Comments Add Comment

मध्य भोटेकोसी आयोजनामा चिनियाँ ठेकेदारको मनोमानी

१० वैशाख, काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको निर्माणमा चिनियाँ ठेकेदार कम्पनीले चरम लापरबाही गरेको छ ।

चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माण भइरहेको आयोजनामा सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एन्ड इलेक्टि्रकल कन्स्ट्रक्सनले ठेक्का लिएको छ ।

तर, कम्पनीको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण नै अनिश्चित बनेको छ । उसले जिम्मा लिएका सबै प्याकेजमा भूकम्पपछि गतिलोसँग काम हुन सकेको छैन ।

आगामी असारदेखि विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको आयोजनाको ठेकेदारको कमजोर कार्यसम्पादनका कारण हालसम्म करिब ४२ प्रतिशत मात्रै काम भएको छ । आयोजनाका अधिकारी ५० प्रतिशत भौतिक प्रगति भएको दावी गर्छन् ।

कुलमानको निरीक्षण

आयोजना नै अन्यौलमा पर्ने अवस्था देखिएपछि नेपाल विद्युत प्राधिकरणका कायृकारी निर्देशक कुलमान घिसिङले शनिबार आयोजनास्थलको निरीक्षण गरी निर्माणको जानकारी लिएका छन् ।

उनले आयोजनाको बाँधस्थल, सुरुङ र विद्युत गृह निर्माण प्रगतिको जानकारी लिएका छन् । कम्पनीले काम नगरेपछि आयोजनास्थल सुनसान जस्तै छ ।

‘ठेकेदार कम्पनीलाई काममा सुधार गर्न निरन्तर निर्देशन दिँदै आएका छौं,सुरुङ, विद्युत गृह, बाँध लगायतका सबै क्षेत्रमा समानान्तर रुपमा काम गर्न कुनै समस्या छैन तर ठेकेदार कम्पनीले नगद प्रवाहको समस्या देखाउँदै काम गरिरहेको छैन’,उनले भने ।

कम्पनीभित्रै कमिसन चक्कर

घिसिङ निर्माण स्थलमा पुग्दा निकै सीमति कामदार काममा खटिएको देखियो भने आधुनिक प्राविधिक उपकरणको प्रयोग नै ठेकेदार कम्पनीले गरेको छैन । ठेकेदार कम्पनी चीनको सरकारी भएकाले उसका कामदार र प्राविधिक कमिसनको चक्करमा फस्दा आयोजनामा पनि प्रभाव परेको स्थानीयहरु बताउँछन् ।

आयोजनाको बाँधस्थलमा विजुलीको सहज पहुँच छ । तर, ठेकेदार कम्पनीले विजुली नलिई जेनेरेटरबाट नै बिजुली उत्पादन गरेर काम गरिरहेका छन् । ठेकेदार कम्पनीका चिनियाँ प्रतिनिधिहरु तेलमा कमिसन खान पल्किएको स्थानीयको आरोप छ ।

यसले गर्दा आयोजनाको भविष्य नै खतरामा परेको दावी उनीहरुको छ । ठेकोदार कम्पनीभित्रैको अनियमितताको असर आयोजनामा देखिएको ठहर स्थानीयको छ ।

निर्माणस्थलमा पुगेका कार्यकारी निर्देशक घिसिङले विजुली माग्न आए तत्कालै उपलब्ध गराइने बताएका छन् ।

घिसिङले ठेक्का सम्झौतामा भएको व्यवस्था अनुसार काममा सुधार गर्न निर्देशन दिए । तर, हालसम्म पटक-पटक भन्दा पनि कम्पनीले काममा प्रगति गरेर देखाएको छैन ।

कम्पनीको मुख्यालयबाट उच्च तहका अधिकारीलाई बोलाएर छलफल गरे पनि कुनै प्रगति नभएको घिसिङले बताए । आयोजनालाई अन्यौलमा नराख्ने भन्दै उनले अगाडि बढ्ने भन्नेमा छिट्टै निर्णय लिने बताए ।

मनोमानी

आयोजनाको प्रवर्द्धक मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरणको पनि १० प्रतिशत संस्थापक सेयर छ । चिलिमेको प्रवन्ध-संचालक हुँदा घिसिङले आयोजनालाई अगाडि बढाएका थिए ।

मध्य भोटेकोसीले गत २७ फेब्रुवरीमा ३० दिनको समय दिएर काममा सुधार गर्न पत्र दिएको थियो । तर, त्यस अवधिमा काममा सुधार गर्न कम्पनीले कुनै चासो नदिएको मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मणिकुमार काफ्लेले बताए ।

‘चीनबाट ठेकेदार कम्पनीका अधिकारप्राप्त अधिकारीहरु पनि छलफलका लागि आए, मुखले मात्रै काम गछौं भनेर हुँदैन निर्माणका लागि आवश्यक पर्ने उपकरणहरु कसरी ल्याउने, नगद कहाँबाट जुटाउने लगायतका विषयसहित आयोजना निर्माणको लिखित प्रतिबद्धता माग गरेका छौं तर उसले दिन सकिरहेको छैनौं’, काफ्लेले भने । ‘ठेक्का तोड्नका लागि कानूनी रुपमा हामी माथि छौं, यसबारेमा छिट्टै निर्णय गर्छौं ।’

जुरे पहिरो, भूकम्प, बाढी, पहिरो, समयमा जग्गा उपलब्ध गराउन नसक्नु, ठेकेदारले अपेक्षा गरे अनुसार काम गर्न नसक्दा आयोजनाको काममा ढिलाई भएको हो ।

हाल सम्म हेडवक्र्स (बाँध स्थल) मा खन्ने, मुख्य बाँध निर्माण गर्न नदी फर्काउने लगायतका काम भएका छन् । ७१२६ मि लामो मुख्य  शुरुङ्ग मध्ये ४०६० मि. सुरुङ्ग खन्ने कार्य सम्पन्न भइसकेको छ ।  विद्युत गृहको खन्ने कार्य सम्पन्न गरी कक्रिटिङ गर्ने काम भइरहेको छ ।

आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको छ । इलेक्टि्रक मेकानिकलतर्फको काम भने एन्डि्रजले गरिरहेको छ ।


कसको कति लगानी ?

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सक्झौता हुँदाका बखत निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड रहेको थियो ।  हाल यस आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १४ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

निर्माणाधीन आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइने व्यवस्था मिलाइएको छ । ५० प्रतिशत ऋणका लागि कर्मचारी संचय कोषसँग ऋण सम्झौता भएको छ ।

कम्पनीको जारी पूँजीको ५१ प्रतिशत शेयर स्वामित्व संस्थापक शेयरधनीहरु -नेपाल विद्युत प्राधिकरण-१० प्रतिशत, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७ प्रतिशत, सिन्धुपाल्चोक हाइड्रोपावरको १ प्रतिशत, नेपाल अरनिको हाइड्रोपावर कम्पनी लिको १ प्रतिशत, सिन्धु इन्भेष्टमेण्ट कम्पनको १ प्रतिशत र सिन्धु भोटेकोशी हाइड्रोपावरको १ प्रतिशत रहेको छ ।

४९ प्रतिशत सर्वसाधारण शेयरधनी समुह -कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५ प्रतिशत, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५ प्रतिशत, ऋणदाता संस्थाका कर्मचारीको१ प्रतिशत, सिन्धुपाल्चोक जिल्लाका स्थानीयको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत) का लागि छुट्याइएको छ ।

आयोजनाबाट वाषिर्क रुपमा ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वाषिर्क २ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment