Comments Add Comment

हत्याको डर देखाएर सांसदसँगै पैसा असुल्ने प्रयास !

यस्तो रहेछ राजेन्द्र लिङ्देनको धम्की प्रकरण

२७ चैत, काठमाडौं । झापा क्षेत्र नं. ३ का सांसद राजेन्द्र लिङ्देन ७ चैतमा लतिलपुरस्थित डेरामा थिए । अपरिचत नम्बरबाट म्यासेज आयो, ‘राजेन्द्र सर हो भने मलाई कल गर्नु न एकपटक । इमजेन्सी छ । तपाईंको नम्बर विजी मात्र आउँछ ।’

लगत्तै अर्को म्यासेज आयो, ‘ह्वाट्स एप, खोल्नु ल । केही इमर्जेन्सी छ, म कुरा सुनेर आत्तिएँ ।’ उनलाई दुवै म्यासेज आएको थियो, नेपाल टेलिकमको मोबाइल नम्बर ९८४३३९४७… बाट ।

दिनभर पार्टीको काममा व्यस्त उनले मोबाइल राम्रोसँग हेर्न पाएका थिएनन् । तर, जब साँझ ‘पेन्डिङ’मा रहेको त्यो म्यासेज हेरे तब, उनी चकित भए ।

ह्वाट्स एपमा आएको म्यासेजमा भनिएको थियो, ‘मैले ५ जना मानिसले तपाईंलाई मार्ने कुरा गरिरहेको सुनेँ । लेनदेनको कुरा पनि गरिरहेका छन् । सुन्दै डर लाग्यो ।’

भोलिपल्ट त्यही नम्बरबाट म्यासेज आयो । ‘हेल्लो सर, कोही तपाईंलाई मार्न चाहन्छन् । ३ जना इन्डियन, दुई नेपाली थिए । उनीहरुसँग पेस्तोल पनि थियो । हिन्दीबाट कुरा भइरहेको थियो’, च्याटमा भनिएको थियो, ‘तपाईंकै कोही मिलेको छ, यसमा । मान्छे मार्नु पर्‍यो, पैसा पछि मिलाउँला भन्थ्यो ।’

लगातार म्यासेज गरिरहेका व्यक्तिले चाहिँ आफू भोलि विदेश जाने भएकाले जोगिएर बस्न सचेत गराए । उनले नेपालमा राम्रो मान्छे टिक्न दिने रहेनछन् भन्दै ‘नेपाली नै खराब, इन्डियनलाई के दोष दिनु भनेको’ लिङ्देनले सुनाए । ‘विदेश जान्छु भनेपछि चाहिँ त्यो नम्बरबाट मलाई सम्पर्क भएन’, उनले सुनाए, ‘त्यसपछि मसँग अर्को नम्बरबाट हिन्दीमा कुरा गर्न थालियो ।’

यो पनि पढ्नुहोस ‘तँलाई मार्न ५० लाखको सुपारी दिएको छु’ भन्दै सांसदलाई फोन आएपछि…

भोलिपल्ट ८ गते राति ९ बजेतिर लिङ्देनलाई ९८१३५४४…नम्बरबाट फोन आयो ।

फोन गर्ने व्यक्तिले हिन्दीमा कुरा गरे । उनी भन्दै थिए, ‘तेरा आद्मी ने हमको ५० लाख देकर काठमाडौं बोलाया । तु तो अच्छा आम्दी हे । मगर तेरा आम्दीले पैसा देचुका हे । तु पैसा देता हे तो हम बताते हे वो कन हे ।’

तर, लिङ्देनले उनलाई पैसा दिएनन् । बरु पार्टी अध्यक्ष कमल थापासँग छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि त्यो म्यासेजबारे जानकारी गराए । ‘त्यसपछि प्रहरी प्रधान कार्यालयमा घटनाबारे जानकारी गराइएको थियो । लगत्तै, सीआईबीले अनुसन्धान थालेको हो’, सांसद लिङ्देनले भने, ‘सुरुमा पहिले त्यो नम्बर कसको भन्ने खोज्न प्रहरीले थालेको थियो ।’

प्रारम्भमा सीम कार्ड हुम्लाका प्रदीप रोकाको नाममा लिएको देखिएपछि अनुसन्धान त्यतैतर्फ केन्द्रीत भयो ।

तर, कल डिटेल रेकर्डले भने अर्कै संकेत गरिरहेको थियो । ‘हुम्लालाई केन्द्रीत गरेर अनुसन्धान भइरहेका वेला झापाका मान्छेसँग कनेक्सन देखिएपछि चकित भइयो’, उनले भने, ‘त्यति मात्र होइन, दुवै जना मैले चिनेकै व्यक्ति थिए ।’

उनको दाबीअनुसार अनुसन्धानका क्रममा लिङ्देनलाई धम्कीपूर्ण सन्देश पठाउने सिमकार्डबाट उनकै निर्वाचन क्षेत्रका नेतालाई त्यही समयमा सम्पर्क गरेको देखिएको छ । ‘दोस्रो व्यक्तिको पृष्ठभूमि नराम्रो भए पनि मलाई त्यस्तो गर्ला भन्ने सोचेको पनि थिइन’, उनी भन्छन्, ‘ऊ पहिले जेल बसेर छुटेको व्यक्ति हो ।’

अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिकै सम्बन्ध खुलेपछि भने लिङ्देन झस्किए । सीमकार्ड र त्यो प्रयोग भएको मोबाइलको प्राविधिक विश्लेषणका क्रममा झापाका तिलकदास पराजुली अनुसन्धानको घेरामा आए । उनी लिङ्देनकै निर्वाचन क्षेत्रका वासिन्दा हुन् । आफूसँग चिनजान नभएको लिङ्देनको भनाइ छ । तिलकको नाम पत्ता लागेपछि लिङ्देनले घुमाउरो शैलीमा अन्य व्यक्तिसँग उनीबारे जिज्ञासा राखे । तर, अधिकांशले नचिनेको बताए ।

लिङ्देनले इलाका प्रहरी कार्यालय, बनियानीका प्रमुख उदयशमशेर राणालाई त्यो कुरा सुनाए ।

यो पनि पढ्नुहोस ज्यान मार्ने धम्की दिनेसँग स्थानीय नेताको सम्पर्क देखिएको लिङ्देनको खुलासा

राणासँग तिलकको परिचय दिने वित्तिकै खुल्यो, उनी प्रहरीको पुरानै अभियुक्त रहेछन् । राणालाई उदृत गर्दै लिङ्देनले बताएअनुसार उनलाई केही दिन अघि बनियानी प्रहरीले पक्राउ गरेको थियो । छुटेलगत्तै उनी फेरि अर्को अपराधमा संलग्न भएका थिए । राणाको प्रहरी टोलीले उनलाई खोजी गरिरहेको थियो ।

लिङ्देनलाई धम्की आएको भने धेरै भइसकेको थियो । ‘लामो समय भएकाले प्रहरीसँग गयो कि भन्ने शंकाले पनि होला’, उनी भन्छन्, ‘पछिल्लो समयमा मलाई आएको म्यासेजमा उसले तँ राम्रो मान्छे रहेछस्, त्यसैले मैले मिसन क्यासिल गरेँ । तर, अरुले तँलाई बाँकी राख्दैनन् भनिरहेको थियो ।’

सीआईबीले भने प्राविधिक पक्षको विश्लेषणमार्फत तिलकको खोजी जारी राखेकै थियो । त्यसक्रममा केहीदिन अघि उनको लोकेशन ललितपुरमा देखियो । संयोग पनि कस्तो भने लिङ्देन र धम्क्याउने तिलकको मोबाइल एउटै टावरमा कनेक्ट थियो । धापाखेलस्थित बीटीएसमा दुवैको फोन देखिएको थियो ।

उनी बसेको ठाउँसम्म पुग्दा तिलक भागिसकेका रहेछन् । यद्यपि, अर्को ठाउँबाट प्रहरीले उनलाई नियन्त्रणमा लियो । पक्राउ परेपछि उनले ब्युरोका प्रहरी अधिकारीसँगको बयानमा लिङ्देनबाट पैसा असुल्न यसो गरेको बयान दिएका छन् ।

यद्यपि, घटनामा अन्यको पनि संलग्नता हुनसक्ने आशंकामा अनुसन्धान जारी राखिएको छ ।

झापाका एक प्रहरी अधिकारीकाअनुसार तिलक बिर्तामोडको फ्युजन म्यानपावरमा एजेन्टको रुपमा कार्यरत थिए । उनीविरुद्ध जिल्लामा ठगीका दर्जनौं उजुरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment