
१४ चैत, काठमाडौं । सरकारले नेकपा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमा नेपाली सेनाको विमति नरहेको बताएको छ ।
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटालाई विप्लव समूहमाथि प्रतिबन्धलाई लिएर सेनाले राजनीतिक समाधान खोज्न सरकारलाई सुझाएको हो भन्ने प्रश्न आएको थियो ।
जवाफमा मन्त्री बास्कोटाले नेपाली सेनाले हमेसा राजनीतिक नेतृत्व (सरकार) को निर्णय पालना गरेको बताए । ‘हामीले बारम्बार भनेका छौं, सेना नेपाल सरकार मातहतको निकाय हो । सरकारले लिने निर्णयहरुमा उसको न कहिल्यै विमती छ, न रहन्छ ।’
सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । प्रमुख विपक्षी नेपाली कांग्रेससहितका दलहरुले सम्वादमार्फत समस्या समाधान गर्न माग गर्दै आएको छ ।
पछिल्लो पटक सेनाले पनि राजनीतिक रुपमा समाधान खोज्न सुझाव दिएको खबरहरु आएको थियो । तर, सरकारका प्रवक्ताले अन्तरविरोध चर्काउन प्रयत्न नगर्न आग्रह गरे ।
प्रतिक्रिया 4