय २८ औं स्थानमा छु । आउने प्रतियोगिताहरुमा राम्रो गर्न सकें भने माथि आउँदै जाने छु । हेरौं, आफ्नो मेहनतसँगै भाग्यले पनि साथ दिँदै जाला कि !

प्रस्तुति – ऋग्वेद शर्मा

(अनलाइनखबरले सुरु गरेको खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने  ‘मेरो कथा’ को २४ औं श्रृङ्खलामा यो हप्ता आर्चरी खेलाडी तिलक पुन मगरको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment