Comments Add Comment

अर्थमन्त्रीलाई सुझाव : पुँजीगत खर्च बढाउने उपाय खोज्नुस्

१० वैशाख, काठमाडौं । सरोकारवालाले पुँजीगत खर्च बढाउने नयाँ विधि खोज्न अर्थमन्त्री डा. युवराज खतिवडालाई सुझाव दिएका छन् ।

नेपाल व्यवस्थापन संघले मंगलबार राजधानीमा आयोजना गरेको बजेटअघिको छलफल कार्यक्रममा आगामी बजेटका लागि सुझाव दिने क्रममा सरोकारवालाहरु पुँजीगत खर्च बढाउनुपर्नेमा जोड दिएका हुन् ।

वाणिज्य बैंकहरुको छाता संगठन बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले पुँजीगत खर्च गर्न सरकार चुकेको भन्दै आगामी आर्थिक वर्षको बजेटमा यस विषयमा सोच्न अर्थमन्त्रीलाई आग्रह गरे । अर्थ मन्त्रालयको ध्यान विकास खर्च चाँडै गराउनेमा हुनुपर्ने उनको धारणा छ ।

‘विकास खर्च तोकिएको समयमा नहुँदा समस्या हुने गरेको छ, यतातिर ध्यान दिनु पर्छ जस्तो लाग्छ’ उनले भने, ‘विकास खर्च वर्षको अन्तिममा होइन पहिलो त्रैमासमा नै गर्न फोकस गरौ न ।’

अध्यक्ष ढुंगानाले कर्जा सूचना केन्द्रलाई भ्याट लिने सरकारी निर्णयमा पनि पुनर्विचार गर्न आग्रह गरे । केन्द्रले कारोबार शुरु गरेको दिनदेखि नै हिसाब गरेर करिब ४० करोड रुपैयाँ भ्याट तिर्नुपर्ने देखाइएको भन्दै उनले त्यो गलत भएको बताए । ४० करोड नै भ्याट तिर्न बाध्य बनाइए आजको आज नै बन्द हुने भन्दै उनले अब नयाँ व्यवस्था गरेर व्यवस्था भएको दिनदेखि भ्याट तिर्नु पर्ने उनले बताए ।

मर्जरमा जाने बैंकलाई आयकर छुट गर्न पनि ढुंगानाले आग्रह गरे । उनले भने, ‘मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाहरुलाई आयकरमा केही वर्ष छुट दिने अफर ल्याऔं न आफै स्वस्फूर्त रुपमा मर्जरमा गइहाल्छन् नि ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले पुँजीगत खर्च गर्न नसक्दा बैंकमा समेत समस्या देखिएको भन्दै आगामी बजेटले यसलाई सम्वोधन गर्नुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कलेश अग्रवालले पनि यसमै फोकस भए । पुँजीगत खर्च अर्थतन्त्रको लगानी भएको भन्दै यसलाई बढाउनु पर्नेमा उनको जोड थियो । ९ महिनामा ४० प्रतिशत पनि खर्च हुन नसकेको भन्दै उनले यसमा गम्भीर भएर सोच्न आग्रह गरे ।

बैंकले लिदै आएको (निक्षेप र कर्जा बीचको अनुपात) स्प्रेड दर समेत घटाउनु पर्ने उनले बताए । स्प्रेड दर घटाएर ३.५ प्रतिशतमा ल्याउनुपर्ने उनले बताए । कतिपय बैंकहरुले अनियनित्रत रुपमा खर्च गरिरहेको भन्दै यसलाई नियनत्रणसमेत गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment