Comments Add Comment

व्यक्तिको अनुहार हेरेर होइन, सिद्धान्तमा टेकेर एकता टुंगिन्छ : प्रचण्ड

८ वैशाख, काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रिया टुंगोमा पुग्दैन कि भनेर आशंका नगर्न आग्रह गरेका छन् । पार्टी एकता प्रक्रिया टुंगोमा पुगेको औपचारिक घोषणा सोमबार हुने उनले बताए ।

नेकपा स्थापनाको ७० औं दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले व्यक्तिको अनुहार हेरेर नभई सिद्धान्तमा टेकेर एकता प्रक्रिया टुंगिने बताए ।

‘एउटा प्रिन्सिपलमा आधारित भएर, किनकि मान्छेको अनुहार हेरेर मूल्यांकन गर्न सकिने स्थिति छैन । एउटा सिद्धान्तमा टेकेर एकता गरौं भन्ने नीतिगत निर्णय हामीले गरिसकेका छौं,’ प्रचण्डले भने ।

कार्यक्रममा सहभागी हुन आउनुअघि आफूले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकताबारे छलफल गरेको जानकारी पनि प्रचण्डले दिए । सो छलफलमा आइतबार दिनभर गृहकार्य गरेर टुंगो लगाउने जिम्मा दुई जना नेतालाई दिएको पनि उनले बताए ।

यो पनि पढ्नुहोस नेकपाको पोलिटब्युरो र जिल्ला कमिटी घोषणा हुँदै, जनप्रतिनिधि पनि जिल्ला अध्यक्ष बन्न पाउने

स्रोतका अनुसार एकता प्रक्रियाको प्रस्ताव तयार पार्ने जिम्मा नेता माधव नेपाल र महासचिव विष्णु पौडेललाई दिइएको छ । सो प्रस्तावलाई आइतबार साँझ ६ बजे ओली र प्रचण्डसहित सचिवालय बैठक बसेर टुंगो लगाउने नेकपाको तयारी छ ।

पार्टी सचिवालयले आज बेलुका गर्ने निर्णयको औपचारिक घोषणा सोमबार हुने प्रचण्डले बताए । ‘३ महिनाभित्रै एकताको काम सक्ने भनेका थियौं, अहिले झण्डै १२ महिना भइसकेको छ,’ प्रचण्डले भने, ‘अब एकता टुंगियो । यसमा कुनै शंका नलिन अपिल गर्दछु ।’

प्रचण्डका अनुसार नेकपा स्थापना दिवसको अवसरमा पार्टीकै आयोजनामा सोमबार काठमाडौंमा कार्यक्रम गरिँदैछ र सोही कार्यक्रममा एकता प्रक्रिया टुंगिएको घोषणा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment