
५ वैशाख, काठमाडौं । नेपाली सेनाले सैनिक आचारसंहिता, २०७६ जारी गरेको छ । कतिपय अवस्थामा गलत नियतले नभइ, अज्ञानताका कारण अनपेक्षित कार्य हुने गरेको भन्दै नेपाली सेनाको जंगी अड्डाले आचारसंहिता जारी गरेको हो ।
जंगी अड्डाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार आचारसंहिताको संग्रह प्रकाशन गरेर हरेक युनिटमा वितरण गरिसकिएको छ ।
‘संगठनको हरेक तहमा कार्यरत् सदस्यलाई आफूले गर्न हुने, गर्न नहुने र गर्नै पर्ने कार्यको बारेमा सूसूचित गराउनु हाम्रो दायित्व हो’, सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुख समेत रहेका पाण्डेले अनलाइनखबरसँग भने, ‘त्यसैले वैशाख ६ गते शुक्रबारदेखि १३ गतेसम्म साताव्यापी अभियान पनि सुरु गरेको छौं ।’
अभियान अन्तरगत विभिन्न युनिटबाट प्रतिनिधिमूलक हिसाबमा सकल दर्जाका कर्मचारी सहभागी गराएर प्रशिक्षण दिइनेछ । सेनाको कानूनी राय परामर्श र न्याय प्रणालीको क्षेत्रमा काम गर्ने प्राड विवाकले तालिमको संयोजन गरेको छ ।
प्रशिक्षण भने विषयसँग सम्बन्धित विभिन्न विभागका अधिकारीले दिनेछन् ।
के छ आचारसंहितामा ?
प्रवक्ता पाण्डेका अनुसार लघु किताबका रुपमा प्रकाशित आचारसंहिता नयाँ भने होइन । यद्यपि, केही विषय परिमार्जन गरिएका छन् ।
‘पहिले भएकै आचारसंहितहरुलाई संग्रहित गरेर कार्यान्वयनका लागि पहल गरिएको हो’, सहायक रथी पाण्डेले भने । आचारसंहितमा सैनिक अधिकारीले गर्नु पर्ने व्यवहार, आचारणका बारेमा व्याख्या गरेको छ ।
विभिन्न खण्डमा रहेको पुस्तिकामा सैनिक आचरण, मूल्य–मान्यता, आर्थिक कारोबार तथा बजेट, मिडिया नीति, सामाजिक सञ्जाल प्रयोगको परिधि लगायत समेटिएका छन् ।
सामाजिक सञ्जाल प्रयोगको हकमा धार्मिक सहुष्णिुतामा खलल पुग्ने विषय पोष्ट गर्न वा लाइक, कमेन्ट वा शेयर गर्न नहुने भनिएको छ । सेनाको विषयमा आक्षेप लाग्ने विषयमा पनि लाइक, कमेन्ट वा शेयर गर्न पनि निषेध गरिएको छ ।
सैनिक अधिकारीलाई सामाजिक सञ्जालमा बर्दीको फोटो पोष्ट गर्न पनि निषेध गरिएको छ ।
आचारसंहिताको सामाजिक सञ्जालको परिधि खण्डमा भनिएको छ, ‘कुनै राजनीतिक पार्टी वा अन्य कुनै व्यक्तिसँग सम्बन्धित अनावश्यक टिप्पणी गर्न पाइने छैन ।’ गोप्य सैनिक सूचना चुहाउनु नहुने पनि भनिएको छ ।
संहितामा ठेकदारले प्रलोभन देखाउन सक्ने जनाउँदै कुनै पनि किसिमको उपहार लिने कार्यमा संलग्न नहुन पनि भनिएको छ ।
यसअघि संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जाने अधिकारीले युुनिटका लागि विभिन्न किसिमका उपहार ल्याउने बाध्यात्मक प्रचलन रहे पनि अब कुनै किमिसको उपहार ल्याउनु नपर्ने भनिएको छ ।
कुनै पनि पोष्टिङका क्रममा सैनिक अधिकारीलाई मायाको चिनो दिने परम्परालाई भने यथावत् राखिएको छ । अन्य किसिमका उपहार भने मान्य नहुने आचारसंहितामा उल्लेख छ ।
‘उपहारको विषयलाई सिस्टमाइज गर्न खोजिएको हो’, पाण्डेले भने ।
प्रतिक्रिया 4