Comments Add Comment

प्रदिपलाई सिरिजको आशा, अनमोललाई के गर्ने चिन्ता ?

नेपाली चलचित्रमा नायक अनमोल केसी र नायक प्रदिप खड्का चम्किएका कलाकार हुन् । यी दुबैका फ्यान एक अर्कालाई नम्बर १ भन्न तछाडमछाड गरिरहेका छन् । नेपाली चलचित्र क्षेत्रमा पनि अनमोल र प्रदिपलाई चलचित्रमा लिनका लागि राम्रै हानथाप देखिन्छ । यसैले पनि यी दुई नायक सधै पारिश्रमिकको घेरामा रुमल्लिएको पाइन्छ ।

तर, अब बिस्तारै माहोल परिवर्तन भएको छ । वि.सं २०७५ सालमा यी दुई नायकले अभिनय गरेको २–२ वटा चलचित्र रिलिज भएका थिए । प्रदिप खड्काका लागि गएको बर्ष खराब रह्यो । उनी अभिनित चलचित्र ‘रोज र लभ स्टेशन’को कमजोर व्यापारले उनले फेरि एकपटक सोचेर चलचित्र खेल्नुपर्ने सन्देश दियो । बजारमा राम्रै चर्चा रहेपनि हलमा दर्शकको उपस्थिती कमजोर हँुदा प्रदिपका लागि अब कस्तो चलचित्र खेल्ने भन्ने दोधार छ । यसैले उनी अब आफ्नो करिअर नै परिवर्तन गरिदिएको चलचित्र ‘प्रेमगीत’को तेश्रो सिरिजको आशामा छन् । बैशाखदेखि नै उनले यो चलचित्रमा ध्यान केन्द्रित गर्नु यसको एउटा उदाहरण हो ।

प्रदिप आफैले पनि यो बर्ष उनको कुनै पनि चलचित्र रिलिज नहुने बताइसकेका छन् । उनले, अबको आफ्नो नयाँ चलचित्र ‘प्रेमगीत ३’ हुने बताएका छन् । दुबै सिरिजलाई दर्शकले निकै मन पराएकाले पनि प्रदिप यो चलचित्रबाट पूर्ण आशावादी देखिएका छन् । खस्कदो क्रेजलाई जोगाउन लागि ‘प्रेमगीत ३’ ठूलै अस्त्र बन्ने आशा उनको छ ।

नायक अनमोल केसीका लागि भने गतबर्ष सुखद देखियो । उनी अभिनित चलचित्र ‘क्याप्टेन’ले औषत कमाई गर्यो । चलचित्रको इनिसियल व्यापार कमजोर रहँदा धेरैले उनको स्टारडम खस्किएको चर्चा पनि गरे । तर, गएको बर्षको अन्त्यमा रिलिज भएको ‘ए मेरो हजुर ३’ले उनको स्टारडमलाई फेरि उत्कर्षमा पुर्याइदिएको छ । चलचित्रले रिलिजको पहिलो साता नै बम्पर कारोबार गर्यो । दोश्रो सातामा पनि चलचित्रको व्यापार सुखद छ । अनमोलले करिअरको सातौ चलचित्र खेलिरहँदा उनको सबैभन्दा बढी कमाउने चलचित्र नै यही बनेको छ । यसैले पनि अनमोल केसीको स्टारडम फेरि चुलिएको छ ।

तर, चलचित्र सुपरहिट भैरहँदा अनमोल खुशी र दोधारमा छन् । उनी अब कस्ता चलचित्रमा काम गर्ने दोधारमा छन् । अनमोलले नयाँ चलचित्रमा काम गर्नका लागि ६ महिना विश्राम लिने बताउनुको कारण पनि यही हो । ‘ए मेरो हजुर ३’ले उनलाई दर्शकको माया मात्र दिएको छैन, दर्शकको विश्वास पनि बलियो बनाइदिएको छ । यस्तो अवस्थामा उनको नयाँ चलचित्रले धेरै अर्थ राख्दछ । अनमोल अहिले यही कुराको दोधारमा छन् । टेबुलमा दर्जन बढी चलचित्रको कथा हुँदा पनि उनी कुनैलाई पनि रोज्न असमर्थ छन् । अनमोल केसीलाई असफल हुने अधिकार छैन पनि भनिन्छ । यो उनीमाथि थोपरिएको दबाब हो । यो दबाबलाई थेग्नका लागि उनले राम्रो चलचित्रमा काम गर्न आवश्यक छ ।

नेपाली चलचित्रमा सबैभन्दा महंगो पारिश्रमिक लिने २ नायक अहिले करिअरको मझदारमा छन् । प्रदिपलाई आफूलाई हिट बनाएको सिरिजको भर पर्नुपर्ने अवस्था छ भने अनमोल केसीलाई कस्तो कथामा काम गर्ने भन्ने दोधारमा रहनुपर्ने अवस्था छ । के यी दुबै नायक यो मझधारबाट पार होलान्, प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment