Comments Add Comment

पाकिस्तानले पाइलट कब्जामा लिएपछि भारत ‘ब्याकफुटमा’

१६ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार पत्रकारहरुसँग कुरा गर्दै भारत र पाकिस्तानबाट ‘आकर्षक खबर’ आफूले पाएको बताए । उनले दुई देशबीचको तनाव चाँडै समाधान हुन गइरहेको भविष्यवाणी पनि गरेका छन् ।

के ट्रम्पले भनेजस्तै दुई देश समाधानउन्मुख भएका हुन् त ?

यसको ठोस जवाफ नमिले पनि भारतीय पक्ष बुधबारको तुलनामा विहीबार केही शान्त देखिएको छ । बालाकोट आक्रमणको भोलिपल्टै पाकिस्तानले दुईवटा लडाकू विमान खसाएर जवाफी आक्रमण गरेपछि भारत थप उत्तेजित हुने विश्लेषण गर्न थालिएको थियो । तर, भारतले अहिलेसम्म अर्को कुनै कदम चालेको छैन । भारतीय मिडियाहरुको उग्रता पनि बिहीबार केही मथ्थर भएको छ ।

तर, पाकिस्तानसँग कुरा मिल्न लागेर भारत यो अवस्थामा आएको भने होइन । भारतीय पक्ष केही नरम देखिनुको एउटा कारण हो आफ्नो पाइलट पाकिस्तानले कब्जामा लिनु । दुई लडाकु विमान खसाएर पाकिस्तानले पाइलटलाई कब्जामा लिएपछि भारत पछि सरेको हुन सक्छ ।

आफ्नो पाइलट पाकिस्तानी नियन्त्रणमा रहेको कुरा भारत सरकार वा सेनाले प्रष्ट शब्दमा भनेको छैन । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले ‘आफ्ना एक पाइलट बेपत्ता बनेको’ मात्र बताएका छन् । तर, भारतले आफ्नो पाइलटलाई पाकिस्तानको कब्जाबाट झिक्न भित्रभित्रै प्रयास गरिरहेको समाचार स्रोतहरुको भनाइ छ । यतिबेला भारतको सबैभन्दा ठूलो प्राथमिकता भनेकै पाइलटको रिहाइ बन्न पुगेको छ ।

आफ्नो पाइलट फिर्ता नपाउञ्जेल भारतलाई पाकिस्तानविरुद्ध कुनै कडा कदम चाल्न कठिन छ । त्यसैले पनि हिजोको घटनापछि भारत सरकार र मिडियाको बोलीको टोन केही फेरिएको देखिन्छ ।

इन्डियन एक्सप्रेसका अनुसार नयाँ दिल्लीले आफ्ना पाइलटलाई कुनै हानी नपुर्‍याउन पाकिस्तानी सरकारसँग कुटनीतिक च्यानलमार्फत आग्रह गरिरहेको छ । र, पाकिस्तानी सेनाले पनि उनीमाथि मानवीय व्यवहार गरिने बचन दिएको समाचारमा उल्लेख छ । तर, यसैबाट भारत विश्वस्त हुन भने सक्दैन ।

यो पनि पढ्नुस्–संयम अपनाउन भारत र पाकिस्तानलाई नेपालको आग्रह 

पाइलट अभिनन्दन पाकिस्तानी कब्जामा पुगेलगत्तै उनका केही भिडियोहरु सार्वजनिक भइरहेका छन् । पहिलो भिडियोमा उनी चोटग्रस्त देखिएका छन् र उनलाई केही मानिसहरुले पिटिरहेका छन् । दोस्रो भिडियोमा उनका आँखामा पट्टी बाँधिएको छ । त्यसमा अभिनन्दनले आफ्नो परिचय खुलाएका छन् ।

सार्वजनिक भएको तेस्रो भिडियोमा भने अभिनन्दन बिन्दास देखिएका छन् । उनी निर्धक्कसँग चिया पिउँदै कसैले सोधेको प्रश्नको जवाफ दिइरहेका देखिन्छन् । जवाफ दिने क्रममा उनले पाकिस्तानी सेनाको निकै प्रशंसा गरेका छन् ।

‘पाकिस्तानी सेनामा एकदम राम्रा मान्छेहरु रहेछन् र उनीहरुले निकै राम्रो व्यवहार गरेका छन् । म चाहन्छु कि भारतीय सेना पनि यस्तै होस,’ उनले भनेका छन् । यद्यपि, उनले यो कुरा आफ्नै मनले भनेका हुन् वा भन्न लगाइएको हो भन्ने चाहिँ प्रष्ट छैन ।

जेनेभा महासन्धीले कुनै पनि युद्धबन्दीमाथि मानवीय व्यवहार हुनुपर्ने र कुनै शारीरिक चोट पुर्‍याउन नपाइने उल्लेख छ ।

पाकिस्तानी पक्षले भारतीय पाइलटलाई फिर्ता दिने विषयमा अहिलेसम्म केही पनि बोलेको छैन । तर, अन्तर्राष्ट्रिय समुदायसामु आफ्नो प्रतिष्ठा बढाउनका लागि प्रधानमन्त्री इमरान खानले आफ्नो पाइलट फिर्ता दिने भारतीय अधिकारीले आशा गरेका छन् । यदि त्यसो भएको खण्डमा दुई देशबीचको तनाव कम गर्न निकै मद्दत मिल्ने तटस्थ विश्लेषकहरुले पनि ठानेका छन् ।

यसअघि सन् १९९९ मा पनि पाकिस्तानी सेनाले भारतीय वायू सेनाका पाइलट के नचिकेतालाई कब्जामा लिएको थियो । त्यतिबेला उनलाई ८ दिनपछि भारतीय अधिकारीको जिम्मा लगाइएको थियो ।

यो पनि पढ्नुस्–भारत र पाकिस्तानमा को शक्तिशाली ?

भारत सरकारले आफ्ना पाइलटको यथासक्य चाँडो रिहाइका लागि आफ्ना कुटनीतिज्ञहरुलाई सक्रिय रुपमा परिचालित गरिहेको छ । आफ्ना पाइलटको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायले बोलिदिए हुन्थ्यो भन्ने भारतले चाहेको छ । तर, अहिलेसम्म यस विषयमा कुनै पनि देशले मुख खोलेका छैनन् ।

बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कसैको पक्ष नलिइकन भारत-पाक तनाव चाँडै हल हुने आशा मात्रै व्यक्त गरे । जब कि ट्रम्पले आफ्नो समर्थनमा बोल्ने भारतले आशा राखेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विहीबार दिएको अभिव्यक्ति तुलनात्मकरुपमा नरम छ । उनले पाकिस्तानलाई कुनै चेतावनी नदिइकन केवल आफ्नो सेनाको प्रशंसा गरेका छन् ।

मोदीले भनेका छन्, ‘हाम्रो देशलाई अस्थिर बनाउने कोशिष भइहेको छ । तर, हामी रोकिने छैनौं । बरु अझै तीव्र गतिमा अगाडि बढ्नेछौं । यतिबेला देशको सेनाले सीमामा पराक्रम देखाइरहेको छ । पूरा देश एक छ र हामीलाई आफ्नो सेनामा भरोसा छ । यस्तो केही पनि गरिने छैन, जसले सेनाको मनोबल घटोस् । हामीले यो बताउनुपर्छ कि देश कुनै पनि मूल्यमा रोकिँदैन ।’

कसरी कब्जामा परे भारतीय पाइलट ?

भारतीय पाइलट पाकिस्तानी कब्जामा कसरी पुगे भन्ने विषयलाई भारतीय मिडियाहरुले खासै चर्चा गरेका छैनन् । पाइलट बेपत्ता भएको सरकारी भनाइलाई मात्रै उनीहरुले प्रशारण गरिरहेका छन् । बीबीसीले भने भारतीय बिमानलाई खसाएर पाइलटलाई कब्जामा लिएको उल्लेख गरेको छ ।

बीबीसीको समाचारमा लेखिएको छ, ‘अभिनन्दन भारतीय वायु सेनामा विङ कमान्डर हुन् । उनी बुधबार मिग २१ लिएर उडेका थिए । तर, पाकिस्तानी एयरफोर्सले त्यसलाई खसायो र उनलाई नियन्त्रणमा लियो ।’

यो पनि पढ्नुस्–

भारतीय विदेशमन्त्री आए ओआईसी बैठक बहिस्कार गर्ने पाकिस्तानको चेतावनी

अन्तर्राष्ट्रिय न्यूज एजेन्सी रोयटर्सले बालाकोट हमलाको भोलिपल्ट बुधबार पाकिस्तानको विमानले भारतीय हवाइ सीमामा प्रवेश गरेको जनाएका छन् । पाकिस्तानी विमान जम्मू कश्मिरको रजौरी जिल्लाको नौसेरा सेक्टरमा पसेको समाचारमा उल्लेख छ ।

पाकिस्तानी सेनाका प्रवक्ता आसिफ जाफुरले भारतीय पाइलट कसरी आफूहरुको कब्जामा आए भन्ने विस्तृत विवरण दिएका छन् । उनले पत्रकार सम्मेलनमा यस्तो भनेका थिए :

‘भारतीय वायू सेनाले सीमारेखा नाघेर हाम्रो भूमिमा बम खसाएपछि पाकिस्तानी सेनासँग त्यसको जवाफ दिनुको विकल्प भएन । तर, हामी भारतको शैलीमा नभएर जिम्मेवार तरिकाले जवाफ दिन चाहन्थ्यौं ।

आज (बुधबार) बिहान पाकिस्तानी एयरफोर्सले निर्णय गर्‍यो कि उनीहरुले कुनै सैन्य टार्गेट लिने छैनन् । साथै यसमा कुनै जनधनको क्षति हुनु हुँदैन । हाम्रो सेनाले आफ्नो हदभित्र रहेर टार्गेट लक गर्‍यो र थोरै दुरीमा खुल्ला स्थानमा हमला गर्‍यो । भिम्बर गली, केजी टप र नारियनजस्ता इलाकामा भारतीय सेनाको सप्लाई डिपोमा हामीले हमला लक गर्‍यौं । तर, हामीले जिम्मेवारीको प्रमाण दिँदै त्यसको केही दुरी पर हमला गर्‍यौं ।
पाकिस्तानी सेनाको हमलापछि भारतीय एयरफोर्सका दुई लडाकू विमान सीमा नजिक आएका थिए र तिनीहरुलाई पाकिस्तानी वायूसेनाले मुकाबिला गरेर खसाइदियो । दुईमध्ये एक विमान हाम्रो सीमाभित्र खस्यो र अर्को भारतीय सिमा नजिक खस्यो । तर, भारतमा एउटा अर्को भारतीय विमान खसेको खबर छ, त्यसमा पाकिस्तानको कुनै हात छैन ।

खसेको विमानमा रहेका दुई पाइलटलाई हामीले नियन्त्रणमा लियौं । उनीहरुमध्ये एकजना घाइते थिए । उनलाई अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । अर्का चाहिँ हाम्रो हिरासतमा छन् ।’

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment