Comments Add Comment

भूकम्पको त्रासदी : तातोपानीबाट शव टेक्दै काठमाडौं

सिन्धुपाल्चोकको तातोपानीस्थित मानसरोवर बोर्डिङ्ग स्कूलमा ०७२ साल बैशाख १२ गते शनिबार बिहान ११ः१५ बजेतिर फिस्टेल एयरको हेलिकप्टर आएर बस्यो । लोकेसन बिराएका पाइलटले मलाई सोधे– कोदारी कहाँ पर्छ ?

म त्यही हेलिकप्टरमा चढेर कोदारी पुर्‍याउन गएँ ।

पुराना मित्र सरोजको कैलाश होटलमा खाना खान शुरु गर्दा सरोजकी श्रीमतीले भूँईचालो गयो भनेपछि सरोजजीले मलाई भान्छाको स्ल्यापमुनि छिराए । श्रीमती र छोरीसहित उनीहरु पनि स्ल्याप मुनि पसे । हामी त्यहीँभित्र लुकेर धेरैबेर बस्यौं ।

केहीबेरपछि भूकम्प साम्य भयो । सरोजजीसँगै ढोकासम्म निस्कँदा पीच बाटोका गाडीहरु कुच्चिएर कतिपयमा हर्न बजिरहेका थिए । केहीका साईड लाईट बलिरहेका थिए । अगाडिको पिचबाटोमा पहिरोको ढुंगा मात्र देखिन्थ्यो ।

बालकृष्ण दाहाल

देब्रेपट्टि खरानी रंगको गाडीमा महिला च्यापिएको प्रष्टै देखियो । गाडीमाथिको ठूलो ढुंगा तीन जनाले निकाल्ने कोशिस गरे, सकेनन् । त्यहाँ टुलुटुलु हेर्नु शिवाय कसैको दिमागमा केही सहयोग र उद्धार गर्न चढेको थिएन ।

सरोजजीकी श्रीमतीको एनसेलको सीममार्फत मैले काठमाण्डौंमा परिवारसँग सम्पर्क गर्न खोजें । फोन लागेन । मित्र सुदर्शनसँग चाहिँ सम्पर्क भएपछि म सुरक्षित छु, घरमा त्यही भन्दिनु भनें ।

हामी ४०/४५ मिनेटपछि बाहिर निस्कने भयौं । अघिको गाडीमा च्यापिएका मानिसहरु मरिसकेका देखिन्थे । भौगोलिक बनावट अत्यन्तै कठिन भएको त्यो ठाउँमा पहिरोको त्रास भने रहि नै रहेको थियो ।

कालिमाटी घर बताउने एउटा भाइले मेरा बुबाको खुट्टा भाँचियो बोक्न सकिनँ, लौन यता ल्याइदिनुपर्‍यो भन्दै प्रहरीलाई गुहार्दै थिए । सबैजना चिलबिल भएका बेला हतासमा भएको म पनि कसरी हुन्छ, काठमाण्डौंमा परिवारसँग भेट्न आतुर थिएँ । तर, जतात्यतै बाटो अवरोध भएको र पहिरो गएको अनि क्षणक्षणमा कम्पन गई नै रहेकाले सजिलो थिएन ।

एकजना महिलासहित अरु ५ जना जति कोदारीतिर भीरको बाटो लाग्यौं । पछि एकजना साथी मेघसँगै पिच बाटोबाट तातोपानी लाग्यौं । बाटोमा गाडी कच्याक कुचुक भएको रातो आइटेन गाडी रगताम्मे थियो । दगुर्दै स्कूलमा आइपुग्दा तातोपानीका धेरै मान्छेहरु जम्मा भएर त्यहीँ बसेका थिए । मसँगै गएका ५ जना शिक्षक आत्तिइरहेका थिए ।

सुदेश सरले म फर्केर आइपुग्नेप्रति आशा मारेको सुनाए । स–साना कम्पनहरु चलि नै रहेका थिए । रातभर क्यान्टिनको पेटीमा भोकै आँखा झिमिक्कै नपारी बित्यो । तर, पारिपट्टि खासामा भने रातभरि उद्दार गरेको प्रष्टै देखिन्थ्यो । भोलिपल्ट बिहान म दौडँदै गएर नमस्ते होटलमा भएको मेरो ब्याग र मोवाईल लिएर आएँ ।

म, राम, हरि, पवन, कमल र सुनिताले हिँडेरै काठमाडौं जाने निधो गर्‍यौं । तर यशु, कविता र सुदेशले जान मानेनन् ।

स्कुल तलबाट भोटेकोशीको किनार हुँदै १० किलो आयौं । त्यहीँ भेटिएका विशेष प्रहरीका रिटायर्ड एसएसपी राई सर, सासू र छोराछोरी लिएर हिँडेरै जाने निधो गरेपछि हामीलाई केही आँट थपियो र हिँडियो ।

म, सुनिता मिस, राई सरकी श्रीमती, छोराछोरी र ड्राइभर अघिअघि, वीचमा हरि सर र पछाडि राई सर, सासू र राम सर हुनुहुन्थ्यो । लार्चा चौकीनेर आइपुग्दा बीचमा ठूला दुईवटा पहिरो र क्षतविक्षत गाडीहरु पार गरियो ।

लार्चा चौकी ध्वस्त थियो । माथिपट्टि अक्करको भीर थियो भने तल धमिलो भोटेकोसी । खकुण्डोलमा पनि सबै घरहरु भत्किएका थिए । सुनिता मिस र ममात्रै अगाडि भयौं, अरु बाटोमै छोडिए । एक ठाउँ घरको झ्यालमा शरीरभित्रै र टाउको बाहिर निस्केको शव देखियो । बीचमा कुनै घरहरु सग्ला थिएनन् । शवहरु त्रिपालमुनि यत्रतत्र थिए । एक ठाउँ श्रीमान–श्रीमतीलाई पहिरोले बाइकसहित पुरेको थियो । म त्यसैमाथिबाट पार भएँ ।

चाकुका घरहरु सबै भत्किएका थिए । पुलको बीचमा एउटा शव थियो । अलि वर आएपछि ३० जनाजति मानिसहरु बसिरहेका थिए । अघिका कमल र पवन सर पनि त्यहीँ भेटिए । कोही बञ्जी जम्पको बाटो जाने भए त कोही उकालो चढ्ने भए । म उकालो चढ्नेमा परें ।

अगाडि ८/१० र पछाडि १२/१३ जनाको बीचमा रहेको म त्यहीबेला भुकम्प आएपछि पछाडिका सबैलाई आँखाअघि नै पहिरोले तान्यो । म बारीतिर भागें । अझै हल्लाइरहेको थियो । धेरैले त्यहीँ झोला छोडेर कुलेलम ठोके । हामी माटोको ढिस्कोको छेउमा आड लागेर बस्यौं ।

एक्लै भएको म फेरि २०/२५ कान्ला उक्लें । चाकुमा शवहरु पोलिरहेको धुवाँ आइरहेको थियो । मास्तिर जाँदा सुरक्षित महसुस हुन्थ्यो । साँझ परिसकेको थियो । त्यहीबेला भेटिएका दुई स्थानीयले त्यो बाटो पहिरोकै कारण जानै नसक्ने बताउँदै आफूहरुकै आश्रयस्थलमा बस्न भनें । करिब ९ बजे उनीहरु त्रिपाल टाँगेर बसेको ठाउँमा पुगियो । भूकम्पले आफ्नै चिलबील भएका बेला पाहुनाप्रति देखाएको ती गाउँलेको सत्कारले नेपाली समाजमा सद्भाव र इमान्दारिता नमरेको देख्न सकिन्थ्यो ।

आफूहरु स्वयं विपदमा परेका उनीहरुले घरमा पुरिएको अन्न जोगाड गर्न सकेका थिएनन् । कम्पन घरिघरि भइरहेको थियो । त्यस्तो प्रतिकुल अवस्थामा पनि उनीहरुले बडो प्रेमपूर्वक हामीलाई सत्कार गरे ।

भोलिपल्ट एकजना वृद्धले हामीलाई डाँडैडाँडा जान सुझाए । भूकम्प गएको ३ दिनका दिन बल्ल घरमा सम्पर्क भएपछि मन त हल्का भयो । तर, परिवारसँग भेट्न पुग्छु कि पुग्दिनँ भन्ने कुराले चाहिँ उत्तिकै पिरोलिरह्यो । बिजुली पानी केही छैन होला, घर चिराचिरा परेको होला भन्ने पिर मात्र लाग्यो । अरु केही बोल्न सकिनँ । आफू सुरक्षित रहेको कुरा मात्र भनें । म सँगैका मान्छेहरुको आफन्तहरुलाई पनि फोन गरें । काठमाण्डौंमा रहनुभएका कुमार श्रेष्ठ र समीर नेपाल काकालाई फोन गरेर तत्कालीन गाधी गाविसको वडा नं. ६ लोकेशन बनाउँदै बालहित प्राविको माथि डाँडामा हेलिकप्टर ल्याइदिन अनुरोध गरे पनि हेलिकप्टर ल्याउन सम्भव नभएको जवाफपछि त्यो रात हामीले त्यहीँ बितायौं ।

मंगलबार विहान साढे ६ बजे हामी बाह्रबिसेतिर लाग्यौं । हामी भीरैभीर पहिरै पहिरो सिंगारची मन्दिरनेर पुग्यौं । स्थानीय घरहरु कुनै सग्ला थिएनन् । मानिसहरु घरबाट झिक्न सक्ने सामान झिक्दै थिए । सिंगारचीमाथि ठूलो भीर थियो । करिब २ घण्टा भीरको बाटो हुँदै खागदल पारिपट्टि आइपुग्यौं ।

पर बाह्रबिसे देखेपछि लामो श्वास तानियो । खेतखेतै तल रोडमा झरियो । सेनाको समूहले एउटा घरमा पुरिएका मान्छे खोज्दै थिए । हामी फटाफट बाह्रबिसेको पुलनेर आइपुग्यौं । सेनाले खनेको बाटो हुँदै सुनकोशी तर्‍यौं । धेरै सुरक्षित महशुस भयो । लामोसाँघु आएर मोवाइलबाट श्रीमती एलिनाको नम्बरमा ट्राइ गर्दा फोन लाग्यो दुबैजना फोनमा बेस्कन रोइयो । छोरी र आमासँग पनि बोलें ।

स्थानीय एक व्यक्तिले जिल्लामा डेढ सय मानिस मरेको सूचना दिए । करिब आधा घण्टापछि हामी एक किलो पुगेर सुनिता मिसको घर ८ किलोमा एउटा मोटरसाइकल रोकेर पठाएँ । केहीबेरमै माथिबाट आएको गाडी रोकेर हामी खाँडीचौर हुँदै काठमाण्डौं लाग्यौं । धुलिखेल बनेपाका सग्ला घरहरु देख्दा यता त केही नै नभएजस्तो आभास भयो ।

जडीबुटीमा उत्रिएर गोठाटार आएँ । बुबाआमा, एलिना, छोरी, भतिज श्याम, एन्जिला र नाति सबै त्रिपालमुनि थिए । म परिवारसँगै रोएँ । परिवारको मुख हेर्न पलपलको मृत्युलाई जितेर आएको त्यो क्षण अझै पनि मानसपटलमा आइरहेको छ ।

धन्न भगवानले छिनछिनमा काँध थापेको मेरो त्यो आततायी यात्रा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment