+
+

वीरगञ्जमा सेनालाई अस्थायी आवास बनाउने तालिम

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २७ गते १८:३४

२७ चैत, वीरगञ्ज । वीरगञ्जमा बुधबार नेपाली सेना र केही रेडक्रसकर्मीहरु धमाधम बाँस चिर्दै थिए । विभिन्न औजारको मद्दत लिएर उनीहरु झण्डै दुई घण्टा खटे ।

त्यसपछि उनीहरुले मान्छे बस्न मिल्ने घर तयार गरे । त्यहाँ कुनै विपद भएर उनीहरुले अस्थायी आवास निर्माण गरेका भने होइनन् ।

चण्डीप्रसाद गण वीरगञ्जमा कार्यरत जवान र रेडक्रसका स्वयंसेवकहरुलाई विपदको समयमा आपतकालिन अस्थायी आवास निर्माणको बारेमा सिकाइएको हो । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक टोलीले आपतकालीन आवास निर्माणको बारेमा तालिम दिएको हो । सेनाका ३० जना जवान र रेडक्रसका ११ जना स्वयंसेवकले तालिम लिएका छन् ।

चैत १७ गते आएको हावाहुरी प्रभावित क्षेत्रमा सरकारले सेनालाई घर बनाउन लगाउने भने पनि त्यसका लागि समय लाग्ने देखिएको छ । तर त्यस बीचमा हावाहुरीले घर पूर्णरुपमा क्षतिग्रस्त परिवारलाई अस्थायी आवासको आवश्यकता पर्छ ।

प्रभावित क्षेत्रमा घर जस्तै चाइनिज टेन्ट पनि वितरण गरिएको छ । तर त्यो पर्याप्त छैन । पीडित परिवारलाई सरकारी तथा गैरसरकारी दाताहरुले त्रिपाल दिएका छन् । हावाहुरी आइरहने र वर्षायामसमेत लागेकाले त्रिपाल प्रभावकारी नहुने देखिएको छ ।
त्यसैले जिल्ला विपद व्यवस्थापन समिति पर्साको निर्णय अनुसार रेडक्रससँगको समन्वयमा सेनाका जवानहरुलाई आपतकालिन अस्थायी आवास बनाउन तालिम प्रदान गरिएको गणपति सिर्जनबहादुर मल्लले जानकारी दिए ।

‘अहिले हावाहुरी प्रभावित क्षेत्रमा हामीले जुन किसिमले सहयोग गरिरहेका छौं, त्यसलाई थप प्रभावकारी बनाउन तालिम सञ्चालन गरेका हौं’ उनले भने ‘सेनाका जवानले आपतकालीन अस्थायी आवास बनाउन जानी राख्दा विपद परेको बेलामा राज्यलाई मद्दत गर्न सक्छ ।’

नेपाल रेडक्रस सोसाइटी आपतकालीन आवास संयोजक रमेश घिमिरेका अनुसार ४ देखि ६ वटा बाँस प्रयोग गरे निर्माण गर्न सकिने अस्थायी आवास निर्माण तालिम तीन दिनको प्याकेज हुन्छ । तालिम लिएर दक्ष भइसकेपछि एउटा टोलीले एक घण्टामा यस्तो आवास निर्माण गर्न सक्छ ।

प्रारम्भिक तथ्याङ्कमा हावाहुरी प्रभावितको संख्या ५ सय ९ जना देखिएको भए पनि पछिल्लो तथ्याङ्क अनुसार पर्सा जिल्लामा ३ सय ९६ घर मात्रै प्रभावित छन् । जसमा ९० घर पूर्ण रुपमा क्षतिग्रस्त र ३ सय ६ वटा घरमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

हावाहुरी प्रभावित क्षेत्रमा उद्दार, सरसफाइ र अस्थायी आवास व्यवस्थापनमा सेना शुरुदेखि नै सक्रिय छ । हावाहुरीले पर्सा जिल्लामा १ हजार १ सय १२ जना महिलासहित २ हजार ४ सय ८९ जना प्रभावित भएका थिए । जसमा २ सय २३ जना ५ वर्ष मुनिका बालबालिका रहेको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?