
१४ वैशाख, चितवन । चितवनको महत्वपूर्ण प्राकृतिक सम्पदा हो, राप्ती नदी । यही नदी आसपासको क्षेत्रले चितवनलाई महत्वपूर्ण पर्यटकीय स्थलका रुपमा स्थापित गरेको छ । यो सौम्य नदी क्षेत्रको सुन्दरतथा शब्दमा वर्णन गरी साध्य छैन ।
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र र मध्यवर्ती क्षेत्र हुँदै बहने राप्ती नदी चितवनकै मात्र नभएर देशकै अभूतपूर्व जैविक विविधतायुक्त क्षेत्र हो ।
यो नदी राष्ट्रिय निकुञ्जका जंगली जनावर र पंक्षीहरुको जैविक जीवन आधार हो । यही नदीमा आधारित भएर निकुञ्जको पर्यावरण सन्तुलनमा छ ।
यहाँ दूर्लभ एक सिंगे गैँडा पाटे बाघ र जंगली हात्ति प्यास मेट्न आइपुग्छन् । जल पंक्षीको मुख्य आहाराको स्रोत पनि यही नदी हो ।
यो नदीमा गोहीहरु छन् । विभिन्न प्रजातिका माछाहरु पाइन्छन् ।
राप्ती नेपालकै बढी पर्यटक भित्र्याउने नदी हो । यही नदीको आसपास बनेका होटलले चितवनको पर्यटनलाई टिकाएको छ । पर्यटन व्यवसायको मूल आधार पनि यही नदी बनेको छ ।
नदी आसपास टहलाउँदै नदीमा आउने जंगली जनावर हेर्नु र जलचरहरुको गतिविधि नियाल्नु पाहुनाहरुका लागि साँच्चिकै अनुपम अनुभव हुन्छ ।
यही नदीमा हजारौं स्थानीयहरु आश्रति छन् । स्थानीय थारु र बोटे समुदाय यही नदीमा पर्यटकलाई डुंगा चढाएर आफ्नो गुजारा गर्छन् । माछा मारेर जीविका चलाउनेहको संख्या पनि ठूलो छ ।
शालिन तरिकाले बग्ने नदीका रुपमा चिनिने राप्तीमा सुन्दर तरिकाले हुने सूर्यास्तलाई पर्यटकले खुबै रुचाएर हेर्छन् । त्यसैले होटलहरु पनि यही नदी आसपास बढी खुलेका छन् ।
नदीको डिलमा बसेर पारी पट्टी आउने जंगली जनावरलाई आँखै अगाडि अनुभव गर्न पाउने चाहाना चितवन पुग्ने जो कोहीलाई हुन्छ । यसै कारण राप्त नदी चितवनको पर्यटकको मूल खम्बाका रुपमा छ ।
यसको सौन्दर्यतामा मन्त्रमुग्ध नहुने कमै हुन्छन् । अनलाइनखबरले चितवन पुगेर राप्ती नदी आसपासको सौन्दर्यतालाई लेन्सभित्र समेट्न प्रयास गरेको छ ।
प्रतिक्रिया 4