Comments Add Comment

सडक नखनी तार अन्डरग्राउन्ड गर्दै प्राधिकरण, छानियो ठेकेदार कम्पनी

९० हजार स्मार्ट मिटर पनि जोडिँदै

१२ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा विद्युत वितरण प्रणालीलाई अण्डरग्राउन्ड गर्ने कामका लागि कम्पनी छानेको छ । पहिलो चरणमा काठमाडौंको उत्तरी क्षेत्र महाराजगञ्ज र मध्यक्षेत्र रत्नपार्क वितरण केन्द्र अन्तरगत वितरण काम गरिनेछ ।

अण्डरग्राउण्ड लाइनबाट विद्युत वितरण गर्ने कामको पूर्वाधार तयार गर्ने कम्पनी छनोट गर्न विद्युत प्राधिकरणले गत कात्तिकमा टेन्डर आहृवान गरेको थियो ।

प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालयकाअनुसार तार भूमिगत गर्न सबैभन्दा कम रकम भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडले कबोल गरेको छ ।
कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौतामा आउन निर्देशनालयले आह्वान गरेको छ । अबको २८ दिनभित्र कार्यसम्पादन जमानतसहित ठेक्का सम्झौता हुनेछ ।

कम्पनीले महारजगञ्ज वितरण केन्द्र अन्तरगतको काममा २ करोड ५५ लाख ८१ हजार अमेरिकी डलर र १ अर्ब १ करोड ७० लाख रुपैयाँमा (करबाहेक) ठेक्का सकारेको छ । रत्नपार्क वितरण केन्द्र अन्तर्गतको काम २ करोड २९ लाख डलर र ८३ करोड १५ लाख रुपैयाँमा (करबाहेक)मा सम्झोता हुनेछ ।

पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४ सय भोल्टका प्रणालीलाई भुमिगत र आधुनिकीकरण -अटोमेसन) गरिँदैछ ।
योप्रणाली जडान भएपछि विद्युत वितरणको काम अझ बढी प्रभावकारी र सुरक्षित हुने अपेक्षा छ । पहिलो चरणमा दुई वितरण केन्द्रमा यो काम सकिएपछि क्रमशः काठमाडौं उपत्यकाका सबै वितरण केन्द्रमा तार भूमिगत गर्ने काम अघि बढाइनेछ । यी वितरण केन्द्र अन्तरगतका ग्राहकको घरमा स्मार्ट मिटर पनि जोडिँदैछ ।

यो आयोजनाका लागि एसियाली विकास बैंक (एडीबी) ले ऋण सहयोग गरेको छ । यो आयोजनामा एडीबीले १५ करोड अमेरिकी डलर ऋण दिँदैछ ।

नयाँ प्रणालीले तारका कारण हुने दुर्घटनाको जोखिम कम हुन्छ । यस्तै शहरी सौन्दर्यमा पनि टेवा पुग्छ भने वितरण व्यवस्था चुस्त बन्छ । सरकारले भविष्यमा देशका सबै भागमा वितरण व्यवस्थामा यो प्रणाली जडान गर्ने लक्ष्य छ ।

प्राधिकरणले यसअघि अनुमानित लागत भन्दा महंगो दर आएपछि पुरानो टेण्डर प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया सुरु गरेको थियो ।

पहिलो चरणमा काठमाडौंको पूर्व तथा दक्षिणमा पर्ने वागबजार,असन, दरबारमार्ग लगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरमा वालुवाटार, गंगबु, सामाखुसी लगायतका महाराजगंज वितरण केन्द्र अन्तर्गत पर्ने क्षेत्रमा पर्ने विद्युत वितरण प्रणालीलाई भूमिगत तथा स्वचालित बनाउन लागिएको हो ।
ठेकेदार कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, समान आपूर्ति, जडान र सञ्चालन गर्ने छ ।

तार भूमिगत गरिएसँगै दुई वितरण केन्द्र अन्तर्गतका करिव ९० हजार ग्राहकका घरमा स्मार्ट मिटरसमेत जडान गरिने छ । वितरण प्रणालीलाई भुमिगत गर्नुका साथै अप्टिकल फाइबर बिच्छाउने र बिजुली वितरणको तथ्यांक राख्न बेग्लै केन्ऽ, दुई वितरण केन्ऽमा ९० हजार थान आधुनिक (स्मार्ट मिटर) जडान गरिने योजना छ ।
दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भूमिगत लाइनलाई आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजना प्राधिकरणको छ ।

सडक खन्दा सर्वसाधारणलाई धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होराइजेन्टन डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइने छ । यो प्रविधि अपनाउँदा केही मिटरको दूरीमा दुई खाल्डा खनेरबीचमा भूमिगत तरिकाले नै पाइप हाल्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment