Comments Add Comment

ठूला पुलमा नयाँ निर्माण मोडालिटी : ‘डिजाइन एन्ड बिल्ड’

२१ फागुन, काठमाडौं । सडक विभागले अब ठूला र महत्वपूर्ण नदीहरुमा बन्ने पुलको निर्माण ‘डिजाइन एन्ड बिल्ड’ मोडालिटीमा गर्ने योजना तयार गरेको छ । नेपालमा सुरु भइसकेको यो मोडालिटीलाई क्रमशः फैलाउँदै जाने योजना विभागले तयार गरेको हो ।

यसअनुसार काम हुँदा पुलको डिजाइनको काम पनि ठेकेदारले नै गर्छ । जसलाई सडक विभागले आवश्यक चेक जाँच गरेर स्वीकृति दिएपछि सोही ठेकदारले पुल बनाउँछ ।

हाल मुग्लिनमा पनि यसै मोडलअनुसार नयाँ प्रविधिको पुल बनिहरेको छ । जसको डिजाइन पनि ठेकेदार कम्पनीले नै गरेको थियो भने निर्माणको काम पनि उसैले गदर्ैैछ ।

सडक विभागको पुल महाशाखा प्रमुख दीपककुमार भट्टराईका अनुसार विभागले डिजाइन गर्ने र त्यसमा ठेकेदारलाई काममा लगाउने गर्दा प्राविधिक समस्या धेरै आउँदैछन् । उनका अनुसार ठेकेदार कम्पनीले पटक-पटक डिजाइन नमिलेको भन्दै सच्याउन आवेदन दिनेर त्यसको भेरियसन गर्दा रकम थप्नुपर्ने समस्या ब्याप्त छ ।

तर, अब ठेक्का लगाउँदा नै डिजाइनको जिम्मा ठेकेदारलाई दिने गरी ठूला पुलहरुमा काम गर्न खोजिएको उनको भनाइ छ ।

‘हामीले गरेको डिजाइनमा त्रुटि देखाएर काम नगर्दा धेरै पुलहरु निर्माणकै क्रममा अलपत्र परे,’ भट्टराईले भने,’त्यसैले अब विस्तारै पुललाई डिजाइन एण्ड बिल्ड मोडलमा निर्माण गर्नुपर्छ भन्नेसोच बनेको छ । हामी त्यसैअनुसार काम गर्छौं ।’

उनले यो मोडलबाट काम गर्दा ठेकेदारले विभिन्न बाहना बनाएर काम रोक्न पनि नपाउने भन्दै आफूले गरेका डिजाइनमा समस्या देखिएर उसैले जिम्मेवार भएर काम गर्ने बताए ।

अहिले देशभर विभाग अन्तरगत थुप्रै पुल निर्माणधीन छन् । यसमध्ये केहीमा ठेकेदारले डिजाइनको त्रुटि भन्दै बाहनाबाजी बनाएर काम रोकेका छन् ।

अब ठेकेदारबाटै डिजाइन गरेर विभागले स्वीकृति दिने र काम अघि बढाउने गरी ठूला पुलहरु बनाउन खोजिएको छ ।

नयाँ प्रविधिको प्रयोग पनि 

सडक विभाग अब राजमार्गहरुमा नयाँ प्रविधिको पुलहरु प्रयोग गर्ने तयारीमा पनि जुटेको छ । पुल निर्माणमा नयाँ प्रविधि प्रयोग गदै विकासमा फड्को मार्ने विभागको योजना छ ।

मुलुकमा पहिलोपटक बर्दिया र कैलाली सीमाको चिसापानीमा ‘केबल स्टे’ प्रविधिको पुल हालिएको थियो, जुन ०५० सालदेखि सञ्चालनमा आएको हो । उक्त पुलमा जापानी प्रविधि प्रयोग गरिएको छ ।

सोही पुलको सफलतालाई २४ वर्षपछि दूधकोसीमाथि जयरामघाटको पुलले निरन्तरता दियो । अब पृथ्वी राजमार्गको मुग्लिनमा बन्दै गरेको आर्क बि्रजले त्यसलाई थप अगाडि डोर्‍याउनेछ ।

हालसम्म नेपालमा बनेका अधिकांश पुल ‘सिम्प्ली सर्पोटेड बिम’ प्रविधिमा आधारित छन् । २५ मिटर दूरीमा पिल्लर राखेर पुल निर्माण गरिने प्रविधि हो यो ।

भविष्यमा भने मोटरेबल आर्क, सस्पेन्सन र सिग्नेचर बि्रजहरु निर्माणको योजना बन्दै गरेको विभागको पुल महाशाखाका प्रमुख भट्टरराई बताउँछन् । ती प्रविधि भित्रिएपछि राजमार्गका पुलका पिल्लर हरेक वर्ष भासिने र भाँचिने समस्याबाट मुक्ति पाइने उनको भनाइ छ ।

‘अब नयाँ र नेपालको नदीनाला र सडकलाई सुहाउँदो नयाँ प्रविधिमा जान सुरु गरेका र्छौं,’ उनले भने ।

विभागले काठमाडौंका दुई स्थानमा नयाँ प्रविधिमा आधारित पुल निर्माण गर्दैछ । माइतीघर-तीनकुने सडकको धोबीखोला र वागमती नदीमाथि ‘नेटवर्क आर्क’ पुल निर्माणाधीन छन् । विभागले शोभा भगवती छेउको विष्णुमती नदीमा पनि ‘रेन्बो आर्क’ पुल तयार पारेको छ ।

आर्क बि्रजमा अहिले नेपालमा बनिरहेका पुलमा जस्तो बीच-बीचमा पिल्लर प्रयोग हुँदैन । बलियो जग हालेपछि माथिल्लो भागमा बांगो आकारका आर्क राखिन्छ ।

आर्कलाई ‘अब्युटमेन्ट’मा जोडिन्छ । आर्कमार्फत् नै पुलको भार बोक्ने संरचना जोडिन्छ । पुलमा गाडी गुड्दा त्यसको भार आर्क हुँदै ‘अब्युटमेन्ट’मा पर्छ । र, सम्पूर्ण भार आर्कले नै थेग्छ ।

खोलाको सतहमा पिल्लर ठड्याउनु नपर्ने भएकाले कम खर्चिलो पनि मानिन्छ, उक्त प्रविधि ।

कलात्मक हुने भएकाले त्यस्ता पुलले शहरको शोभा पनि बढाउने विभागका अधिकारीहरुको भनाइ छ । र, कलात्मक पुललाई मुलुकभरका नदीनालामा विस्तार गर्ने योजनामा छ, सडक विभाग ।

परम्परागत पुल बनाउन प्रतिमिटर औसत १० लाखभन्दा बढी रुपैयाँ खर्च हुन्छ । नयाँ प्रविधिका पुल पनि बढीमा प्रतिमिटर १३ लाख रुपैयाँसम्ममा बनाउन सकिने विभागमा अधिकारी बताउँछन् ।

चितवनको मुग्लिन र तनहुँबीचको त्रिशुलीमाथि ‘सस्पेन्सन आर्क बि्रज’ निर्माणाधीन छ । शहरी क्षेत्रबाहिर राजमार्गमा तयार हुँदै गरेको यो पहिलो ‘आर्क बि्रज’ हो ।

निकै आकर्षक स्वरुपको उक्त पुलले जोखिमयुक्त बनिसकेको ०३४ सालमा निर्मित पुललाई विस्थापित गर्नेछ । नयाँ पुलको लम्बाइ एक सय ६० मिटर र आर्क एक सय २० मिटरका हुनेछन् । आर्क प्रविधिमा यति लामो पुल नेपाली ठेकेदारबाटै इतिहासमै पहिलोपटक बन्दैछ ।

राजमार्ग र शहरहरुमा ‘सिग्नेचर बि्रज’ निर्माणको नौलो अवधारणा पनि ल्याएका छन्, सडक विभागका अधिकारीहरुले । नयाँ प्रविधिमा जान आफ्नो मात्रै अनुभव, लगानी र दक्षताले काम नगर्ने भएकाले विभागले विश्व बैंकलाई गुहारेको छ ।

सफलता हासिल भएका आर्क, नेटवर्क आर्क, मोटरेबल सस्पेन्सन र केबल स्टे प्रविधिमा आधारित भएर शहरको छेउका नदीहृरुमा सिग्नेचर पुलहरु निर्माण गरिनेछ ।

शुरुमा १० भन्दा बढी सिग्नेचर पुल बनाउने गृहकार्य भइरहेको भट्टराई बताउँछन् । शहरी क्षेत्रसँगैका नदीमा कलात्मक डिजाइनयुक्त र मनमोहक देखिने छन् ।

यस्ता पुलहरुलाई आकर्षक बनाउन राति ‘लाइटेनिङ’ गर्न सकिन्छ, जसले शहर र राजमार्गको सौन्दर्य बढाउँछ ।

चितवनको भरतपुर र नवलपरासीको गैंडाकोटबीचको नारायणी नदीमाथि पनि अत्याधुनिक प्रविधिको पुल निर्माणको योजना तयार भइसकेको छ । यस्ता प्रविधिको प्रयोगले मुलुकको समृद्धिको झल्को पनि मिल्ने विभागका इन्जिनियरहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment