Comments Add Comment

बञ्चरेडाँडामा शहरीविकास मन्त्री र स्थानीयको जुहारी !

यसरी हुने भो काठमाडौंको फोहोर व्यवस्थापन

१२ वैशाख, काठमाडौं । काठमाडौं र ललितपुर महानगरसहितका १८ वटा नगरको फोहोर व्यवस्थापनका लागि नुवाकोट र धादिङ जिल्लाको सीमानामा पर्ने बञ्चरेडाँडामा आधुनिक ल्याण्डफिल साइट बनाइने भएको छ ।

हाल नुवाकोटको सिसडोलमा फोहोर व्यवस्थापन गरिँदै आएको थियो । सिसडोलमा फोहोर फाल्ने ठाउँ नै सकिएपछि काठमाडौं महानगरले नै वैकल्पिक व्यवस्था गर्नुपर्ने बताएको थियो । स्थानीय तहहरुको आग्रह पछि संघीय सरकारले आफैले बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका लागि आधुनिक सेनिटरी ल्याण्डफिल साइट बनाउने भएको हो ।

संघीय सरकारका सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले विहीबार ल्याण्डफिल साइटको शिलान्यास गरे । यसक्रममा विहीबार स्थानीयबासी र मन्त्रीवीच एकप्रकारको बहस नै भयो । मन्त्रीले केही समस्या परे मन्त्रालयमा सम्पर्क गर्न स्थानीयलाई आश्वासन दिए भने स्थानीयले चाहिँ यो ठाउँ छाडेर जान चाहेको बताए ।

यस्तो बन्दैछ ल्याण्डफिल साइट

ल्याण्डफिल साइटमा एउटा कार्यालय भवन, एउटा ग्यारेज, गार्ड रुप र सार्वजनिक शौचालयसमेत निर्माण हुने गरी मन्त्री राईले शिलन्यास गरेका हुन् ।

त्यस क्षेत्रमा ल्याण्डफिल साइड बनाउनका लागि १७ सय रोपनी बढी जग्गासमेत सरकारले अधिग्रहण गरिसकेको छ । ३२ हजार स्वाएर मिटर जग्गा क्षेत्रफलमा ३० मिटर अग्लो ड्याम बनाएर ल्याण्डफिल साइड निर्माण गरिने सहरी विकास तथा भवन निर्माण विभागको तयारी छ ।

ल्याण्डफिल साइट निर्माणका लागि त्यहाँसम्म जाने बाटो बनाउन संघीय सरकारकै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जिम्मा लिएको हो । हाल फोहोर फाल्ने गरिएको भन्दा ३ किलोमिटर टाढा अब साइट निर्माण गरिनेछ । त्यहाँसम्म जानका लागि सडक विभागले ३ किलोमिटर सडक निर्माणका लागि ठेक्कासमेत लगाइसकेको छ ।

सुनकोशी कान्छाराम कन्ट्रक्शन प्रालिले ठेक्का पाएर अहिले उक्त सडक निर्माणको काम समेत अन्ति चरणमा पुगिसकेको छ ।

ल्याण्डफिल साइट बनाउनका लागि सार्वजनिक खरिद ऐन अनुसार खरिद प्रक्रियासमेत सम्पन्न भइसकेको छ । ५४ करोड रुपैयाँ अनुमानित लागत राखेर टेण्डर आह्वान गरेकोमा ३४ करोड रुपैयाँ (भ्याट बाहेक) मै टेण्र लागिसकेको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकले बताए ।

उनले अब एक वर्ष भित्रमै ठेक्का पाएको कम्पनी कोशी न्यौपाने एण्ड लुम्बनी जेभीले कार्यालय भवन, ग्यारेजसहितका भौतिक पूर्वाधारहरु निर्माण गरिने जानकारी दिए ।

उनले यस अघि फोहोर फाल्दै आएको सिडोलसँग यस ल्याण्डफिललाई तुलना गर्न नहुने बताए । यस अघि फोहोर फाल्नेमात्रै काम भएको तर अब भने फोहोर व्यवस्थापन गरिने भएकाले कुनै असर नगर्ने बताए । उनले भने, ‘हामीले बनाउन लागेको स्यानेटरी ल्याण्फिल साइट हो, फोहोर ल्याएर फाल्ने ठाउँमात्रै होइन ।’

उनका अनुसार ३२ हजार स्वायर मिटरमा बन्ने ल्याण्डफिल साइटमा दैनिक रुपमा फोहोर छान्ने काम गरिनेछ भने फोहोरबाट निस्किएको तरल पदार्थलाई माटोले केमिकल हालेर पुरिनेछ । यसो गर्दा गन्ध नआउने र फोहोर पनि चाडै माटोमा मिल्ने विभागले बताएको छ ।

बन्न लागेको ल्याण्डफिल साइट नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेसी गाउँपालिकाको सिमनामा रहेको छ । ल्याण्फिल साटमा सुरक्षार्थ सुरक्षागार्ड समेत राखिनेछ भने त्यहाँ कार्यालय स्थापना समेत गरिनेछ । यसका साथै फोहोर फाल्ने सवारीसाधनहरु मर्मतका लागि विभागले नै ग्यारेज समेत स्थापना गर्ने तयारी गरेको छ । यी सबै भौतिक संरचना भने धादिङ जिल्लाको धुनिवेसी नगरपालिका क्षेत्रमा निर्माण हुनेछन् ।

यस क्षेत्रमा सबै प्रकारका फोहोर (नछानी) खन्याउदा २० वर्षलाई पुग्ने र कुहिने र नकुहिने छानेर व्यवस्थापन गर्दा ५० वर्ष बढी पुग्ने बताइएको छ । आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न १ वर्ष अवधि तोकिएर ठेक्का लगाइएको भए पनि फोहोर फाल्न भने त्यत्रो धेरै दिन कुर्न पर्ने छैन । एक महिनासम्मा नै फोहोर फाल्न सकिने गरी काम भइरहेको विभागले जानकारी दिएको छ ।

स्थानीय भन्छन्– हामी यहाँ बस्न होइन, भाग्न चाहन्छौं

बनाउन लागिएको ल्याण्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयहरुको माग भने स्थानान्तरण गरिनुपर्ने छ । आफूहरु फोहोरको छेउँमा बस्न गाह्रो हुने भन्दै उनीहरुले वस्ती नै स्थानान्तरण गर्न सरकारसँग माग गरे ।

शिलन्यास कार्यक्रममा स्थानीयको तर्फबाट आफ्ना भनाइ राख्दै स्थानीय ठाकुर घिमिरेले भने, ‘हामी यहाँ बस्न होइन, उठ्न तयार छौं, सरकारले हामीलाई अन्तै बस्ने ठाउँको व्यवस्था गरोस् ।’

वडा सदस्यसमेत रहेका घिमिरेले स्थानीयहरुका लागि सरकारले विशेष रुपमा सोच्नुपर्ने बताए । स्थानीयको मागमा धुनिवेसी नगरपालिकाका मेयर वालकृष्ण आचार्य पनि सहमत देखिए ।

उनले संघीय सरकार, काठमाडौं, ललितपुर महानगर लगायतले आश्वासन देखाएर आफ्ना क्षेत्रका जनतालाई अस्वथ बनाएको बताए । यस अघि काठमाडौं र ललितपुरमहानगरले एम्बुलेन्स दिन्छु भनेर आसमात्रै दखाएको भन्दै आक्रोस पोखे । यद्यपि, काठमाडौं पनि आफ्नै सहर भएको भन्दै सहयोग गर्न भने तत्पर रहेको उनले बताए ।

मन्त्रीको आश्वासन– सीधै मन्त्रालयमा आए हुन्छ !

शिलान्यास कार्यक्रममा स्थानीयहरुले वातावरणीय क्षति बेहोर्नुपर्ने भन्दै गुनासो राखेका थिए । फोहोर व्यवस्थापनका कारण स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने र यसका लागि आवश्यक सहयोग गर्न स्थानीयको आग्रह थियो ।

स्थानीयहरुको गुनासो सुन्दै मन्त्री राईले स्थानीयको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी सरकारले काम नगर्ने बताए । फोहोर व्यवस्थापन आधुनिक तरिकाले हुने भन्दै स्थानीयलाई क्षति हुन नदिने मन्त्री राईले बताए ।

फोहोर व्यवस्थापन गर्दा बाहिरी गन्धहरु मानव वस्तीसम्म नपुग्ने र दैनिक रुपमा फोहोर प्रसोधन हुने उनले बताए । यदि बीचमा कुनै पनि किसिमको समस्या आए सिधै मन्त्रालयमै आएर समेत गुनासो राख्न सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment