Comments Add Comment

‘सहसचिव’ बनेर प्रहरी र जनप्रतिनिधिलाई बेवकुफ बनाउने १७ वर्षे किशोर

१४ फागुन, पोखरा । ठगीका अनेक रुप देख्न र सुन्न पाइन्छ । यस्तै, अनौठो ठगीको घटना पोखरामा सार्वजनिक भएको छ ।

एक १७ वर्षीय किशोरले राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयको ‘अध्यक्ष’ बनेर प्रहरी र जनप्रतिनिधिलाई नै उल्लु बनाएका छन् । यो सहसचिवस्तरको पद हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार संरक्षण समितिको कार्यालय सिंहदरबार, काठमाडौंको कार्ड भिरेर उनले प्रहरी र जनप्रतिनिधिलाई गुमराहमा पारेका हुन् ।

उनी हुन् इलामका सन्देश रम्तेल । स्रोतका अनुसार उनी इलाम नगरपालिकाको पूर्वनगर स्तरीय बाल सञ्जालका अध्यक्ष पनि हुन् । यद्यपि, उनलाई कारबाही गरिएको नगरपालिकाका एक अधिकारीले जनाए । त्यसयता उनी विभिन्न संस्थाको नाम लिएर कार्यक्रमहरुमा उपस्थिति जनाउँथे ।

रम्तेलले प्रहरीको स्कर्टिकङसमेत लिएर सरकारी नम्बरप्लेटको गाडीमा तनहुँदेखि मुस्ताङसम्म यात्रा गरेको बयान दिएका छन् । जिप्रका तनहुँले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिन मानेन ।

मुस्ताङदेखि पोखरा फर्केर लेकसाइडको तेन्जिङ हिलारी होटलमा बसेका उनले जब खाना खाएको पैसा तिरेनन्, अनि वास्तविकता बाहिर आयो । होटलमा खाएको ३५ हजार रुपैयाँ सन्देशले नतिरेपछि उनको उजुरी प्रहरीकहाँ पुग्यो र उनी सोमबार प्रक्राउ परे ।

होटलमा पैसा नतिर्ने र बिलमा झगडा गर्ने गरेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । होटल पुगेर अनुसन्धान थालेपछि उनको ठगी धन्दा प्रहरीले थाहा पाएको थियो । वडा प्रहरी कार्यालय बैदामले चालकसहित उनलाई पक्राउ गरेको हो ।

यसरी बनाए प्रहरीलाई उल्लु

सन्देशले राष्ट्रिय बाल अधिकार संरक्षण समिति ‘अध्यक्ष’ को नक्कली कार्ड विभिन्न जिल्लामा सरकारी सुविधा उपभोग गर्दै आएका थिए ।

१०० नम्बरमा फोन हानेर हानेर स्कर्टिङको सुविधा लिने गरेको उनले दाबी गरेका छन् । रम्तेलले बा २ झ १६६३ नम्बर सेतो नम्बर प्लेटको स्कारपियो प्रयोग गरेका थिए । रातो नम्बर प्लेटको गाडी भाडामा लिएर उनले नक्कली सेतो नम्बर प्लेट टाँसेको पाइएको छ ।

उनले वीरगञ्जमै नक्कली कार्ड बनाएको बताएका छन् । तेन्जिङ हिलारी होटलमा सामान राखेर रम्तेल सरकारी नम्बर प्लेटको गाडी गुडाउँदै पर्वत, म्याग्दी हुँदै मुस्ताङसम्म पुगेको स्रोतको भनाइ छ ।

त्यतिमात्रै होइन, रम्तेलले पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङलाई समितिको अध्यक्ष भन्दै झुक्याएका थिए । उनले उपमेयर गुरुङलाई भेटेर महानगरपालिकाबाट १० लिटर तेलको कुपन लिएर प्रयोग गरेको अनुसन्धानका क्रममा बयान दिएका छन् ।

उनले होटलमा पनि पैसा तिर्न मानेनन् । राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयले होटलले दिएको खातामा पैसा हालिसकेको बताउँदै रम्तेल उम्कन खोजेका थिए । त्यसपछि उनले थाहा नपाउने गरी होटल मालिकले प्रहरीलाई खबर गरे । जब उनी पक्राउ परे, ठगीको अनौठो तरिकाबाट सबे तीन छक परे । रम्तेलसँगै उनका चालक बताउने संगम राई पनि प्रक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment