२७ भदौ, काठमाडौं। जेनजी पुस्ताले गरेको आन्दोलनको बेगले संसद्मा झन्डै दुईतिहाइ बहुमत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता त्याग्न बाध्य बनायो । आफैंले आफूलाई जिद्धि स्वीकार गरेका ओलीलाई सरकारीनिवास बालुवाटारबाटै आर्मीले उद्दार गर्नु पर्ने अवस्था आयो ।
यतिबेला उनी नेपाली सेनाको सुरक्षा घेराभित्र सकुशल छन् । तर, उनी बस्दै आएको सरकारीनिवास बालुवाटार प्रदर्शनकारीको आगजनीले खण्डहर बनिसकेको छ ।
जेनजी आन्दोलनको दोस्रो दिन सबै पूर्वप्रधानमन्त्रीहरूका घर जलाइए, भेटिएकामाथि आन्दोलनकारीले कुटपिट गरेर घाइते बनाए । त्यसैले उनीहरू सबै पनि सेनाकै सुरक्षा घेरामा छन् ।
ओली क्याविनेटका मन्त्रीलाई पनि सेनाले हेलिकोप्टरबाट उद्धार गर्दै सुरक्षित स्थानमा राखेको छ ।
आन्दोलनको बलमा सरकार ढलेपछि मुलुकको सुरक्षाको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाले लिएको छ भने संविधानको रक्षक र अभिभावक भएको नाताले राजनीतिक कोर्षलाई पुन: ट्र्याकमा ल्याउने जिम्मेवारी राष्ट्रपतिको काँधमा छ।
ओली सरकार ढलेर जेनजीले आन्दोलन स्थगित गरेको ६० घण्टासम्म मुलुकले नयाँ सरकार प्रमुख पाएको छैन । अनिश्चियको समय बढ्दै जाँदा अनेकथरि चर्चाहरू चल्न थालेका छन् ।
बिहीबार मध्याह्नबाट एकाएक नेपाली सेनाले निवर्तमान प्रधानमन्त्री ओलीसहित सबै पूर्वप्रधानमन्त्रीहरूलाई सञ्चार सम्पर्कबाट बिच्छेद गरेको खबर आयो । त्यसो त; राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलन सुरु भएयता सार्वजनिकरूपमा देखिएनन् । यसबीच मंगलबार राति र बिहीबार दिउँसाे राष्ट्रपति पाैडेले वक्तव्य जारी गरेर विद्यमान परिस्थितिबाट निकासको पहल गरे ।
मुलुक यति संकटपूर्ण अवस्थामा आइपुग्दा संविधानका रक्षक र अभिभावकका रूपमा रहेका राष्ट्रपति किन सार्वजनिक भएनन् ? उनले किन देशका नाममा सम्बोधन गरेनन् भन्ने कौलुहलता जाग्नु स्वभाविक थियो । यो बढ्दै थियो ।
बिहीबार दिउँसोबाट त राष्ट्रपतिलाई समेत सेनाले नियन्त्रणमा राखेको, पूर्वराजा ज्ञानेन्द्रलाई पुन: शासनमा ल्याउन खोजिएको, नेताहरू सेनाको सुरक्षामा नभई कस्टडीमा रहेको जस्ता हल्ला चलिरहे ।
२०६५ जेठ १५ मा औपचारिक रूपमा राजतन्त्र ढलेसँगै संग्रहालयमा परिणत भएको नारायणहिटी दरबारमा ब्रुमर लगाएर सफा गर्न थालिएको, संग्रहालय लेखिएको बोर्ड हटाइएको जस्ता हल्ला अझै तेज भए ।
सामाजिक सञ्जालमा हल्ला फैलाउनेहरूले मध्यराति ठूलो राजनीतिक परिवर्तनको दावी गरिरहेपछि आम सर्वसाधारण अन्योल, त्रस्त हुन थाले ।
७० वर्षभन्दा लामो समयदेखिको संघर्षको प्रतिफल मुलुकले २०७२ असोज ३ मा संविधानसभाबाट संघीय गणतन्त्रात्मक संविधान प्राप्त गरेको थियो ।
दश वर्ष चलेको सशस्त्र युद्ध, मधेश विद्रोह, आदिवासी जनजाति र थारु आन्दोलनलगायतका माग धेरथोर सम्बोधन गरेको संविधान नै डिरेल हुने र राजतन्त्र फर्काउने चेष्टा भइरहेको हल्लाबीच मध्यरात काठमाडौंको अवस्था कस्तो रहेछ भन्ने थाहा पाउन हामी सडकमै निस्कियौं।
सहरमा निरन्तर कर्फ्यू छ । बिहीबार मध्यरात बानेश्वर क्षेत्रमा नेपाली सेना कडा पहरा दिएर बसेको छ ।
बिजुलीबजारको पुलमा हामीलाई सेनाले रोक्यो र सोधपुछ गर्यो । हामीले हाम्रो परिचय दियौं । तर, बबरमहल हुँदै अघि बढ्ने इजाजत नभएको भन्दै सेनाले हामीलाई वैकल्पिक बाटो अपनाउन आग्रह गर्यो ।
त्यसपछि हामी सिंहदरबारको पूर्वी गेट हुँदै अघि बढ्यौं । सहर सुनसान थियो । पुतलीसडक पार गर्दासम्म सुरक्षाकर्मीको उपस्थिति सामान्य थियो । हाम्रो लक्ष्य नारायणहिटी दरबार संग्रहालय रहेको दरबारमार्ग क्षेत्र हुँदै शीतलनिवास र महाराजगञ्जसम्मको अवस्थाको अवलोकन थियो ।
त्यसैले हामी पुतलीसडकबाट हात्तीसार हुँदै दरबार मार्ग पुग्यौं । दरबारमार्ग पनि सुनसान थियो । हामीले सामाजिक सञ्जालमा हल्ला चलिरहेजस्तो राजदरबार संग्रहालयको बोर्ड परिवर्तन भए-नभएको हेर्न खोज्यौं । तर संग्रहालय ठीकअघि हामी रोकिन सकेनौं ।
जमल हुँदै पुन: दोहोर्याएर हेर्दा पनि बोर्ड ठम्याउन सकिएन । अँध्यारो भएकाले अनुमान लगाउन कठिन भयो। त्यसपछि हामी लाजिम्पाटतर्फ अघि बढ्यौं ।
लाजिम्पाटतर्फ अघि बढ्दा नेपाली सेनाको चेकजाँच अलि बढी थियो। सोधपुछपछि हामी सहजै अघि बढिरह्यौं ।
राष्ट्रपति कार्यालय शीतलनिवासअगाडि सुरक्षा व्यवस्था अलि कडा रहेछ। सुरक्षाकर्मीको संख्या अलि बढी थियो भने सोधपुछ पनि अलि लामो ।
त्यहाँबाट पनि हामी अघि बढ्यौं । महाराजगञ्जतर्फ अघि बढ्दै गर्दा पूर्वराजा ज्ञानेन्द्र शाहको निजीनिवास अर्थात निर्मल निवासको नपुग्दै निकै कडा सुरक्षाव्यवस्था देखियो ।
सडकमा दुवैतर्फबाट ब्यारिकेट लगाएर साँघुरो पारिएको थियो । हामीले आफ्नो परिचय दियौं र महाराजगञ्ज चोकहुँदै बाँसबारीतर्फ जाने सुनायौं । तर, त्यहाँ रहेका सैनिकले भने, ‘अहिले यो बाटो हिँड्न अनुमति छैन । फर्किएर अर्को बाटो प्रयोग गर्नुहोला ।’
उनीहरूले नै वैकल्पिक बाटो देखाए । थोरै अघि बढ्दा सेनाको अर्को समूह भेटियो । हामीले त्यही कुरा दोहोर्यायौं । त्यहाँ रहेको हामीलाई पठाइएको वैकल्पिक बाटो जान दिएनन् ।
बरु, सरासर महाराजगञ्ज चोक निस्कन आग्रह गरे। निर्मल निवासको मुख्य गेट अगाडि पनि निकै बलियो सुरक्षा व्यवस्था थियो । निर्मल निवासको पूरै क्षेत्रलाई सेनाले विशेष सुरक्षामा राखेको देखियो ।
त्यसपछि हामी महाराजगञ्जचोक हुँदै बाँसबारीसम्म पुग्यौं र पुन: फर्किएर चक्रपथ हुँदै बालुवाटार निस्कने भित्रीबाटोतर्फ लाग्यौं ।
प्रधानमन्त्रीनिवासमा कार्यकारी प्रमुख रहँदाजस्तो थिएन, बालुवाटार। सुनसान थियो । राष्ट्र बैंक पार गर्दा नगर्दै धुँवाको गन्थ अझै आइरहेको थियो । केही अघि गएपछि जलेर जीर्ण बनेको भाटभटेनी हुँदै अघि बढ्यौं ।
नक्साल पुग्दा नेपाल प्रहरी हेर्डक्वार्टरतर्फ जाने बाटो पूरै बन्द गरिएको रहेछ । त्यहाँबाट गहनापोखरीस्थित भित्रीबाटो हुँदै सानो गौचरण निस्किएर हामी पुन: नारायणहिटी दरबार संग्रहालयतर्फ अघि बढ्यौं किनकी हामीलाई त्यहाँको बोर्ड परिवर्तन गरिएको हो होइन, स्पष्ट हुनु थियो ।
यसपटक हामीले दरबारको मुख्यगेट अगाडि केहीबेर रोकिएरै हेर्ने निधो गरेका थियौं । गेटअघि पुगेपछि रोकिएर हेर्यौं ।
रातो रङको पृष्ठभूमिमा लेखिएको अक्षर रातिको समयमा भएकाले हामीले ठम्याउन सकेका रहेनछौं । रोकिएरै हेरेपछि देखियो, ‘नारायणहिटी दरबार संग्रहालय ।’
न बोर्ड हटाइएको थियो, न मेटिएको थियो । सामाजिक सञ्जालहरूमा गरिएजस्तो कुनै अवस्था त्यहाँ देखिएन । सेनाको बाक्लो उपस्थितिको हल्ला थियो । हामी तेस्रोपटक त्यहाँ पुग्दा एकजना पनि सुरक्षाकर्मी देखिएनन् ।
बाहिरी सडकजस्तै दरबारको भित्री परिसर पनि सुनसान थियो । अन्धकार थियो ।
वास्तवमा सामाजिक सञ्जालका केही प्रयोगकर्ताले भ्रामक सूचना सम्प्रेषण गरेर थोरैलाई उक्साइरहेका थिए, आम नागरिकलाई अत्याइरहेका थिए ।
हामीले मध्यरात काठमाडौं फन्को मार्दा बरु शीतलनिवास भित्र मुलुकको नयाँ सरकार प्रमुखमा सहमति जुटाउन राष्ट्रपति घनीभूत छलफलमा थिए ।
मुलुकले पहिलो महिला कार्यकारी प्रमुख पाउने करिब सहमति जुटिसकेको थियो । पहिलो महिला महिला प्रधानन्यायाधीश बनेर नेपालको न्यायिक इतिहासमा नाम लेखाएकी सुशीला कार्की पहिलो महिला कार्यकारी प्रमुखका रूपमा इतिहास लेखाउने संघारमा थिइन् । नयाँ युग प्रारम्भको पहल भइरहेको थियो ।
प्रतिक्रिया 4