Comments Add Comment

प्रथम महिला एआईजी : पहिले दाँत हेर्थिन्, अहिले प्रशासन !

एआईजी डा. थापा भन्छिन्– अब प्रहरी अस्पतालमै शिशु स्याहार

Photo Credit : चन्द्र आले/अनलाइनखबर

२३ फागुन, काठमाडौं । नेपाल प्रहरी अस्पतालकी निमित्त मेडिकल डाइरेक्टर डा. दुर्गा थापा पुन नेपालको पहिलो महिला एआइजी (प्राविधिक अतिरिक्त महानिरीक्षक) हुन् । मन्त्रिपरिषदले २५ कात्तिकमा उनलाई एआईजीमा बढुवा गरेको हो ।

नेपाल प्रहरीको स्थापनाको ६३ वर्षे इतिहासमा महिला एआइजीमा बढुवा भएको यो नै पहिलो हो । यसअघि पार्वती थापा र विमला थापा डीआइजी पदसम्म पुगेका थिए ।

दन्त चिकित्सकका रुपमा ०४६ सालमा प्रहरी संगठनमा प्रवेश गरेकी दुर्गा थापा पुन ०३५ को एसएलसी परीक्षामा बोर्ड थर्ड र छात्रातर्फ प्रथम हुन् । कक्षा आठसम्म हङ्गकङ्गको गोर्खा हाईस्कुलमा पढेकी उनी काठमाडौंको कन्या मध्यामिक हाईस्कुलबाट एसएलसी परीक्षामा सहभागी भइन् ।

अस्कल साइन्स क्याम्पसबाट आइएस्सी गरेपछि उनले पाकिस्तानमा शिक्षा मन्त्रालयको छात्रवृत्तिमा ब्याचलर अफ डेन्टल सर्जरी ( विडिएस) पढ्ने मौका पाइन् । त्यसपछि दक्षिण भारतको चेन्नईबाट एमडीएस गरिन् ।

उनका बुवा ब्रिटिस गोर्खा पल्टनमा ब्याण्ड मास्टर थिए । उनी रिटायर्ड भएर नेपाल आएपछि तत्कालीन महानिरीक्षक ­(आईजीपी) खड्गजीत बरालले नेपाल प्रहरीमा पनि ब्याण्ड स्थापना गर्न भर्ती गरेको एआइजी पुन बताउँछिन् ।

‘बीडीएस सकेर पाकिस्तानबाट फर्कँदा बाबा एसएसपी हुनुहुन्थ्यो’, उनी भन्छिन्, ‘उहाँले नै मलाई पनि नेपाल प्रहरीमा सेवा प्रवेश गर्न प्रेरित गर्नुभयो ।’

त्यसरी उनी ०४० सालमा स्थापना भएको नेपाल प्रहरी अस्पतालमा इन्पेक्टरको रुपमा प्रवेश गरिन् । त्यसबेलासम्म त्यहाँ असिस्टेन्ट हेल्थ वर्कर (अहेव) हरुले नै दाँतको उपचार गर्थे । दुर्गा थापा पुन आएपछि दाँतको ‘डाक्टरी उपचार’ सुरु भयो ।

‘म आएपछि प्रहरी अस्पतालमा दन्त विभाग स्थापना भयो’, उनी भन्छिन्, ‘एआईजीमा बढुवा हुँदा म त्यहाँ विभागमा प्रमुख थिएँ ।’

प्राविधिक एआइजीको अनुभव

प्रहरी अस्पतालको दन्त चिकित्सा विभाग प्रमुख भएका कारण त्यहाँ उनले प्रशासनिक कामकारवाहीको पनि अनुभव संगालिन् । प्रहरी अस्पतालको डेपुटी मेडिकल डाइरेक्टर हुँदा पनि दन्त चिकित्सासँगै प्रशासनिक काम गरिन् । त्यस हिसाबले उनमा प्रशासनिक अनुभवको कमी थिएन ।

तर, प्राविधिक सेवातर्फ भएकै कारणले डीआईजी (नायव प्रहरी महानिरीक्षक) दुर्गा थापा पुनको एआईजी (अतिरिक्त प्रहरी महानिरीक्षक) मा बढुवालाई लिएर भने प्रश्न पनि उठे । कतिले प्राविधिकतर्फ महिलालाई विशिष्ठ श्रेणी दिनु हुँदैन पनि भने । कतिपयले प्रशासनिक कार्यक्षमतामा शंका गरे ।

तर, त्यसले उनी र उनको बढुवालाई केही फरक पारेन । एउटा तहमा पुगिसकेपछि यस्ता कुराहरु भइरहने एआइजी पुन बताउँछिन् । ‘सबैको चित्त बुझाउन कसैले पनि सक्दैन’, उनले भनिन्, ‘मलाई अवसर पाए महिलाले पनि देखाउन सक्छन् भन्ने प्रमाणित गर्नु छ ।’

लामो समय प्राविधिक सेवामा बिताएका अफिसरलाई प्रशासनिक काममा वास्तवमै गाह्रो हुँदैन त ? ‘चुनौती त जुनसुकै काम पनि हुन्छ’, एआइजी पुनले भनिन्, ‘जहाँसम्म मेरो कुरा छ, मैले दन्त चिकित्सा विभागको डेपुटी डाइरेक्टर हुँदादेखि नै क्लिनिकल कम र प्रशासनिक काम बढी गरेकी छु ।’

 

प्रहरी संगठनको महिला कर्मचारी सम्बन्धी नीतिमा आफ्नो मुख्य ध्यान रहेको उनी बताउँछिन् । महिलालाई आवश्यक सेवा सुविधा दिने, श्रीमान–श्रीमतीको ड्युटी एकै ठाउँमा पार्ने, महिला सुहाउँदो वातावरण सिर्जना गर्ने, सरुवा, बढुवा र वृत्तिविकास अन्य कुरामा ध्यान पुर्‍याउने उनको ध्येय छ ।

‘मैले प्रशासनिक काम गर्ने भनेको यस्तै विषयमा हो’, उनी भन्छिन्, ‘प्रहरी महिलाका लागि आउँदो महिनादेखि प्रहरी अस्पतालमै शिशु स्याहार केन्द्र सञ्चालनको व्यवस्था हुन लागेको छ ।’

अस्पतालको चुनौती

एआइजीमा बढुवापछि दुर्गा थापा पुनको पदस्थापन स्वतः प्रहरी अस्पतालकै डाइरेक्टरको रुपमा भयो । अस्पतालमा करिब ७०० जनशक्ति कार्यरत छन् । जसमध्ये १६५ जना प्रशासनतर्फ कार्यरत छन् । अस्पतालमा थप ४८१ दरवन्दी आवश्यक भएको पुन बताउँछिन् ।

प्रहरी अस्पतालको सेवा विस्तार हुँदै गएको छ । सार्वसाधरणले पनि विशेषज्ञ सेवा लिँदै आएका छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रम र स्वास्थ्य शिविरहरुले अस्पतालको सेवा विस्तारमा दबाव बढाएको अनुभव एआइजी पुनले गरेकी छन् ।

अहिले दैनिक ३०–४० जना सार्वसाधरण प्रहरी अस्पताल पुग्न थालेका छन् । यो संख्या बढ्ने क्रममा छ । तर, अस्पतालमा पर्याप्त ठाउँ र उपकरणहरु छैनन् । २५ बेडबाट सुरु भएको यो अस्पतालको क्षमता १५० बेड पुगे पनि अपर्याप्त छ । आगामी आर्थिक वर्षमा अस्पतालको स्तरोन्नती गरेर बेड संख्या ३०० पुर्‍याउने लक्ष्य राखेको एआईजी पुनले बताइन् । उनले भनिन्, ‘त्यसका लागि अहिले के–के गर्नु पर्ने हो, सबै गरिरहेका छौं ।’

अहिले प्रदेश २ को सप्तरी, प्रदेश ५ को नेपालगञ्ज र प्रदेश ७ को दिपायलमा नेपाल प्रहरीको क्षेत्रीय अस्पताल छ भने गण्डकी प्रदेशको पोखरामा निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बाँकी तीन वटा प्रदेशमा पनि केही वर्षभित्रमै प्रहरी अस्पताल खोल्ने योजना रहेको एआइजी पुनले बताइन् ।

विशेषज्ञ चिकित्सकको आवश्यकता परिपूर्तिका लागि अस्पतालमा कार्यरत चिकित्सकहरुलाई अध्ययन र छात्रवृत्ति उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयसँग समन्वय गरिरहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘प्रहरी अस्पतालमा कार्यरत सबै कर्मचारीको वृत्तिविकास र समान अवसरका लागि आवश्यक गृहकार्य पनि भइरहेको छ ।’

तस्वीर ः चन्द्र आले /अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment