
१३ चैत, काठमाडौं । यही चैत १५ र १६ गते काठमाडौंमा हुने लगानी सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलनमा ७७ वटा परियोजना लगानीका लागि प्रस्ताव गरिँदैछन् । जसमा सरकारका ५० र निजी क्षेत्रका २७ वटा परियोजना छन् ।
विगतको लगानी सम्मेलनमा प्रतिवद्धता गरिएभन्दा धेरै कम लगानीमात्र भित्रिएको छ । यसपटकको स्थिति फरक हुने सरकारको दाबी छ । तर, विदेशी लगानीकर्ता आउनुमा स्वदेशी लगानीकर्ता कति खुसी छन् भन्ने महत्वपूर्ण पक्ष हुने आर्थिक क्षेत्रका जानकारहरु बताउँछन् । स्वदेशी लगानीकर्ता सन्तुष्ट नरहेको देशमा विदेशी लगानीकर्ता आउँदैनन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नेपालको लगानी वातावरणमा अझै केही चुनौती देख्छन् । ‘सरकारले विदेशी लगानी भित्र्याउन कानुन अली सहज बनाउनु राम्रो हो’, उनी भन्छन्, ‘तर, विदेशी लगानी भित्र्याउने नाममा स्वदेशी लगानीलाई बेवास्ता गर्न हुँदैन ।’
यो सम्मेलनलाई लिएर निजी क्षेत्रको धारणा के छ ? विदेशी लगानी भित्र्याउन निजी क्षेत्रको भूमिका कस्तो होला ? लगायतका विषयमा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छासँग अनलाइनखबरकर्मी रोयल आचार्यले गरेको कुराकानीको सम्पादित अंशः
लगानी सम्मेलनको तयारीलाई कसरी लिनुभएको छ ?
सरकारले विगतमा आयोजना गरेको लगानी सम्मेलन र अहिले गर्न लागेको सम्मेलनमा फरक छ । अहिले नेपालप्रतिको अन्तर्राष्ट्रिय नजरिया पहिलेभन्दा राम्रो छ । यसमा निजी क्षेत्रका लागनीकर्ताहरु खुसी छन् । व्यक्तिगत रुपमा मैले पनि यसलाई एकदमै सकारात्मक मानेको छु ।
साथै हामी स्पष्ट के पार्न चाहन्छौं भने स्वदेशी लगानीले भन्दा विदेशी लगानीले बढी सुविधा पाउनु हुँदैन । विदेशी लगानीकर्ताले पाउने सुविधा स्वदेशीले पनि पाउनुपर्छ । विदेशी र स्वदेशी लगानीलाई फरक व्यवहार गरे भविष्यमा नकारात्मक परिणाम देखिने छ ।
सम्मेलनको तयारीमै केही कमजोरी देख्नुभयो ?
हामी यति ठूलो लगानी सम्मेलन आयोजना गर्दैछौं कि हामीसँग यसका लागि आवश्यक पूर्वाधार छैन । होटल सुविधा समेत अपुग देखिएको छ । सम्मेलनमा सहभागी हुन चाहनेहरुले दर्ता हुन पाएका छैनन् । र पनि, यसले उत्साह जगाएको छ ।
पहिलेको भन्दा अहिलेको लगानी सम्मेलन पक्कै राम्रो हुन्छ । यसले प्रभाव पनि राम्रो पर्नेमा म विश्वस्त छु ।
विगतको सम्मेलनमा राम्रो लगानी प्रतिवद्धता आउने तर त्यसअनुपातमा लगानी नआएको स्थिति रह्यो । यो सम्मेलनबाट लगानी पनि राम्रै आउँछ भन्न सकिने अवस्था छ ?
हिजो र आजको वातावरण फरक छ । मुलुकमा स्थायी सरकार छ । लगानी बोर्डलाई बलियो बनाइएको छ । राम्रो तरिकाले परियोजना छनोट भएको छ । यसमा राम्रा लगानीकर्ताहरुले सहभागी हुने इच्छा देखाएका छन् । निजी क्षेत्रको चासो पनि एकदमै राम्रो छ ।
सम्मेलनकै लागि भनेर वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी विधयेक संसदबाट पारित भएको छ । अन्य कानूनहरु पनि बनेका छन् । विदेशी लगानी आकर्षित गर्न नयाँ कानूनहरुले पक्कै मद्दत गर्नेछ । समग्रमा भन्नुपर्दा सरकारले विदेशी लगानी भित्र्याउन गरेको प्रयत्न राम्रो छ ।
सम्मेलनमा निजी क्षेत्रका तर्फबाट प्रस्ताव गरिने २७ परियोजना कसरी छनोट भएका हुन् ?
कुनै पनि परियोजनामा विदेशी लगानी ल्याउन लगानी बोर्डबाट पास हुनुपर्छ । अहिले छनोट भएका परियोजना पनि लगानी बोर्डमा छलफल गरेर पास भएका हुन् । यी सबै ‘एड्भान्स लेभल’का परियोजनाहरु हुन् । बोर्डमा हाम्रो उद्योग वाणिज्य महासंघका अध्यक्ष पनि हुनुहुन्छ । त्यसैले परियोजनाबारे हामी जानकार छौं ।
निजी क्षेत्रको रोजाइमा जलविद्युत परियोजना पर्नुको कारण के हो ?
जलविद्युतमा लगानीका लागि सरकारले राम्रो कानून ल्याएको छ । अन्य क्षेत्रको तुलनामा जलविद्युत राम्रो सम्भावना रहेकाले पनि निजी क्षेत्रको पहिलो प्राथमिकतामा परेको हो ।
निजी क्षेत्रले विदेशी लगानी भित्र्याउछु भनेर घोषणा गरेका केही आयोजना बन्न सकेनन् । अब विदेशी लगानीकर्ताले कसरी पत्याउलान् ?
हामीले उच्च आर्थिक वृद्धिदर र गरिबी निवारणको लक्ष्य लिएका छौं, जुन विदेशी लगानी नआई पूरा हुँदैन ।
हामीले दृष्टिकोणलाई पनि सकारात्मक बनाउनुपर्छ । नेपालमा सफल भएका धेरै उदाहरण छन् । विदेशी लगानी ल्याएर धेरै कर तिरेका कम्पनीहरु पनि छन् । तिनीहरुले धेरै रोजगारी पनि राम्रो सिर्जना गरेका छन् । धेरै सफल हुँदा केही असफल हुन सक्छन् ।
निजी क्षेत्र छिटो मुनाफा आउने राम्रा आयोजनाहरुमा विदेशी लगानी भित्र्याउन चाहँदैन भन्ने आरोप नि ?
तर, हामीले असफल भएकालाई होइन, सफल भएकाहरुलाई हेरेर अगाडि बढ्ने हो । फेरि निजी क्षेत्रका सबै लगानी सफल हुन्छ भन्ने हुँदैन । यो नेपालमा उद्योग र लगानीको वातावरण त्यत्ति राम्रो नभएको समयको कुरा पनि हो ।
हामीले सधैँ विदेशी लगानी चाहिन्छ भन्दै आएका छौं । ध्यान दिनुपर्ने एउटै पक्ष के छ भने ठूलो ‘इकोसिष्टम’ भएका क्षेत्रमा विदेशी लगानी ल्याउँदा त्यो ‘सिष्टम डिस्टर्ब’ हुन्छ ।
जस्तो, परम्परागत रुपमा लाखौं कृषक जोडिएको कृषि क्षेत्रमा विदेशी लगानी रोक्दा राम्रो हुन्छ भन्ने हाम्रो कुरा हो । त्यसकारण, त्यस्ता क्षेत्रमा विदेशीलाई अलिकति निरुत्साहित गर्ने हो कि भन्ने हाम्रो सल्लाह छ । त्यसबाहेकका सबै क्षेत्रमा ठूलो विदेशी लगानी आओस् ।
निजी क्षेत्रहरुले भनेजस्तै गरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधयेक संशोधन भयो । अब कृषि, घरेलु तथा साना उद्योगमा विदेशी लगानी भित्र्याउन पाइदैन । यसले सकारात्मक असर मात्र पार्छ त ?
यसले कुनै नकारात्मक असर गर्दैन । हरेक देशले विदेशी लगानी आवश्यक नपर्ने क्षेत्र तोकेका हुन्छन् । घरेलु र मझौला उद्योगमा विदेशी लगानी नरोक्ने हो भने धेरै उद्योग र व्यक्तिहरु विस्थापित हुन सक्छन् । हामीले त्यसमा सुरक्षा चाहेका हौं ।
अन्य क्षेत्रमा ठूलो लगानी र प्रविधि आओस्, हामी स्वागत गर्छौ । तर आत्मनिर्भर भएको क्षेत्रमा विदेशी लगानी आए ‘डिस्टर्ब’ हुन्छ । यसो भन्दै गर्दा के थप्न चाहन्छु भने, हामी धेरै विदेशी लगानीका नाममा अलि बढी नै सेवा दिन खोजिरहेका छौं कि ! हामीले स्वदेशी लगानीलाई भन्दा विदेशीलाई बढी अवसर चाहिँ दिनु हुँदैन । दुबैका लागि समान अवसर हुनुपर्छ । नत्र, भविष्यमा ठूलो विकृति आउने पक्का छ ।
स्वदेशी लगानीकर्ताको नजरमा अहिले नेपालमा लगानीको वातावरण कस्तो छ ?
हिजो धेरै चुनौतीहरु थिए । सीमित बजार, उर्जा अभाव र श्रम सम्बन्धको पनि समस्या थियो । अहिले धेरैजसो समाधान भएका छन् ।
नेपालमा अहिलेको चुनौती भनेको ‘कष्ट अफ डूइङ विजनेस’ हो । व्यवसाय गर्न लागत धेरै नै बढी छ । कम उत्पादकत्व, आकासिएको जग्गाको मूल्य, पूर्वाधार अभाव आदि यसका कारण हुन् । व्यवसायका लागि अन्य देशको तुलनामा नेपाल धेरै महंगो भएको छ ।
यो चुनौती चिर्न सकेनौं भने अहिले राम्रो बनेको व्यवसायिक वातावरणबाट फाइदा लिन सक्ने छैनौं ।
हामीलाई बैंकिङ तरलताले पनि समस्यामा पारेको छ । तरलता नै नभएर स्वदेशी उद्योग निरुत्साहित छ । यो समस्याले कुनै न कुनै रुपमा विदेशी लगानीकर्ताको मनोबलमा समेत असर गर्नेछ ।
सरकारले विप्लव समूहमाथि लगाएको प्रतिवन्धले व्यावसायिक वातावरण सकारात्मक, नकारात्मक कस्तो असर गर्ला ?
विदेशी लगानीकर्ताहरुलाई हामीले नेपालमा राजनीतिक अस्थिरता सकिएको भन्दै आएका छौं । यस्ता गतिविधि भइरहे पक्कै असर गर्छ, सबै लगानीकर्ताको मनोवल घटाउँछ ।
स्वदेशी लगानीकर्ताको अवस्था हेरेर विदेशी लगानी आउँछ भनिन्छ । यसमा तपाईहरुले व्यक्तिगत/संस्थागत छलफल गर्नुभएको छ ?
वास्तविक अवस्था नबुझी कसैले लगानी गर्दैन । हामीले विदेशीलाई भन्ने धेरै कुरा राम्रो हुँदै गएको छ । विदेशी मित्रहरुलाई नेपालमा लगानीको वातावरण बनेको कुरा बुझाउन मैले मुख्य पाँच कुरा भन्ने गरेको छु ।
पहिलो– नेपाल एकदम तरुण देश हो, जहाँ तन्नेरी जनसंख्या बढी छ, जनशक्तिको प्रचुरता छ । दोस्रो– हाम्रो प्रतिव्यक्ति आय बढेको छ । तेस्रो– जैविक विविधतामा हाम्रो ‘पोटेन्सियल’ धेरै राम्रो छ ।
चौथो– हाम्रो पर्यटन सम्भावनाको ९५ प्रतिशत सदुपयोग हुन बाँकी छ, र पाँचौं– नेपालीहरु काम गर्न एकदम उत्साहित र सक्ने छन्, हामी मिलेर गजब काम गर्न सक्छौं ।
नेपालमा गाडी एसेम्बल्डको स्वीकृति पाएको विदेशी कम्पनीले सात वर्षसम्म अर्को कम्पनीलाई एसेम्बल्ड प्लान्ट राख्न नदिने शर्त राखेको कुरा आएको छ । यसको अर्थ के लाग्छ ?
पहिलो त खुल्ला बजार अर्थतन्त्रमा यस्तो प्रतिवन्ध नै हुँदैन । हाम्रो देशको संविधानले नै यस्तो प्रतिबन्धलाई मान्यता दिँदैन । दोस्रो कुरा, एउटा मात्र उद्योगलाई अनुमति दिने प्रावधानबाट हामीलाई सफलता मिल्छ भन्ने के ग्यारेन्टी छ ?
प्रतिक्रिया 4