
३ चैत, बुटवल । देवदह क्रिकेट युनिट देवदह रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको डिभिजन ‘ए’ अन्तर्गत समूह बीको खेलमा तिरुपति क्रिकेट क्लब भैरहवालाई ३३ रनले पराजित गर्दै देवदह सेमिफाइनलमा पुगेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको देवदहले निर्धारित ५० ओभरको खेलमा २५.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । जसमा अर्जुन रायमाझी ४५ र प्रेम श्रेष्ठले १७ रन जोडेका थिए । तिरुपतीका देव खनालले ५, शरद रायले र केशव पौडेलले समान २/२ विकेट लिए ।
प्रतिउत्तरमा १ सय २३ रनको बिजयी लक्ष्य पाएको तिरुपती २८.५ ओभरमा अलआउट भई ८९ रनमा सीमित हुन पुग्यो । तिरुपतीका लागि देव खनालले १९ र बिशाल पौडेलले १७ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । बलिङमा देवदहका सुरज खड्का र अर्जुन रायमाझीले ३-३ विकेट र विशाल श्रेष्ठले २ विकेट लिए । खेलमा देवदहका अर्जुन रायमाझी म्यान अफ दी म्याच घोषित भए ।
सोमबार साई ग्लोबल क्रिकेट क्लब भैरहवा र न्यू होराइन क्रिकेट क्लब बुटवलबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए ।
प्रतिक्रिया 4