Comments Add Comment

कार्यकर्ता छुटाएपछि सरकारसँग टाढिएको थियो विप्लव समूह

सरकारी वार्ता संयोजक भन्छन्– वार्तामा रुची देखिएन

१३ फागुन, काठमाडौं । मंसिर पहिलो सातासम्म सम्पर्कमै रहेको नेकपा विप्लव समूह प्रहरी नियन्त्रणमा रहेका आफ्ना कार्यकर्ता छुटाएपछि सरकारसँग टाढिएको पाइएको छ ।

सरकारले गत भदौमा नेकपा सांसद सोमप्रसाद पाण्डे नेतृत्वमा वार्ता समिति बनाएको थियो । यो समितिले विप्लव समूहसँग औपचारिक वार्ता त गर्न सकेन तर, गुणराज लोहनीलगायत विप्लव समूहका नेताहरुलाई थुप्रै पटक भेट्यो ।

यो बीचमा प्रहरी हिरासतमा रहेका नेता–कार्यकर्ताहरु छुटे । विप्लव समूहसँग सरकार पनि लचिलो बनेको थियो भने वार्ता समितिले वार्ताको वातावरण बनाउन पहल गरेको थियो ।

तर, जब ७ मंसिरमा विप्लव समूहको काठमाडौंको कार्यक्रम सकियो, नेताहरु एकाएक वार्ता समितिसँग टाढिए । तत्कालीन वार्ता समितिका संयोजक एवं नेकपा सांसद पाण्डे भन्छन्, राजधानीमा ७ मंसिरको कार्यक्रम पनि भयो र आफ्ना मान्छे छुटेपछि वार्तामा रुची देखाउनुभएन ।’

विप्लव समूहले पार्टी पुनगर्ठन दिवसका नाममा ७ मंसिरमा काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो । देशका विभिन्न स्थानबाट कार्यकर्ता ल्याइएको कार्यक्रममा विप्लव आएनन् तर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा उपस्थित थिए ।

‘वार्तामा रुची देखाएन’

सरकारसँग टाढिएको तीन महिनापछि विप्लव समूहले १० फागुनमा नख्खुस्थित एनसेल मुख्यालय अगाडि प्रेसर कुकर बम विस्फोट गरायो भने देशका विभिन्न स्थानमा एनसेलको टावरमा आगजनी गर्‍यो । नख्खुमा भएको विस्फोटमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

त्यसको केही दिन अघि मात्रै सो समूहले अरुण तेस्रो जलविद्युत आयोजनामा आगजनी गरेको थियो ।

पछिल्लो समय विप्लव समूहको रुची वार्तामा कम देखिन्छ । समूहका नेता हेमन्तप्रकाश वलीले बीबीसीलाई दिएको अन्तरवार्ताले पनि त्यसलाई पुष्टि गरेको छ ।

वलीले भनेका छन्, अब हामीले वार्ता केमा गर्छौं भने १७ हजार मानिसले संसदीय व्यवस्थाविरुद्ध बन्दुक उठाएर त्यहीँ काँधमा काँध मिलाउन जाने भनेका थिएनन्, हामीले ८० प्रतिशत भूभाग कब्जा गरेका थियौं, त्यो चाहिँ यथावत रहनुपर्दछ । हामीसित ४० हजार जनमुक्ति सेना बनेको थियो, त्यो चाहिँ पुनर्निर्माण गर्नुपर्दछ । त्यो किसिमले वार्ता गर्ने भएचाहिँ हामी तयार छौं ।’

यद्यपि नेकपा सांसद पाण्डे भने विप्लव समूहसँग वार्तामा आउनुको विकल्प नभएको दाबी गर्छन् । सरकारले पनि विप्लव समूहलाई राजनीतिक शक्ति नै मानेको र वार्तामार्फत सबै समस्या समाधान गर्ने बाटो लिएको पाण्डेको दाबी छ ।

‘आतंक मच्चाउन सक्छन्’

आइतबार संसदीय समितिमा उपस्थित गृहमन्त्री रामबहादुर थापा बादलले नख्खु घटनामा विप्लव समूहको संलग्नता रहेको र समानान्तर सरकार सञ्चालन गर्ने उनीहरुको उद्देश्य भएको बताएका थिए । तर, नेकपा सांसद पाण्डे भने विप्लव समूह बन्दुकको बलमा सत्ता कब्जा गर्ने अवस्थामा नरहेको बताउँछन् ।

पाण्डे भन्छन्, ‘०२७/३८ सालमा हामीले झापा विद्रोह सुरु गर्‍यौं । ०३८ मा आइपुग्दा जनताको ठूलो साथ थियो । माओवादीले पनि जनयुद्ध थालेको १० वर्षमा हजारौं सेना नै बनाएको थियो । उहाँहरु (विप्लव समूह) ०६९ बाट लाग्नु भएको हो । तर, त्यो खालको शक्ति आर्जन गर्न सक्नुभएको देखिँदैन ।’

यद्यपि केही मान्छेको हत्या गर्ने, विस्फोटहरु गराएर आंतक मच्चाउन भने सक्ने पाण्डेको विश्लेषण छ । उनी भन्छन्, ‘तर, शान्तिपूर्ण वार्तामा आउनुको विकल्प छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment